MENU

समाज

USAID

साना नानीका ठूला सपना ! पूरा कसले गरिदेला ?

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, पुस २८ – एलिना परियार ८ वर्षकी भइन् । जन्मदिने बुवाआमाको माया र न्यानो साथ कस्तो हुन्छ ? उनलाई थाहा छैन । उनकी आमाको विवाह चितवनको माडीमा भएको हो । 

एलिना आमाको गर्भमा हुँदा नै रोजगारीको शिलबिलामा उनको बुवा भारत पसे । परिवार सम्झेर अहिलेसम्म घर फर्किएनन् । बुवा फर्केर नआएपछि आमाले एलिनालाई डेढ वर्षको उमेरमै छोडेर अन्तै बाटो लागिन् । 

भान्जी बिच्चलीमा परेको खबर मामा शुभकाजी परियारले थाहा पाउनुभयो । त्यसपछि उहाँ लमजुङ चापाखर्कबाट माडी गएर भान्जी एलिनालाई लिएर आउनुभयो । लमजुङको सुन्दरबजार नगरपालिका–९, चापाखर्कका शुभकाजीको पनि आर्थिक अवस्था कमजोर छ । उहाँ ज्यामी काम गर्नुहुन्छ । श्रीमती, आमा, तीन छोरी र एक भाञ्जीको साथमा उहाँ चापाखर्कमै बस्दै आउनुभएको छ । 

एलिना गाउँ नजिकैको सत्यदेवी प्राविमा पढ्छिन् । बुवाआमाको माया र साथ नपाएपछि उनका लागि शुभकाजी ‘आमापछिको मामा’ हुनुभएको छ । मावली नै उनको सहारा बनेको छ । तर मामाघरको पनि आर्थिक अवस्था कमजोर छ । भविष्यमा एलिनाको शिक्षादीक्षामा समस्या पर्न सक्ने सत्यदेवी प्राविका शिक्षक सूर्यकुमार अधिकारीले बताउनुभयो ।   

‘एलिना पढाईमा ठीकै छिन्, मामाको सहारामा बाँचेकी छन्, मावलीको अवस्था पनि कमजोर छ’, उहाँले भन्नुभयो, ‘भविष्यमा उनलाई शिक्षादीक्षा कसले देला, सहयोग कसले गर्ला ?’ 

चिसोमा पनि एकसरो पहेँलो टिसर्ट, ट्राउजर र चप्पलको भरमा उभिएकी एलिनाले मलिनो स्वरमा भनिन्, ‘बुवाआमाको माया नपाए पनि मामाको साथ पाएको छु, पढ्न पाए भविष्यमा ठूलो मान्छे बन्ने सपना छ ।’ 

यस्तै, सुन्दरबजार नगरपालिका–१० की मिर्मिता गुरुङको पनि अवस्था उस्तै छ । बुवा बिते । आमा अन्तै लागिन् । बिचल्लीमा परिन्, मिर्मिता । अहिले उनी आफ्नो काका पर्ने सिंहबहादुर गुरुङको सहारामा छन् । सिंहबहादुरको पनि आर्थिक अवस्था कमजोर छ । उहाँका आफ्नै दुई छोरा र एक छोरी छन् । मिर्मितालाई पढाउने शिक्षकका अनुसार मिर्मिता पढाईमा अब्बल र नाच्नमा सिपालु छन् । उनी समाजसेवा प्राविमा कक्षा ४ मा पढ्छिन् । 

‘बिहान उठ्छु, खानेपानी ल्याउँछु, बाख्रा खोरबाट निकाल्छु, एकछिन् पढ्छु, खाना खाएर विद्यालय जान्छु’, विद्यालय पोशाकमा रहेकी १० वर्षकी मिर्मिताले एकैस्वरमा भनिन्, ‘नर्स बन्ने सपना छ । सेवा गर्ने रहर छ ।’    

भोटेओडार बगैँचाकी हर्षना मियाँको कथा भने अलि भिन्न छ । उनका बुवाआमा छन् । तर परिवारको आर्थिक अवस्था भने कमजोर छ । हर्षिना भक्ति नमूना माविमा कक्षा ३ मा पढ्छिन् । पुसको चिसोमा पनि एकसरो पातलो कुर्ता सलवारकै भरमा भेटिएकी उनले पनि साथ सहयोग पाए पढेर भविष्यमा ठूलो मान्छे बन्ने सपना सुनाइन् ।

सत्यदेवी प्राविमा कक्षा १ मा पढ्दै आएकी कविता गुरुङको व्यथा पनि फरक छैन । उनलाई जन्म दिने आमाले छोडेर अन्यत्र गएको पनि ५ वर्ष बित्यो । कविता १० वर्षकी भइन् । विद्यालयका शिक्षक अधिकारीका अनुसार उनी सुस्तमनस्थितिकी छन् । उनका बुवा छन् । तर सोझा छन् ।

बुवाले दाउरा बेचेरै छोरी पढाएका छन् । त्यसबाटै गुजारा चलाएका छन् । बाल संरक्षण तथा संवर्द्धन समिति सुन्दरबजारका अध्यक्ष टिकाराम घिमिरेले असहाय, गरिब विद्यार्थीको पठनपाठनका लागि सहयोगी व्यक्ति तथा संघसंस्थाले दील फुकाएर सहयोग गर्नुपर्ने बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया