MENU

अन्तर्वार्ता

Ncell Axiata

ओबामाले चुनावमा सफलता पाउनुको एउटा कारण सोसल मिडिया : सल्लाहकार म्याकोन

साउन १६ – अमेरिकी राष्ट्रपतिका एकजना सल्लाहकार म्याकोन फिलिप्स अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाको ब्युरो अफ इन्टरनेशनल इन्फरमेसन प्रोग्राम्सको संयोजकको रुपमा उहाँले काम गरिरहनुभएको छ । स्टेट ब्युरो अफ इन्टरनेशनल इन्फरमेसन प्रोग्राम्सले सार्वजनिक कुटनीति अन्तर्गत विदेशी नागरिकलाई अमेरिका तथा अमेरिकी नीतिबारे जानकारी दिने काम गर्दछ । उहाँले राष्ट्रपति बाराक ओबामाको सल्लाहकारको रुपमा पनि काम गर्नुभएको छ । विशेष गरी उहाँले सञ्चार क्षेत्र तथा नयाँ मिडियाको प्रयोगबारे काम गर्दै आउनुभएको छ । उहाँसँग उज्यालोका लागि सुनीता पहरीले कुराकानी गर्नुभएको छ :

  • तपाईं अमेरिकी राष्ट्रपति बाराक ओबामाको सल्लाहकार हुनुहुन्छ, नेपालजस्तो विकासोन्मुख देशमा चुनावका बेला मतदातालाई सक्रिय बनाउन कसरी न्यु मिडिया तथा सोसल मिडियाको प्रयोग बढाउन सकिन्छ होला ? 

अहिले नयाँ मिडिया जस्तै मोबाइलमा मानिसको पहुँच बढेको छ । यस्ता नयाँ प्रविधिको प्रयोग ग्रामीण क्षेत्रमा पनि बढ्दो छ । जसका कारण मानिसलाई एक आपसमा जोड्न तथा सूचनाहरु प्रवाह गर्न सजिलो पनि भएको छ । फेसबुक, ट्वीटर, वेभसाइट जस्ता माध्यमबाट पनि नागरिकलाई जानकारी गराउन सकिन्छ भने बढी भन्दा बढी मानिससम्म पुग्न सकिन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले चुनावका बेला सफलता हात पार्नुको एउटा मुख्य कारण पनि सोसल मिडियाको प्रयोग पनि हो । 

  • नेपालमा छिट्टै नै विभिन्न तहका चुनाव हुँदैछन् । संचारमाध्यम तथा पत्रकारले चुनावी प्रकृयामा कस्तो भूमिका खेल्नुपर्छ ?

संचार माध्यम र पत्रकार प्रजातन्त्रको एउटा महत्वपूर्ण पाटो हो । सरकारले आफूले के गरिरहेको छ भनेर जानकारी दिनु उसको कर्तव्य हो । यस्तै पत्रकारहरुले ती सूचना नागरिकले बुझ्ने भाषामा व्याख्या गरिदिनुपर्दछ । यस्तै कुनै पनि संचार माध्यमले महत्वपूर्ण विषय जसले देश र नागरिकलाई प्रभाव पार्छन्, त्यस्ता विषयमा जानकारी दिनु अति महत्वपूर्ण हुन्छ । 

चुनावकै कुरा गर्नुपर्दा के कस्ता विषयहरु मतदातालाई जानकारी दिने र उनीहरुले आफ्नो निर्णय आफैं लिन सक्ने बनाउन पनि पत्रकार तथा संचारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । मतदातालाई चुनावअघि चुनावका बेला र चुनावपछिका विषयवस्तुबारे जानकारी गराउन संचारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दछन् । त्यसैले मतदातालाई उनीहरुका अधिकार तथा चुनावको महत्वबारे अहिलेदेखि नै बुझाउने काम गर्नु जरुरी छ । 

  • अमेरिकाले नेपालको कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ? अमेरिकामा पनि छिट्टै नै राष्ट्रपतीय चुनाव हुँदैछ, त्यसले विदेश नीतिमा केही फरक ल्याउँछ कि ? 

अमेरिकामा राष्ट्रपतिका उम्मेवादवारले आ–आफ्नै विदेश नीतिबारे चर्चा गरिरहेका छन् र अमेरिकाको अमेरिकी नीति कस्तो हुने भन्ने कुरा चुनावमा कुन पक्षको जित हुन्छ भन्नेमा भर पर्छ । त्यतिबेलासम्म राष्ट्रपति बाराक ओबामाले अहिलेकै विदेश नीति अपनाउनुहुनेछ र नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिनेछ । 

नेपाल अमेरिकाका लागि महत्वपूर्ण मित्र हो । हाम्रो मुख्य प्राथमिकता भनेको नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्नु, उद्यमशीलता विकासका क्षेत्रमा मद्दत गर्नु हो । यस्तै, भूकम्पपछिको पुननिर्माणमा गर्दै आएको सहयोगलाई निरन्तरता दिनेछ भने नेपालमा निष्पक्ष र स्वतन्त्र चुनावका लागि पनि अमेरिका सहयोग गर्न तयार छ । 

  • तपार्इं अहिले नेपाल भ्रमणमा हुनुहुन्छ, भ्रमणको मुख्य उदेश्य के हो ?

म अमेरिकाको वासिङटन डिसिमा स्टेट डिपार्टमेन्टमा काम गर्छु  । मेरो काम भनेको विश्वका विभिन्न देशमा रहेको अमेरिकाको दूतावासलाई सहयोग गर्नु हो । नेपालमा रहेको अमेरिकी दूतावासले गरिरहेका विभिन्न कार्यक्रमहरुलाई सहयोग गर्न म नेपाल आएको हुँ । 

जसमा काठमाडौंमा भर्खरै मात्र सुरु गरिएको उद्यमशीलता विकास कार्यक्रम पनि पर्दछ । यो कार्यक्रमले मानिसहरुलाई उद्यमशीलताको सीप सिकाउने लगायत कुरालाई केन्द्रमा राखेर काम गर्दै आएको छ ।

  • स्टेट ब्यूरो अफ इन्टरनेशनल इन्फरमेसन प्रोग्राम्सले के काम गर्छ र नेपालले यसबाट कसरी फाइदा लिइरहेको छ ?

स्टेट ब्यूरो अफ इन्टरनेशनल इन्फरमेसन प्रोग्राम्स मुख्य ३ कुरामा केन्द्रित भएर काम गर्छ ।  सार्वजनिक कुटनीति अन्तर्गत विदेशी नागरिकलाई अमेरिका तथा अमेरिकी नीतिबारे पर्याप्त जानकारी दिने काम गर्दछौं । हाम्रो बेभसाइट तथा विभिन्न देशमा रहेका दूतावासबाट पनि अमेरिकाबारे सहज रुपले जानकारी दिने व्यवस्था गर्छौ । 

यस्तै महत्वपूर्ण विषयवस्तु जस्तै जलवायु परिवर्तनका बारेमा पनि विभिन्न देशमा बहस चलाउने काम गरिरहेका छौ । नेपालको सन्दर्भमा अमेरिकाको प्राथमिकता भनेको उद्यमशीलता विकास गर्नु हो । नेपालमा उद्यमशीलताको क्षेत्रमा नयाँ विचार र सिर्जनशीलताको अवस्था निकै उत्साहजनक पाएका छौ । त्यसैले अमेरिकाले कसरी उद्यमशीलताका लागि वातावरण प्रदान गर्छ भन्ने कुरा जानकारी गराउने काम पनि गरिरहेका छौ । 

  • सञ्चार तथा नयाँ मिडियासँग नजिक रहेर तपाईले काम गरिरहनुभएको छ, मिडियाले लोकतन्त्रको प्रवद्र्धन गर्न कस्तो भूमिका खेलेको पाउनुभएको छ ?

सरकार र नागरिकको सम्बन्धमा अहिले सामाजिक सञ्जाल र प्रविधिको प्रभाव निकै परेको छ । यसका सबै गुण छन् भन्ने छैन यसका नकारात्मक पक्ष पनि छन् । इन्टरनेटमा राखिने सबै कुरा सही हुन्छन् भन्ने छैन । 

तर फाइदाको कुरा गर्दा नागरिकलाई आवश्यक तथा महत्वपूर्ण लागेका कुरा सजिलैसँग आदानप्रदान गर्न सक्छन् । यस्तै, समाजिक सञ्जाल तथा न्यु मिडियाले सरकारलाई पनि आफ्ना नागरिकका माग बुझ्न र त्यसअनुसार काम गर्न अवसर सिर्जना गरिदिएको छ ।  

प्रतिक्रिया दिनुहोस

Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया