MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

नारायणगोपालसँग गीत गाउनै लाज लाग्थ्यो

दिलमाया खाती - 

बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा 

तिमीलाई भेट्न आउँदै छु फर्की रमाईंलो गाउँमा...

गीत जस्तै पो भयो त जिन्दगी । डाँडापारीको जुन भएँ । ७० नाघिसकें । अब त यतै बस्न पनि के हो के हो, उता जान पनि मन एक तमासको हुने के । छट्पटी लाग्छ । बस्नै पो सक्दिन त म । घर बस्न पटक्कै मन नलाग्ने के । 

पहिला त मलाई नारायणगोपालसँग गीत गाउनै मन नलाग्ने । लाज लागेर । आम्मा हो मलाई त कस्तो लाज लाग्ने कि...कसरी गीत गाउने हो उनीहरुसँग भनेर नि ।  म त गाउनै मानिन । सबैजनाले ‘त्यति टाढाबाट आएको मान्छे कस्तो गाउँदिन भनेको कस्तो मान्छे हो हौ’ भनेर गाली गर्न थाले । गाली खाएपछि मैले गाउन थालें ।

पछुतो लाग्छ नि अहिले  । मसँग गीत गाउँछु भनेर आउनु भएको नारायणगोपाललाई मैले गाउँदिन भन्दा कस्तो लाग्यो होला भनेर (आँखाभरी आँशु पार्दै) । 

अहिले उहाँ हुनुहुन्न । सारै मन अमिलिन्छ नि । एकदमै राम्रो मान्छे । राम्रो भएर त दोस्त भइयो नि । तारादेवी, नारायणगोपाल, गोपाल योञ्जन त साथी जस्तै के मेरो । के भन्ने होला त तिमीलाई भन्दाभन्दै नारायणगोपालले मलाई दोस्त भन्न थाल्नु भयो । केहि कुरा भन्नुपर्दा दोस्त कसरी गर्ने, दोस्त यस्तो भयो नि भन्नु हुन्थ्यो । तरादेवी र म त सँगै सिनेमा हेर्न नि जान्थौँ ।

कला मन्दिरमा जान थालेपछि गोपाल योञ्जन र कर्म योञ्जनसँग धेरै गीत गाए । 

पहिलोचोटी वि.सं. २०१९ मा काठमाडौं आएको । रेडियो नेपालमा त्यतिबेला म्युजिक कम्पिटिसन हुन लागेको रहेछ । नेपाल भर्खर आएको मान्छेलाई म्युजिक कम्पिटिसन । अहँ म त जान्न भन्ने भयो । फेरि कम्पिटिसन राति हुने रहेछ । झन् मलाई त जान्न नै भन्ने भयो । राति पनि को जान्छ गीत गाउन भन्ने सोचें । तर शिव शंकरदाई (रेडियो नेपालका संगीतकार) ले धेरै कर गर्नुभयो । काठमाडौं आएको बेला मौका मिलेको छ । किन भाग नलिने भनेर । अन्तत शिव दाइले मलाई भाग लिन सम्झाउनु भयो र मैले भाग लिएँ । प्रतियोगितामा पहिलो पनि भएँ ।  

उबेला मलाई भारतको बम्बई लैजान धेरै प्रयास गरेका थिए, गीत गाउनका लागि । तर म गईन । मलाई कुनै लोभ लालच थिएन र छैन पनि । म गइन बम्बई । मलाई त्यसमा कुनै पश्चाताप पनि छैन । पश्चाताप त केहीको पनि लाग्दैन हो मलाई त ।  

अहिले भदा – भदै (दाईका छोराछोरी) छन् । उनीहरुसँगै बस्दछु । औधी माया गर्छन्, भदाभदैले । तैपनि मन मान्दैन के । एकोहोरो हुन्छु । अलि समय अघि दाइ बित्नुभयो...

सारै नरमाइलो लागेको छ । दिदीहरु कोही पनि हुनुहुन्न अहिले । दाइको दुई बहिनी पछिको म के । सबै सधैँ त को हुन्छ र है ...।

र पनि दाइ सँगै हुर्केको बढेको । आमाले १२ जना छोराछोरी पाएको रे । हामी चारजना मात्रै बाँचेको । दाइ र दुईवटी दिदी । दिदीहरु त पहिले नै बितेको । दाइ बितेपछि चाहिँ साह्रैै मन रोएको छ । घर कसरी जानु दाइ हुनुहुन्न भन्ने लाग्छ है ...।

साथी भए त हिँड्छु नि । धेरै टाढासम्म पुग्छु । एक्लै त एकदमै छटपटी लाग्छ । मलाई धेरै छटपटी लाग्यो भने टिभी हेर्छु । तर टिभी पनि हेर्न सक्दिन म । आस्था हेर्छु । त्यसमा योगा आउँछ । म योगा नि गर्छु नियमित दिनको आधा घण्टा । बिहान उठेर चिया खाएर एकछिन्मा योगा गर्छु । सुत्ने चाहिँ ठेगान नै छैन । खाना खाए पछि सुतिहाल्छु । एक्लै चाहिँ बस्न मन नलाग्ने के  ।

नखाएरै बिमार भएको । खानै मन लाग्दैन । भदैनीहरु कराइरहन्छन् । के खाने किन नबोलेको भनेर, मनको मात्रै रोग । के हो ? के हो ? के !  मनमा आईबस्छ दाई बिना कसरी बस्नु । दाई बितेपछि मनै  खिन्न । छट्पट्टी हुन्छ । कहाँ जाउँ – जाउँ हुन्छ । 

घरजम नगरेकोमा मलाई पटक्कै पश्चाताप छैन । केटी हेर्न त कति हो हौ केटा आउँथे । त्यति नराम्री नि होइन हात गोडा सग्लै छन्, थिए है । केटा हेर्न आएपछि मलाई रीस उठ्ने  के । दिदीलाई साफ कराउँथ्ये । अनि दिदीले मलाई नभेटाइकन केटा पक्षलाई चिया नास्ता गरेर फर्काइदिन्थे । 

अहिले दाइका छोराहरुले नि गीत गाउँछन् । बजा बजाउँछन् । तर म गाली गर्छु । लटरपटर पारेर गाउन बजाउने होइन । राम्रोसँग गर भनेर । उनीहरुलाई मेरो नाम राख है भनेको छु । 

म अब काठमाडौं आउन सक्दिन होला । मलाई सारै माया लाग्दछ काठमाडौँको । 

तर के गर्नु म बिमार भइरहन्छु । अब त आउन सक्दिन होला...

मलाई सधैँ माया गरिहनु काठमाडौंबासी, नेपाली स्रोता । मलाई कहिले नबिर्सिनु ल ...मलाई केही चाहिँदैन  । माया दिए, सम्झिदिए पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

    पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् ।

  • सम्झनाका तरेलीहरु

    इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं |

  • आफ्नै ठाउँ बिरानो हुँदा

    म कामका लागि विदेश कहिल्यै जान्न । मेरो सीप, लगनशिलता र मेहनत मेरै देश, मेरै ठाउँलाई दिन्छु । मैले धेरै पढ्नुछ । पढेर नेपालमै कुनै एउटा क्षेत्रमा नाम उज्वल बनाउनु छ । मेरो मिसन आफ्नै देशमा मेरो फरक पहिचान बनाउनु हो ।

  • खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ?

    केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका वकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

  • रक्सीमा लठ्ठीएर ड्युटीमा ट्राफिक, कारबाही कसलाई ?

    सिंहदरबारको पश्चिम गेट अगाडि । बिहान १० बजे । अफिस समय भएकाले सडकमा गाडीको चाप धेरै नै थियो । भद्रकालीतर्फबाट सिंहदबारतर्फ जाँदै गरेको एउटा स्कुटरले लेन मिच्यो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया