MENU

खेल

Ncell Axiata
USAID

नेपालसँग खेल्न भारत साँच्चै डराएको थियो

काठमाडौं, पुस २५ – यसपटक पनि भारतसँग नै पराजित भएर नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो । लिग चरणमा नेपालले गरेको प्रदर्शन र खेलाडी अनि प्रशिक्षकको आत्मविश्वास देखेर यसपटक नेपाली महिला टोली च्याम्पियन हुने धेरैको अनुमान थियो ।

तर यसअघिका संस्करणमा फाइनलसम्म पुगेर बाहिरिएको नेपाल यो पटक भने सेमिफाइनलमा भारतसँग ३–१ ले हारेर फाइनलमा पुग्न सकेन् । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले हारको जिम्मेवारी लिइसकेका छन् ।

तर उनले प्रतियोगितामा नेपालले हारे पनि नेपालले धेरै सकारात्मक कुरा सिकेको र अन्य टिमको आँखामा अब्बल सावित भएको बताएका छन् । साथी अर्जुन पोख्रेलले महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापासँग कुराकानी गर्नुभएको छ । 

  • यसपटकको साफ महिला च्याम्पियनसिपमा  नेपालको समग्र प्रदर्शन कस्तो रह्यो त ?

प्रतियोगिता खेल्नुअघिसम्म हामीले झन्डै ५० दिनसम्म अभ्यास गर्‍यौं । नेपाली टोली छनौट गर्नुपर्छ भनेर मलाई छनौट गरियो, हामीले ७२ जनाबाट खारिएका खेलाडी छान्दै छान्दै २० जनासम्म ल्यायौं । सिलगुढीमा हामीले राम्रो प्रदर्शन गर्‍यौं, लिग राउन्डमा त सबैलाई हराउने मात्रै होइन धेरै गोल पनि हान्यौ ।

त्यो भन्दा पहिला भएको अभ्यास खेलमा फिफा बरियातामा ८५ औं स्थानमा रहेको मलेसियालाई पनि जितेकै थियौं । तर सेमिफाइनलमा भारतसँग हारेपनि म त्यति धेरै दुःखी छैन । किनकी भारतसँग मैले पहिल्यै भेट होस भन्ने चाहेको थिएँ । तर भाग्यले भनौं या भाग्य नभएर भनौं भारतसँग नै फेस गरियो अनि बाहिरियौं पनि ।

  • हामीले प्रतियोगिताअघि जुन खालको उत्साहित कुराकानी गरेका थियौं, त्यसै अनुसारको प्रदर्शन गर्न सकेनौं अथवा गर्दागर्दै पनि हामी चुकेको हो ?

खेलाडीहरुलाई जुन तरिकाले सिकाएँ, पहिलो र्‍यान्डम्ली खेल्थे अहिले मैले स्किलअनुसार खेल्न सिकाएँ । त्यसबाट म पुर्ण सन्तुष्ट छु । मैले शारीरिक रुपमा गरिने अन्य अभ्यास भन्दा पनि फुटबललाई नै जोड दिएँ अर्को कुरा खेलाडीलाई  अट्याक र डिफेन्स खेल्न पनि सिकाएँ । यसरी हामील लिएको रणनितीअनुसार हामीले खेलेकै हो नी । सिस्टमकै कुरा गर्दा पनि पहिलो ४–३–३ को हिसावले खेलाइन्थ्यो भने मैले ४–२–३–१ को शैलीले खेलाएँ । हाम्रो खेल हेरेर दर्शक र अन्य टिमका खेलाडी पनि अचम्ममा परेका थिए । तर हामी सफल नै भएका थियौ । सावित्रालाई मात्रै अगाडि राखेर खेलाउने टार्गेट अनुसार नै खेलेका थियौं ।

  • लिग चरणमा हामीले एकदमै उत्कृष्ट खेलेको हो या हाम्रा विपक्षी कमजोर हुन् त ?

भुटान, माल्दिभ्स जस्ता देशले विकासका अन्य संरचनासँगै खेल संरचनामा पनि व्यापक लगानी गरेका छन् । श्रीलंका माल्दिभ्स ५–२ ले हार्‍यो तर हामीसँग १ गोलले मात्रै हार्‍यो ।  भुटानको त कोच पनि कोरियन थियो । माल्दिभ्सको त जापानको महिला कोच नै थियो । यी सबै कुरा हेर्दा उनिहरु कमजोर हैनन् । ब्यवस्थापन र  टेक्निकल रुपमा उनीहरु बलिया नै हुन् । दुई वर्षअघिको खेल र अहिलेको खेल हेर्नुहोस, हाम्रो धेरै सुधार भएको छ । हामीले मेहेनत गरेर नै जितेको हो । 

  • भनेपछि लिगचरणका खेलमा हामीले हानेका गोल उपहारमा पाएका हौइनौं ?

होइन होइन, कुनै पनि खेलमा मलाई ९ गोल गर भनेर कुनै पनि टिम आउँदैन होला । हामीले गरेका सबै गोल उत्कृष्ट र मेहेनत गरेका गोल हुन् । हामीले प्रयोग गरेका सबै कुरा सफल भए । जस्तै अतिरिक्त खेलाडीले पनि गोल हान्ने काम गरे । 

  • भारतसँग सेमिफाइनलमा खेल्ने पक्का भएपछि उज्यालोसँगको कुराकानीमा तपाईले सिलगुढीबाटै भन्नुभएको थियो ‘नेपालसँग खेल्नु भारतको लागि व्याडलक हो’  तर खेलमा पुग्दासम्म त त्यत्रो उत्साह त खेलमा देख्न त पाइएन नि ?

लिगमा तपाईंले मौका पाउनुहुन्छ । जस्तै तीन वटा खेलमा एउटा हारे पनि अर्को चरणमा जाने सम्भावना हुन्छ । तर नकआउट चरणमा त त्यस्तो हुन्न । फुटबलमा जुन टिमसँग खेलिन्छ त्यै टिम भारी हुन्छ । किनकी मैले त भुटानलाई पनि बलियो टिमकै रुपमा लिएर खेलाएको थिएँ । भारतसँगको खेलमा पनि हामीले गर्नुसम्म त गरेकै हौं । तर भारतसँगको खेलमा रेफ्रीको निर्णय पनि हारको कारण बन्न पुग्यो ।

सावत्रालाई भारतका खेलाडीले लडाएका थिए तर रेफ्रीले उल्टो हामीलाई नै पहेँलो कार्ड दिए । महिलाको खेलमा पुरुष रेफ्रीले गल्ती नै नहेरी त्यस्तै क्रुर निर्णय गर्लान जस्तो लागेको थिएन । हुन त हारेपछि कुमारले रेफ्रीलाई दोष दियो भन्लान तर भारतकै कोचले पनि रेफ्रीको निर्णयमा आश्चर्य प्रकट गरेका थिए । रेफ्रीको गलत निर्णय नभएको भए हामीले खेल बराबरीमा ल्याउन सक्थ्यौं अनि खेलमा जे पनि हुन सक्थ्यो । 

भारत राम्रो टिम हो तर हामी डराएका थिएनौ, पहिलो हाफमा रोक्ने र दोस्रो आफमा अट्याक खेल्ने योजना पनि सफल हुन पाएन । किनकी हामीले पहिलो हाफमै गोल खायौं । 

  • जसरी भारतसँग अन्य विषयमा हामी मनोबैज्ञानिक रुपमै कमजोर छौं भन्छौं नी, महिला फुटबलमा पनि त्यै भएको हो । भारतसँग हामी मनोवैज्ञानिक रुपमै हारेका थियौं ?

एउटा चाखलाग्दो कुरा गर्छु मैले । त्यहाँ जे देखेँ मैलै त्यै कुरा गर्छु । हामीले प्रतियोगिता खेल्दा पनि सबै टिमले हामीलाई भारतसँग नै तुलना गर्थे । हामी जब सेमिफाइनलसम्म आइपुग्यौं, हामी डराउनु भन्दा पनि भारत हामीसँग डराएको थियो । साँच्ची भारत नेपालसँग डराएको थियो । मैले कुरा गर्दा धेरैले नपत्याउनुहोला तर त्यहाँ बस्ने खेलाडी, म्यानेजरले पनि भनेको कुरा हो यो । भारत हामीसँग खेल्नै चाहेको थिएन । हामीले जुन हिसाबले खेल्यौं, त्यो नै काफी थियो ।  यो कुरा कसरी पनि पुष्टी हुन्छ भने, हामी सेमिफाइनलमा पुगेपछि उनिहरुले कमजोर ठानेको बंगलादेशलाई हराउन रिर्जभ राखेका खेलाडीलाई पनि मैदानमा उतारे । बंगलादेशलाई हराएर समुह विजेता बन्दै भारत नेपालसँग सेमिफाइनलमा भिड्नै चाहेको थिएन् । किनकी बराबरी वा हार हुँदा त भारतले नेपालसँग खेल्नुपथ्र्यो । उनीहरुलाई ब्याडलक लगाउन सकिएन हामीले । 

  • भारतलाई ब्याडकल बनाउन सकिएन भन्नुभयो, रेफ्रीको गलत निर्णय, खेलमा केही प्राविधिक कुराको अभाव बाहेक अरु के के कुरा थिए, जस्ले गर्दा हामीले भारतलाई हराउन सकेनौं ?

हाम्रो महिला फुटबलको संरचना, लगानी र हेर्ने दृष्टीकोण हेर्नुभयो भने  साह्रै कमजोर छ । मैले कसैलाई आरोप लगाउन खोजेको होइन तर हामी बर्षमा कति खेल खेल्छौं, खेलाडीलाई कति एक्सपोजर दिन्छौं त्यो हो नी हाम्रो प्रदर्शनलाई जाँच्ने कुरा छ । बर्षमा एउटा महिला लिग हुन्छ त्यो पनि ७ दिनमा सकिन्छ । ७ दिनमा हुने लिगले के दिन्छ भन्नुस त । नेपाली खेलाडीलाई अवसर दिने हो भने, हामी एसियाली स्तरको खेल खेल्न सक्छौं । जुन लेभलमा खेलेर हामीले साफमा खेल देखाएका छौं, त्यो भनेको त हाम्रो एउटा ठूलो उपलब्धी हो । फिफाको ५१ औं बरियतामा रहेको भारत नै  १ सय ५ नंबरमा रहेको नेपालसँग खेल्न तयार हुँदैन भने हामी कमजोर छैनौ भन्ने सबेभन्दा ठुलो प्रमाण त्यै हो नि । तर महिला फुटवलमा एउटा रोल मोडलको पनि खाँचो छ ।

  • कस्तो रोल मोडल भन्न खोज्नुभएको ?

जापानीज फुटबलसँग एन्फाको राम्रो सम्बन्ध छ । एन्फाले चाह्यो भने नेपाली महिला खेलाडीलाई जापानमा खेल्ने अवसर मिल्न सक्छ । उदाहरणको लागि अहिले सावित्रालाई जापानमा लगेर खेल्ने मौका मिलाउन सकियो भने अन्य महिला खेलाडी उनीहरुका अभिभावकलाई पनि फुटवलप्रतिको मोह झनै बलियो बनाउन सक्छौं होला नि त । 

  • नेपाली महिला फुटबल त लगानी र आन्तरिक प्रतियोगिताका हिसाबले दयनिय अवस्थामा पुगेको रहेछ । यसरी कहिलेसम्म चल्न सक्ला त ?

हो नेपाली महिला फुटबल निकै दयनिय हालतमा पुगेको छ । मैले प्रशिक्षक हुँदादेखि भन्दै आएको थिएँ, तर यसपटक साफ खेलेपछि झनै थाहा भयो, यसरी त हाम्रो भविष्य छँदैछैन । २०१०देखि साफमा खेलेको प्रतियोगितामा हामी फाइनलमा पुगेका थियौं । तर अहिले त हामी सेमिफाइनलमै पराजित भयौं । हामी भन्दा कमजोर मानिएका भुटान, माल्दिभ्स, बंगलादेश जस्ता देशले महिला फुटबलमा लगानी बढाए । खेलाडीलाई ब्यस्त बनाए । तर हामी जहाँको त्यही छौं । अहिलेसम्म फाइनल नपुगेको बंगलादेश फाइनलमा पुग्यो  । यसको संकेत के हो भने अब पनि सोचेनौं भने हामी निकै पछि पर्नेछौं ।

  • साफमा हार्दाहार्दै पनि हामीले केही राम्रा कुरा पनि सिक्यौ की ?

यो प्रतियोगितालाई नेगेटिभ भन्दा पोजेटिभ साइडबाटै हेर्छु ।  पहिला २ वटा नेगेटिभ कुरा भन्छु । एउटा हामीले २०१० देखि फाइनलमा पुग्यो तर अहिले पुगेनौं । त्यो भनेको एक स्टेप तल झर्नु हो । अर्को नेगेटिभ भनेको तयारी गर्ने समय निकै कम राख्यौै । तर पोजेटिभको कुरा गर्दा अरु देशले प्रसंसा गर्ने गरि खेल्यौं । खेलाडीले भरपुर प्रतिभा देखाए । अर्को कुरा भारत र बंगलादेशले पनि ४/४ खेल नै खेले । तर हाम्रो समुहमा ४ टोली भएकाले फाइनलमा नपुग्दै पनि ४ खेल खेल्न पायौं, त्यो पनि पोजेटिभ नै हो । 

-तस्बिरः कुमार थापाको फेसबुकबाट

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया