MENU

जनसरोकार

Ncell Axiata
USAID

जरिवाना धेरै भएपछि ट्राफिक नियम उल्लंघन गर्ने घटे

सुरेश तामाङ/उज्यालो ।  

काठमाडौं, जेठ ४ – वैशाख मसान्तसम्म दैनिक दुईहजार भन्दा धेरै सवारी चालक ट्राफिक नियम उल्लंघन गरेको कारण कारवाहीमा पर्दथे । जेठ लागेलगत्तै ट्राफिक नियम उल्लंघन गर्नेको संख्या घटेको छ । नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम बढेसँगै नियम उल्लंघन गर्नेको संख्या घटेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वैशाख ३० गते २ हजार १ सय १८ जना र ३१ गते २ हजार १ सय ४५ जना कारवाहीमा परेका थिए । नयाँ नियम लागू भएपछिको सुरुको दिन १ गते शनिबार ५ सय ३९ र आइतबार ६ सय २५ जना सवारी चालक कारवाहीमा परे ।  

नयाँ नियम लागू हुनुअघि ट्राफिक नियम उल्लंघन गर्नेले न्युनतम ५० रुपैयाँ र बढीमा एक हजार रुपैयाँसम्म तिर्नुपर्थ्यो । तर नयाँ नियम लागू भएपछि न्युनतम ५ सय  र बढीमा १५ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने हुन्छ । थोरै गल्तीकै कारण धेरै जरिवाना तिर्नुपर्ने भएपछि सवारी चालकहरु सचेत हुन थालेका ट्राफिक प्रहरीले जनाएको छ ।

जरिवाना र सजाय कम भएको कारणले ट्राफिक नियम उल्लंघन र सवारी दुर्घटनामा कमी नआएको भन्दै सरकारले गएको वर्ष असोज १४ मा यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै नयाँ नियम ल्याएको थियो । 

‘सरकारले बनाएको नयाँ नियम कडाईका साथ हामीले कार्यान्वयनमा ल्याएका हौँ ।’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले भन्नुभयो ‘ट्राफिक नियम उल्लंघन गरेमा लिईने जरिवाना रकमलाई बढाउने नियममा कडाई गरेसंगै सवारी चालकले ट्राफिक अनुशासन पालना गर्ने गरेको हामी देख्न सक्छौं ।’ 

लेन मिच्ने कम

नियम लागु हुनु अघि ३० र ३१ वैशाखमा क्रमशः ४ सय ३० र २ सय ४६ जना सवारी चालक लेन मिचेकोमा कारवाहीमा परे भने नियम लागु भएको पहिलो र दोस्रो दिनमा क्रमशः ७ र ५२ जना सवारी चालकलाई लेन मिचेकोमा ट्राफिक प्रहरीले कारवाही गर्‍यो ।

पछिल्लो दिनमा सवारी चालकले लेन अनुशासन पालना नगर्दा सवारी दुर्घटना भएको देखिएकोले लेन पालना गराउनै केद्रित भएका कारण लेन मिच्ने कसुर कम भएको महाशाखाका प्रवक्ता भट्टले बताउनुभयो । 

सवारीको अवस्था ठिक नभएको, सवारीको स्वरुप परिवर्तन गरेको, निषेधित क्षेत्रमा पार्किङ गरेको, जेब्रा क्रसिङमा सवारी नरोकेको लगायत ट्राफिक नियम पालना नगर्ने झण्डै दैनिक ५/६ सय सवारी चालक औषतमा कारवाहीमा पर्नेे महाशाखाले जनाएको छ । 

दुर्घटना न्युनिकरण गर्न विशेष अभियान

ट्राफिक प्रहरीले सडक दुर्घटनालाई न्युनिकरण गरी सडक सभ्यतालाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष अभियान पनि संचालन गरिरहेको छ । जसअनुसार महाशाखा लेन अनुशासन पालना गराउनमै बढी केन्द्रित रहेको सहप्रवक्ता भट्टको भनाई छ । 

उहाँ भन्नुहुन्छ, ‘सवारी चालकले लेन अनुशासन पालन नगर्दा दुर्घटना बढी हुने संभावना हुन्छ । सवारी साधनको चाप बढी हुँदा जाम कम गर्न र सवारी दुर्घटना कम गर्दै सवारी चालकलाई लेन अनुशासन पालना गराउनको लागि हामीले विशेष अभियान चलाएको हौ ।’

के कसुरमा कस्तो जरिवाना ?

तोकिएको भन्दा बढी मालसामान राखे, प्रयोजन विपरीत गाडी चलाए, हेल्मेट नलगाए, छतमा यात्रु राखे तथा अरु गाडीलाई असर पर्ने गरी चलाए पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्छ ।

यस्तै नयाँ नियम अनुसार लाइसेन्स बिना गाडी चलाए, सार्वजनिक ठाउँमा बाधा पुग्ने गरी पार्किङ गरे, दुर्घटनामा परेको गाडी तथा यात्रुलाई नोक्सानी पुर्‍याए, जाँड रक्सी खाएर गाडी चलाए एक हजार रुपैंया जरिवाना तिराइने ट्राफिक प्रहरीले जनाएको छ । नयाँ नियम वैशाख १९ गतेदेखि लागु गर्न खोजिएपनि तयारी नपुगेका कारण जेठ १ देखि लागु गरिएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया