MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

जोगीको सेल्फी मोह

डा. नवराज खतिवडा -

त्रिशुलीको भूगोल । जालपादेवीको सानिध्यता । एक पटक भत्काईएर पुनर्निर्माण गरिएको इतिहास बोकेको पृथ्वी राजाको शालिक । अपरान्हका सूर्यनारायण । वर्तमानको मेरो सेरोफेरो ।  

म भने अथाह जलप्रवाह बोकेर अविरल वगेकी नदीमा परेको प्रकाश र पृष्टभूमिमा देखिएको फाँट र पहाडको मनोरम दृष्यपान गर्न थालेँ । मोवाइल निकालेर तस्बिर खिच्नै लागेको थिएँ । मेसेज आएको आवाज आयो । तस्बिर खिच्ने काम छोडेर म मेसेज पढ्न थालेँ । 

‘के को फोटो खिच्न लाग्नु भो’ 

कसैले मेरो ध्यानाकर्षण गर्यो । आवाज आए तिर हेरेँ । भगवान शिवकै साक्षात रुप । दायाँ हातमा तामाको सानो हत्तर । बायाँमा सर्प जस्तै देखिने लौरो । गेरु वस्त्र । दानाको मालाले बाँधिएको नाडी । निधारमा खरानीको पोतो । घाँटीमा नागको माला भएको भए महादेवसँग भेट भएको भन्न मिल्ने । एकाएक पदार्पण भएका बाबा देखेर म अचम्ममा परेँ । 
‘एक छिन है, बाबाजी ।’ 
उनीसँग वार्तालाप गर्न ईच्छा भएको संकेत दिएर म हतार हतार मेसेजको जवाफ दिन लागेँ । बाबा उभिएर मेरो क्रियाकलाप नियाल्न थाले ।  
‘ए बाबाजी ! कहाँ हो नि घर ?’

मेसेजको चटारोले उनको प्रश्न मैले बार्सिएछु । सम्भवत पेशा या व्यवशायको हिसाबमा उनको लागि मेरो यो प्रश्न भने सही थिएन । किनभने जोगीको कुनै कित्ता हुँदैन । वास हुन्छ तर घर हुँदैन । 
‘जहाँ गयो त्यही घर । अहिले त्रिशुलीकिनारमा हो ।’

नभन्दै जवाफ त्यस्तै आयो । लोकको भनाई चरितार्थ भयो । उठ जोगी फड्कार छाला, जहाँ जाला उहीँ खाला । 
‘जन्मेको ठाउँ त होलानी ?’
मैले मेरो प्रश्न सच्याउने जमर्को गरेँ । जोगी पनि मान्छे हो । यसकारण मेरो मान्यता हो । मान्छे भए पछि घर हुन्छ, घर भए पछि मान्छे हुन्छ ।  
‘बारा हो ।’
‘के थरी हुनु भयो ?’

उनको हाउभाउले सँकेत गर्यो । साधु महाराज फेरी अर्को गलत प्रश्नको शिकार भएका छन् । म भने अन्जानमा नै जोगी र अन्य मान्छेका समान र असमान विशेषताहरु खोजिरहेको थिएँ । एक मनले भन्यो अरु सामान्य जनलाई सोध्ने मेरा यी खिया लागेका प्रश्नले बाबालाई जिस्क्याई रहेको छ । तर बाबा भने आधुनिक लुगा लगाएको सन्यासधर्मको भाषा नबुझ्ने यो हरिलठ्ठक भोगी मनुवाको चक्करमा परेर भित्र भित्रै चकराईरहेका थिए, शायद । बाहिर भने उनी विचलित नभएको पेशी गरिरहेका थिए ।  

‘जोगीको कुनै थर हुँदैन ।’

‘आफन्त होलान । जन्मदिने बा आमा होलान् । मान्छे भए पछि किन हुँदैन नि थर ?’

म मेरो प्रश्नको पृष्टभूमि अझ मजबुत पार्छु । उनी बेघरबारका जोगी तर म घरजम भएको मान्छे । उनी र ममा के फरक छ ? आज म यो भिन्नता बुझ्दै थिएँ । एकातिर नाम, थर, पद, पैसा र पहिचानको गह्रौँ भारी बोकेर हिँड्ने तथाकथित कर्मयोगी । अर्कोतिर वैराग्यको विरासतमा डुबेका सन्यासी । 

कपास जस्तो हलुका भएर हिँडेका छन् । तर मनमा शंङ्का पनि पलाउँछ, के यी साधु महाराज पनि तथाकथित हुन सक्छन ? किन नसक्नु ? आखिर अहिलेको जमानामा को पो पूर्ण पात्र छ र ? कसले पो स्वधर्म बोकेर हिँड्छ ? कसले पो आदर्शको दोसल्ला ओडेर हिँड्छ ?  

‘मेरो एक आफन्त तपाई नै हो । बितिसकेका बा आमाको के कुरा भयो र ? भन्नुहोस न, तस्बिर के को खिच्न लाग्नु भो ?’

यसो भन्दै उनी मुस्कुराए । हाम्रो सवाल जवाफ सुरताल नमिलेको सँगित जस्तो भएको थियो । उनले तस्बिरको कुरा निकालेर वार्तालापको सुरताल मिलाउने प्रयास गरे । 

मेरा गलत प्रश्नहरुले हैरान भएका बाबाले आफ्नो उत्तरमा गजबको विराम लगाए । उनी मेरो तस्बिरको हुलिया जान्न चाहान्थे । मेरा आँखाले खोजेको प्रकृतिको खजानाको बारेमा जान्न चाहान्थे । 

तस्बिर खिच्न लागेको मान्छेलाई सोध्ने यो प्रश्न पनि अनौठो नै होला । आखिर उसले खिच्नलागेको दृष्यतिर हेरे त भै गयो नि । किन पो सोधिरहनु ? के को तस्बिर खिच्न लाग्नु भो ? क्यामेरा फर्केको दृष्यतिर हेरेर आफैँ अनुमान गरे त भै गयो नि । उनको चासो मलाई नौलो लाग्यो ।  

‘यो फाँटमा लागेको घाम र यो भीमकाय सिन्धुको ।’

सवाल जवाफमा मैले ‘सिन्धु’ शब्दको पहिलो तर नौलो प्रयोग गरेँ । आखिर जवाफ अर्काले बुझ्नु पर्छ नै भन्ने के छ र ? त्यो पनि समाजको पल्लो कित्तामा चर्ने यी डामेर छोडेको साढेँ जस्ता फिरन्ते मनुवासँग ।   

‘कति पर्छ यो मोवाइलको ?’

सुनेको थिएँ, अर्थशास्त्रको शब्दकोषमा जोगी शब्दको प्रविष्टि हुँदैन । किन भने अरुको जस्तो न त उसको आयको हिसाब हुन्छ न त व्ययको । न त कुनै बैँकमा यिनको खाता हुँदो हो । न कुनै एटियम कार्ड, न त कुनै कारोबार । पासपोर्ट, नागरिकता र लालपूर्जा त झन दुर दराजका कुरा भए । 

ऋण तिर्न नसके पछि साहुकहाँ पुगेर कुनै आसामीले भन्छ

‘व्यवहार विग्रेर मेरो जोगीको हालत भयो । म्याद अरु केही समयका लागि थपि पाँउ ।’

साहु ‘जोगी’ भन्ने शब्द सुन्दा शायद पग्लिन सक्छ । यसरी ‘जोगी हुनु’ भनेको अर्थशास्त्रको कित्ता बाहिर पुग्नु हो भन्ने निचोड निस्कन्छ भन्ने मलाई लाग्छ ।  

कवि शिरोमणी लेखनाथ पौडेलले मुसा, मानिस र मौरीमा गजबको समानता भेटे । यी तीनै प्राणीहरु आफूलाई चाहिने भन्दा बढी सम्पति सन्चय गर्छन् । अनि जीवनभरी चिन्ता र पीडा बोकेर हिँड्छन । विधाताले प्राणी जगतलाई दिएको प्रेसक्रिप्सन पनि गजबको छ । आखिर जोगी पनि त प्रेसक्रिप्सनको एउटा अपवाद पात्र न हो ।

केही वर्षअघि मेरी पत्नीले शनी ग्रहको स्वस्ति शान्ती गर्न जप गरेकी थिइन् । जपकार्य पश्चात केही तिल, फलामका हतियार र कालो कपडा लगायतका काला रगँ भएका सामाग्रीहरु दान गर्नु पर्ने भयो । कारणवश हामी पशुपति जान सकेनौँ ।  यसैले कोटेश्वर महादेवस्थान परिसरमा सिदा दान गर्न गयौँ । शनीको नाम सुन्ना साथ पुरेतहरु डराए । कसैले पनि सिदा लिन मानेनन् । 

‘यस्तो दान त जोगीले मात्र लिन्छ ।’ हाम्रो समस्या सुनेका कुनै शुभचिन्तकले सुनाए । 

नभन्दै एक जोगीले ती सामाग्री सहर्ष स्वीकारे । त्यसदिन मलाई लाग्यो, जोगी भनेको यस्तो पात्र हो जसले अरुले लिन अस्वीकार गर्ने सिदा पनि स्वीकार गर्न सक्छ । सभँवत यो पात्र भनेको प्रशान्त महासागरको वर्मुडा त्रिभुज जस्तै हो जहाँ जस्तो जहाज वा भौतिक वस्तु पनि अलप हुन सक्छ । उसलाई कालोको डर हुँदैन । अन्धकारको भय हुँदैन । मसानघाटको मलिनता उस्को शालिनता हुन्छ । अरुको ‘कालो’ जोगीको लागि ‘रङ्गिन’ वस्तु हो । उ सँग त्यो ग्रहण गर्ने अतुलनीय सामर्थ्य छ जो अरु सामान्यको वश भन्दा बाहिर छ ।    

चरा, जोगी र अजिगँरको आहारा दैवले पुर्याउँछन रे । यस अर्थमा जोगी भनेको मान्छे जातको समूहमा ‘हाँसको बिचमा बकुल्लो’ हो । तर बहस गर्दै गए निचोड निस्कन सक्छ । शायद जोगी नै सबैभन्दा सुखी मान्छे हो । किन भने उ शोक न सुर्ता भोक न भकारी चरितार्थ हुने उखान कित्ताको केन्द्र भागमा हुन्छ 

कालो दान पनि सहर्ष स्वीकार गर्छ । जहाँ गए पनि घुलमिल हुन्छ । एक्लो जीवन बाँच्छ । जगेर्ना गर्न जान्दैन तर भोकै पनि मर्दैन । आधुनिक अनुसन्धान विज्ञानका विधि लगाएर कसैले शोध गरे पक्कै मेरो अड्कलको पुष्ट्याईँ हुने थियो होला । 

मेरो सामसुङ् मोवाइलको मूल्इ प्रसँगमा फर्कन्छु । बाबा कौतुहलता बोकेर मेरो जवाफ सुन्न आतुर देखिन्छन् । 

‘पच्चिस हजार ।’

‘वाफरे ! पच्चिस हजार पर्छ।’

एक सामान्य जोगीका लागि पच्चिस हजार भनेको मेरा लागि पच्चिस करोड जस्तै होला । यसैले उनको आश्चर्य भाव उजागर हुनु स्वभाविक होला । मैले केही प्रत्युत्तर दिनु जरुरी थियो । उनले हातमा बोकेको तामाको भाँडोमा ध्यान गयो । त्यसैलाई देखाउँदै मैले भने । 

‘यसको दाम कति पर्छ नि ? हेर्दा तामाको जस्तो देखिन्छ ।’

‘पच्चिस सय ।’

‘पच्चिस सय ! के भन्छन नि यसलाई ?’

मैले पनि मेरो पहिलो अभिव्यक्तिलाई विस्मयाधिवोधक बनाएँ । पक्कै पनि अर्थशास्त्रको कित्ता बाहिरको ‘अवित्तिय’ पात्रले बोकेको वस्तुको त्यत्रो मूल्य हुनु मेरा लागि पनि त अनौठो नै हो । 
‘अँखोरा ।’

‘अँखोरा त सानो पो हुन्छ । हुन ता ठूलो अँखोरा या सानो गाग्रो जे भने पनि भयो ।’

मैले कुरोको किनारा लगाएँ । 

‘आउनुहोस बाबाजी । एउटा फोटो खिचौँ । आखिर सेल्फीको जमाना छ ।’

उनले मेरो प्रस्ताव सहर्ष स्वीकार गरे । मैले मेरो र उनको सेल्फी खिचेँ । मोवाइलमा भर्खर खिचेको हाम्रो तस्बिर उनलाई देखाई दिएँ । यो रोचक तस्बिरका पहिला दुई दर्शक नै हामी दुई थियौँ । तस्बिरमा दाहिने तिर म थिएँ, देब्रे तिर उनी । उनको कद मेरो भन्दा होचो । मेरो सर्ट र उनको गेरु वस्त्रको समान रातो रङले तस्बिरमा मूल्य थपेको थियो । 
‘खै तपाईको मोवाईल दिनु त । म पनि एउटा सेल्फी खिचौ ।’

साधु महाराजको अनपेक्षित उदघोषले यदि ज्यान भएको भए मेरो मोवाईलको सातो जान्थ्यो होला । मेरो निदाएको छैटौ ईन्द्रियले एकाएक सतर्क भएको सूचना दियो । बाबाले लक्ष्मण रेखा काटेको अनुभुति मलाई भयो । उनी अब भने अर्थशास्त्रको खलोमा प्रवेश गर्ने जमर्को गर्दै थिए ।  उनको हातमा मेरो मोवाईल दिनु ? मैले उनको ईच्छाको आशय बुझ्न सकिन । के उनी अर्थशास्त्रको कित्तामा या फोटोग्राफिको कित्तामा रमाउन चाहान्छन ? मैले उनको हत्तर या सर्प-लठ्ठी हातमा लिए बराबर हुन्छ । 

उनका यी सामाग्रीको न मलाई कुनै औचित्य हुन्थ्यो । न म चाहान्थे । अहिलेको जमानाको मेरो प्राण प्रिय वस्तुको उनलाई कुनै औचित्य होस । के ठेगान उनी पनि साँच्चिकै तथाकथितको कित्तामा रहेछन भने । मेरा मनमा एक निमेषमा यी शँका र उपशँकाका बादल मडारिए ।

सच्चा जोगीको बारेमा एक मित्रले भनेको कथा स्मरण भयो । कुनै शहरमा एक नाम चलेकी वेश्या थिईन । उनको कर्मथलो नजिक एक युवा जोगीले कुटी बनाए । जोगीको जीउडाल र व्यक्तित्व राजकुमारको जस्तो थियो । युवतीले ती युवा जोगीलाई आफूले प्रदान गर्ने यौन सुखको आनन्द लिनका लागि निम्तो दिईन ।

‘निमन्त्रणाको लागि धन्यवाद, देवीजी । तर म त्यो स्वीकार गर्न असममर्थ छु ।’

‘तिमी साँच्चि नै मेरो निम्तो अस्वीकार गर्न सक्छौ त ?’ 

युवतीको आह्वानले युवकको मनमा आवेगको आगो बाल्न सकेन । आखिर ओसिएको बारुदले आगो बल्दैन, सलाईको खोलको मसला जतिसूकै तेज किन नहोस । फूल जति सुकै सुन्दर भए पनि भमरामा चाह नभए ती दुईको मिलन हुँदैन । आफ्नो पुरुषत्वलाई दाउमा पार्न खोज्ने युवतीलाई युवा जोगीले यसरी जवाफ दिए । 

‘म कुनै दिन यो प्रश्नको उत्तर तिमीलाई अवश्य दिनेछु ।’

समयको चक्र धेरै घुम्यो । युवा वृद्ध भए । उनलाई जीवनको अन्तिम अवस्थामा पुगेको अनुभुति भयो । आफ्ना एक शिष्यलाई आफ्नो पुरुषत्वलाई चुनौति दिने वेश्यालाई खोज्न पठाए । तीनी शहरकै एक बृद्धाश्रममा भेटिईन । शिष्यले उनलाई जोगी आश्रममा लिएर आए । 

‘देवीजी ! मैले सकेँ ।’

बृद्ध जोगीले आफ्नो जीवनकालकै सबैभन्दा कठिन प्रश्नको सटिक तर छोटो उत्तर दिए । 

म फेरी त्रिशुलीकिनारमा फर्किएँ । मेरो मोवाइलमा आँखा लगाएका जोगीतर्फ मेरो ध्यान गयो ।  उनले दाम पनि सोधेका थिए । उनले न त मेरो परिचय मागे । न त मेरो त्यहाँ जानुको उदेश्य नै सोधे । यसैले मैले आफूले आफूलाई प्रश्नमाथी प्रश्न गरेँ । 

‘जोगीको सेल्फी मोह किन ?’    

‘कहीँ मेरो प्रिय मोवाईल हातमा पारेर सुँईकुच्चा ठोक्ने दाउ त होईन ?’

त्यसो भयो भने त्यो निर्जन ठाँउमा म के गर्न सक्थेँ । अर्थशास्त्र र पुर्जाप्रमाणबिहीन अपरिचित व्यक्तिसँगको व्यवहार मेरो ‘नदुखेको कपाल बाँध्ने डोरी’ को रुपमा विकसित हुन सक्थ्यो ।       

‘त्यो चै नगरौ होला ।’ 

मैले निर्णय सुनाएँ । उनको ‘किन ?’ भन्ने प्रश्न आउनु अघि म उनी सँग विदा भएँ । किनभने सबै निर्णयको कारण सार्वजनिक गर्नु पनि त जरुरी छैन । 

तर अहिले सम्म पनि एउटा अन्यौल भने यथावत छ । त्रिशुली किनारका जोगीलाई मोवाइल छुन नदिएर के मैले ठीक गरेँ ?

७ः५२ बजे
पौष ०२, २०७३
बेत्रावती, नुवाकोट

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया