MENU

विचार/अनुभूति

Ncell Axiata

महिला सिट ‘आइमाई’को कि ‘तरुनी’ को ?

मिलन तिमिल्सिना-

पाइला टेक्ने ठाउँ समेत नभएको पहेँलो मिनीबस लगनखेलबाट हुईंकिँदै आयो । निकै अघिदेखि बस पर्खेर धोबीघाटमा उभिएका यात्रुले हात उठाए । मान्छे अट्ने ठाउँ नभएपनि बस रोकियो । ढोकामा सहचालक थिएनन् । चालक आफैं ओर्लिए र यात्रु चढ्ने ढोकातिर आए । भित्र खाँदिएर बसेकाले बल्लतल्ल ढोका खोले । ढोकाको पहिलो खुड्किलोमा मात्र टेक्ने ठाउँ थियो, अन्त सबै भरिभराउ । 

‘खै तपाईं अलि पर सर्नुस् त । दुईलाइन भएर उभिनुस् । दाई तपाईं यता फर्कनुस् । बहिनी तपाई उता फर्कनुस् । हो तपाईं अलि पर जानुहोस् । ल अब तपाईं उक्लनुस् । खै ब्याग दिनुहोस्, अगाडि राखौंला । ल ल उक्लनुस् । ढोका चाहिँ लाउनुपर्छ है ।....’ ठाउँ नभएपनि चालकले चारजना मान्छेलाई बसभित्र खाँदे । ढोका लगाए र बस अघि बढाए ।

कीर्तिपुर–लगनखेल रुटमा चल्ने पहेँलो रंगको मिनीबसमा सहचालक हुँदैनन् । चालक आफैंले ढोका खोल्छन्, लगाउँछन् र भाडा उठाउँछन् । एउटा बस छुटेपछि अर्को बस चढ्न कम्तिमा आधाघण्टा पर्खनुपर्छ । सिट भरिएर उभिने यात्रु समेत धेरै भएपछि मात्र बस गुड्छ । ढोका खोल्न र लगाउन सजिलो होस् भनेर ढोकादेखि चालकको सिट पछिल्तिर डन्डीसम्म डोरी टाँगिएको हुन्छ । चालकले ढोका खोल्दा र लगाउँदा डोरी तलमाथि गर्छन् । अरुबेला उभिने यात्रुले डोरी समाउँछन् । डोरीमा समाउन पाउनुपनि सिटमा बस्न पाएजस्तै आनन्द हुन्छ यात्रुलाई ।

‘ऐया नि क्या साह्रो पेलेको ! ए भाइ एउटा खुट्टा चाहिँ उचाल्नुहोस् न । दाइ अलि पर सर्नुहोस्, तपाईंको टाउको ठाडो गर्नुहोस् न, तपाईंको जिउ उता ढल्काउनुहोस्, मेरो खुट्टामा कसले टेक्यो हँ, यो हात कसको उता राख्नुहोस् त....’ बसभित्र यस्ता खैलाबैला नियमित सुन्न पाइन्छ । बसभित्र खाँदाखाँद र होहल्ला भएन भने चालकलाई बस कुदाउनै मन लाग्दैन जस्तो लाग्छ ।

बल्खुको जाम बल्लतल्ल पार गरेर बस त्रिवि गेटबाट माथितिर उक्लियो । अटेसमटेस गरेर बसेकी एक अधबैंसे महिला च्याँठिन्–‘हैन कस्तो ढुंगाको मन जस्तो भाका मान्छे हँ, अघिदेखि नै बच्चा बोकेर उ उभिएकी छे, कसैले पनि सिट छोड्दैनन्, कस्ता दया नभाका मान्छे ?’  

महिला भनेर लेखिएको सिटमा कलेज पढेर फर्किएका दुईजना किशोरी बसेका थिए । पछिल्तिर अपांग र ज्येष्ठ नागरिक भनेर लेखिएका सिटमा पनि महिला नै थिए । कोही अधवैंसे, कोही चाहिँ भर्खरका युवती । महिला लेखिएको सिटकै आडमा एकजना महिला काखे बच्चा लिएर सकिनसकी उभिएकी थिइन् । यही देखेर ती महिला च्याँठिएकी रहिछिन् । 

‘तरुनीहरु सिटमा बसेका छन्, बच्चा लिने महिलाले उठ्नुपरेको छ । भोलिपर्सि बच्चा बोकेर हिँड्नुपरेपछि यी तरुनीहरुले पनि थाहा पाउँछन् । आइमाइको समस्या आइमाईले नै नबुझेपछि कसको के लाग्छ ?’ ती महिला एकोहोरो फत्फताउँदै थिइन् । उनको कुरा सुनेर सिटमा बसेका किशोरी र महिलाले केही प्रतिक्रिया दिएनन् । सुने, नसुनेकै झैं गरेर चुप लागेर बसिरहे । 

‘बच्चा लिन खोज्नुभाथ्यो उहाँले, बच्चा मान्दो रहेनछ के गर्नु’ उभिरहेकी अर्की महिलाले भनिन् । ‘बच्चा लिनुको सट्टा उठेर आमालाई नै ठाउँ छोड्दा के हुन्थ्यो ?’ अघिदेखि कराइरहेकी महिलाले भनिन् । त्यसपछि कोही बोलेनन् । न सिटमा बस्ने महिला उठे, न पछिल्तिरको सिटमा बसेका पुरुषले नै बच्चा बोकेकी महिलालाई ठाउँ छाडिदिए । 

‘यो आरक्षण भनेर छुट्याउनु नै गलत हो’ बसबाट ओर्लिएपछि एकजना पुरुष यात्रुले भने, ‘सिटमा जो बसेको भएपनि बच्चा बोकेकी महिला, अशक्त, बिरामी, बृद्धालाई त जसले पनि ठाउँ छोडिदिहाल्यो नि । अब महिला भनेर लेखेपछि धेरैजना महिला बसमा उभिएको बेला त्यो सिटमा को उठ्ने, को बस्ने त ?’

‘तर महिलाको ठाउँमा महिला नै बसेको भएपनि बच्चा लिएर उभिएकी या बिरामी महिलालाई त ठाउँ छोडिदिनुपर्यो नि ?’ अर्काले भने । ‘खै के हो के नियम पनि । बरु तरुनीको सिट, बच्चा बोकेकी महिलाको सिट, बृद्धाको सिट भनेर छुट्याए हुने नि’ अर्को मान्छे हाँस्दै आफ्नो बाटो लागे ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरमा ‘उठ’ यातायात : पहेंलोले कुराउने, अरु सबैले रुवाउने

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रचण्डलाई सजिलै मिल्ला र एकीकृत पार्टीको अध्यक्ष पद !

    माओवादीमा ४७ सालपछि आएका नेता कार्यकर्ता धेरै छन् भने एमालेमा प्रचण्ड भन्दा पनि पाका, धेरै योगदान गरेका पुराना नेता कार्यकर्ताको संख्या ठूलो छ । प्रचण्डले उनीहरुको योगदानको मूल्यांकन गर्नेछन् भन्ने आधार के हुन्छ भन्ने निश्चित नभै एमालेको ठूूलो पंक्तिले प्रचण्डलाई सहज हिसावले स्वीकार्न कठिन छ ।

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया