MENU

साहित्य/ कला

Ncell Axiata
USAID

काठमाडौंमा जीवन (निबन्ध)

रमेश भट्टराई ‘सहृदयी’ -

संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौंलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनि पनि जान्न असमर्थ हुन्छन् ।

ब्रह्माण्डमा जीवन, अन्तरिक्षमा जीवन, धर्तीमा जीवन, देशमा जीवन, जिल्लाको सहरमा जीवन, गाउँमा जीवन एउटा परिवारमा जीवन  धेरै खालका जीवन भेटिन्छन् । जीवन त्यो हो जुन आमाको गर्भ भित्रदेखि लिएर बाहिर निस्केपछि श्वास चल्यो र अन्तिम श्वास जहिलेसम्म चल्छ, त्यो समय अर्थात् जन्म र मृत्युको बीचको अवधि नै जीवन हो । त्यसैले मैले आमाको कोखबाट जन्मेर जीवन जिउँदै गर्दा काठमाडौंमा जीवनलाई जिएको छु । स्वासको चालसँग बितेको छ – मेरो काठमाडौंमा जीवन ।

काठमाडौंमा जीवन पृथक–पृथक परिवृत्तमा निर्धारित छ । कीर्तिपुरमा विद्यार्थीको जीवन, पसलमा पसलेको जीवन, अफिसमा कर्मचारीको जीवन, श्रीमान् विदेशिएर एक्लै कोठामा बस्ने या त परिवार लिएर बसेकी श्रीमतीको जीवन, बाध्यताले एउटा कोठामा कोचिएका गरिबका परिवारको जीवन, कोठाजति भाडामा लाएर आफू एउटा फ्ल्याटमा अटेसमटेस गरेर बस्ने घरबेटीको जीवन, अनाथालयमा बस्ने अनाथको जीवन, अपाङ्गको ह्वीलचियरको जीवन या त अन्धा अपाङ्गको आफ्नै समस्याग्रस्त जीवन, खेलाडीगत र व्यापारिक प्रतिस्पर्धात्मक जीवन, सरकारी र निजी संस्थागत प्रतिस्पर्धात्मक जीवन, मद्यपान–धुम्रपान गर्ने र गराउनेको जीवन, यातायात दलाली र घर–जग्गा दलालीको जीवन या त बोर्डसमा वा आफन्तका भरमा छोडेकाले मातृस्नेह नपाएर ममताको अभावमा तड्पिएका बालबालिकाको जीवन– समग्रमा पैसा र उच्च महत्वकाङ्क्षाले जकडिएको जीवन ।

बिहान उठ्यो, खायो, काम भए गर्‍यो नभए टि.भि.सि.भि. हेर्‍यो, टाइम पास गर्‍यो अफिस भए गयो बेलुका पकायो खायो र सुत्यो फेरि त्यही चक्करको काठमाडौंको जीवन–भ्रुणावस्थादेखि आर्यघाटसम्मको जीवन ।

यहाँ माग्नै पर्ने बाध्यता भएका र मगज बिग्रेर एक्लै बर्बराउनेको एउटा आफ्नै संसार छ । बडि स्प्रे लगाएर आपूm सुगन्धित भएकाहरुले आपूmलाई ठूलो मानेर गजक्क पर्दै तिनको हेला गर्छन् । कोही बिहानै टिल्ल भएर लडिरहन्छन् । कसैलाई यहाँ दिन र रातको पत्ता हुँदैन । झन् दिमाग बिग्रेकाहरुलाई त बिचरा ! फोहोर–मैला, जुठो–बासी, घर–सडक–पेटी या त स्वस्थ–अस्वस्थको कुनै प्रवाह छैन ।

तिनलाई मान–अपमानको मतलब हुँदैन किनकि सुग्घर आमाकी सुकिलो बच्चाले जिस्क्याउँदा होस् या त त्यो बच्चाले दया र प्रेमले आफ्नो अलिकति खाजा माग्नेलाई दिन चाहँदा ती आमाले घृणा र तिरस्कार गर्दै प्रतिशोधमा बच्चालाई भकुर्छिन् – काठमाडौंमा । त्यो निरीहलाई दोस्रो दर्जामा मान्न सिकाउँछिन् ती आमाले त्यो अबोध बालकलाई । प्रकृतिसँग हाँसो र रोदनलाई पस्कन माहिर ती परिचय विहीन नेपालका बासिन्दाले सभ्य मानिसका समस्यासँग सिँगौरी खेल्ने आवश्यकता पर्दैन । तिनलाई न नागरिक हक चाहिन्छ न त समावेशी अधिकार र समानताको आशा छ ।  

यहाँ सग्ला, सुसंस्कृत, सभ्य व्यक्ति र समुदायका लागि मानव अधिकारका सवाल उठ्छन्, नारा जुलुस चल्छन् । कुनै बाध्यता र समस्याग्रस्त मानिसले कारलाई पुछ्ने बाध्यता भए पनि त्यस्मा चढ्ने औकात र स्तर हुन दिनु हुँदैन– ठालु सोचको बाहुल्य दमन । यहाँ मानिसको मूल्य काम र पैसासँग हो, केही गरी खुट्टो मर्केर एक महिना अफिस जान असमर्थ हुनुभयो, बस प्राइबेट संस्था हो बिरामी पर्नु तपार्इँको प्राइबेट कुरा, तपाईँको ठाउँमा अर्को मानिस आउँछ, तपाईँले अफिसबाट सुस्वास्थ्यको कामना पाउनु हुनेछ । तपाईँ त्यहाँको भूपू कर्मचारी ।

काठमाडौं उपत्यका, नेपाल खाल्डो या त पहिला–पहिला ‘नेपाल’ भनेर चिनिने र अहिले एउटा जिल्ला नै भए पनि देशको मुटु त बनेको छ । ढाडस दिएर हड्डी घोट्ने र मस्ती लुट्ने दुबैको बराबरीको अस्तित्व रहेको छ । सूर्यले आकाशबाट पथ्वीमा किरण र जाडोमा ताप र तातोमा राप दिएझैँ काठमाडौंले सारा देशमा आँखा लगाइरहन्छ । धैरेको आँखामा आँखा जुधेर वा प्रेम बसेको भएरै भनौँ पचहत्तरै जिल्लाका मानिस धुरिएका छन्, चाहे बाध्यता होस् चाहे रहर ।

तन, मन, धन र वचन सबैको विकास गर्ने मनमा सारा जन लागेकै छन् । जीवन र जगतलाई व्याख्या गर्दै दार्शनिक काठमाडौं छिर्छन् । वेद र शास्त्र व्याख्या गर्दैै पशुपति, स्वयम्भूतिर पण्डित, लामा र भक्तहरु कोल्टिन्छन् । घर घडेरी बेचेर गाउँमा पैसा नपाएर विदेशिन चाहने युवाशक्ति सपना र कल्पनामा रमाउँदै आउँछन् । चाहे एक रातका परदेशी हुन् चाहे कोठामा बसेर भाडा तिर्ने कोठेहरु, सबै एउटै अवस्थामा छन् । घर हुने करौडौंका मालिकले यहाँ दुईछाक टार्ने भिखारीसँग कोठा भाडा उठाएर गुजारा चलाउँछन् ।

भाडा तिर्दै गर्दा घरबेटीको टोकसो धेरैजसो त सहनै पर्छ । त्यसमाथि पनि कोठा खोज्दा नपाउँदाको पीडा झनै दुःखदायी ।कोठामा पर्दा लागेको छ छैन हेर्दा–हेर्दै मुन्टो बाङ्गिन्छ, कोठा खोज्दाखेरि । तर यहाँ सडकको पेटीमा माग्नलाई लाइन लाग्ने मगन्तेको कटोरी भन्दा सुटबुटका घुस्याहा कर्मचारीको ठूलो इज्जत र सम्मान हुनु विडम्बनाको कुरा हो । अस्तव्यस्त समाजमा बाँच्न सङ्घर्ष गर्नु त नराम्रो पटक्कै होइन ।

मैले पनि काठमाडौंमा सङ्घर्र्ष नगरेको होइन । घरबेटीका गाली र ठूलाबडाको हालीमुहालीमा फसेर हजुर भन्न त छोडेको छैन । कल्पनाशील र परिवतर्नका सिँढी चढ्ने सपनाका तन्नामा विलीन बन्दै रमाउनु काठमाडौंको बाध्यता अनि विकासका र अवसरका लालचमा चिन्ता र वेदनालाई बिर्सेर अन्तर्सङ्घर्ष गर्नु विवसता बन्दो रहेछ ।

सिप, विवेक र ज्ञानमा भन्दा पाटीमुखी स्वार्थमा र नातावाद, कृपावादमा जीवन सुखदायी बन्नेको लहर ज्यादा रहेको देखिन्छ । नेल्सन मन्डेलाले कालाजातिको मुक्तिमा ज्यान दिए तर मैले पेट र जीवनका लागि सङ्घर्ष गर्न छोडेको छैन । गाउँको झझल्कोले ताने पनि यहाँको रमझमले मान्छेलाई बाँधेकै छ ।

काठमाडौं फोहोर या प्रदूषणले ठस्स गनाएको होस् या नेपाललाई खान पुग्ने अन्न उब्जनी हुने तलैया माटोमा बिल्डिङ बनेर ढाकियोस् यो सबै बकम्फुसे चिन्तन बन्छ । साइबर क्राइमदेखि दिन दहाडै शरीर बेच्न तत्पर नेपाली चेली र चेलाको भीडलाई हेर्दा कल्कि अवतारको खाँचो भएको आभास हुन्छ ।

गाउँको गुन्द्रुक ढिँडोलाई छ्या ! भन्नेहरु यहाँ बास्मती धानको चामल खाएर विषादीले सजिसजाउ तरकारीको मिष्ठान्न भोजन खाएर डाक्टरलाई रकम हस्तान्तरण गर्दै यमराज कहाँ जान आत्तिन्छन् । मैले सङ्घर्ष गर्नलाई खोजँे तर शिक्षा र दीक्षाको इच्छाले कोठे भएर सङ्कुचित बनेको छु ।

गाउँमा ओल्लो गाउँबाट पल्लो गाउँमा सहयोगी हात फैलाउने आज मैले पल्लो कोठाको मान्छेसँग राम्रो परिचय समेत गरेको हुँदिन । जलश्रोतमा विश्वकै दोश्रो धनी राष्ट्र भए पनि काठमाडौंमा विद्युत र पानीको अभावले डेरा जमाउन कन्जुस्याईँ कहाँ गर्‍या छ र । बाग्मतीको ठस्स गनाउने जलले सिञ्चित भएर होला भगवानका भक्तहरुको मनमा पनि एकता, मानवता र दया पाइन्न । यहाँ त भगवानको पनि दर्जा हुँदो रहेछ । मन्दिरै मन्दिरको देश कहलाउन काठमाडौं सायद अग्रस्थानमै रहेको लाग्थ्यो तर अब के भन्ने त्यो थाहा छैन । विभिन्न धर्मका विभिन्न सम्प्रदायले प्रतिस्पर्धा गर्ने स्थान पनि त यही रहेछ किनकि मानिसको भीड यहीँ ठूलो छ ।

मेरो विचारमा मान्छेले जीवनलाई जिउन सपना बुन्दै–बुन्दै काठमाडौंमा कोचिन्छ । सडक, सदन र सांसदमासम्म एउटा टेबलमा बसेर टेबलमुनि हात राख्न सजिलो र अप्ठ्यारो दुवै रहने रहेछ । पा.वि.के.ले पाठ्यक्रम पनि यही टेबलमा बसेर कल्पना गर्न सङ्कोच मान्दैन । ओलाङचुङ्गगोला र काठमाडौंलाई तुलना गर्ने हैरान कसले गरोस् । प्रयोगशीलताभित्र सरलताको बहाव चढाउन कलात्मक अभिव्यञ्जनालाई मानिसले जीवनमा काठमाडौंभित्र खार्ने गर्छ ।

ठमेलमा पर्यटकलाई खाँदखुद गरे पनि काठमाडौं के कम छ र ! सबै नेपाली जनजीवनको आँखाको नानी बन्नु ठूलो कुरै भएन किनकि अल्छी गर्ने र जाँगर चलाउने सबैलाई यसले समेटेकै छ । गाँउबाट सहर, सहरबाट राजधानी भित्रिने क्रम फेसबुक र इन्टरनेटको विकाससँगै दौडेकै छ । म पनि त समयसँग दगुर्ने मान्छे हुँ । तर नेपालीले केही नपाए विदेश ताक्छ, सामान्य नागरिकले ; ठूला–ठालुले, सम्पत्तिवालले अस्ट्रेलिया, अमेरिका, क्यानडा । तर त्यहाँका मानिसले चन्द्रमादेखि अन्तरिक्षका विभिन्न ग्रहतिर ताक्छन् – यही हो मान्छेको जीवन । तर काठमाडौंमा कोही महलमा त कोही छिँडीमा छन् भने कोही सडकका पेटीमा खुला आकाशमुनि– प्रकृतिको काखमा ।

बासी सडेगलेका सागसब्जी र खाना खाएर डाइभिटिज, जन्डिसले अस्पतालमा लाइन लाग्छन्, घर गाँउको  सम्पत्ति बेचेर घर–घडेरीमा खन्याएर लोनमा भएपनि एउटा घर ठड्याए ठूलो भो । त्यसमा पनि बदाम बेचोस् या वदन चाहे जे गरोस् काठमाडौं भनेको त राजधानी नै हो । वास्तवमा दुर्गन्धित बजारमा सुगन्धित भएर बदाम र वदन वा सदन सबै बेच्नलाई यहाँ सजिलो रहेछ ।

अब युवा पुस्तातिर हेर्नुहोस् न म त छक्कै पर्छु । दिउँसै रात पार्ने गरी युवा जोडीले मन्दिर, पार्क, र खुल्ला ठाँउ नभए खाली ठाँउमा पनि अरुलाई अलिक टाढै उभिन बाध्य बनाउँछन् । लगलग काम्दै पुस माघको जाडोमा फेसन र बडी सो गर्नेको उत्तिकै प्रतिस्पर्धा छ । ऐना अघि आफूलाई राखेर म कस्तो या कस्ती छु भन्ने मध्येमा त छोरी मान्छेको बहुमत होला अन्त नभए मोबाइलले पनि अलि अलि त ऐनाको काम चलिहाल्छ । कोही कोहीलाई त कपडा लाउनका लागि कुर्दा कुर्दै भोक लाग्छ ।

यता फक्र्यो हेर्‍यो, पछाडि मुन्टो बटार्‍यो कस्तो छु भनेर हेर्‍यो, बाटामा गाडी कुर्‍या हो भने छुट्ने कुरामा चिन्तै गर्नुपर्दैन । कोही नेटमा झुन्डिएर तरकारी डढाउँछन्, कोही नेटकै कारणले निद हड्ताल बसिदिन्छन् । कोही फेसबुकबाटै लभ पार्छन् त कोही घरबार बिगार्छन् । यो प्रतिक्षालयको राम्रो दोस्ति भने बन्दो रहेछ ।  तर कम से कम जे–जस्तो गाँस टिपे पनि मेकअप गर्नमा यहाँ दिमाग ठीक भएसम्म कन्जुस्यार्इँ गरिँदैन । ‘म एक दिन ग्वार्कोतिर गएको थिएँ यसो पछाडि हेर्दा त कुकुरहरु खुब जोडले भुक्दै यतै आएको देखेँ । म पनि छक्क परेँ तर किन रहेछ भनेको त यहाँ एउटाले मेकअप राम्रो गरेको रहेनछ किनकि उसको दिमाग ठीक रहेनछ ।’

यहाँ झत्ते झाम्रे भएर प्लास्टिक बटुल्नेलाई कुकुर समेतले हेपेको देख्दा मेरो मन कुँडिन्छ । हेर्नोस् यो हो काठमाडाैंको जीवन । यहाँ कला, काल र सालनाल सबैको बराबरी मूल्य छ । यहाँ चाकडी र दासत्वदेखि चतुर्‍यार्इँ र रवाफको धेरै मूल्य छ । तपाईँ जागिर माग्न जानुहोस् पहिला काम गरेको अनुभव चाहिन्छ । यहाँ कमजोरलाई त कुकुरले समेत हेप्छ ।

यहाँ जागिर नपाउनेलाई पाउन गाह्रो पाएकाले थमाउन गाह्रो, थमाए पनि रिझाउन साह्रो । यहाँ समस्याका सङ्घर्ष भइरहन्छन्, विकास र विनासका खोला बहिरहन्छन् । कोही रातारात घुस, ठगी, चोरीबाट करोडपति त कोही रातारात रोडपति बनिरहन्छन् ।

अचम्मको कुरा यहाँ मान्छे नचाहेर पनि बाध्य र विवस बन्दा रहेछन् । कोही नभएर भोकै बन्छन् त कोही धेरै भएर भोकै किनभने डाक्टरले नखानु भनेको हुन्छ, डाइभिटिज । यहाँ ज्ञान, विज्ञान, ध्यान, साधना, स्रोत जस्ता मानवीय पक्ष पनि खोज्न सकिन्छ तर कमैले खोज्छन् । धेरै मानिसलाई उनान्सयको चक्कर लागेको छ । दिनरात मान्छे पैसा कमाउनमा व्यस्त बन्छ । पाहुनालाई स्वागत गर्न भ्याउँदैन, मलामी जानुपर्ने हँदा पनि समय दिन गाह्रो, गयो भने पनि आर्यघाटबाट लास नजल्दै काममा फर्कन हतारो । मैले तपाईलाई यथार्थ कुरा भन्दै छु ।

यहाँको मान्छेमा ममता, भ्रातृत्व र मानवता जस्ता कुरा विरलै मात्र पाइँदो रहेछ । यहाँको समाजलाई धेरै जसो कुण्ठा, अन्तर्पीडा, निराशा, असन्तुष्टि, उदासीनता र मूल्यहीन जीवन अनुभूतिले खोक्रो पारेको छ । मान्छेले आनन्द लिन जानेकै छैन, शान्ति नपाई मर्छ । यहाँको जीवनमा मान्छे विचलित छ । फेसबुकमा मेरा साथीहरुले कहिलेकाहीँ लेखेको हुेर्छु, बोरिङ लाइफ गल्डफ्रेन्डले धोका दिइन् या आपूmलाई ब्वाई फ्रेन्डले वास्ता गरेन तब भन्छन् “जीवन पीडा र वेदनाको सागर हो, जीवन केही होइन टुट्ने सीसा जस्तो एक्लो मरुभूमि हो ।” तब म भन्छु यो काठमाडौंको सङ्कुचित जीवन हो । जीवन त आनन्द हो, कलकल बग्ने पावन जल हो, जलपान हो, बहुमूल्य अवसर हो । किनकि म ऐले हेर्न सक्छु, सुन्न सक्छु, बोल्न सक्छु, सोच्न सक्छु त्यसैले मृत्युपछि जे सुकै होस् जीवनभरि मेरो जीवन आनन्दको सागर हो । “बुझ्नेलाई श्रीखण्ड नबुझे खुर्पाको बिँड” किनकि “फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार” यो हो मेरो जीवन । काठमाडौंमा धेरै मान्छेले निराशावादी सोचमा जीवन जिउँदा रहेछन् ।

वास्तवमा काठमाडौं बुझ्नसके बुद्धको शान्ति स्थल भएको भूमि हो, पशुपतिनाथको र पार्वतीको बासस्थान र क्रिडास्थल हो, शेषनागमा शयन गर्ने विष्णुको पावन स्थल हो । जीवनमा मैले काठमाडौंको जीवनलाई दःखभित्र पनि विज्ञानको विकास, समाजको सङ्कुचनलाई चिर्दै व्यापकताको सागरमा डुबुल्की मार्न चाहेँ । चाहे ट्राफिक जामको पट्यार लाग्दो अवस्था होस्, चाहे ह्वाइट गुम्बाबाट सहरमाथि देखिएको धुलो र धुवाँको दृश्य नै किन नहोस् तर सेवा, सुविधा र पैसा भए तत्काल समस्या हल गर्न सकिने अवस्थाले जता मल्खु त्यतै ढल्कुझैँ बनाएको छ । अन्तत : नेपालको नेपालीत्व झल्काउन काठमाडौं महत्वपूर्ण अवस्य बन्ला नै । चक्रपथ बाटो विस्तार, ध्वस्त संरचना पुनर्निर्माण र सही संविधानको निर्माणले नेपाली समाजलाई काठमाडौंको जीवनमा के कति सहजता दियो ?! काठमाडौंको जीवनलाई सुधार्नु हरेक नेपालीको दायित्व हो भन्दा म आफू बकम्फुसे गफाडी बन्छु होला भन्ने डर लाग्छ तथापि मैले आँट चाहिँ गरेकै छु । स्नातकदेखि स्नातकोत्तर माथिका पदचापमा पाइलो सार्ने जमर्को गर्दै जीवनलाई सङ्घर्षमय बनाउने अभिष्ट मेरो जीवन्त छँदै छ ।

विज्ञान र प्रविधिमा अद्यावधिक बन्न पाउनुर प्रतिस्पर्धात्मक बजारमा रोजी रोजी सर–सामान खरिद तथा बिक्री गर्ने अवसर पाउनु, वैदेशिक स्थितिलाई राम्ररी नियाल्ने मौका मिल्नु र छिट्टै परिवर्तित अवस्थालाई चिन्न तथा सकेसम्म त्यस्ता अवसरमा सहभागी बन्न पनि पाउने हुनाले म यसलाई उपलब्धी ठान्ने गर्छु । परिश्रम गर्नेले अक्सर अवसर पाएकै छ तर गाह्रो भने नहुने होइन ।

गरिब र धनीको खाडल नभए हजारौँ नेपाली दिनहुँ विदेशिए पनि प्रश्न उठ्छ यहाँको फोहोर कसले सोहोर्ने ? युवायुवती प्रदर्शनी र महोत्सवमा नूतन विज्ञानका वस्तुसँग प्रेम गर्न इच्छुक अवश्यै छन् । इन्जिनियर, पाइलट र डाक्टरको सपना पनि त गाँउमा कसरी देख्नु, यो त अवश्य प्रगति नै हो । चाकडी चाप्लुसीमा पसिना बगाउन काठमाडौं ठीकठीकै छ किनकि कतिपय अवस्थामा त्यो पनि फुङ्ग धुलो बन्न सक्छ  र  मर्दा मलामीको एकता भए तापनि “कैसन बा ? ठीक बानु” भन्नेदेखि “ख–मखला” भन्ने सम्मको राम्रो अनेकतामा एकतागत सांस्कृतिक अभिव्यञ्जन यहाँ छ । अरुबेला छोटा लुगा र कपालका रङ्गीचङ्गी दृश्य जे जस्तो भए पनि मेला पर्वमा सांस्कृतिक भेषभुषाले नेपालीत्व झल्काएको कुरा तपाईलाई राम्रो लाग्नुपर्ने हो ।

गाउँको ताजा तरकारी, स्वच्छ निर्मल बगेको पानी र खसेको धारो, पवित्र पवनलाई जबर्जस्ती गलत्याएर सहरको चम्चमाहटमा भिज्न आउनेको लहर वृद्धि हुँदा र भूकम्पले दच्को परे पनि वास्तुकला सास्तुकला केही नभनी एउटा गोरेटो नराखी बनेका बाक्ला घरका लागि खनिने इनार र शौचालयको भण्डारण गर्ने खाडलले काठमाडौंको भविष्य कस्तो – कस्तो रहेको कुरामा डर लाग्छ । मैले त यही बुझेको छु । तर नियाल्दै गर्दा काठमाडौंको जीवनशैलीमा धनी गरिब नभनी नयाँ फिल्म हेर्न हलमा भिड लाग्छ । यस्तो रहेछ काठमाडौंको जीवन ।

जति व्याख्या गरे पनि पुच्छर त्यही गएर टुङ्गिन्छ, अन्तमा त्यै त हो नि आखिर काठमाडौंको जीवन बस्तीमा मस्ती गर्न जबर्जस्ती लाग्नेले राति पनि गस्ती त गर्नै पर्छ । बाटो, बत्ती र बिजुलीको थोर बहुत समस्या भए पनि पैसा भए आमाबाबु बाहेक किन्न पाइँदो रहेछ । तर मैले पनि मनलाई किन खुम्च्याएर निराशातिर धकेल्नु भनेर सकारात्मक र आनन्दको जीवन जीउन थालेको छु किनकि मान्छेलाई गाँस, बास र कपासको त खाँचो हो ।

एनकेन प्रकारेण त्यो समस्या काठमाडौंमा हलसम्म भइरहँदा त ठीकै छ तर हरेक व्यक्तिको आ–आफ्नै सोच र विचार हुन्छ मैले वर्तमानमा आनन्द लिन सिकेको छु । भविष्य त वर्तमान बनी हाल्छ नि, यस्तै छ मेरो काठमाडौंको जीवन । तर अन्तिममा कतिपय कुरा थपिन सक्छन् यसलाई तपाईँको जीवनमा दाँजेर अद्यावधिक गर्दै जानुहोस् । काठमाडौंमा सज्जनले बाहिरी दुःख र भित्री सुख पाउँछन्; ढाँट्ने र छलकपट गर्नेले भित्री दुःख र बाहिरी ढोङको सुख भोग्छन् – त्यतिमात्र फरक हो, अब बाँकी तपाई आफै बुझेर काठमाडौंमा जीवन जिउनुहोस् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया