MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

दुर्लभ सालक धमिराको गोलोभित्र एकैछिनमा हरायो (फोटोसहित)

भावुक योगी/उज्यालो ।

बर्दिया, पुस २० – बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको तरंगा राजकाँडामा आइतबार आँखामा समस्या भएको दुर्लभ वन्यजन्तुमा सूचिकृत सालक फेला पर्यो । तरंगा राजकाँडाबाट सालकलाई उद्धार गरेर स्थानीय संरक्षणकर्मी चन्द्रकला बुढाले बर्दिया निकुञ्जमा बुझाउनुभयो । 

निकुञ्जले उपचार गरेर दुई दिनपछि निको भएको सालकलाई निकुञ्जभित्र धमिराको गोलो नजिक छाडियो । त्यहाँ छाडिएको केही बेरमा धमिराको गोलो भएको ठाउँमा गोलो प्वाल बनाएर एकैछिनमा प्वालबाट सालक सुरक्षित स्थानतर्फ गयो ।  

दुई साताअघि पनि बर्दियाको सानोश्रीताराताल नगरपालिका–७ गंगावस्ती गाउँमा संरक्षित वन्यजन्तुमा सूचिकृत सालक फेला परेको थियो । सालक देखेपछि स्थानीय बासिन्दाले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएका थिए । वन कार्यालयले सालकलाई सुरक्षित उद्धार गरी बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाए । सालकलाई बर्दिया राष्टिय निकुञ्ज भित्र छोडिएको थियो ।

सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु खाएर नियन्त्रण गर्दछ । सालकले एक वर्षमा झण्डै सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ । सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचिमा राखेको छ । 

बर्दिया राष्टिय निकुञ्ज आसपासमा रहेका मध्यवर्ती क्षेत्रका स्थानिय बासिन्दा पछिल्लो समय संरक्षण अभियानमा जुटिरहेका छन् । सालक, कछुवा, गोही, बंदेल, चित्तल, अजिँगर लगायतका विभिन्न वन्यजन्तु गाउँमा देखेपछि निकुञ्जमा बुझाउने लहर बढीरहेको छ । 

निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणा गर्नु अघिसम्म भरुवा बन्दुकको प्रयोग गरी विभिन्न वन्यजन्तुको चोरी शिकार गर्ने निकुञ्जका उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको तरंगा, लेखपराजुल, हरीहरपुर र छिन्चु गाउँ विकास समितिका स्थानिय बासिन्दा पछिल्लो समय संरक्षण अभियानमा जुटेका छन् । 

‘त्यस क्षेत्रमा निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणा गरेसँगै स्थानीय उपभोक्ता र चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका युवाहरुको पहलमा चोरी शिकारमा प्रयोग भएका झण्डै २ सय ५५ भरुवा बन्दुकहरु निकुञ्जमा बुझाएपछि संरक्षण अभियान जुटी रहेका छन्’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले भन्नुभयो ।   

वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ । सालकलाई संकटापन्न सूचिमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा तथ्याङ्क छैन । 

सालक विश्व मै बढी चोरी शिकार हुने प्रजाती मध्येको एक हो । सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानासहित दण्ड सजाय हुने कानुनि प्रावधान छ । सालक विषेशगरी भारत, चीनलगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्णभूभागमा पाइन्छ । 

तस्बिर सौजन्य : बर्दिया निकुञ्ज प्रमुख रमेश थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया