MENU

समाज

USAID

श्रीमानले जलाएर मार्न खोज्दा समेत कानुनले देखेन

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, पुस २३ – ललितपुरकी कविता महत (नाम पविर्तन) भर्खर १६ पुग्दै हुनुहुन्थ्यो । २६ वर्षका युवकसँग प्रेममा परेपछि उहाँले १६ वर्षको उमेरमा नै विवाह गर्नुभयो । तर उहाँको वैवाहिक जीवन लामो समयसम्म चल्न सकेन ।

लागुऔषध प्रयोग गर्ने श्रीमानले लागुऔषध फालिदिएको रीसमा उहाँलाई मट्टितेल खन्याएर आगो लगायो । ‘उसले प्रयोग गर्ने लागूऔषध मैले फालिदिएकी थिएँ । त्यही रीसले उसले मलाई धक्का दिँदा म लडेर सोफामा ठोक्किन पुगें, त्यही मौकामा उसले मलाई आगो लगाएछ’ कविताले भन्नुभयो ।

परिवारका अरुले भने माया गर्ने गरेको उहाँले बताउनुभयो । ‘तर परिवारका अरु नभएको बेलामा आफ्नो एउटा गल्ती छोप्न मलाई आगो लगायो’ कविताले भन्नुभयो । लामो समयसम्म अस्पतालको बसाई पछि घाउ निको भएपनि उहाँलाई परेको पीडा भने कम भएन । पीडकलाई कारवाही नहुँदा उहाँले न्याय पाउन सक्नु भएन भने पीडा भुलाउन पनि सक्नुभएन । 

‘बाटोमा हिँड्दा मैले बोकेको कुकुरलाई चाहिँ कति राम्रो पपि भन्थे अनि चाहिँ छ्या कति नराम्रो भन्थे’ उहाँले सुनाउनुभयो । तर आफूलाई यो हालतमा ल्याउनेलाई चाहिँ कुनै कारवाही नभएको उहाँको गुनासो छ ।

मकवानपुरकी रुपा महर्जन (नाम पविर्तन) को दुई सन्तान छन् । १७ वर्षको उमेरमा नै प्रेम विवाह गर्नुभएकी रुपालाई पनि उहाँको श्रीमानले मट्टितेल खन्याएर आगो लगायो । समाजका लागि मात्र स्वीकारिएकी रुपालाई मध्यरातमा आगो लगाएका थिए उनका श्रीमानले । ‘परिवार कै कारण हाम्रो सम्बन्ध त्यति राम्रो भएन’ उहाँले भन्नुभयो ‘परिवारको कुरा सुनेर कुटपिट गरिरहन्थ्यो ।’ 

बेलुकाको खाना खाएर रुपासँगै कोठामा आएका उहाँको श्रीमानले मध्यरातमा भान्साकोठामा पानी लिन गएको बेला मट्टितेल खन्याएर आगो लगाएका थिए ।

‘मेरो पछिपछि आएको उसले मट्टितेल खन्याएर आगो लगायो, मैले पानी खन्याएर आगो निभाउन भ्याएँ’ उहाँले रुँदै भन्नुभयो ‘एक निमेषमा भएको यो घटनामा पनि मेरो ४५ प्रतिशत शरीरको भाग जलिसकेको थियो । जल्दै गरेकी रुपालाई नाबालिका छोरीले देखेर कति समयसम्म नजिक नै परिनन् ।

‘धेरै खाने कुरा देखाएपछि मात्र मेरो नानी मेरो काखमा आयो’ उहाँले भन्नुभयो ‘मलाई त मेरो लोग्नेले मार्नकै लागि आगो लगाएका थिए तर छोराछोरीको मायाले बचायो ।’ श्रीमानले जलाएपनि रुपालाई होस आउँदा आत्महत्याको प्रयासको केस बनि सकेको थियो ।

उहाँको श्रीमान सरकारी जागिरे छन् । त्यो पनि सुरक्षा निकायमा । रुपालाई न्याय नपाएकोमा गुनासो छ । ‘आगो लगाएर मार्न खोज्नेलाई ज्यान मुद्दामा हाल्न नसकिने रहेछ’ उहाँले गुनासो गर्नुभयो । अहिले रुपाले श्रीमानको जागिरको आधा तलब त पाउनुभायो तर पीडकलाई कारवाही नहुँदा न्याय चाहिँ पाउन सक्नुभएन । 

दोस्रो विवाह गरेर बसेका उनको श्रीमान जागिर छोड्ने तयारीमा छन् । ‘त्यसपछि मैले छोराछोरी कसरी पाल्ने’ उहाँले प्रश्न गर्नुभयो ‘हाम्रो लागि कसले सहयोग गर्छ ?’ पीडकलाई कानुनी कारवाही नहुँदा खुलेआम हिँड्न पाएको उहाँको गुनासो छ ।

विवाह भएको केही समयपछि श्रीमानको यौन हिंसा र यातना सहनु भएकी सिन्धुपाल्चोककी सरिता तामाङ (नाम पविर्तन) अहिले २६ वर्षको हुनुभयो । २४ वर्षमा उहाँको जबरजस्ती विवाह भयो । ‘विवाह गर्दिन भन्दा पनि मोहनी लगाएर लग्यो’ तामाङले भन्नुभयो । पछि बहिनीले उपचार गरेपछि मात्र ठीक भएको उहाँको भनाई छ ।

विवाह गरेर लगिसकेपछि उहाँको श्रीमानले उहाँलाई न त कसैसँग बोल्न दियो न त भेट्न । ‘माइतबाट भाईबहिनी आएर भेट्न खोज्दा पनि भेट्न दिएन, भाइसँग बोल्दा पनि तेरो के सम्बन्ध छ त्यससँग भन्दै कुट्थ्यो’ उहाँले भन्नुभयो । उहाँको श्रीमानले रुपालाई कोठामा थुनेर बाहिरबाट चुक्कुल लगाएर जान्थ्यो । फर्किएपछि उही दैनिकी । रुपाको श्रीमानले रुपालाई जहिले पनि शंका गरिराख्थे ।

‘एक दिन उसले मोबाईल छोडेर हिँडेछ, मोबाइलमा आएको फोन उठाउँदा उसको पहिलो श्रीमती पो रहेछ’ रुपाले भन्नुभयो । श्रीमानको पहिलो श्रीमतीले प्रहरी ल्याएर श्रीमानलाई कारवाही गर्ने आश्वसन दिनुभयो रुपालाई । ‘तर त्यो थाहा पाएपछि बाटोबाट नै खुकुरी ल्याएर मलाई जतततै हान्न थाल्यो । खुकुरीको चोट सहन नसकेर बेहोस भएछु’ उहाँले भन्नुभयो ‘होस आउँदा म जलिरहेको थिएँ भने उ चाहिँ भाग्ने तरखर गर्दै रहेछ ।’

त्यसपछि उहाँ पनि जलि रहेको शरीर लिएरै उसकै पछिपछि कुद्नुभयो, बाटोमा देख्नेलाई बचाउ भन्दै । ‘बाटोमा भेटिएकी दिदीलाई मलाई बचाउनुस दिदी भनेको ए यो त घरमा खान पकाउँदै थिई स्टोभ पड्किएर आगो पो लागेछ भन्यो’ उहाँले भन्नुभयो । 

अस्पताल पु¥याएकी उहाँलाई अस्पतालमा पनि श्रीमानले दुःख दिन भने छेडेनन् । ‘अस्पतालमा नै गएर पनि कुट्नेपिट्ने गर्ने गथ्र्यो’ रुपाले भन्नुभयो । कसैलाई भने मार्ने धम्की पनि दिन्थ्यो । अहिले पीडक मलेसिया पुगिसकेको रुपाले बताउनुभयो ।

रुपाको शरीर अहिले पुरै जलेको छ । उहाँको अप्रेशन नहुँदा सम्म राम्रोसँग खान पनि नसकेको उहाँले सुनाउनुभयो । ‘मुख आँ गर्न हुँदैनथ्यो, झोल मात्र खाएर बस्थें’ उहाँले भन्नुभयो । सबै जलेको अनुहार देखाउँदै भन्नुभयो ‘मेरो अनुहार यस्तो बनाउनेलाई कारवाही नहुँदा आफूले न्याय पाईन कि भन्ने लाग्छ’ उहाँले भन्नुभयो ।

यी त प्रतिनिधि घटना मात्र हन् । महिलालाई जलाएर हत्या गर्ने प्रयास अरु ठाउँमा पनि एका छन्  । जलाउने घटनालाई ज्यान मार्ने उद्योग अन्तर्गत नराखिंदा पीडक उम्कने गरेको महिला, कानुन र विकास मञ्चकी सुष्मा गौतम बताउनुहुन्छ ।

‘एसिड आक्रमणलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गर्न सकिन्छ तर मट्टितेल तथा पेट्रोलियम पदार्थ लगायत प्रज्वलनशील पदार्थ छर्की आगो लगाउँदा ज्यान मार्ने उद्योग अन्तर्गत पर्दैन’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार आगो लगाई मार्ने उद्देश्य भएपनि पीडितको मृत्यु नभएसम्म त्यसलाई ज्यान मुद्दामा राख्न पाईदैन । यस्ता घटनाका पीडकलाई मुलुकी ऐन कुटपिटको महल बमोजिम सजाय हुने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

‘एसिड आक्रमणलई मार्नकै लागि गरिएको घटना मान्ने हुँदा ५० हजारदेखि तीनलाख रुपैयाँसम्म जरिवाना र तीन वर्ष कैद सजाय तोकिएको छ, जो पीडितले घाउखर्च बापत पाउँछन्’ गौतमले भन्नुभयो ‘त्यही प्रकृतिको आगो लगाईएको घटनामा चाहिँ ५ सय रुपैयाँ जरीवाना र दुई महिना कैद सजायँ तोकिएको छ, ५ सय रुपैयाँको एक तिहाई मात्र पीडितले आफ्नो घाउ खर्च बापत पाउँछन् ।’

कानुनमा एकरुपता नहुँदा पीडक उम्कने र पीडितले न्याय नपाउने समस्या रहेको गौतमको भनाई छ । ‘घटना गराउँछन, पीडक खुलेआम हिँड्छन् अनि पीडित चाहिँ झन पीडा सहन बाध्य हुन्छन्’ अधिवक्ता गौतमले भन्नुभयो ‘त्यसैले त आगो लगाई ज्यान लिन खोज्नेलाई पनि ज्यान मार्ने उद्योग अन्तर्गत राख्नु पर्छ भन्ने जनसाचोको विषयलाई हामीले सर्वोच्चमा रिट हालेका छौं’ गौतमले भन्नुभयो ।

राष्ट्रिय महिला आयोगकी कानुन महाशाखा प्रमुख सीता शर्मा अधिकारीका अनुसार आगो लगाइएको महिलाको ज्यान नै गयो भने त्यसलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा चलाउन सकिने व्यवस्था मुलुकी ऐनले गरेको छ । ‘आगो लगाईएको महिलाको शरीर जलेको छ भने त्यस्तो केसलाई कुटपिटको महल अन्तर्गत कानुनी कारवाही हुने र मृत्यु भए कर्तव्य ज्यान मुद्दा चलाई कारवाही गर्न सकिने व्यवस्था छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार पीडितको पीडा र क्षतिलाई हेर्ने हो भने मुुलुकी ऐनमा भएको व्यवस्था कम हो । तर यो मुलुकी ऐन बनाउँदा अहिलेको भयावह अवस्थाको कल्पना नै गरिएको थिएन ।

‘२०२० सालमा बनाईएको मुलुकी ऐन त्यति बेलाको समय सापेक्ष थियो । त्यो समय ५ सय पनि ठूलो कुरा हुन्थ्यो, फेरि महिलालाई जलाउने घटना न्यून थियो, त्यसैले यसलाई कुटपिटको महल अन्तर्गत राखिएको हो’ उहाँले भन्नुभयो ।

उहाँले अहिले पनि आगो लगाई जलाउने जस्तो जघन्य अपराधलाई मुलुकी ऐनको कुटपिट महल अन्तर्गत नै राखिएको हो भन्नुभयो । यसलाई अहिले सम्म पनि विषयगत  कानुनको रुपमा व्यवस्था गर्न नसकिएको उहाँको भनाई छ । 

‘२०२० साल भन्दाअघि दाइजोको नाममा जलाउने कुरा कल्पना बहिरको थियो तर अब यसमा पनि विषयगत कानुन बनाउनुपर्ने भएको छ’ उहाँले भन्नुभयो ।

‘कानुनलाई आवश्यकता अनुसार परिवर्तनशील बनाउँदै समाजमा हुने अपराधिक घटनामा संलग्नलाई कारवाही गर्न विषयगत कानुन पनि बनाउँदै लग्नुपर्छ’ राष्ट्रिय महिला आयोग कानुन महाशाखाका प्रमुख सीता शर्मा अधिकारीले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया