MENU

अन्तर्वार्ता

USAID

गाडी भाडा र मौका मात्र दिए हुन्छ, म बाँचुञ्जेल पढाइदिन्छु : लालदेउसा राई

कलम र दिमागलाई जति तिखार्यो, त्यति तेजिलो हुन्छ । यही मान्यतामा विश्वास गर्ने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा पत्रकार लालदेउसा राई अझै शिक्षण पेशामा सक्रिय हुनुहुन्छ । उमेरले ८० वर्ष काटे पनि विद्यार्थीमाझ उभिंदा उहाँ उत्तिकै जोशका साथ पढाउनुहुन्छ । उहाँले एकपटक पढाएपछि विद्यार्थीले छर्लंग बुझ्छन् पनि । लामो समय पत्रकारितासँगै देश विदेशमा पत्रकारिता सम्बन्धी तालिममा समेत सहभागी राईले धेरै पुस्तक पनि लेख्नुभएको छ ।  

उहाँले पढाएका विद्यार्थीहरु अहिले देशका चर्चित मिडियामा आवद्ध भएर काम गरिरहेका छन् । नेपालमा पत्रकारिता अध्ययन सुरुवात गरेकाले उहाँलाई नेपाली पत्रकारिता शिक्षाका पिता समेत भनेर चिनिन्छ । उहाँसँग साथी नारायण अधिकारीले कुराकानी गर्नुभएको छ । 

तपाईं अहिले पनि पत्रपत्रिकामा विभिन्न लेख लेख्दै हुनुहुन्छ । तपाईंंको कलम कसरी पत्रकारिता क्षेत्रमा प्रवेश गरेको थियो ?

भारतको कोलकत्ता विश्वविद्यालयमा पढ्दा मैंले त्यहाँको नामुद पत्रिका द हिन्दुस्तान स्ट्यार्ड दैनिकमा एक वर्ष इन्टर्न गर्ने मौका पाएँ । पछि एक वर्ष काम गरेपछि मलाई हिन्दुस्तानले सर्टिफिकेट दियो । यो सन् १९५७ सालको कुरा हो । त्यसपछि औपचारिक रुपमा फिल्डमा गएर सन् १९५८ सालमा भारतबाटै पत्रकारिता सुरु गरेको हुँ । 

तपाईंले भारतबाट सुरु गरेको पत्रकारिताले कसरी नेपालमा प्रवेश पायो त ? 

भारतमा मैंले पत्रकारिता गर्दा म भर्खरको सिकारु थिएँ । भारत त्यसबेलै पत्रकारिता क्षेत्रमा महासागरको रुपमा स्थापित भैसकेको थियो । महासागरमा म जस्ता पौडन नजान्नेको काम थिएन । त्यो भन्दा यहाँ टाकुरामा त बस्न पाइन्छ भन्ने सोचेर नेपाल आएँ ।

म भारतमा काम गरिरहेको बेला राससमा पत्रकार चाहिएको रहेछ । नेपाल आएर राससमा फारम भर्न लाग्दा म्याद सकिसकेको रहेछ । पछि साथीहरुले अब यतै पत्रिका खोलौं भन्नुभयो । अनि नेपाल रिभ्यु भन्ने अंग्रेजी म्याग्जिन निकाल्यौं । यो दुई दुई महिनामा निस्कन्थ्यो । 

अनि आफैंले चलाउनु भएको म्याग्जिनबाट कसरी राईजिङ नेपालको सहसम्पादक हुनभयो ?

यो म्यागेजिनमा काम गरेको दुई अढाई वर्षपछि राइजिङ नेपालले पत्रकार माग्यो । साथीहरुले पनि तैंले फारम भर, तेरो अंग्रजी पनि राम्रो छ भने । फारम भरियो पछि रिजल्ट आउँदा मेरा नाम टपमा थियो । यसरी सन् १९६३ देखि म राइजिङ नेपालमा आवद्ध भएर काम गरेँ । ओहो ! मेरो छाती फुलेर आयो । चिताएको पूरा भयो ।

तपाईंं राइजिङ नेपालमा छिर्दा कस्तो थियो राइजिङ नेपाल ?

त्यसबेला राइजिङ नेपाल खुलेको भर्खर तीन चार वर्ष भएको थियो । पढेर आएका भन्दा पनि नपढी पत्रकारिता गर्ने थिए । साथीहरु सबै सिकारु थिए । कसै कसैले ट्रेनिङ मात्र लिएका थिए ।

मैंले मात्र पढेको भएकाले सबैको आँखा ममाथि थियो । त्यसै अनुसार मैंले दायित्व बोध गरेर काम गरे । राइजिङ नेपाल अंग्रेजी भएकाले यसका पाठक भनेको विदेशी थिए । विदेशीलाई लक्षित गरेर लेख्ने चलन थियो । 

त्यसबेलाको रिपोर्टिङको अभ्यास चाहिँ कस्तो थियो ?

त्यसबेला रिपोर्टर राखेर, फिल्डमा गएर लेख्ने चलन थिएन । लेख चाहिँ लेख्ने चलन थियो । तर म फिल्डमा गएर आफैंले समाचार संकलन गरेर समाचार लेख्न चाहन्थें । मैंले काठमाडौंमा कुनै घटना हुँदा रिपोर्टिङ गरेर आफैं सामाचार लेख्छु भन्दा सम्पादक बरुण शमसेर राणाले “नो, हुँदैन” भन्नु भयो । 

भनेपछि तपाईंले राइजिङ नेपालमा रिपोर्टिङ नै नगरी तपाईंको जागिर सकियोे ? 

मैंले बरुणसँग बारम्बार कुरा गरेपछि ल गर भनेर पहिलोपल्ट जापानी दुतावासमा भएको फ्लावर शो (पुष्प प्रदर्शनी)को रिपोर्टिंग गरे । त्यही हो पहिलो पटक मैंले रिपोर्टिङ गरेको । त्यसपछि मैंले बल्ल पत्रकारिता गरेजस्तो लागेको थियो । 

त्यसो भए समाचारपत्रका पाना चाहिँ कसरी भरिन्थ्यो नि ? 

एएपीबाट समाचार आउँथ्यो । त्यसलाई राससले पहिला लिन्थ्यो । सरकार र राससले अनुमति दियो भने मात्र समाचार छापिन्थ्यो । एएपीबाट आउने सामाचार पनि मेशिनबाट चल्थ्यो ।

राससले मेशिन अफ गर्‍यो भने समाचार पनि बन्द हुन्थ्यो । यसरी बाहिरबाट आएका समाचारका टिकट हेर्दै मेरा चार वर्ष जति बिते  । सरकार, रासस र दरबारले जे पठायो त्यही छाप्ने चलन थियो । 

काम गर्दा तपाईं र सम्पादकको सम्बन्धमा केही खटपट भयो कि भएन ?

त्यसबेला रत्नराज्य तुलाधर नाइट सम्पादक हुनुहुन्थ्यो । यो सन् १९६८ तिरको कुरा हो । रत्नलाई विदेशमा पढ्न जाने अफर आयो । उहाँ बाहिर जाने भएपछि मैंले रातीको ड्युटी गर्नुपर्ने भयो । रातको १ बजेपछि के के न्युज आए हेरेर सही गरेपछि खाता क्लोज गर्नुपर्थ्यो । त्यसपछि आएका समाचार छाप्न सम्भव थिएन । त्यसपछि समाचार छाप्ने प्रक्रियामा जान्थ्यो । 

नाइट ड्युटी सकिएपछि साढे आठ बजे बिहाने सम्पादक बरुणलाई बेलुका केके भयो रिपोर्टिङ गर्नु पर्थ्यो । एकदिन बिहान बरुणलाई रिपोर्टिङ गर्न जाँदा गर्धन फुलाएर बसिराख्या रहेछ । तपाईं के गर्नुहुन्छ ? यहाँ के के भैसक्यो तपाईंको पेपरमा छैन ? भन्दै बरुणले टेबल ठटाए । त्यसबेला इजिप्टका प्रधानमन्त्री नासरको मृत्यु भएको रहेछ । नासर बितिसके तपार्इंको पेपरमा छैन तपाईंले स्पष्टिकरण दिनुपर्‍यो भने । ला ! अब मेरो जागिर चट् भो । मलाई रिस पनि उठ्यो । ल ठिक छ मलाई एक्स्पेल्न गर्ने मौका दिनुस् भनें । 

नासरको समाचार त आएको थिएन । तैपनि कतै छुट्यो कि भन्ने लाग्यो । त्यसपछि समाचारको टोकरीमा नासरको समाचार खोज्न थालें । राती १ः२० सम्मको सबै समाचार हेर्दा नासरको समाचार भेटिएन ।

लक्किली एउटा सानो चिरकटोमा नासर लेखेको भेटें । त्यस चिरकटोको लेफ्ट साइडमा ३ः२० लेखिएको थियो । त्यो भनेको समाचार प्राप्त भएको समय हो । ला ! अरु मलाई मतलब भएन मैंले आँखा चिम्लेर बरुणको अगाडि त्यो चिठी पछारें । न्युजको सही गरेर १ः२० मा पठाइसक्नुपर्छ, समाचार आएको छ ३ः२० मा । बरुण शमसेर त्यो चिठी पाएपछि कुलेलम दौडिए । 

त्यसबेला तपाईंले पत्रकारिता गर्दा लागेको दुखद क्षण छैनन् ? 

छन् । बाहिरबाट समाचारका टिकट आउँथे । एक पटक एएपीले पेरिसको डेडलाइनमा पठाएको समाचारको टिकट माथि नेपाल भनेर आयो । मलाई चाख लागिहाल्यो । खोलेर हेरें । त्यहाँ लेखिएको थियो । इन रिमोट डिष्ट्रिक अफ नेपाल । नियर्ली ४५ चिल्ड्रेन मे ह्याभ बिन डाइड अफ डाइरिया । अनि मलाई कस्तो दुःख लाग्यो भने मेरो मुलुकमा बच्चा मर्छ, आउँछ पेरिसबाट अनि मैंले छाप्नुपर्ने ।  मलाई यस्तो ग्लानी भयो । 

अनि त्यो छाप्नुभयो ? 

साथीहरुसँग छलफल गरियो छाप्नै पर्ने दबाब हुन्थ्यो । बाहिरबाट आएको समाचार  छाप्नु अनिवार्य जस्तै हुन्थ्यो । पछि छापियो । 

त्यसबेला पञ्चायतको समय थियो । तपाईं त झन सरकारी समाचारपत्रमा काम गर्नुहुन्थ्यो । त्यसबेलाको पत्रकारिता त सरकारले जे भन्छ त्यही छाप्ने होला नि ? 

मैंले अघि नै भनें नि । रिपोर्टरहरु थिएनन् । राजाको सवारी हुुँदा मात्र फिल्ड्मा गएर काम गरिन्थ्यो । रासस, सरकार र विदेशी न्युज एजेन्सीले पठाएका समाचार छाप्ने चलन थियो । प्रेस कानुन पनि कठोर थियो ।

पछि नगरपञ्चायतले नगरपञ्चायतको एरियामा मात्रै रिपोर्टर राख्यो । त्यो पनि सरकारको अनुमति बिना  छाप्न पाईंदैन थियो । यो गोरखापत्रले सुरुवात गरेको थियो । त्यसबेला मैंले पढेको पत्रकारिता सिद्धान्त एकातिर, अभ्यास अर्कोतिर भयो । मैंले पढेको सिद्धान्त अभ्यास गर्न पाइएन । त्यसबेला अमेरिकी राष्ट्रपति रिर्चाड निक्सनेले जे बोले पनि ब्यानर समाचार बन्थ्यो ।

चित्रहरुको कुरा गर्दा विदेशबाट सरेस जस्तो मेटेरियलमा आउँथे । तीनलाई काठको ब्लक बनाएर छाप्ने चलन थियो ।  

भनेपछि राइजिङ नेपालले स्वदेशको भन्दा विदेशको समाचारलाई प्राथमिकता दिन्थ्यो ? 

हो नि । विदेशी समाचारलाई नेपालमा सूचना दिने काम नै राइजिङ नेपालले गर्‍यो । हामीले छापेका जति पनि समाचार थिए ति सबै विदेशी थिए । विदेशी समाचारको बारेमा नेपालीलाई जानकारी दिने काम भयो । 

तपाईंले त्यसबेला पत्रकारिता गर्दा त पत्रकारहरु पनि थोरै थिए । थोरै पत्रकारहरु हुँदा त नागरिक माझमा तपाईंहरुको पनि त छुट्टै एक खालको पहिचान थियो होला नि !

पत्रकारहरु थिए नि । कमनर चलिराख्या थियो, मदरल्याण्ड चलिराख्या थियो । रमेशनाथ पाण्डेको नयाँ सन्देश पनि थियो । कमनरमा गोपालदास श्रेष्ठ थिए । मदरल्याण्डका मणिराज थिए ।

रमेशले त नग्न चित्र पनि छाप्थ्यो । नग्न भन्नाले त्यस्तो त हैन महिलाको चित्र राखेर छाप्थे । बाफ रे बाफ त्यसबेला जिब्रो टोक्थे  मान्छे । तर ज्यादै एकदमै सशक्त ढंगमा समाचार आउने चलन चाहिँ थिएन । 

तपाईंले त फिचर डेस्क प्रमुख भएर पनि काम गर्नु भएको थियो । फिचर डेस्कमा काम गर्दाको तपाईंको अनुभव कस्तो छ ?

म फिचर डेक्समा काम गर्थें । एक दिन एकजना गोरे फटाफट मेरो डेस्क अगाडि आएर ट्यास्स बस्यो । ए साले मलाई त एकदम रिस उठ्यो । ह्वाई डिड यु कम हियर विथआउट नोकिङ द डोर । त्यसले सोचेछ क्यार यो लाहुरे साहुरे के होला भनेर साला के जान्छ भन्ने सोचेछ क्यारे ।

मैंले मार झपारें । त्यसपछि रातो मुख लगाउँदै ओके सर सरि भन्दै गयो । त्यो टी गार्डेनको मालिक रैछ । त्यसले यहाँ राइजिङ नेपालमा कसले के गर्छ भनेर बुझ्न आए जस्तो लाग्यो ।

त्यसबेलाको पत्रकारिता र अहिलेको पत्रकारितामा के फरक पाउनु भयो ?

२०३३ सालमा अहिले जेलमा बसिराख्या छ नि फेमस सिरियल किलर चार्ल्स शोभराजले भद्रपुरमा मान्छे मारेका थिए । त्यसबेला समाचार लेख्न पाइएन, मान्छे पनि हरायो भनियो । मलाई लागेको थियो यो त बडा ठूलो घटना भयो, समाचार बनाउनु पर्‍यो भन्दा पाइएन । अहिले शोभराज जेलमा छ ।

त्यतिखेर त्यसको समाचार छाप्न पाइएको थिएन । अहिले त त्यो जेलमा छ त्यसले गरेका सबै कुराको समाचार छाप्न सकिन्छ । अहिले यति धेरै परिवर्तन भएको छ । अहिले नेपालमा भएको फ्रि प्रेस र फ्रि सोसाइटीलाई चाहिँ मान्नुपर्छ । 

अलिकति प्रसंग बदलौं । तपाईंलाई त नेपालमा पत्रकारिता शिक्षाका जन्मदाता पनि भनिन्छ । तपाईंले पढाएको पत्रकारिता सिद्धान्त व्यवहारमा लागु भएको छ त ?

हो, मैंले २०३३ सालमा रत्नराज्य कलेजमा पत्रकारिता सुरु गरेको हुँ । त्यसबेला रत्न राज्यका क्याम्पस प्रमुख बिष्णुबहादुर सिंह हुनुहुन्थ्यो । सिद्धान्त भनेर पिओर सिद्धान्त, फरमुला इजकल्टु एमसी स्क्वायर भनेर त्यसरी चाहिँ पत्रकारिता सिद्धान्त हुँदैन ।

पत्रकारिता सिद्धान्त भनेको मास कम्युनिकेशन सिद्धान्त हो । एउटा अप्लाइड सिद्धान्त हुन्छ अर्को पिओर सिद्धान्त छ । अप्लाइड सिद्धान्त लागू हुन्छ । हामी कहाँ के कमजोरी छ भने विश्वविद्यालयमा पढेको सिद्धान्त लागू गर्न सकिरहेको छैन । 

के कारण पत्रकारिता सिद्धान्त व्यवहारमा लागू हुन सकेन त ?

उत्तर र दक्षिणको राजनीतिक फोर्सेस, नेपाली दलगत फोर्सेस र लगानीकर्ताले गर्दा लागू हुन नसकेको हो । तपाईं सिद्धान्तमा पढ्नुहुन्छ यो समाचार हो । त्यही सिद्धान्त अनुसार तपाईंं समाचार लेख्न चाहानुहुन्छ भने दिँदैन मालिकले । उसले पढेको छैन र सिद्धान्त जानेको छैन । अर्को दलगत स्वार्थका कारण लागू नभएको हो । 

तपार्इंले पढाएका विद्यार्थी अहिले नेपालका धेरैजसो मिडियामा आवद्ध छन् । यस्तो देख्दा तपाईंलाई कस्तो लाग्छ ? 

स्वाभाविक हो यो कुरा म आफैले नाम कमाए जस्तो लाग्छ । धन्य छु मैंले उनीहरुलाई राम्रो बाटो देखाउन सकेछु । खास मैंले फिल्डमा गएर काम गर्ने त हैन ।  मैंले त्यो काम गर्ने चेतना दिएँ, त्यो मैंले गरें । मलाई खुसी लाग्छ । 

तपाईंले पत्रकारिता पढाउन थालेको ४० वर्ष भइसकेको छ । तपाईंले सुरु सुरुमा पढाएका विद्यार्थी र अहिलेका विद्यार्थीमा के फरक पाउनुहुन्छ ?

धेरै फरक छ । उहिलेका विद्यार्थीहरु बिचरा के हो के अन्धकारमा हिँडेका थिए । अहिलेका विद्यार्थी त्यस्ता छैनन् । उनीहरु निकै कुरा पहिले नै थाहा पाएर आउँछन् ।

अनि यहाँ त गुरुहरुलाई उल्टै परीक्षा पो लिन्छन् त । को कति पानीमा रहेछ । उनीहरुले परीक्षा पो लिन्छन् । किनभने अहिलेका विद्यार्थी पढाइ सँगसँगै अभ्यास पनि गरिरहेका हुन्छन् । पहिलाका त्यस्ता थिएनन् । अहिलेका विद्यार्थी विश्वस्तरका कुरा गर्छन पहिला त्यस्तो थिएन ।

तर अर्को कुरा मलाई जब विद्यार्थीले पढेर आउँदैनन, मैंले सिकाएको कुरा सिक्दैनन् जान्दैनन त्यसपछि साँच्चै भन्ने हो भने मलाई अझै पनि निद्रा लाग्दैन । मलाई त्यो दिनै बिग्रेजस्तो लाग्छ ।  

तपाइले शिक्षण पेशाबाट त अवकाश पाईसक्नु भयो । उमेर पनि ८० वर्ष पुगिसकेको छ । तर अझै पनि पढाइराख्नु भएको छ । कहिलेसम्म पढाउनु हुन्छ ?

हैन अवकाश भएपनि विश्विद्यालयले पढाउ भनेको छ । अझेै पनि पढाउ भन्छ भने म आइदिन्छु । जहिलेसम्म पढाउ भन्छ म त्यतिखेरसम्म पढाइराख्छु । मलाई यो दे उ दे भन्दिन मलाई लोभ लालच पनि छैन । मलाई कुनै दर्जा पनि दे भन्दिन । मलाई आउने जाने गाडी भाडा देओस् पढाउने मौका देओस् म बाचुन्जेल पढाइदिन्छु । 

प्रतिक्रिया दिनुहोस

Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया