MENU

साहित्य/ कला

Ncell Axiata
USAID

कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा

दीपा तिमल्सिना/उज्यालो ।

काठमाडौं, पुस ९ – ‘पक्कै पनि दृष्टिबिहीनमा एक प्रकारको शक्ति हुन्छ, आँखा देखिँदैन त्यसैले पनि कान र मन मस्तिष्क जति नै बेला सजग र होसियार रहन्छ’ दृष्टिबिहीनसँग अदृश्य शक्ति हुन्छ ? भन्ने प्रश्नमा गायिका मेनुका पौडेलको जवाफ । 

आँखा नदेख्ने भएपछि कुनै कुरा जान्न परे वा त्यसलाई मनन गर्नुपरे त्यसप्रति नै लगाव हुन्छ । मन मस्तिष्क एकोहोरो हुन्छ र त केही कुरालाई आँखाले हेर्न नसकेपनि मनले छर्लंगै पारिदिन्छ । 

जिन्दगी अहिले सलल बग्दै गरेको नदी झैँ सामान्य हुन सकेको छैन । किनकी खहरे खोलाहरु अझै मिसिंदैछन् । तर निष्ठुरी बनेर जिन्दगीलाई निखार्ने काम भने रोकिएको छैन । सिँढी चढ्दै गर्दा एउटा बिन्दुमा पुगिएको छ । यो विन्दुलाई अझै माथि माथि पुर्‍याउनु छ, किनकी दृष्टिबिहीन सबैका लागि खम्बा बन्नु छ । 

जन्मँदै आँखाको दृष्टि गुमेपछि आमाको न्यानो काख र बाबुको साथ छोडेर अन्जान मानिसको भीडमा मेनुका पुग्नु भयो । सबै नचिनेका मानिस । फेरि उति बुझ्ने पनि होइन, मात्र ४ वर्षको उमेर । तैपनि यति सानो उमेरमा नचिनेकालाई चिन्ने प्रयास मात्रै भएन उनीहरुकै मनमा बस्न सफल हुनुभयो । आफू भन्दा माथिल्लो उमेरका दाई दिदीको माया मात्रै होइन होस्टेलका गुरुका मन जित्न पनि सक्नुभयो । 

सँघर्ष छ, र त जीवन छ ? ‘सँघर्ष नहुँदो हो त म यहाँसम्म कहाँ आइपुग्नु’ मेनुकाले भन्नुभयो । होस्टेलमा आफू भन्दा ठूलाले हार्मोनियम समाएको, गीत गाएको र मादल, तबला बजाएको सुन्दा मेनुकाको मन त्यतै हौसियो  । अनि चारै वर्षदेखि सुरु भयो सांगीतिक यात्रा । सुरुका दिन कष्ठकर नै थिए । साना हातले हार्मोनियम समाउनै सक्दैन थियो । सकोस् पनि कसरी आमाको हात समाएर हिँड्नुपर्ने बेला ... । 

संगीतप्रतिको लगाव देखेर अन्तत गुरु र दाई दिदीले नै हार्मोनियम समाएर बजाउन सिकाउनुभयो । त्यतिबेलाका सँगैका दाईदिदी र गुरुलाई सम्झँदै मेनुका कृतज्ञता व्यक्त गर्दै भावुक बन्नुहुन्छ, ‘मलाई त्यसरी उहाँहरुले नसिकाउनु भएको भए, म कहाँ हुन्थें होला ? जस जसले मलाई सिकाउनुभयो सबैप्रति आभारी, यो मेरो मात्रै होइन सबैको सफलता हो ।’ 

दुई बहिनी आमा बाबासँगै बस्छन्  । आमाको हातले पकाएको खान पाएका छन्, न्यानो काख पाएका छन् । तर पनि रत्तिभर पीर छैन आफूले त्यो नपाएकोमा । सानैमा आमाको काखमा लुट्पुटिएर मात्रै बसेको भए यो रंगिन दुनियाँ कसरी महशुस गर्न पाउनु ? 

‘म जे छु त्यसमा नै खुशी र सन्तुष्टि छु । आमाबाबाले होस्टेल नराख्नु भएको भए मैले यो प्लाटफर्म पाउने थिईन । होस्टल दृष्टिबिहीनहरुकै लागि भएकाले मैले त्यहाँ धेरै माया र स्नेहसँगै सिक्ने मौका पाए । एउटा डोर्याउने र टेक्ने बलियो लट्ठी पाएँ । त्यसकै सहाराले यति अग्ला सिँढी चढ्न सफल भएँ ।’  

रेडियो नेपालमा देशव्यापी आधुनिक  गीत प्रतियोगिता २०७२ मा प्रथम भएकी मेनुकोको घर झापा हो । झापाको दुर्गा उच्च मावि विद्यालय, जहाँ बाल्यकाल बितेको थियो, त्यहीँ संगीतका धेरैजसो आयाम सिक्ने मौका मिल्यो । मेनुका अहिले १८ वर्ष मात्रै हुनुभयो, तर उहाँको आवाज भने पाको, निखारिएको सशक्त र बुलन्द छ ।  १२ कक्षामा पढ्दै गर्दा सांगीतिक कार्यक्रममा पनि व्यस्त हुनुहुन्छ उहाँ । सांगीतिक क्षेत्रका अग्रजहरुको सरसल्लाहमा उहाँले संगीत विषय लिएर पढ्नु भएको छ । गीतकार एंव साहित्यकार सुवासचन्द्र ढुंगेलको शब्द तथा हरि लम्सालको संगीतमा उहाँले आधुनिक गीत प्रतियोगितामा भाग लिनु भएको थियो । 

कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा
कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा
बाँच्नलाई आफैंलाई
बाँच्नलाई, आफैलाई राख्नु पर्यो बन्धकीमा 
राख्नुपर्यो बन्धकीमा 
कस्तो कस्तो ...

तर प्रतियोगितामा भाग लिनु पछाडिको कथा भने अनुमान गरेजति सजिलो छैन । चोट के हो व्यथा के हो भन्ने गीतको फ्यान मेनुकालाई भाग्यले यही गीतका गीतकारसँग भेटाइदियो । जुन भेटले सफलताको स्वाद चाख्ने मौका  दियो । अकबरे सुनलाई कस्सी लाउनु पर्दैन भने जस्तै गीतकार ढुंगेलले उहाँको प्रतिभालाई सजिलै चिन्नुभयो । र आफ्नै शब्द दिनुभयो गाउनका लागि । मेनुकाले आफ्नो लगनशीलता र मेहनतले त्यहि गीत गाएर प्रथम बन्नुभयो । यो कुनै एक व्यक्तिको मात्रै नभएकर समग्र दृष्टिबिहीनको सफलता पनि हो ।   

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया