MENU

समाज

Ncell Axiata
chhaka panja

चित्र कोरेर कति कमाई ?

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, पुस २७ – दुई वर्ष बेलायत बसेर फाइन आर्ट पढ्नुभएका अजय देशार आफ्नै देशमा केही गर्ने उद्देश्य लिएर नेपाल फर्कनुभयो । बेलायतमा नै आफ्नो पेन्टिङ बेचेर गुजारा गर्नसक्ने हैसियत बनाई सक्नुभएका देशारलाई नेपालमा नै यती मेहनत गर्ने हो भने त आफ्नै परिवारसँगै बसेर कमाउन पनि सकिन्छ देशलाई चिनाउन पनि सकिन्छ भन्ने लाग्यो र नेपाल फर्कनुभयो ।

‘बेलायतमा पनि आफ्नो चित्रको एकल प्रदर्शनी गरी सकेको थिएँ’ उहाँले भन्नुभयो ‘चित्र बेचेर नै बेलायतमा बस्न सक्थें तर नेपालको मायाले तान्यो ।’ नेपालमा केही गर्छु भन्ने सोंचका साथ बेलायतबाट फर्कनु भएका देशारलाई आर्टमा कुनै पनि पूर्वाधार नभएको देख्दा भने दिक्क लाग्यो । ‘तर पनि नेपालमा आर्ट बाटनै परिवार पाल्न भने सकिन्छ’ उहाँले भन्नुभयो ।

आर्टबाट कमाई भन्दा पनि आत्मसन्तुष्टि हुने  उहाँको बुझाई छ । ‘कमाई नै हिसाब गर्ने हो भने यसबाट महिना सकिनासाथ तलब आए जस्तो हुँदैन’ उहाँले भन्नुभयो ‘यसबाट कलाकारलाई दिने सन्तुष्टिको कुनै हिसाबकिताब नै हुँदैन ।’ तर आर्ट गरेर बेच्न सके कलाकारको कदर हुनुका साथै उनीहरुलाई जीवन निर्वाह गर्नका लागि सहज हुने उहाँको बुझाई छ ।

‘नेपालमा अहिले विदेश पलायन हुने चलन नै चलेको छ, जसले देशलाई आवश्यक पर्ने युवा जमातलाई विदेश मोह जागेको छ’ उहाँले भन्नुभयो ‘कुनै पनि क्षेत्रमा काम गर्ने वातावरण नै छैन, कला क्षेत्रमा त काम गर्ने मान्छेको अभाव नै छ भन्दा पनि हुन्छ ।’ जे जति छन् आफ्नै परिश्रम र लगावले छन् । 

आर्ट सिकेकाको लागि आर्ट नै बेच्नुपर्छ भन्ने विद्यालयमा आर्ट सिकाएर पनि बाँच्न सकिने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । ‘कला क्षेत्रमा लाग्ने कलाकार कम छन् विद्यालय धेरै, कलाकारले वैकल्पिक समयमा पढाएर पनि कमाउन सक्छन्’ उहाँले भन्नुभयो । उहाँका अनुसार आर्टबाट नै आफ्नो जीवनलाई उच्चस्तरको बनाएकाहरु पनि छन् । एउटा आर्टको २ हजारदेखि एकलाख रुपैंया सम्ममा बेच्न सकिन्छ । त्यसमा लाग्ने सामान र समय बाहेक पनि बचत गर्न सकिने उहाँको धारणा छ ।

परिवारलाई समय दिएर पनि आर्टमा लाग्न सकिने अर्का कलाकार प्रमिला राजकर्णिकारले बताउनुभयो । ‘आर्ट भनेको आफनो चाहनामा भर पर्ने कुरा हो, अन्य काम गरेर पनि आफूले चाहेको बेलामा आर्ट गर्न सकिन्छ’ उहाँले भन्नुभयो । उहाँलाई आर्ट गरेर नै भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने लाग्छ । त्यसैले त उहाँले आर्टमा नै स्नातकोत्तर गर्नुभएको छ । 

पारिवारिक कारणले कला क्षेत्रमा महिला अगाडि आउन नसकेको अवस्थामा आफूले भने यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँ स्कुलमा फाईन आर्ट सम्बन्धि कक्षा दिनुहुन्छ भने आफ्नो आर्टलाई विदेशमा बेच्ने गर्नुभएको छ । 

‘विदेशमा रहनुभएकी दिदीमार्फत आफ्नो कला विदेशसम्म पुर्‍याउने गरेको छु’ उहाँले भन्नुभयो ‘समय, मेहनत र त्यसमा लाग्ने समय हेरेर मूल्य निर्धारण गर्छु ।’ उहाँले अहिलेसम्म विक्री गर्नुभएको आर्टबाट चार हजारदेखि १५ हजार रुपैयाँ लिनुभएको छ । 

मूर्तिकार राजन महर्जनका अनुसार मूर्ति बेचेर नै जीवन धान्न सकिने भए पनि यसमा राज्यको सहयोग नहुँदा कलाकारलाई अफ्ठ्यारो पर्ने गरेको छ । ‘कला क्षेत्रका कलाकारलाई राज्यले कुनै सहयोग नै गरेको छैन, जे जति छन् आफ्नै मेहनत र परिश्रमले गरेका छन्’ उहाँले भन्नुभयो ‘राज्यले सहयोग गरे कलाकार र उनीहरुको आर्टलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिन्छ ।’ 

उहाँका अनुसार आफ्नो मेहनत र परिश्रमले कलाकारले नेपालमा नै केही गरिरहेका छन्, अब पनि गर्न सक्छन् । राज्यले थोरै मात्र पनि सहयोग गर्‍यो भने कला क्षेत्रमा पनि रोजगारीको सिर्जना गर्न सकिने र विदेश पलायन हुने युवालाई देशका लागि राख्न सकिने उहाँको भनाई छ । 

अर्का कलाकार किशोर नकर्मी आफूले बनाएको आर्ट बेचेर २५ प्रतिशत बचत गर्न सक्ने बताउनुहुन्छ । उहाँका अनुसार काम गर्नकै लागि विदेश जानुपर्ने अवस्था छैन, तर राज्यले कलाकारलाई सहयोग नगर्ने र उनीहरुको कलाको कदर पनि नगर्ने हो भने विदेश पलायन हुन सक्दैन भन्न सकिने अवस्था पनि छैन ।

‘आर्टले सबै क्षेत्रमा काम गर्न सहज बनाउँछ, तर यहाँ आर्टलाई नै सबै भन्दा धेरै हेपिन्छ’ उहाँले भन्नुभयो ‘केही नजानेका र केही गर्न नसक्ने मानिस मात्र आर्टमा जाने हो भन्ने मान्यता छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया