MENU

मनोरञ्जन

Ncell Axiata
USAID

‘महजोडी’ नाम मैले राखिदिएँ, तर मेरो जोडी भने चिरा पर्‍यो– राजाराम पौड्याल

काठमाडौं, पुस २८ – ‘तपाईं हाँस्य कलाकार हो कि कलाकार हो दाइ ?’ भनेर सोध्दा कलाकार राजाराम पौड्याल म त भाले हो भन्दै मजाले हाँसे । भाले भनेको पुलिङ्ग हो । अहिले भाले हो अब हाँस अनि कुखुरा पनि हुन्छु, उनले थपे ।

अहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने प्रायः सबै हाँस्य टेलिशृङ्खलाहरु बन्द भएका छन् । मेरी बासै, तित्तो सत्य, जिरे खुर्सानी लगायत अन्य केही नाम चलेका सिरियलहरु बन्द भएपछि ति सिरियलहरुको ठाउँमा केही नयाँ सिरियलहरु नेपाल टेलिभिजनमा आउन थालेका छन् । यही नयाँ सिरियल मध्येको एक सिरियल हो, ‘होकी क्या हो ।’ नेपाल टेलिभिजनबाट प्रत्येक बुधबार बेलुका ९ः३० मा यो सिरियल हामीले हेर्न सक्छौँ ।

जिरे खुर्सानीमा ‘परेको म बेहोरौँला’ भन्ने कलाकार राजाराम पौड्याल पनि अहिले यही सिरियलमा काम गरिरहेका छन् । आफ्नो नयाँ सिरियलले दर्शकको माया पाउनेमा राजाराम विश्वस्त छन् । नयाँ सिरियल ‘होकि क्या हो’ मा काम गर्न थालेका तिनै हाँस्य कलाकार राजाराम पौड्यालसँग हामीले उनको कलाकारिता यात्राका बारेमा केही कुराकानी गरेका छौँ । 

‘परेको म ब्यहोरौँला’ थेगोले यहाँसम्म ल्यायो  

‘परेको म ब्यहोरौँला’ थेगो हाँस्य टेलिश्रृङखला जिरे खुर्सानीमा काम गर्ने समयमा जितु नेपालले मलाई दिनुभएको हो । तर मलाई थेगो भनेपछि फिटिक्कै मन नपर्ने ।

अनि ‘जिरे खुर्सानी’मा काम गर्ने क्रममा यो थेगो नराख्दा हुन्न ? भनेर जितुलाई मैले भन्दा ‘होइन दाइ एक पटक बोलेर हेराैँ के हुन्छ’ भन्ने कुरा गर्नुभयो । पछि मैले बोलेँ जसलाई सबै दर्शकले मनपराउनु भयो । मेरो कलाकारित यात्रामा कायापलट गरेको नै यही थेगोले हो । यो थेगो मैले मन नलागि—नलागि बोलेको थिएँ । कलाकारिता यात्रामा आफूले सोचेको जस्तो हुन्न रैछ । यही थेगोका कारण, यहाँ कलाकारको मनमर्जी भन्दा पनि दर्शकले के खोज्नु भएको छ भन्ने कुरालाई ध्यान दिनुपर्छ भन्ने मैले थाहा पाएँ ।

पहिले र अहिलेको कलाकारितामा आकाश पातालको फरक छ

मेरो कलालकारिता यात्रा सुरु हुँदा लोकतन्त्र आएको थिएन । मेरो कलाकारिता यात्रा पञ्चायत कालदेखि नै सुरु भएको हो । अहिले र पहिलाको कलाकारिता यात्राको कुरा गर्ने हो भने आकाश पातालको फरक छ ।

हामीले व्यङ्ग्य गर्ने हरेक शब्दको सेन्सर हुन्थ्यो । व्यङ्ग्य गर्ने विषय वस्तुलाई पनि कलात्मक ढङगबाट उठाउनु पर्थ्यो । लोकतन्त्र पछि धेरै कुरामा परिवर्तन आएको छ । अहिले सीधा—सीधा गोली हानेको जस्तै गरी व्यङ्ग्य गर्न थालिएको छ । 

पहिले प्रज्ञा भवनमा देखाइने गाईजात्रामा भुपि शेरचन देखि धेरै ठूला व्यक्तिहरु आउनु हुन्थ्यो र उहाँहरुले सेन्सर गर्नुहुन्थ्यो । त्यसपछि मात्र प्रस्तुति दिन पाईन्थ्यो । पहिला गाह्रो थियो तर रमाईलो पनि थियो । अहिले भने कलाकारलाई लोकतन्त्रले खुल्न दिएको छ । आफूले प्रस्तुत गर्ने कुरा आफैले लेख्ने हो । यो क्षेत्रमा नयाँ-नयाँ कुरा ल्याउनु पर्ने हुन्छ । अरुले पस्किसकेका कुराहरु दर्शक श्रोताले मन पराउँदैनन् । 

महजोडी नाम मैले राखिदिएँ  तर मेरो जोडी भने चीरा पर्यो 

पहिला हाँस्य कलाकार किरण केसी र मेरो जोडी निकै जमेको थियो । हामीलाई महको किरा जोडी भन्ने गरिन्थ्यो । त्यो नाम पनि हामीले राखेको होइन पोखरा बासीले राखिदिनु भएको नाम हो । वरिष्ठ हाँस्य कलाकार मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महजोडी मैले नै राखिदिएको नाम हो । यो कुरा हरिवंश आचार्यले लेख्नु भएको उपन्यास ‘चिना हराएको मान्छे’ मा पनि उल्लेख गरिएको छ । तपाईंले पढ्नु भयो भने थाहा पाउनुहुन्छ । एकपटक विज्ञापन नाटक चलिरहेको थियो । त्यो नाटकमा राजु भुजुले उद्घोषण गर्नुभएको थियो ।

एक दिन उहाँको आवाजमा समस्या आयो अनि मदनदाईले उद्घोषण गर्ने जिम्मा मलाई दिनुभयो । अब नयाँ कुरा के भन्ने होला भन्ने मनमा पिर पर्‍यो । अनि मदनकृष्ण र हरिवशंलाई महजोडी भनेर मैले उद्घोष गरँे । सबै जना हाँस्नु भयो । तर दाईहरुलाई त्यो शब्द मन परेछ । त्यसपछि उहाँहरुले आफ्नो जोडीलाई महका नामले चिनाउन थाल्नुभयो । दाईहरुले पछि त्यहि नामबाट महसञ्चार पनि खोल्नु भयो । महजोडी नामबाट उहाँहरु देशकै ठूलो कलाकारको रुपमा चिनिनु भयो । उहाँहरुको चर्चासँगै महजोडीको नाम राख्ने मान्छेले आफ्नो जोडीको नाम किन नराखेको भन्ने कुराहरु आउन थाले । 

अनि हामीले सबैलाई हाम्रो त किरा जोडी हुने भयो त्यसैले मन परेन अनि नराखेको भन्यौँ । एकपटक पोखरामा भएको कार्यक्रममा हामीलाई किरा जोडी भनेर सम्बोधन गरियो ।

त्यो समय देखि नै हाम्रो जोडीको नाम किरा रह्यो । तर त्यो किरा लामो समय रहेन । पछि म अमेरिका गएँ । किरामा चिरा परेको जस्तो भयो । हामी फाट्यौँ । अहिले पनि काम भने दुवै जनाले एउटै क्षेत्रमा गरिरहेका छौ । तर हाम्रो जोडी खासै जम्न सकेको छैन ।

जहाँ पनि डिजेसँग झगडा पर्छ 

नेपालमा हुने विभिन्न कार्यक्रम विवाह, ब्रतबन्धमा जाँदा हिन्दी गीत बजाउनु हुन्छ । अनि म भाइ नेपाली गीत छैन ? नेपाली बजाउनुस् न भन्छु । एउटा नेपाली गीत बजाउनु हुन्छ अनि फेरि हिन्दी सुरु गर्नुहुन्छ । अनि मलाई यस्तो गीतहरु सुन्दा रिस उठ्छ । म हाँस्य कलाकार हुँ ।

संगीतकार, गायक पनि होइन । तर मलाई नेपाली गीतको माया लाग्छ । हामीले मान्छे नेपाली, विवाहमा दुलाहा–दुलही नेपाली, हामीले खाने खाना नेपाली, तिर्ने नोट नेपाली तर डिजेले हामीलाई नचाउने गीत भने हिन्दी हुँदा मलाई एकदमै रिस उठ्छ । यहि कारण जहाँ जाँदा पनि मेरो डिजेसँग झगडा पर्छ । रिसको झोकमा, ए भाइ तिमीलाई विदेशी एम्बेसी पैसा दिएको छ कि क्या हो ? पनि भन्छु ।  म झगडा गरेर हिड्ने मान्छे त होईन । तर डिजेले विदेशी गीत बजाउँदा खप्नै सक्दिन । डाहा लाग्छ । डिजेलाई नेपाली गीत बजाऊ भन्छु अनि झगडा परिहाल्छ ।

विदेशी च्यानल हेर्दा नेपाललाई घाटा भयो

अहिले हामी धेरै हाँस्य कलाकारहरु फुर्सदमा छाैं । हाम्रो पाटोमा रहेको टेलिश्रृङखलाहरु विविध  कारणले आएका छैनन् । हामीले हाम्रो नेपाली च्यानलमा आएको कुराहरुलाई माया गर्दिनु पर्छ । किनभने हाम्रो कुरा हामीले नहेरे कसले हेर्ने ? हामीले माया नगरे कसले गर्ने ? तपाई आफै भन्नुस् ।

आफ्नो ठाउँको दर्शकले माया गर्दिनु भएन भने कसरी चल्छ ? सबैले विदेशी च्यानल हेर्ने अनि कहाँबाट फस्टाउँछ नेपाली कलाकारिता ? यो कुराले कलाकारलाई होईन, सञ्चालकलाई होइन सिङ्गो नेपाललाई घाटा भएको छ । अहिले मलाई बद्रीनाथ भट्टराईले लेख्नु भएको शब्दको याद आयो ‘‘विदेशमा फलेको बासी स्याउ भन्दा स्वदेशमा फलेको ताजा नास्पती मिठो हुन्छ ।’’ यो शब्द मलाई जहिले याद आउँछ । 

ओम पुरीसँग काम गरेँ 

मैले हिन्दी चलचित्रका कलाकार ओम पुरीसँग साङग्रिला सिरियलमा काम गरेको थिएँ । अहिले त उहाँको निधन भयो । मलाई लाग्छ त्यो सिरियल टेलिकास्ट भएन पनि होला । उहाँसग मेरो ७ पेज लामो सिन थियो ।

उहाँहरुले नेपाली कलाकार के राम्रो काम गर्ला र भन्ने सोचले नै होला सात पेजको सुटिङको लागि साढे दुई दिन समय दिनुभएको थियो । तर त्यो सिन साढे दुई घण्टामै सकियो । सबै जना छक्क परे । अनि त्यो बेलामा उहाँले मलाई ‘अरे वा नेपालमै ऐसा-ऐसा कलाकार हैं ’ भन्नु भएको थियो । यो कुरा अझै पनि याद आउँछ । 

पार्टीको साधारण सदस्य भन्दा,  ठूलो पद त कलाकार नै हो 

अब अहिले नेपाली कलाकारहरु पार्टी प्रवेशको कुरा पनि निकै चर्चामा आएको छ । केही कलाकारहरु पार्टीमा प्रवेश पनि गरिरहनु भएको छ । मैले यो कुरा भनिरहँदा घमण्ड गरको त होइन तर पार्टीको साधारण सदस्य भन्दा ठूलो पद त कलाकारनै हो नि । हामी कलाकार हौँ । म अहिलेसम्म कुनै पनि पार्टीमा लागेको छैन ।

तर सबैले हामीलाई यो हाम्रो मान्छे हो भन्छन् नि । तपाईँ एउटा पार्टीमा लागेपछि यो मान्छे यो पार्टीको हो भनेपछि सकियो । कलाकार भन्ने पद जनताले दिएको पद हो । नेता, पार्टीले दिएको पद होइन यो त राष्ट्रले दिएको पद हो ।

-उज्यालो र forseenetwork को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया