MENU

विचार/अनुभूति

पीडा गाउँमा, अभियान सहरमा

इन्द्रसरा खड्का -

घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि हिंसारहित समाज, भन्ने नाराकासाथ महिला हिंसाविरुद्धको १६ दिने अभियान आज सकिँदैछ । के यसले सार्थकता पाएको देख्नुहुन्छ तपार्इं ? कति वर्ष भयो यस्तो अभियान सुरु गरेको ? यसबारे भनिरहनु पर्दैन । नारा नारामै सिमित रहेको जस्तो लाग्छ । 

भन्नेहरु भन्लान् नेपालमा राष्ट्रपति महिला, सभामुख महिला मुख्य मुख्य पदमा महिला नै महिला । अब महिलाले अधिकार प्राप्त गरीसके भनेर । तर खोई महिलाले आफ्नो हक अधिकार पाएका झैँ लाग्दैनन् । म त गाउँकी सामान्य छोरीमान्छे । छोरीले राम्रोसँग समाजमा गएर सत्य तथ्यका बारेमा बोल्न नहुने समाजको छोरी, बाहिर गएर कुनै ठाउँमा काम गर्न नहुने समाजको छोरी । छाउभएपछि आठ दिन छाउपडी गोठमा बस्नु पर्ने समाजको छोरी, मलाई के थाह हुन्छ र यस्तो अभियान बारेमा ? 

तर पनि म यस्तो समाजमा जन्मेरै ग्रामीण स्तरबाटै समाजलाई केही परिवर्तन गर्नु पर्छ भन्ने सोच्न सक्ने भएकी छु । त्यसको लागि हामी युवाले नै केही गर्नु पर्छ भनेर आवाज उठाउन सक्ने, आफूमा क्षमता भएकाले मैले केही बोल्न सक्ने भएकी छु । तर हाम्रै गाउँठाउँका छोरी चेली सेमिनारमा गरिने कुराबाट कोशौँ टाढा छन् । देख्नेका आँखाभन्दा निकै पर। 
खुसी पनि लाग्छ कहिले काँहि आफू धन्न बोल्ने सक्ने छु । तर दुःख पनि उत्तिकै लाग्छ म जस्तै हाम्रो दिदीबहिनी अझै बाध्य छन् अन्धकारमा बस्न । छाउभएकै कारण छाउपडी गोठमा बस्नु के उनीहरुका लागि यो महिला हिंसाविरुद्धको अभियानले केही गर्न सक्तैन ? किन ? 

हुन त हाम्रो समाजमा, हाम्रो गाउँठाउँमा अन्धविश्वास अझै छ । रुढीवादी परम्परा अझै कायमै छ । तर महिलाको क्षेत्रमा काम गर्ने संघसस्था पनि त उत्तिकै छन् । किन आखिर यसको अन्त्य हुन सकेको छैन ? यसको बारेमा कसैको ध्यान गएको छ र ?

विकट बस्तीमा उनीहरुको ध्यान कसरी जाओस् । यहाँ सेमिनार गर्न कुनै पाँचतारे होटल छैनन् । जनताको आँखामा छारो फालेर पैसा खानु छ । आफू अघि बढ्नु छ, धनी बन्नु छ यति त हो । जिल्लामा काम गर्ने संघ संस्थाले गरेको काम देखेर र यो अभियान चलिरहेको बेला नै मैले यस्तो कुरा गर्न बाध्य भएको हुँ ।

अछाम जिल्लाको विकट गाविस षेडशादेवी वडा नम्बर ८ मा मेरो घर पर्छ । २०६८ सालमा रेडियो रामारोशन ९२ मेगाहर्जबाट आफ्नो काम सुुरु गरेँ । त्यसपछि मैले अझ राम्ररी थाह पाएँ अछाम जिल्लामा महिलाको अवस्था कस्तो छ भन्ने । अहिले म छिमेकी जिल्ला बैतडीको रेडियो निंगलासैनी ९४ मेगाहर्जमा काम गरिरहेको छु । एक वर्षको अबधिमा मलाई अछामको भन्दा दयनीय स्थिति बैतडीका महिलाको लागिरहेको छ । 

अझ दलित महिला त्यो भित्रै पनि मुक्तहलियाको अवस्था दयनीय पाएको छु । महिलाको क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्था त बैतडीमा पनि नभएका होइनन् । अनि महिलाको क्षेत्रमा काम गर्ने संघ संस्था कति छन् र तिनले के काम गरीरहेका छन् अनि त्यसको प्रभाव महिलामा कत्तिको परीरहेको छ त ? 

मेरो बिचारमा जति पनि संघ संस्थाले काम गर्छन् सदरमुकाम केन्द्रित, यातायातका साधन पुगेको ठाउँमा केन्द्रित हुन्छ । किन यस्तो त ? आखिर हुनेखाने जान्नेबुझ्ने महिला सदरमुकाम र यातायातका साधन पुगेको बजारमा केन्द्रित छन् त्यसैले होला । के महिला हिंसाविरुद्धको १६ दिने अभियानले यस्तै महिलाका लागि काम सुरु गरेको हो त ? 

मैले सहरी क्षेत्रमा समस्या छैन भनेकी होइन तर गाउँमा अझै समस्या विकराल छ अनि चेतनाको स्तर पनि निकै कम।

नभए किन ग्रामीणस्तरमा अभियान पुग्दैन ? महिलाको क्षेत्रमा काम गर्ने महिला हिंसाविरुद्ध काम गर्दै आएका महिला अधिकारकर्मीसँग पनि यसको जवाफ छैन । आफ्नो कामको सहजता हेर्नु र आएको बजेट पचाउनु नै उनीहरुको काम जस्तो देखिन्छ । उनीहरुलाई थाह छैन महिला कसरी र किन हिंसामा परेका छन् ? अझै बाध्य छन् हाम्रो ग्रामीण महिला दिदी बहिनी आत्मा हत्या गर्न, अझै बाध्य छन् छाउपडी गोठमा बल्ताकृत हुन । अझै छन् दुव्र्यबहार सहन बाध्य । यसको अन्त्यका लागि चाँहि कसले काम गर्ने ? ग्रामीण भेगमा यस्ता घटना बढीरहँदा सदरमुकाम केन्द्रित कार्यक्रम र्यालीजुलुस निकालेर समस्याको समाधान होला त ? 

बैतडीको समस्या हेर्दा निकै दर्दनाक छ । आफू हिंसामा पर्दा अदालतमा गएर न्यायसमेत पाउन नसकेको अवस्था छ । आफ्नै श्रीमान्, सासु, ससुरा, नन्दबाटै एउटा महिला पीडित हुन्छे । मर्नु न बाँच्नुको दोसाधमा आप्नो जीवन गुजारी रहेको अवस्थामा न्याय पाइरहेकी छैनन् भने किन यस्तो अभियान चलाई राख्नु पर्यो त ? ठूला भाषण गर्न कि समाजमा बाहिरी आवरण पोत्न ?

फेरी घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि हिंसा रहित समाज भन्ने नारा राखिएको छ । नारा हेर्दामा कति राम्रो । तर यसको व्यवहारिकता खै ? १६ दिनपछि सकियो त सबै ? घर शान्ती नै विश्व शान्तीको आधार त हो नै । महिला आफ्नै घरबाट पीडित छे, उसले खान पाएकी छैन,  लाउन पाएकी छैन, बस्न पाएकी छैन, उसले घरबाट हेला पाएर समाजबाट नै अपहेलित हुनु परेको छ । 

यदि महिला हिंसाविरुद्धको अभियान चलाउने हो भने सहरबजारमा केन्द्रित हैन, जानुस् ग्रामीण स्तरका बस्ती बस्तीमा गएर चेतना फैलाउनु आवश्यक छ । चेतनाको स्तर जहाँ कम छ त्यहाँसम्म अभियानकर्ता पुगेकै छैनन् । जसले बुझेका छन् । जससम्म सहज पहुँच छ त्यहाँ भाषण गरेर फोटो खिचेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा फुक्नुले पैसा सक्ने मेलो मात्र भएको छ ।  

हिंसाविरुद्धको १६ दिने अभियान गएको वर्षको जस्तै, यो वर्ष उस्तै, अर्को पटक पनि यस्तै त होला ? नयाँ के त ? महिला जागरुक बनाउने, हिंसाविरुद्ध आवाज उठाउनका लागि केही फरक सोच्नुपर्ने होइन र ? आफ्नो ठाउँबाट म पनि सहयोग गर्न तयार छु, आउनुहोस् केही नयाँ गरौँ, काम गरौँ, पैसा सक्ने मेलो मात्र छाडौँ । महिलामाथि हुने हिंसाको अन्त्य गरौँ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया