MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

सर्लाहीको मौरी रोल्पामा, दुई महिना मौरी चराएर ३ लाख

रोल्पा, पुस १७ – कात्तिक र मंसिरमा चिउरीको फूलबाट उत्पादन हुने कात्तिके मह उत्पादन गरेर सर्लाही हरिपुरका किसान रबीकुमार कडरियाले तीन लाख रुपैयाँ आम्दानी गर्नुभएको छ ।  

गएको कात्तिक ३ गते रोल्पाको घोडागाउँ घोरखोलाको खेतमा मौरी चराएर उहाँले दुई महिनामा तीन लाख आम्दानी गर्नुभएको हो ।  

कात्तिके महको सिजन सकिएसँगै मौरीका घार पनि उहाँले अन्यत्र ठाउँमा स्थानान्तरण गर्नुभएको छ । रोल्पा जिल्लामा प्रशस्तै मात्रामा चिउरी पाइने भएकाले हरेक वर्षजसो अन्य जिल्लाहरुबाट मौरी व्यवसायीले मौरी चराउन ल्याउने गर्दछन् । 

यस वर्ष सर्लाहीको हरीपुरबाट रोल्पाको घोडागाउँमा मौरी चराउन ल्याएका मौरीपालक किसान कडरियाले कात्तिके महको सिजनमा मात्रै ५ सय किलो मह उत्पादन गर्नुभएको थियो । उहाँले उत्पादन गरेका मह काठमाडौंमा आयुर्वेदिक औषधि बनाउने ठाउँ तथा पूजा सामाग्रीको पसलमा बिक्री हुने गरेको छ । आफूहरुले गएको वर्ष प्यूठानको बिजुवारमा मौरी चराएको र अहिले त्यही ठाउँका कृषकहरुले पनि पाठ सिकेर मौरी पाल्न थालेको कडरियाको भनाई छ ।

मौरी व्यवसायीले स्थानीयको जग्गा दुई महिनाका लागि भाडामा लिएर मौरी चराउने गर्दै आएका छन् । उनीहरुले उक्त जग्गामा उत्पादन हुने अन्नबालीको हिसाव गरेर जग्गा भाडामा लिएर लाखौं आम्दानी गर्ने गरेका छन् ।

रोल्पा जिल्लाका अधिकांश ठाउँमा मह उत्पादनका लागि प्रशस्तै चिउरीका रुखहरु पाइने भएपनि जिल्लामा व्यावसायिक रुपमा मौरीपालन व्यवसाय भने फस्टाउन सकेका छैनन् । जिल्लाका कतिपय ठाउँमा परम्परागत रुपमा मह उत्पादन हुने गरेको भएपनि त्यसबाट थोरै मात्रै आम्दानी हुने गरेको छ । जिल्लाका मौरी पालक किसानहरुले यस सम्बन्धी थप ज्ञान र सीप नहुँदा प्रशस्त आम्दानी गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया