MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

उबेला प्लाटुन कमाण्डर, अहिले गाडीको कन्डक्टर

सविना घिमिरे ।

मेरो जन्मघर सिन्धुपाल्चोक हो । १४ वर्षको उमेरदेखि राजनीतिमा लागेको । २०५७ सालमा सात कक्षा पढ्दापढ्दै भूमिगत भएँ । घरमा आमाबुबा मेरो विवाह गरिदिन चाहानुहुन्थ्यो । माओवादीले गरेका ठूल्ठूला कुराले परिवर्तन गर्न हिँडेको मान्छे । दाजुहरु पनि सबै भूमिगत नै थिए । मलाई पनि जाउँ भने र गएँ । राजनीति के हो ? किन गरिन्छ भन्ने नै थाहा थिएन ।

युद्धले परिवर्तन ल्याउँछ भन्थे । आफू पनि परिवर्तन गर्न सकिन्छ, महिलाको अवस्था सुधार्न सकिन्छ कि भनेर युद्धमा गएको थिएँ । फेरि घरमा बसे पनि माओवादी परिवार भनेर तत्कालीन सेनाले दुःख दिने गथ्र्यो । यातनाकै कारण बुबाको पनि मृत्यु भयो । जसले गर्दा पनि मलाई भूमिगत बनायो । माओवादीमा गएपछि केही समय संगठनकै जिम्मा सम्हालें । पहिला मलाई सेनामा जान मन थियो ।

त्यसैले पनि माओवादीमा लाग्दा पनि सेनामा जाने रहर जाग्यो । ‘मरे एउटा ज्यान जिते संसार’ भनेर देशको मुहार परिवर्तन गर्न हिँडेको मान्छे म भूमिगत भएको एक वर्षपछि माओवादीको सेनामा लागें । माओवादीमा लागेर धेरै ठाउँमा लडें । मकवानपुर, दोलखा, सिन्धुपाल्चोक लगायत ठाउँमा तत्तकालीन सेनासँग युद्ध लडें । युद्धमा घाईत भएको थिएँ । त्यसको तीन वर्षपछि अप्रेसन गरेर अहिले काम गरेर खान सक्ने भएकी छु । मेरो नेतृत्वमा धेरै ठाउँमा युद्ध लडेको अनुभव छ ।

भूमिगत हुँदाहुँदै पनि आफ्नो पढाईलाई निरन्तरता दिएको थिएँ । मैले भूमिगत अवस्थामा नै एसएलसी पास गरें । नवलपरासीकी एकजना दिदीको प्रेरणाले एसएलसीसम्म दिन पाएँ । पास पनि भएँ । मैले त्यहाँ मार्सल आर्ट पनि सिकेकी थिएँ । मलाई पहिलेदेखि नै केही गर्ने हुट्हुटी थियो । बाआमाले बिहे गर भन्दा पनि पहिला केही गरेर आफ्नो खुट्टामा उभिन सक्ने हुन्छु अनि मात्र बिहे गर्छु भन्ने म पढ्दापढ्दै युद्धमा होमिएपछि भने देशको सिस्टम नै परिवर्तन गर्नुपर्छ जस्तो लाग्न थाल्यो ।

त्यतिबेला माओवादीका नेताले धेरै आश्वासन बाँडे । सबैलाई समान व्यवहार हुन्छ । धनी गरिब भन्ने नै हुँदैन, भन्थे । हो क्यार भन्ने लाग्थ्यो । अहिले पनि लाग्छ । तर नेताले पहिला आफूले गरेको बाचा बिर्से कि भन्ने पनि लाग्छ । उनीहरुले पहिले अंगालेका मान्यता  र सिद्धान्त नै बिर्सिसके जस्तो पनि लाग्छ ।

मेरो सबै परिवार नै माओवादीमा लागेका  थिए । मेरो श्रीमान पनि माओवादी भएकै कारण सेनाबाट यातना पाउनुभयो । अहिले उहाँ धेरै काम गर्न सक्नुहुन्न । सासुससुरा गाउँमा हुनुहुन्छ । तीन जनाको परिवार यहाँ छौं । म आफैंले काम गर्नुपर्छ । यसमा गुनासो त केही छैन तर पार्टीले हामीलाई हेरेन भन्ने लाग्छ । 

पाटी शान्ति प्रक्रिया आएपछि क्यान्टोनमेन्टमा बस्दा हामीलाई अयोग्य त भनेन तर सेनामा जान सहज वतावरण नै बनाईदिएनन् । १९ हजार थिए क्यान्टोनमेन्टमा । जम्मा १४ सय जना सेनामा गएका छन् । अझ भनौं सेनाका लागि १४ सयमात्र योग्य भनियो । ‘हामी अयोग्य भए कसरी लडाई लडेर आयौं त ?’ म एउटा प्लाटुन नै सम्हालेर बसेको कमाण्डर । सेनामा समायोजन हुँदा चार तह झर्नुपर्ने रे । मलाई त मेरो स्वाभिमानमाथि नै प्रहार गरे जस्तो लाग्यो र समायोजन भन्दा स्वेच्छिक अवकाश उचित लाग्यो । स्वेच्छिक अवकाश लिएँ पनि । नेतृत्वले सही निर्णय लिन नसक्दा आज हाम्रो यो गति भएको हो । म गाडीको खलाँसी भएकी छु । कोही गाउँमा गएर खेतिपाती गरेका छन् । कोही बिदेश गएका छन् । कसैले सामान्य व्यापार गरेर बसेका छन् ।

नेतृत्वले सही निर्णय गरिदिएको भए हामीले दिएको बलिदानको कदर हुन्थ्यो कि भन्ने लाग्छ । यत्रा मानिस जनयुद्धका नाममा शहीद भए । १० वर्ष लडेका जनसेनालाई अयोग्य भनेर खाली हात बाहिर निकालियो । म जस्ताको यो गति छ । देश परिवर्तन गर्न हिँडेको मान्छे, अहिले जीवन गुजारा गर्न पनि संघर्ष गर्नुपरेको छ । यो बाध्यता हो मेरो । सेनाको सपना साकार हुन नपाएपछि यी यसरी खलाँसीको काम गर्दै हिँडेकी छु । देशको लागि मर्न तयार म अहिले बाँच्नका लागि संघर्ष गर्दैछु ।

शान्ति प्रक्रियामा आएपछि हो मेरो विवाह भएको हो । ४ वर्षको छोरा छ । म गाडीमा कण्डक्टर (सहचालक)को काम गर्छु । यो काम पनि पुरुषले मात्र गर्ने भन्ने चलन छ । महिलाले गर्दा त सामाजिक रुपमा अपराध नै गरे जस्तो धेरैले ठान्छन् । अझ माओवादीमा लागेर के के न गरौंला भन्थी गाडीमा खलासी काम पो गर्न थालिछ भन्ने कति छन् कति । यसो भन्दा मन चसक्क हुन्छ । तर आफ्नो लागि गरेको कामले मलाई लज्जाबोध हुँदैन । त्यतिबेला देश सुधार्न जनायुद्धमा गएको थिएँ । अहिले जीवन सुधार्न खलासीको काम गर्छु ।

सहचालकको काम गर्दागर्दै गाडी सिक्ने रहर पनि जागेको छ । अब ड्राईभर बन्ने लक्ष्य लिएकी छु । यहाँ काम गर्दा सरहरुले गाडी पनि सिक्न पाईन्छ अनि केही समयमा स्थायी पनि गरिदिन्छौं भन्नुभएको थियो । त्यो चाही हुन सकेको छैन । यहाँबाट नभए पनि गाडी सिकेर गाडी चलाउने विचारमा छु ।

मलाई यो काम गर्न केही गाह्रो छैन । न त लाज नै लाग्छ ।  यहाँ काम गर्न पनि छानिएर नै आएकी हुँ । सायद पार्टीमा लागेर युद्ध नलडेको भए म यो काम पनि गर्न सक्दिन थिएँ कि भन्ने चाहिँ लागि रहन्छ । पार्टीमा लागेर सही के हो, गलत के हो भनेर छुट्याउन सक्ने भएकी छु । जिन्दगीका धेरै पाठ सिकायो भूमिगत जीवनले पनि । पहिला मर्न डर लाग्दैनथ्यो । अहिले बाँच्न सिक्दैछु । मलाई त यो पनि एउटा युद्ध जस्तै लाग्छ । 

म गाडीमा सहचालकको रुपमा काम गर्न थालेको ९ महिना भयो । जति असहज हुनु थियो भईसक्यो । अब त त्यस्तो छैन । पहिला पहिला महिला पनि ‘खलासी’ भन्ने गर्थे अहिले चाहिँ महिला त इमान्दार पो हुँदा रहेछन् भनेर सम्मान गर्न थालेका छन् । हौसला दिन थालेका छन् । काम भनेको सानो ठूलो हुँदैन भन्न थालेका छन् ।

युद्धमा लागेर परिवर्तन गर्न नसकेको कुरा अहिले सहचालक भएरै भएपनि बुझाउन सकेछु कि जस्तो पनि लाग्छ । महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने सकारात्मक सोंच मानिसमा आउन थालेको देखेको छु । यसले खुशी दिन्छ मलाई ।

(सविनासँग मुना श्रेष्ठले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रदेश नं. २ मा एमालेको मतपरिणाम, कमजोर लागे पनि यसकारण राम्रो

    प्रदेश नं २ को स्थानीय तहको परिणामले सबैभन्दा बढी नेकपा एमालेलाई हैरानीमा पारेको छ । चुनावअघि नेताहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो प्रदेश २ मा पनि एमालेले राम्रै नतिजा ल्याउला ।

  • दसैंमा परदेशीको चिठी

    आमाको कपाल ढकमक्क फुलिसक्यो होला । बुवाको अनुहार पनि चाउरिन थाल्यो कि ! बुवालाई घर व्यवहार चलाउन गाह्रो परेको छ होला । छोराले भनेजस्तो पैसा पठाएन भनेर मनले थकथकी मान्दै होला । सोच्नु हुँदो हो, अनि कहिलेकाहीँ त मेरो फोटो सुम्सुम्याउँदै भन्नुहुँदो हो यस्तै मात्र पैसा कमाउने भए विदेश नगएको भएपनि त हुन्थ्यो नि नाथु !

  • २ नम्बर प्रदेश समीक्षा : कांग्रेस पहिलो निश्चित, फोरमलाई प्रचण्डको सक्रियताले धोका !

    दुई नम्बर प्रदेशको स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइरहेको छ । अहिलेसम्मको मतपरिणामले दुई नम्बर प्रदेशमा प्रतिष्पर्धामा उत्रेका मुख्य ६ दल कोही पनि उत्साहित हुन सकेका छैनन् । दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित देखिएको छ भने बाँकी स्थानका लागि दलहरुबिच प्रतिस्पर्धा भइरहेको छ ।

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया