MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रपतिका उम्मेदवार : विद्या र 'केबी सर' (जीवनी र राजनीतिक यात्रा)

काठमाडौं, कात्तिक १० - बुधबार हुने राष्ट्रपति उम्मेदवारमा जसले जितेपनि एउटा इतिहास कोरिनेछ । एमाले उम्मेदवार विद्या भण्डारी विजयी भएमा देशले पहिलो महिला राष्ट्रपति पाउनेछ । यस्तै कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले जितेमा उहाँ जनजातिको तर्फबाट पहिलो राष्ट्पति बन्नुहुनेछ । गणितीय हिसाब गर्दा विद्या भण्डारीको जित सुनिश्चित देखिन्छ । तर गोप्य मतदान भएकाले क्रस भोटिङको समेत सम्भावना हुने भएकाले यसै भन्न सकिन्न ।

राष्ट्रपतिका दुई उम्मेदवारको जीवनी र राजनीतिक यात्रा यस्तो छ :

विद्या भण्डारी

भण्डारीको जन्म वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भएको हो । उहाँको बुबाको नाम रामबहादुर पाण्डे र आमाको नाम मिथिला पाण्डे हो । २०३५/०३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उहाँले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुनुभयो ।

२०३९ सालमा मदन भण्डारीसँग उहाँको विवाह भयो । २०५० सालमा मदन भण्डारीको निधन भएपछि उहाँ सक्रिय राजनीतिमा देखिन थाल्नुभएको हो । २०५० माघमा भएको उपनिर्वाचनमा उहाँ काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बन्नुभयो । २०५१ सालमा भएको मध्यावधि निर्वाचन तथा २०५६ सालमा भएको तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट समेत निर्वाचित हुनुभयो । यहाँ यसअघि रक्षा मन्त्री समेत भैसक्नुभएको छ । २०५४ सालदेखि उहाँ अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा रहनुभयो । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएकी भण्डारी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष बन्नुभएको हो ।

जन्म : २०१८ साल असार ५
जन्मस्थान : भोजपुर जिल्ला, मानेभञ्ज्याङ गाविस
पिता : स्व.रामबहादुर पाण्डे
माता : मिथिला पाण्डे
बाल्यकाल—शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर
माद्यमिक शिक्षा : बिद्योदय व्यवसायिक सेकेन्डरी स्कुल
कलेज : भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उतिर्ण
महेन्द्र मोरड कलेज विराटनगरमा बि.ए.अध्ययन
विवाह : तत्कालिन नेकपा (माले) का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा बिबाह
छोरीहरु : उषाकिरण भण्डारी (२०४१ मा जन्म) र निशाकुशुम भण्डारी (२०४४ मा जन्म)

राजनीतिक यात्रा -

भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित
२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी
२०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोषाध्यक्षमा निर्र्वाचित
२०४६ मा कीर्तिपुरमाभएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधी
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा निर्वाचित, हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित

२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५१ म काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री
२०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०६७ बाट २०६९ सम्म रक्षामन्त्री
                           
भ्रमण :

भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली

कुलबहादुर गुरुङ   

नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवार बन्नुभएका कुलबहादुर गुरुङ शालिन राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेका उहाँ लाभको पदमा कमै बसे पनि २००७ सालदेखि अहिलेसम्मै राजनीतिको केन्द्रबिन्दुमा छाइरहनुभएको छ ।

मध्यमवर्गीय परिवारमा जन्मिएका उहाँ नातावाद, कृपावाद नरुचाउने र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा जिल्लामा परिचित हुनुहुन्छ । इलाम नगरपालिका–२ स्थित पुख्र्यौली घरमा विक्रम संवत १९९२ मंसिरमा जन्मिएका गुरुङ इलामको राजनीतिक वृत्तमा 'केबी सर'का नामले परिचित हुनुहुन्छ । उहाँ जन्मिएको पुख्र्यौली घर चियावारीमाझको डाँडामा अझै सुरक्षित छ, जहाँ उहाँका भाइको परिवार बस्दै आएको छ । त्यही घरबाट विद्यार्थी राजनीति सुरु गरेका गुरुङ तीनपल्ट मन्त्री भैसक्नुभएको छ ।

संविधानसभामा अध्यक्षको विधिवत निर्वाचन हुनु अघिसम्म ज्येष्ठ सदस्यको रूपमा कार्यभार सम्हालेका गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय हुनुभयो । शुरुदेखि नै कांग्रेसमा आबद्ध गुरुङ झण्डै सात दशक लामो राजनैतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै राष्ट्रपतिको उम्मेद्वारी दिन पुग्नुभएको हो ।

विभिन्न समयमा गरी  तीन वर्ष जेल जीवन बिताएका गुरुङले निर्वासित जीवन बिताएको इतिहास छ । यस क्रममा २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कंदा उहाँ पनि त्रिभुवन विमानस्थलमा पक्राउ पर्नुभएको थियो ।

इलामकै आदर्श उच्चमावि (हाइस्कुल) बाट एसएलसी उत्तीर्ण भएपछि दार्जिलिङको सरकारी कलेजबाट आइएस्सी उत्तीर्ण गुरुङले पछि काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट बी.एड. सम्मको अध्ययन पूरा गर्नुभयो । त्यसअघि गुरुङले आदर्श हाइस्कुलमा नै उप–प्राध्यापकको रुपमा झण्डै एक दशक अध्यापन गर्नुभएको थियो ।
संविधानसभा पूर्वअध्यक्ष सुवास नेम्वाङ, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल समेतलाई उहाँले पढाउनुभएकाे थियाे ।

काँग्रेसबाट समानुपातिक सभासद रहेका गुरुङ २०५१ सालको मध्यावधि निर्वाचनमा इलाम–२ बाट संसदमा निर्वाचित हुनुभएकाे थियाे । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उहाँ इलाम–३ बाट निर्वाचित हुनुभयाे । उहाँ २०४८ र २०५६ मा पनि संसदीय निर्वाचनमा सहभागी हुनुभयाे । हाल का७माडाै‌मा बसोबास गर्ने गुरुङको परिवारमा श्रीमती रत्न, दुई छोरी रोशनी र प्रविणा तथा एक छोरा कौस्तुभ छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया