MENU

समाज

Ncell Axiata
NIC Asia

आँटिला दिदी बहिनीले गरे आमाको किरिया

किरण लोहनी/उज्यालो । 

गोरखा, पुस २७ – गोरखाको बुंकोट–३ चाँपे गाउँकी फूलमाया श्रेष्ठको ११ दिनअघि ब्रेन ह्यामरेज भयो । उहाँलाई ब्रेन ह्यामरेज भएपछि परिवारका सदस्यले उपचारका लागि भरतपुर लगेका थिए । तर उपचार सम्भव नभएपछि उहाँलाई घरै ल्याइयो । फूलमायाको पुस २० गते निधन भयो । उहाँका दुई कलिला छोरी र अपाङ्ग श्रीमानलाई हुनहुन्छ । 

छोरा नभएकी फूलमायाले प्राण त त्यागिन तर अन्तिम संस्कार र काजकिरिया कसले गर्ने भन्ने छलफल सुरुभयो । छोरा नभए पनि श्रीमतीको काजकिरिया श्रीमानले गर्न हुन्छ । तर उहाँको श्रीमानको दुवै खुट्टाको घुँडामुनिको भाग छैन । गाउँलेहरु जम्मा भए र आवश्यक कर्महरु अघि बढाउन सामग्री तयार गर्न लागे । कुरा उठ्यो, फूलमायाको काजकिरिया कसले गर्ने भनेर । दुवै खुट्टाको घुँडाभन्दा मुनिको भाग गुमाएका श्रीमान ढकबहादुरले १३ दिनसम्म संस्कार गरेर बस्न नसक्ने ठहर आफन्त र गाउँलेहरुले गरे । विकल्पमा दाजुभाई खलकका छोरा मान्छेको खोजी हुँदै थियो, आमालाई सँधैका लागि गुमाएको पीडामा अर्धबेहोस भएर बसिरहेकी फूलमायाकी कान्छी छोरी १४ वर्षीया इन्दिराले हिम्मत निकालेर भनिन्, ‘आमाको काजकिरिया दिदी र मैले गर्ने हो ।’ 

छोरी मान्छेले काजकिरिया गर्न हुन्नँ भन्ने मान्यतामा रहेका कतिपय आफन्तजन र गाउँलेहरु एकछिन त अलमलिए, तर आफ्नै आमाको अन्तिम संस्कार गर्नबाट छोरीलाई रोक्नु पर्छ भन्ने पक्षमा उनीहरु लागेनन् ।

घरबाट डेढ घण्टा टाढाको बुंकोटघाटमा दाहसंस्कारका लागि शव लैजाने क्रममा आँगनबाटै आमाको शवमा काँध हालिन् कान्छी छोरी इन्दिराले । अलि असजिलो र उकालोबाटो आइपुगेपछि मलामीहरुले साथ दिए । दिदी मन्दिरा (मेलीना) को महिनावारी भएको चार दिन भएकाले उनी भने घाटसम्म जान पाइनन् । घाटमा दाह संस्कारका सबै कर्मपनि इन्दिराले नै गरिन् ।

काजकिरिया सुरु भएको सातौं दिन उज्यालो अनलाइनसँग कुरा गर्दा उनीहरुमा आमा गुमाएको पीडाभाव त प्रष्टै देखिन्थ्यो, तर आम मान्यता भन्दा फरक काम गरेकोमा उनीहरुमा गर्व महशुस भइरहेको थाहा हुन्थ्यो । ‘यसको छोरा छैनन् भनेर बुवालाई पहिले पनि केही गाउँलेले हेपेको जस्तो लाग्थ्यो’ दिदी मन्दिराले भनिन्, ‘यस्तो सोच भएकालाई देखाईदिन पनि हामी आफैले काजकिरिया गर्ने सोच बनायौं ।’

अबको जमानामा पनि छोरा र छोरीले कुन कुन काम गर्ने/नगर्ने भन्ने सोच्नु गलत हुने उनीहरुको भनाई छ । छोराले गर्न सक्ने जति सबै काम छोरीले पनि गर्न सक्छन् भन्ने दिदी बहिनीलाई नै लाग्छ । तर काजकिरियाको सातौं दिनमा आइपुग्दा दुई तीनवटा कुराले भने उनीहरुलाई असजिलो पारेको रहेछ ।

दिदी मन्दिराले भनिन्, ‘पर सरेकोको ४ दिन भएकाले म दाहसंस्कारमा जान पाइनँ, काजकिरिया पनि दुई दिनपछि मात्रै सुरु गरें’ त्यसैमा बहिनी मन्दिरा थप्छिन्, ‘नुहाउन जाँदा, कपडा चेन्ज गर्दा पनि अप्ठ्यारो हुने रहेछ ।’ उनले भनिन्, ‘त्यही भएर पो छोरा मान्छेले मात्रै गर्नुपर्छ भनिएको हो कि ?’ यि असजिलाका विच पनि समाजले सहज रुपमा स्वीकार गरिनसकेको कर्म गर्न पाउँदा उनीहरुलाई गर्व महशुस भएको छ । 

१६ वर्षकी मन्दिरा र १४ वर्षकी इन्दिरा घर नजिकैको शहिद स्मृति माध्यमिक विद्यालयमा १० कक्षामा पढ्छन् । आमाको उपचारमा लाग्दा दुवै जनाले दोस्रो त्रैमासिक परीक्षाको ३ विषयको जाँच दिन पाएनन् । झन् १३ दिने संस्कारमा लागेपछि पढाइ छुट्ने नै भयो ।

‘घर नजिकै भएकाले स्कुलबाट सरमीसहरु आउनुहुन्छ, स्वास्थ्यको ख्याल गर भन्नुहुन्छ’ भावुक हुँदै उनीहरुले भने, ‘तर हामीलाई भेट्न आउने हाम्रै उमेरका कत्ति साथीहरु भने अचम्म मानेजस्तो गरेर हेर्छन् ।’ दुवै खुट्टा नभए पनि उनीहरुका बुवा ढकबहादुर इलेक्ट्रिसियनको काम गर्नुहुन्छ । त्यसैबाट भएको कमाइले अब उनीहरु तीन जनाको परिवार चल्नेछ । 

आमाको उपचारका क्रममा धेरथोर ऋण पनि लाग्यो । तर हिम्मतिला यी दिदीबहिनी भन्छन्, ‘अब एसएलसी पास गरेपछि पढाईपनि अघि बढाउने, बुवाको काममा सघाउने ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया