MENU

साहित्य/ कला

Ncell Axiata
USAID

९८ वर्षका तन्नेरी राष्ट्रकविसँग काव्य कुरा

ऋग्वेद शर्मा/उज्यालो । 

काठमाडौं, पुस ९ – ‘मलाई सोधेर म भित्रबाट के निकाल्न चाहनु हुन्छ ? के निकाल्न सक्नुहुन्छ ? सबैले जस्तो यतिञ्जेल बाँच्नुको रहस्य के हो भनेर त सोध्नुहुन्न नि ?’ काठको भर्‍याङबाट विस्तारै पाइला सार्दै तल झर्ने बित्तिकै राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्विलो आवाजमा सोध्नुभयो । 

बुढ्यौलीमा पनि जवानीमा जस्तो जोश र जाँगर, त्यसको रहस्य ? के गर्नुहुन्छ ? के खानुहुन्छ ? कसरी यस्तो हुनुहुन्छ ? यी सबै प्रश्न राष्ट्रकविका लागि उपयुक्त थिएनन् नै । यस्ता धेरै प्रश्नका जवाफ दिँदादिँदै दिक्क लागेको भावमा उहाँले सोध्नुभयो ? ‘के सोध्न चाहनुहुन्छ ?’ उहाँको कामप्रतिको लगन, लामो आयु बाँच्नुको रहस्य त ९८ वर्षमा पनि नयाँ महाकाव्यको रचना गरिरहेबाट नै प्रष्ट भएकै हो ।

सरस शब्द, सजिला बिम्ब, समान्य विषय, गहिरो भाव, लयात्मक शैली, राष्ट्रकविलाई सम्झिने बित्तिकै साहित्यप्रेमीका मनमा यही कुरा आउँछन् । साना बालकले पनि सहजै बुझ्ने भावमा गहिरा अर्थ प्रस्तुत गुर्न उहाँको विशेषता हो । 

कवि यस्तो कसरी हुन्छन् ?

‘एक धर्मको मान्छेले अर्को धर्मलाई निन्दा गरेको सुहाउँदैन । प्रशंसा गर्न पनि उति चाहँदैनन् । मेरै धर्म ठूलो हो भन्छन् । अब अरु सुन्नेलाई चाहिँ उसका कुराको के वास्ता ?’

कुराकानीको सुरुवात भाषा साहित्यबाट गर्दै दृष्टान्तसहित राष्ट्रकविले सुनाउनुभयो, ‘लेखकसँग पनि त्यही भयो भने त मज्जा हुँदैन, म समालोचक होइन । तैपनि मलाई अहिले के लागेको छ भने स्रष्टाहरुले सिर्जना गर्दा समयको स्पर्श त्यहाँ हुन्छ कि हुँदैन, समय सापक्ष हुन्छ कि हुँदैन, त्यो विचार गर्नुपर्छ ।’ 

सिर्जनालाई शाश्वत मान्ने राष्ट्रकविले शैली समयका चिजहरु लिएर भिन्न हुने भन्दै पहिले र अहिलेको साहित्य तुलना गरेर विद्यार्थीलाई शिक्षकले आफ्ना कुरा बुझाउन जोड गरे जस्तै सुनाउन थाल्नुभयो । बोल्दा प्रत्येक शब्द साहित्य लाग्थे, प्रत्येक हरफ कविता । कविसँगका सबै कुरा काव्य । 

‘हैन कवि यस्तो कसरी हुन्छन् ?’ राष्ट्रकवि बोलिरहँदा मनले प्रश्न सोध्यो । झट्टै मनैले जवाफ दियो, ‘यस्तो हुन्छन्, यसैले कवि हुन् । सिर्जना गर्छन् ।’

म मनभित्र हराइरहँदा राष्ट्रकवि बुझाउने प्रयत्नमै हुनुहुन्थ्यो । भाषा बुझाईको माध्यम भएको उहाँको कुराबाट बुझ्न समय लागेन ।

‘अहिले पनि संस्कृतमा लेखेर के बुझ्नु ? नेपाली भाषामै लेख्नुपर्यो । हुन त म संस्कृत भाषाबाट पनि हो, तर अहिले लेख्दा त नेपाली मै त हो । शाश्वत कुरा मनुष्य प्रतिको, आफ्नो देशप्रतिको दृष्टिकोण कस्तो छ ? सबैले बुझ्ने गरी त्यही प्रस्तुत गर्नु त हो ।’

नयाँ युगको उपहार ग्रहण गर्नुहोस्

अहिलेका साहित्यकारमा विश्वप्रतिको दृष्टिकोण प्रवल देख्नुहुन्छ राष्ट्रकवि । सुपष्ट दृष्टिकोण र व्यापक विश्व ज्ञानले नयाँ नयाँ चिज लिएर आएकालाई सम्मानका शब्द बर्साउनुहुन्छ । आफ्नो आँखाले पहिलोपटक हेर्दा जहिले पनि त्यो चिज सुन्दर हुन्छ । त्यो उसको जन्मभूमि, त्यो उसको विश्व, उसको समाज अत्यन्त सुन्दर हुन्छ । राष्ट्रकविलाई पनि यस्तै लाग्छ, सबैले हेर्ने संसार उनीहरु आफ्ना लागि सुन्दर छ । यस्तो सुन्दर संसार विकृत हुन थालेकोमा भने उहाँलाई चिन्ता छ । त्यसको विरुद्धमा लेख्न नयाँ पुस्तालाई सुझाव दिनुहुन्छ । ‘मनुष्य जीवन दुर्लभ हो । यो दुर्लभ जीवनको निम्ति नयाँ युगले जो उपहार दिएको छ, त्यसलाई ग्रहण गर्नुस्, नयाँ युगले जे विकृतिहरु ल्याएको छ, त्यसलाई पन्छाउनुस् । राजनीतिले पनि त्यही भन्छ, अरु नीतिले पनि त्यही भन्छ ।’ 

तर साहित्यिक दृष्टिमा अनुभूतिको ज्यादा कुरा हुन्छ । राष्ट्रकविका कुराले यस्तै भाव बोलेका थिए । आफूले बोध गर्दा कुनै कुरा कस्तो लागेको छ । हरेक कुरामा उपमा दिएर उहाँ बुझाउँदै हुनुहुन्थ्यो । जीवनका यति धेरै कक्षामा त के पढिएछ र ? समयको बर्बादी जाँच दिने मेसो । जति जीवनका हजारौँ कक्षामा बुझिएन, त्यति एक बसाईंमा बुझ्दा मन फुरुङ्ग थियो । 

कविवर उदाहरण दिँदै हुनुहुन्थ्यो, ‘जस्तो अहिले नेपालमा लोकतन्त्र जेलाई भनिन्छ पहिले त्यसलाई प्रजातन्त्र भनिन्थ्यो । प्रजातन्त्र भन्दा कसैको प्रजा भएको, राजतन्त्रको झल्को आउने । अहिले लोकनै उही, लोकतन्त्र भनेपछि जनताको । पहिलेको र अहिलेकोमा के फरक छ ? विश्व त जुन तन्त्र आएको भएपनि उही हो, प्रकृति त उही हो । तर अब नयाँ लोकतन्त्र नयाँ विश्व आएको बेलामा वास्तविक समाज परिवर्तन हुनुपर्छ ।’ 

हो प्रकृति उस्तै छ । विश्व उसै गरी घुमिरहेको छ । सोचका नयाँ आयामहरु पूरा गर्न समयको त्याग नयाँ हो । आशा नयाँ हो, परिवेश बदल्ने सोच नयाँ । अरु त सबै उस्तै । ‘व्यवस्थाको दृष्टिमा सबै बराबर छन् । तर काम त केही गर्नुपर्यो नि । स्वतयव ठूलो त कोही हुँदैन’ राष्ट्रकविको नयाँ पाठ कर्मले मानिस ठूलो हुन्छ भन्नेमा केन्द्रित थियो । कान ठाडा भएर सुनिरहेका थिए । ‘स्वतन्त्रता पाउनु, नागरिक हक पाउनु ठूलो कुरा हो । स्वतन्त्रता नपाएका नागरिकले पहिलेको भन्दा धेरै अहिले पाएका छन् । त्यसको सहि उपयोग त हुनुपर्‍यो नि ।’

कमजोर भएको हृदय पक्ष

विज्ञानमा, अध्यात्ममा, सामाजिक विषयमा जति उन्नति भएको छ, त्यसको पृष्ठभूमिको ज्ञान साहित्कारमा हुनुपर्छ । राष्ट्रकविमा ति ज्ञानका भण्डार जोडिएका थिए । एउटै कविता लेखेर मानव जीवनको रहस्य सबैलाई बुझाइदिउँ जस्तै साहित्य जुर्मुराएको थियो । यसैले होला नयाँ महाकाव्यको रचना । साहित्यकारको काम फरक छ । अरुको चाहिँ त्यही कुरामा सोच्ने मस्तिष्क पक्ष हुन्छ, साहित्यमा हृदय पक्ष । प्रेम, दया, करुणा खोज्छ साहित्यले । ‘प्रजातन्त्र आयो, तिमीहरुसँग संघर्ष गर्यौँ । त्यो सतही कुरा भयो मौकामा त्यो पनि ठूलो हुन्छ’ त्यसमा हृदय पक्ष भेट्दैनन् राष्ट्रकवि । अहिले कमजोर भएको हृदय पक्ष हो । 

‘विश्वमा उन्नति त धेरै भएको छ । विज्ञान बढेको छ । धेरै सुविधा पाउनुभएको छ । ठूला ठूला विद्धान छन्, चिन्तन पाउनुभएको छ । विज्ञानका किताब आएका छन् । सामान्य विषयमा पनि पिएचडी भएको छ । तर हृदय के छ ?’ कविको प्रश्नले धेरैबेर सोचमग्न बनायो, ‘तर हृदय के छ ? हृदय पक्षको कुरा, प्रेमको कुरा, सौन्दर्यको कुरा, करुणाको कुरा त्यो खै ?’  

संसारलाई साहित्यकारले कस्तो देख्छ ?

संसारलाई साहित्यकारले कस्तो देख्छ ? राष्ट्रकवि अत्यन्त सुन्दर दख्नुहुन्छ । एउटा रुखमा पात हल्लिरहेको पनि दंग परेर हेरिरहन्छन् कवि ।

‘म बिहान पातमा शीत परेको, त्यो टल्केको पनि हेरिरहन्छु । कहाँबाट आँखाको बिम्ब आएर त्यहाँ बस्यो होला । एउटा कुञ्जभित्र टलपल टलपल गर्छ, त्यहाँ हेर्दा हेर्दा टक्क कविको दृष्टि आउँछ, जीवन त्यति प्रारम्भ हो त्यति समाप्ती हो । अरु केही पनि होइन । तर म जीवन शाश्वत सम्झन्छु । त्यहाँ हेर्दा जवानी बुझिन्छ, पहिलो किरणले त्यसलाई छुँदा जतिबेर त्यो टल्कन्छ त्यतिबेर नै त्यसको महत्व रहन्छ ।’  

उहाँको कुरा प्रष्ट थिए, हामीमा सौन्दर्य जतिबेर चाहिने हो, त्यतिन्जेल महत्व छ । ‘अहिले म ९८ वर्षमा नक्कल झक्कल गर्न थालेँ भने त्यो काम छैन । तर साहित्यमा त त्यस्तो हुन्छ है । म बच्चाको कविता लेख्छु । आशिकको कविता लेख्छु । त्यो मेरो कल्पना हो । कविको आफ्नै किसिमको आयु हुन्छ । उसको दृष्टिले जेजे लेख्छ त्यो म सत्य सम्झन्छु । त्यो पातको शीत पनि एउटा सौन्दर्य हो सत्य हो ।’ संसार झल्याकझुलुक छ । कति सुन्दर छ । बिहानको सौर्य आँखा मिचेर हेर्दा कति सुनौलो भएर आउँछ । विस्तारै बेलुका छाँया भएर ढल्कन्छ, त्यो कति सुन्दर । राष्ट्रकविले कविताबाटै सुनाउनुभयो ...

कति राम्रो अलि अलि ढल्किएको छाँया  ।
अझ राम्रो अलि अलि पल्किएको माया ।।

कविता यस्तो होस्

हाम्रा साहित्यमा समालोचना गर्ने आफ्नो जुन पद्धति थियो त्योभन्दा अंग्रेजी पद्धतितिर ढल्किएको राष्ट्रकविको गुनासो छ । आत्माको आनन्द र साहित्यको आनन्द उस्तै हो । उहाँ भन्नुहुन्छ, ‘पश्चिमाको मात्र भनेर भएन । उताको मात्र भन्दा हाम्रो उपेक्षा हुन्छ ।  हामीसँग पनि छ, उनीहरुसँग पनि छ, चाहिने कुरा लिनुपर्छ ।’

अलिकति पनि विश्राम नलिइकन राष्ट्रकवि आफ्ना अद्भूत ज्ञानका गुदि चखाउन खोज्नुहुन्छ । तर बेलाबेला भन्नुहुन्छ, ‘म ९८ वर्षको मान्छे धेरै बोल्दा थाक्छु । तर बोल्ने बानी, केही विषय पाएपछि बोलिहाल्छु ।’ उहाँले यसो भनेपनि विचार र शब्दहरु सुन्दा थाकेको अलिकति पनि लाग्दैन ।

कविता कस्तो होस् ? उहाँ सुनाउँदै हुनुहुन्थ्यो, ‘कविता सबैले लेख्छन्, सप्रेको र नसप्रेको कारण के त ? त्यो रुख छ, पात हल्लियो, त्यो मान्छे छ त्यो हिँड्यो, त्यो युवती हेर्दा अत्यन्त सुन्दर रहिछिन्, त्यत्तिले त भएन नि, पुगेन । सौन्दर्य हुनपर्छ । हृदय पक्ष हुनुपर्छ । सबैलाई काम लाग्ने व्यक्तित्वलाई पार गर्नुपर्छ तब पो कविता हुन्छ । सीधा सीधा भनेर त कसरी होला र ?’

कविलाई आविष्कारक मान्ने उहाँ सुनाउनुहुन्छ, ‘थाहा नपाउने कुरा आविष्कार गरेर भन्नुपर्यो नि । धेरै लेखेर पनि कविता हुने होइन । कुन कविता कुन अकविता । सामान्य कुरा पनि कविता बन्छ तर त्यसमा गुण हुनुपर्छ । भाका हाल्दैमा कविता हुँदैन ।’

‘सर्वाङ्ग पुगेको गद्य होस् कि पद्य त्यो कविता हो । गोपालप्रसादले लेखेको छन् नि, ‘आमा त्यो आउँछ र ? हो बा त्यो आउँछ,...त्यसको कम्मरमा शीत जस्तै टल्कने तिमी एक हतियार देख्ने छौ...’ त्यसलाई कविता होइन भन्न सकिन्छ र ? उनले प्रजातन्त्रलाई भनेको भएपनि त्यो त्यसका लागि मात्र होइन नि धेरै कुरा जोडिन्छ ।’

सलक्क परेका पंक्तिहरु, गाउन पनि मिल्ने नि । मनको पिर व्यथा, उल्लास होस् । कविता लोक गीत जस्तो होस् । ‘बल्ल बल्ल भेट भाको दिन, सङ्लो पानी धमिलो मन किन ? कविका विचारमा यही हो कविता । ‘उपमा पनि कति हालेको हेर्नु न । सबैले चाख दिएर सुन्ने । दिनको अनुप्रास धमिलो मन किन ? कस्तो सोचेको । लोक गीत भएपनि गहिरा कुराहरु छन् ।  ‘बल्ल बल्ल भेट भाको दिन’ बेफुर्सदी रहेछ भन्ने भयो । सङ्लो पानी धमिलो मन किन ? गाउँदा कति मिलेको ।’

हिजोआजका लोकगीतमा भने कवि उति सन्तुष्ट देखिनुहुन्न । ‘आजभोलिका त बिग्रिए । सोझै भन्न थाले । विदेशको नक्कल गर्न थाले । विदेशीबाट सिक्न हुन्न भन्ने होइन । तर राम्रो कुरा मात्र लिनुपर्छ नि ।’

नयाँ महाकाव्यको रचना

राष्ट्रकवि घिमिरे भाग्यमानी हुनुहुन्छ । उहाँ ९८ वर्षमा पनि अर्को महाकाव्य लेख्दै हुनुहुन्छ । ‘ऋतम्भरा’ नाम दिइएको नयाँ महाकाव्य ९८ औँ जन्मोत्सवमा सार्वजनिक गर्ने उहाँको चाहना थियो । तर आफ्नो नाम जोडिने सिर्जनाको गुदी उत्तिकै अब्बल हुनुपर्छ भनेर सचेत घिमिरे अहिले पनि महाकाव्यका श्लोकहरु मिलाउँदै हुनुहुन्छ ।

‘नयाँ महाकाव्य लेखाइ अहिले कलि कम भएको छ । तीन महिना धस्सिएर काम गरेँ । एक साता भयो विश्राम लिएको छु । त्यस्तै पर्छ । नयाँ महाकाव्य छिटै आउँछ’ राष्ट्रकविले सुनाउनुभयो । 

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो  ।
हिमाल चुली मुन्तिर पानी भर्ने पधेँरो  ।।
सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली  ।
यो बिरानो मुलुकमा बस्दैन माया बसाली ।।

‘यो मैले चार दिन लगाएर लेखेको हुँ, एकै दिन खुरुरु लेखेको होइन । त्यस्तो अघोरी छु म । महाकाव्यमा पनि केही केही चित्त नबुझेका कुरा छन् मिलाउनुपर्छ । त्यसैले ढिला भएको छ’ कविले आफ्नो बानी प्रष्ट पार्न कविताको उदाहरण दिनुभयो । 

‘सबै कुरा कविता त लेखनाथले लेखे पनि आउँदैन, लक्ष्मीप्रसादले लेखे पनि आउँदैन, माधवप्रसादले लेखे पनि आउँदैन । तर जति आएका छन् त्यसको ठूलो महत्व छ । समर्पित भएर गर्दा हुन्छ । समर्पित हुने भनेको सधैँ कापी र कलम लिएर बस्ने भनको पनि होइन । कुरा चाहिँ कविता होइन, कविता बन्न हृदय पक्ष चाहिन्छ ।’ 

त्यो हृदय पक्ष सामान्य विषयमा पनि कसरी आउँछ ? यसमा कविको एउटा सम्झना छ, एकपटक एकेडेमीमा भएको कविता लेखनमा ‘आधारभूत आवश्यकता’ भन्ने विषय दिइयो । कवि भन्नुहुन्छ, ‘यसै लेख्ने भए कुरामा त जति पनि लेख्न सकिन्छ । तर कवितामा केही फरकपन हुनुपर्यो । गास, बास र कपासका बारे यसरी पनि त लेख्न सकिन्छ’ ...

पल्लो घरको धुरीबाट धुँवा आको छैन  ।
मैले खाइ के सार भयो भाइले खाको छैन  ।।
कस्तो हुन्थ्यो एक एक गास सबैलाई पुगे । 
मेरो मन दुख्छ हजुर भाइको मन दुखे  ।।
तोप चरीको गुणै राम्रो दक्षिणतिर दैलो ।
भाइको भने घरै छैन कहाँ खेल्ने भैलो  ।।
कस्तो हुन्थ्यो एक एक बास सबैलाई पुगे  ।
मेरो मन दुख्छ हजुर भाइको मन दुखे  ।।
फूल राम्रो गुँरास होकी फूल राम्रो कपास  
भाइको शीरमा टोपी छैन कहाँ लाउने गुराँस ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​ढाकामा नेपाली कला प्रदर्शनी

    नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल र बंगलादेशका १९ जना चित्रकारको सहभागिता रहेको कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ नाइन्टिन नाम दिइएको थियो ।

  • रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

    शर्मिला राजोपाध्याय्/उज्यालो । काठमाडौं, फागुन ९ – बाराही परिवारका पुरुष सदस्यले अनिर्वाय रुपमा रातो मच्छिन्द्रनाथको रथ बनाउने क्रममा काठको काम गर्दछन् । तर रमेश बाराही त्यसो गर्न सक्ने अवस्थामा हुनुहुन्न ।

  • भ्रष्टाचारको बदलिँदो स्वरूप

    काठमाडौं, फागुन ६ – समाज र भ्रष्टाचारका फेरिंदा आयाम समेटिएको पुस्तक भ्रष्टाचार र समाज शुक्रबार सार्वजनिक हुँदैछ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय तथा अनुसन्धानकर्ता दिपेश घिमिरेले लेखेको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको हो ।

  • ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ सार्वजनिक

    काठमाडौं, फागुन ६ – तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गर्नुभएका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याउनुभएको छ ।

  • सिर्जना संवाद : काडमाण्डू सेल्फी एक आत्मचित्र

    काठमाडौं, फागुन ५ – साहित्यकार प्रकाश सायमीको कृति ‘काठमाण्डू सेल्फी’ माथिको पाठकीय चर्चा कार्यक्रम बिहीबार काठमाडौंमा भएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया