MENU

खेल

Ncell Axiata
USAID

​विश्वकप फाइनल : अष्ट्रेलिया र न्युजिल्याण्डमा को बलियो ?

काठमाडौं,  चैत १४ - एघारौ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आईतवार अष्ट्रेलिया र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि आइतबार प्रतिस्पर्धामा उत्रिन लागेका दुवै आयोजक टोलीलाई उपाधिको दावेदार मानिएको छ । 

विश्वकप क्रिकेटको इतिहासमा न्युजिल्याण्ड पहिलो पटक फाइनल प्रवेश गरेको हो भने अष्ट्रेलियाको यो सहित सातौ यात्रा हो । प्रतियोगितामा निकै आक्रामक खेल खेल्दै आएको न्युजिल्याण्ड विश्वकपमा निकै अभागी टोलीको रुपमा चिनिँदै आएको थियो । विश्वकप इतिहासमा सातौं पटकसम्म सेमिफाइनलबाट घर फर्कदै आएको न्युजिल्याण्ड अन्तत आठौं पटक भने फाइनलको यात्रा तय गर्न सफल भयो । सन् १९९२ को सेमिफाइनलमा पाकिस्तानसग पराजित भएको मैदान अकल्याण्डमा नै न्युजिल्याण्डले इतिहास कोर्‍यो । अर्को अभागी मानिएको दक्षिण अफ्रिकालाई रोमाञ्चक खेलमा ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलोपटक विश्वकपको फाईनलमा प्रवेश गरेको हो । न्युजिल्याण्डलाई अभागी टिमको विल्ला हटाउन यस पटक उसको आक्रमक खेल शैली उपयुक्त भयो । 

जारी विश्वकपमा न्युजिल्याण्ड र अष्ट्रेलियाको बलियो पक्षमा देब्रे हाते तिब्र गतिका बलर देखिएका छन् । न्युजिल्याण्डका ट्रेन्ट बोल्ड जारी विश्वकपमा सार्वाधिक सफल देखिएका छन् । उनले जारी विश्वकमा ८ खेलमा सर्वाधिक २१ विकेट लिईसकेका छन । न्युजिल्याण्डका टिम साउथी, कोरे एण्डरसन र स्पिनर डेनियल भिटोरी पनि निकै फर्ममा देखिएका छन । उनीहरुको फर्म अष्ट्रेलियाका लागि समस्या बन्ने प्रष्ट छ । न्युजिल्याण्डको जारी विश्वकपमा बलिङ मात्र होइन ब्याटिङसमेत निकै मजबुत रहेको छ । कप्तान ब्रेण्डम म्याकुलमको बिस्फोटक सुरुवात र मध्यक्रमको मजबुत ब्याटिङ लाइनले विश्वकपमा उत्कृष्ट बलरहरुकोसमेत नराम्ररी धुलाई भईसकेको छ । 

न्युजिल्याण्डका मार्टिन गुप्टिलले विश्वकप इतिहासमा सर्वाधिक २ सय ३७ रन बनाउँदै आफ्नो लयलाई प्रमाणित गरीसकेका छन । जारी विश्वकपमा गुप्टिलले ७६ को औसतमा ५ सय ३२ रन बनाईसकेका छन । त्यस्तै म्याकुलमले १ सय ९१ को स्ट्राईक रेटमा ३ सय २८ रन बनाउँदै जुनसुकै अवस्थामा पनि ब्याटिङ गर्ने आफ्नो शैलीलाई प्रस्तुत गरेका छन । त्यस्तै न्युजिल्याण्डका केन विलिम्सन, रोस टेलर, कोरे एण्डरसन र ग्रान्ट इलियटको लय पनि अष्ट्रेलियाका लागि समस्या बन्न सक्छ । 

अष्ट्रेलिया पनि निकै लयमा देखिएको छ । तिब्र गतिका बलरसँगै मध्यक्रमका ब्याट्सम्यानको लयले अष्ट्रेलिया र न्युजिल्याण्ड बिचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने निश्चित छ । जारी विश्वकपमा तिब्र गतिका बलरहरु मिचेल स्टार्च, मिचेल जोन्सन र जोस हेजलउडको प्रर्दशनले अष्ट्रेलियालाई उपाधिको दावेदारको रुपमा प्रस्तुत गर्न मद्दत गरेको छ । १ सय ५० किलोमिटर प्रतिघण्टा भन्दा माथिको गतिमा वल फाल्ने स्टार्चले २० विकेट लिइसकेका छन । त्यस्तै विस्तारै लयमा देखिएका जोन्सनले १७ तथा हेजलउड र जेम्स फङ्लरले समान ७ विकेट लिईसकेका छन ।

त्यसैगरी मध्यक्रमको ब्याटिङमा पनि अष्ट्रेलियाका ब्याट्समेनले राम्रो प्रदर्शन गर्दै आएका छन । स्टेफन स्मिथ, डेविड वार्नर, एरोन फिन्च, ग्लेन म्याक्सवेल र शेन वाट्सन जस्ता ब्याट्सम्यानलाई रोक्नु न्युजिल्याण्डको मुख्य चुनौति हुनसक्छ । प्रतियोगितामा अष्ट्रेलियाकातर्फबाट स्टेफन स्मिथले ३ सय ४६, ग्लेन म्याक्सवेलले ३ सय २४, डेविड वार्नरले ३ सय र एरोन फिन्चले २ सय ८० रन बनाईसकेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया