MENU

साहित्य/ कला

Ncell Axiata
USAID

मनी एक्सनको पूर्वार्द्ध

पुस्तक अंश

भक्तिप्रसाद पाण्डे 

हामीले सेना निर्माण त गर्‍यौ, तर त्यसलाई के काम दिने भन्ने सवाल खडा भयो । हाम्रो उद्देश्य मेलामा गएर काङ्गे्रेसीहरुलाई गोद्नु मात्र थिएन । उद्देश्य त क्रान्तिकै थियो । सेना निर्माण भएपछि त्यसलाई पाल्नु पनि पर्‍यो । कुनै एक्सनबिना बस्दा एक त सेना निर्माणको औचित्य नै पुष्टि हुन्नथ्यो; सिकेको तालिम पनि बिर्सने सम्भावना थियो । अर्कातिर, धेरै दिन साथीहरुलाई पाल्न पनि समस्या हुन्थ्यो । 

शुरुआतमा सेनाको आर्थिक बन्दोबस्त गुणनिधी भुसालले गर्नुभयो । उहाँ सन्धिखर्कको बिर्ती भन्ने ठाउँको हुनुहुन्थ्यो । पार्टी जिल्ला समितिको सक्रिय सदस्य हुनुहुन्थ्यो । उहाँको पूरै परिवार कम्युनिस्ट थियो । अहिले पनि उहाँ कम्युनिस्ट आन्दोलनमै सक्रिय हुनुहुन्छ ।

सेनाका लागि रासनपानीको व्यवस्था मात्र होइन, कतैबाट नेता–कार्यकर्ता आए तिनको खानपानको व्यवस्था पनि उहाँले नै गर्नुहुन्थ्यो । उहाँको घर गएपछि मुख फेर्न पाइन्थ्यो; मीठो चामल खान पाइन्थ्यो । उहाँका घरपरिवारका सबै सदस्य अत्यन्तै हार्दिक भावनाका ! उहाँकी बूढीआमा असाध्यै सहयोगी भावनाकी हुनुहुन्थ्यो । पार्टीका कार्यकर्तालाई आफ्नै छोराछोरीलाई जस्तै माया गर्नुहुन्थ्यो । 

सेना निर्माणको योजनासँगै हामी पुष्पलालजीसँग सम्पर्क विच्छेद गर्ने निर्णयमा पुगिसकेका थियौं । त्यसैले सेना निर्माणको जानकारी नेतृत्वलाई दिएका थिएनौंं । 

सेनालाई काम दिन मनी एक्सन गर्ने, देशैभरि एउटै कम्युनिस्ट पार्टी बनाउने योजनामा लागिसकेका थियौं । जीवराज आश्रितहरुले यसका लागि सक्रियता बढाइसक्नुभएको थियो ।

सेना निर्माणपछि पार्टीको अर्घाखाँची समितिले जिल्लामा तीन वटा कारबाही गर्ने निर्णय गर्‍यो । एउटा हर्रेबर्रेमा, अर्काे बल्कोटमा र तेस्रो चाहिं खनमा । 

तीन वटै ठाउँका लागि कारबाहीका कमान्डर पनि तोकिए । खनको कमान्डिङ गुणनिधि भुसालले गर्ने हुनुभयो । बल्कोटको जिम्मा मोहनलाल आचार्यले लिनुभयो । हर्रेबर्रेको कमान्डर केशरमणि पोखरेललाई तोकियो । 

कारबाही एकै दिन, एकै समयमा गर्नुपर्ने थियो । जोजोमाथि कारबाही गर्ने भनिएको थियो, उनीहरु सामान्य धनी किसान थिए । उनीहरु कुनै पार्टीमा आबद्ध थिएनन् । गरीब किसानमाथि शोषण गरेको, ब्याजमा पैसा लगाएको आरोप उनीहरुमाथि थियो । त्यही आधारमा कारबाहीको निर्णय गरिएको थियो । 

हामीसंग केही हतियार त थिए, तर तीनतीन ठाउँका लागि पर्याप्त थिएनन् । हातहतियार र अन्य लजिस्टिकका लागि फेरि गोरखपुर जानुपर्ने भयो । त्यसको जिम्मेवारी मैले नै पाएँ । फेरि गोरखपुरबाट केही हतियार ल्याइयो । गोरखपुरको बेतिया हातामा भारतीय कम्युनिस्ट पार्टीमा आबद्ध कमरेड जलिल भन्ने थिए । उनीसँग पहिलेदेखि चिनजान थियो । त्यही आधारमा उनले हतियार बिक्रेताहरुसँग सम्पर्क गराइदिएका थिए । 

कारबाहीका लागि पार्टीको रुपन्देही समितिले पनि एउटा दुईनाले टोटा बन्दुक दियो । 

... ...

हतियार त जम्मा भए, तर तिनलाई अर्घाखाँची पुर्‍याउनु कसरी ? सेना–प्रहरीको आँखा छल्न कठिन थियो । कसरी लुकाउने ? एक बोरा भुजा (मुरै) किनेर त्यसैमा हतियारहरु लुकाउने जुक्ति फुर्‍यो । भुजा किन्यौ; बोरामा हतियार हाल्यौं र लाग्यौं गन्तव्यतिर । बुटवलका वरिष्ठ पत्रकार मदनलाल पौडेल पनि हाम्रा सहयात्री हुनुहुन्थ्यो । 

बूढीदमार सकिएपछि एउटा गाउँ आयो । हामी त्यहीं बास बस्यौं । गरीब बस्ती थियो । घरवालाहरुले सिमलतरूल उसिनेका रहेछन्; हामीलाई पनि दिए, आफूहरुले पनि खाए । 

के कारणले हो, त्यो घरका एक सदस्यको राति मृत्यु भयो । हामी समस्यामा पर्‍यौं । फ्याट्ट हिड्यौं, घरमा मान्छेको मृत्यु भएको छ; बसिरह्यौं, साथमा हतियार छ ! कसैले थाहा पाए समस्या पर्ने थियो । हतियारको गोप्यतामा ध्यान दिनैपथ्र्याे ।

परिवारका अरु सदस्य आफन्तको वियोगका कारण रोइरहेका थिए । यस्तो दुःखको घडीमा उनीहरुसँग बस्न नपाउँदा हामीलाई पनि नरमाइलो लागिरहेको थियो । आखिर हामीले गहुङ्गो मन बनाएर त्यो घर छाड्यौं ।

हिंड्दै गयो; भोक लाग्दै जान्थ्यो । अर्को उपाय थिएन, हतियार छोपेको भुजा निकाल्दै खाँदै गर्न थाल्यौं । चार–पाँच जनाले फाँको हाल्दै हिंड्दै गर्दा भुजा पनि घट्दै थियो । 

मनी एक्सन गर्ने भएपछि हाम्रो चहलपहल बढ्दै थियो । हाम्रो गतिविधि थाहा पाएर होला, प्रहरी पनि सजग बनेको थियो । 

खिदिम पुगेपछि थाकेर लखतरान भयौं । चौतारामा भारी बिसायौं र बस्यौं । लौ, दुई प्रहरी माथितिरबाट झर्दै गरेका देखिए ! हामीले आपसमा आँखा जुधायौं र बोरातिर हेर्‍यौं । एउटा बन्दुकको टुप्पो बोराबाट थोरै बाहिर निस्केको रहेछ । त्यसलाई लुकाउन सकिने अवस्था नै थिएन । प्रहरीहरु नजिक आइपुग्नै लागेका थिए । 

हतपत म त्यही बोरामाथि खुट्टा राखेर बसें । मेरा खुट्टाले बन्दुकको टुप्पो छोपियो । 

चौतारामा आइसकेपछि प्रहरीहरु पनि सुस्ताए । बोराअगाडि बसेर उनीहरुले प्रश्न गर्न थाले, “घर कहाँ हो ? कहाँबाट आएका हौ ? कहाँ जान लागेका हौ ? ... ... ।” आफ्नो छडीले बोरामा पनि हानिहेरे । 

हामी सबैको मुख कालोनीलो भइसकेको थियो । बच्न सकिने सम्भावना ज्यादै कम थियो ।

मैले भनें, “पिपरा हो घर । खिदिममा हाम्रा नातागोता छन् । हामी उनीहरुलाई भेट्न आएका हौं । गाउँमा मधेशको कोसेली चीज हुन्छ भनेर आफन्तजनका लागि भुजा लिएर आएका हौं ।”

एउटा प्रहरीले बोरामा फेरि एक मुड्की हान्यो । त्यसपछि “ल जाओ” भन्दै दुवै जना अघि बढे । बल्ल हाम्रो सास आयो । उनीहरु तल पुगेपछि हामी पनि उकालो लाग्यौं । 

हाम्रो सम्पर्कस्थल अडगुरीका तारा सुवेदीको घर तोकिएको थियो । त्यहाँ पुगेपछि ती हतियार त्यही सुरक्षित रुपमा राख्यौं । यसबारे नेत्र पन्थीलाई जानकारी दियौं । किनभने, जिल्ला सचिव उहाँ नै हुनुहुन्थ्यो । त्यसपछि हामी आआफ्ना कार्यक्षेत्रमा लाग्यौं ।

आज सार्वजनिक हुन लागेको माओवादी नेता स्वर्गीय भक्तिप्रसाद पाण्डेको स्मरणग्रन्थ 'चाचा' बाट 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया