MENU

अन्तर्वार्ता

Ncell Axiata
NIC Asia

पीडितका ओठमा मुस्कान ल्याउँदै यसरी अघि बढ्छ पुनर्निर्माणको काम : सिइओ ज्ञवाली

लामो समयको राजनीतिक खिचातानीपछि सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा  नगर विकास कोषका इन्जिनियर सुशील ज्ञवालीलाई नियुक्त  गरेको छ ।

कुनै बाधा अवरोध नभए साढे २ वर्षसम्म व्यक्तिगत घर निर्माण सम्पन्न गर्ने र ५ वर्षमा सार्वजनिकर संरचना बनाउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले बताउनुभएको छ । उहाँसँग साथी अर्जुन पोख्रेलले कुराकानी गर्नुभएको छ : 

जाडो छल्न नसकेर भूकम्प पीडितको विजोग भएको बेला पुनर्निर्माण प्राधिकरणको  प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ, उनीहरुका लागि तत्काल के गर्नुहुन्छ ?

निकै ठूलो चुनौतीको समयमा पुनर्निर्माणको कार्यकारी प्रमुखमा नियुक्त भएको छु । मेरो पहिलो काम भनेको जाडो छल्ने उपाय नेभेटेर कष्टकर दैनिकी बिताइरहेका नागरिकलाई राहत दिने हुनेछ । सबै भूकम्प पीडितलाई न्यानो बनाउन मेरा सामु ठूलो चुनौती छ । पीडितलाई न्यानो दिन र औषधोपचारको लागि सरकारसँग सहकार्य गरेर काम गर्ने हो । तर हाम्रो  विडम्बना के भयो भने पहिला राहतका काम सकेर समग्र देशको पुनर्निर्माणमा लाग्नुपर्ने बेला हामी पुनः राहतको काममा लाग्नुपर्ने भएको छ । यसले पनि पुनर्निर्माणको काममा केही असहजता हुन सक्छन   । तर मेरो पहिलो प्राथमिकता चाँही पीडितको ओठमा मुस्कान ल्याउने नै हुनेछ ।

पुनर्निर्माण प्राधिकरणको मुख्य काम पीडितका घर ठड्याउनु पनि हो । बर्खाअघि पीडितका घर ठड्याउन सम्भव छ ?

पुनर्निर्माणको लागि आउँदो ३/४ महिना महत्वपूर्ण तयारी गर्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिले भूकम्पमा भत्किएका घर बनाउनुपर्छ । कस्ता घर बनाउने र कति समयमा बनाउने भन्ने अर्को चुनौती हो । त्यसका लागि पहिले हामीले घर बनाउने जग्गाको छनौट गर्नुपर्छ  । बाहिर टिलिक्क टल्कने घर बनाउने तर भित्र माटो कच्चा छ भने हामीले पुनर्निर्माण गरेका घरको औचित्य हुँदैन । घर बनाउनको लागि सरकारले नै २ लाख सहायताको घोषणा गरिसकेको छ । त्यसलाई हामीले पनि सहजीकरण गर्छौं ।

घर बनाउन चुनौती छ भन्नुभयो मुख्य चुनौती के के हुन त उसो भए ?


अहिलेको राजनीतिक अवस्थाले यो काममा केही अफ्ठेरो हुन्छ । हामीले रकम निकासा गरेर मात्र केही हुँदैन बजारमा निर्माण सामग्री र इन्धनको पनि उत्तिकै आवश्यक छ । यसका लागि सरकारले तत्कालै समस्या समाधान गर्नुपर्छ । यदि मानवीय संवेदनालाई विचार गरेर भारतले नाकाबन्दी खोलिदिने र नेपालभित्रैका सबैदलको एकमत भयो भने यो काममा निकै सहज हुन्छ । अनि प्राविधिक जनशक्तिको जोहो पनि तत्कालै गर्नुपर्छ । घरका नक्सा गाउँगाउँ सम्म पुर्‍याउनु पर्‍यो, बजेटको पनि त कुरा छ । तर जसरी सारा नेपाली पुनर्निर्माणको लागि एकजुट भएकाले यसमा केही सहजता पनि छन् ।


पुनर्निर्माण प्राधिकरणको प्रमुख नियुक्ती भएको खबरले सबै पीडित उत्साहित छन् उनिहरुलाई तपाँइ के भनेर विवस्त पार्नुहुन्छ त उसो भए ?

प्राधिकरणको सिइओ आफैमा जादुको छडी होइन । तर लामो समयको अन्यौलपछि सरकारले मलाई विस्वास गरेर यति ठूलो जिम्मेवारी दिएको छ । यसलाई मैले अवसरका रुपमा सदुपयोग गर्नेछु । तत्कालै सबै काम सम्भव पनि छैन । घर निर्माण गर्ने कुरा भनेको  अरुलाई देखाउन मात्र होइन सुरक्षाको लागि पनि हो । त्यसैले धेरै आत्तिहाल्नु पनि हुँदैन । सप्लाई सिस्टम सहज हुनेबित्तिकै घर बनाउने कामको  डिरेक्सन गर्नपनि सजिलो हुन्छ ।

व्यक्तिगत घर जस्तै पुरातात्विक संरचना ठड्याउन तपाँइको ठूलो भुमिका हुन्छ । निजी घर र सम्पदा एकैपटक निर्माण गर्ने कुरा कत्तिको चुनौतीपूर्ण छ ?

पीडितलाई छानामुनी राख्ने काम नै हाम्रो पहिलो प्राथमिकता हो । हामीलाई यसमा केही सहज छ । नागरिकलाई बास नदिइकन पुरातात्विक संरचना नबनाइहाल्दा समस्या छैन । तर देशको पर्यटन उकास्न र हाम्रो पहिचानको लागि पनि यी धरोहर उठाउनुपर्छ । यसका लागि पुरातत्व विभाग पनि त । सबै काम प्राधिकरणले गर्छ भन्ने  गलत बुझाइ पनि छ । ब्यक्तिका घर शहरी विकास मन्त्रालयको सहकार्यमा निर्माण भएजस्तै पुरातात्विक सम्पदा पनि अन्य विभाग र मन्त्रालयले पनि बनाउन सक्छन । त्यसैले हामी ब्यक्तिका घर र पुरातात्विक सम्पदा एकैपटक बनाउन प्रयास गर्छौं । अनि हामीले अहिले भएका सार्वजनिक भवन र संरचना पनि बनाउनुपर्ने भएकाले त्यसलाई पनि उत्तिकै महत्व दिन आवश्यक छ ।

पुनर्निर्माणको लागि खर्बौ रुपैयाँ  आवश्यक छ ,विकासका काममा हुने ढिलासुस्ती र अनियमितताले गर्दा यहाँ सहयोग घोषणा गरिसकेको केही देश र दातृनिकायले सहयोग फिर्ताको चेतावनी दिएका छन ।  कसरी कोष बलियो बनाउनुहुन्छ ?

विपतको समयमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निकै प्रशंसायोग्य छ ।  नेपालको पुनर्निर्माण जतिसक्यो चाँडो होस भनेर दातृ निकायले सचेत बनाएका हुन । यसलाई हामीले नकारात्मक नजरले हेर्नुहुँदैन । अर्कोकुरा कतिपय देशले त्यहाँको बजेटबाट नेपालाई सहयोग गर्ने घोषणा गरेका छन त्यसैले उनीहरु आफैले प्रक्रिया पूरा गर्दा पनि सहायता रकम आउन केही ढिलाइ हुन सक्छ । जुन देशले जति सहयोगको प्रतिबद्धता जनाएका छन, त्यो फिर्ता जाने अवस्था आउन दिने छैनौं । हामीले कामलाई गति दिएको अवस्थामा सहयोग फिर्ता जाने नभइ थप सहयोगको सम्भावना छ । 

नेपालको हरेक काममा राजनीतिक खिचातानीले असर गरेको छ । यसबाट जोगिन तपाईंसँग के योजना छ ?

नागरिकको दुःखपीडा र जीवनमरणसँग सम्बन्धि विषयसँग राजनीतीक प्रतिसोध आउला भन्ने त मलाई लागको छैन । राजनितीक दलले काम गर्ने भनेको जनताको लागि हो । यति साँच्चिकै जनताको लागि काम गर्नेहो भने उहाँहरुले यसमा राजनीति घुसाउनु हुनेछैन । भूकम्प गएको बेला हिमाल पहाड तराई मिलेर पीडितको घाउमा मलम लगाएको देख्दा पनि त्यस्तै आभाष हुन्छ । अनि संसदभित्र बस्ने र बाहिरै रहेका दलले पनि पुनर्निर्माण विधेयकमा बिरोध जनाएका छैनन, त्यसैले राजनीतिक खिचातानीले प्राधिकरणको काममा बाधा ल्याउला जस्तो मलाई लाग्दैन ।

त्यसोभए कतैबाट खुट्टा तान्ने काम भएन भने भूकम्पपछिको पुनर्निर्माण कति बर्षमा सम्भव हुने देख्नुभएको छ ?
 

पर्याप्त सामाग्री र जनशक्ति भएमा हाउजिङसँग सम्बन्धित ब्यक्तिगत घरहरु साढे दुई वर्षको समयमा हामीले पुनर्निर्माण गरिसक्छौ भन्ने लाग्छ मलाई । अरु पुरातात्विक संरचना र सार्वजनिक संरचना बनाउन चाहिं ठूला ठूला योजना बनाउनुपर्ने भएकाले पाँच वर्ष लाग्छ सक्छ । तर नयाँ मोडल भित्राउनुपर्ने  भएकाले थप केही समय लाग्न सक्छ । त्यसैले साढे दुई वर्षभित्र ब्यक्तिगत घर र पाँच वर्षभित्र सार्वजनिक घरको मोटामोटी संरचना तयार हुने मैले देखेको छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया