MENU

समाज

Ncell Axiata
USAID

घरेलुको तालिम कति उपयोगी ?

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, पुस २५ – महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले सरकारले विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रबाट हजारौं महिलाले तालिम समेत पाइसकेका छन् । तर तालिम लिएपनि धेरैले सिकेअनुसार काम गर्दैनन् । ‘देशभरि अनुगमन गर्दा आफूले सिकेको कुरालाई ३० प्रतिशतले सदुपयोग गरेका छन्’ घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रका निर्देशक गोपाल अमात्यले भन्नुभयो ।

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रमा हाते कागज तथा हाते कागजका वस्तु, सिलाईकटाई, मेकानिकल, ईलेक्ट्रिकल, ईलोक्ट्रोनिक्स, कम्प्युटर मर्मत लगायतका तालिम दिइने गरेको छ । नेपालका नागरिकलाई स्वरोजगारमा प्रेरित गर्न नेपाल सरकारले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र मार्फत तालिम दिने गरेको छ । 

केन्द्रले वस्तुगत तथा व्यवसायमूलक सीप विकास तथ क्षमता अभिवृद्धि तालिम र अन्य अल्पकालिन तालिम सञ्चालन गर्दै आइरहेको छ । निर्देशक अमात्यका अनुसार विशेष गरी तालिमका लागि महिला बढी आउने गरेका छन् ।

‘शारीरिक श्रम नपर्ने सिलाई तथा फेसन डिजाइनमा महिलाको रुची बढी देखियो । यसमा हामीले माग गरे भन्दा बढी आवेदन पर्ने गरेको छ’ उहाँले भन्नुभयो । सिलाईकटाईको आधारभुत कोर्ष गर्नका लागि शैक्षिक योग्यता नखोजिने भएर पनि यसमा आवेदन धेरै पर्ने गरेको उहाँको भनाई छ । अन्य तालिमका लागि पनि माग हुने गरेपनि आफूहरुले दिन नसकेको उहाँले बताउनुभयो ।

ईलेक्ट्रोनिक्स तालिममा पनि महिलाको सहभागिता उत्तिकै रहेको उहाँले उल्लेख गर्नुभयो । केन्द्रले विभिन्न तालिमको व्यवस्था गरे पनि तालिम दिने हलको व्यवस्था गर्न नसक्दा  त्यसलाई निरन्तरता दिन नसकेको उहाँले जानकारी दिनुभयो । यहाँ तालिम लिन आउने मानिसले पहिला आफ्नो योजना बनाउने र आफूले तालिम लिएपछि त्यसको सदुपयोग गर्ने गरेको पनि उल्लेख गर्नुभयो ।

‘यहाँको सिकाई उपयोगी नभएको होइन, कतिपय अवस्थामा सिक्ने मानिसको चाहानामा पनि भर पर्छ’ उहाँले भन्नुभयो ‘उच्च चाहानले आएकाहरुले त्यसैलाई आफ्नो पेशा बनाएका छन् र सफल भएका उदाहरण पनि छन् तर अरुको देखासिकी गरेर आएका र देखासिकीमै उद्योग खोलेकाहरु भने सफल हुन सकेका छैनन् ।’ उहाँका अनुसार सीप भएर पनि अनुभवको कमी तथा सम्पूर्ण कुराको जानकारी नभएकाहरु असफल भएका छन् ।

स्वरोजगारका लागि सीप मात्र पर्याप्त नहुने उहाँले बताउनुभयो । ‘सीप मात्र भएर हुँदैन, त्यसको उचित प्रयोग र व्यवस्थापन गर्न पनि जान्नुप¥यो’ अमात्यले भन्नुभयो । उहाँका अनुसार सीप सिकेकाको लागि आर्थिक अभाव र उचित ठाउँको अभाव हो । साथै उनीहरुको उत्पादनले बजार नपाउनु अर्को समस्या भएकोले सीप सिकेर पनि केही नगर्ने धेरै छन् । सीप सिकेर पनि त्यसको सदुपयोग नगर्ने ७० प्रतिशत छन् । उनीहरुलाई उद्योग खोल्ने पूर्वाधार जुटाउन नै समस्या भएको निर्देशक अमात्यले बताउनुभयो ।

वि.सं १९९६ मा इलम अड्डाका रुपमा सुरु भएको सीप विकास तालिममा अहिलेसम्म कतिले लिए भन्ने तथ्याङ्क छैन । ‘हामीले सीप विकासको तालिम मात्र दियौं सँगै उद्यमशिलता विकास तालिम पनि दिन सकेको भए सीप सिकेकाले लगानी गर्न डराउनु पर्ने थिएन’ निर्देशक अमात्यले भन्नुभयो । उहाँका अनुसार अहिले भने सीप  विकास तालिमसँगै उद्यमशिलता विकास तालिम पनि दिन थालेको जानकारी गराउनुभयो ।

स्वदेशमा सीप सिकेर स्वेदेशमा नै केही गर्न सकिन्छ भन्नेमा धेरैजना ढुक्क हुन सकेका छैनन् । विशेष गरी आफ्नो सीपबाट उत्पादित वस्तु कहाँ लगेर कसरी बेच्ने भन्ने नै पहिलो समस्या भएको लामो समयदेखि प्रशिक्षण केन्द्रमा तालिम गराउँदै आउनुभएकी तालिम अधिकृत उर्मिला श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार केन्द्रबाट तालिम लिएर गएका कतिपयले आफ्नो पेशा सुरु गरेर सफल भएका छन् । तर सबै सफल छैनन् । बजारको अभाव र प्रतिस्पर्धाले पनि असफल हुने धेरै छन् । 

‘नेपालमा सीप सिकेकाले आफ्नो वस्तु उत्पादन गर्न भारत र चीनबाट कच्चा पदार्थ ल्याउनु पर्छ, अनि उनीहरुले उत्पादन गरेको सामानसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ’ श्रेष्ठले प्रश्न गर्नुभयो । उहाँका अनुसार नीति निर्माणको तहबाट नै तालिम प्राप्त व्यक्तिलाई सहयोग र सुविधाको व्यवस्था गर्न सके उद्योग प्रबद्र्धनमा सहयोग पुग्ने थियो । 

‘यहाँ तालिम लिन आउने भनेको निम्न र मध्यम वर्गका मानिस हुन् । उनीहरुसँग उद्योग खोल्न सक्ने क्षमता कम हुन्छ । चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण उद्योगमा लगानी गर्न सक्दैनन् र सिकेको सीपलाई थन्क्याएर बस्ने गरेका छन्’ श्रेष्ठले भन्नुभयो ।

बाहिरबाट आएका सामानलाई राम्रो मान्ने चलनले पनि हाम्रा उत्पादनले बजार पाउन  सकेका छैनन् । उत्पादित सामानको बजारीकरण हुन नसक्दा त्यती रहने र उद्योक खोलेका हरु टाट पल्टे संभावना बढी रहेको उहाँको भनाई  छ ।

‘भारत तथा चीनमा उत्पादान बढी हुन्छ जसले गर्दा सामान सस्तो पर्न जान्छ, हामीकोमा उत्पादन कम हुन्छ जसले गर्दा महङ्गो पर्छ’ श्रेष्ठले भन्नुभयो ‘नीति बनाएरै सहयोग गर्न सके र बजारको उचित व्यवस्थापन गर्न सके सिकेको सीप खेर जाने थिएन ।’

आफै लगानी गर्न सक्नेलाई सरकारको सानो सहयोगले पनि ठूलो उपलब्धी हाँसिल गर्न मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । केन्द्रमा विभिन्न जिल्लाबाट तालिम लिन आउनेको संख्या पनि उतिकै हुन्छ ।

‘निवेदन दिएकामध्ये सबै जिल्लाबाट परोस् भन्ने हिसाबले छनोट प्रक्रियामा जाने गरेका छौं’ निर्देशक अमात्यले भन्नुभयो । उहाँका अनुसार विशेष गरी पूर्वाञ्चल र पश्चिमाञ्चलका पहाडी जिल्लाका मानिस सीप सिकाईका लागि बढी आउने गरेका छन्  । 

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रमा अहिले हाते कागज तथा हाते कागजका वस्तु, सेरामिक, सिलाईकटाई, ईम्ब्रोईडरी, मेकानिकल, ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, कम्प्युटर, खाद्य प्रशोधन, व्यूटिसियन, रबरमोल्ड, डल, फर्निचर लगायतमा तालिम दिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया