MENU

समाज

Ncell Axiata
USAID

हेर्नेलाई मात्रै रमाइलो : कसैको कहर कसैलाई रहर

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, पुस २८ – ‘उहिले चामल देख्न मान्छे मर्नुपथ्र्यो,  अहिले त किनेर खान पाइन्छ’ पात्ले गाविस-३ लट्टेबारीका ७५ वर्षकी रिञ्जी शेर्पाले भन्नुभयो । आलु र मकै पाक्नसमेत ९ महिना लाग्ने लेकाली भेगको मुख्य खाना नै आलु हो । 

चामल त धार्मिक कार्यका लागि अनिवार्य भएको अवस्थामा मात्र प्रयोग हुने लेकाली भेगको ५० वर्ष पहिलेको दुःख सम्झदै शेर्पाले भन्नुभयो ‘लेकमा के हुन्छ र, उतिबेला एक छाक खोले खाएर ६ महिना कटाइन्थ्यो, अहिले त खच्चड र मान्छेले नै बोकेर पनि मनग्गे खाएका छन् ।’ 

दिउँदमा तुसारो र वर्षादमा पानी मात्रै पर्ने लेकमा बाहिरबाट हेर्दा जति रमाइलो छ त्यहाँ त्यति नै कहर र कष्ट व्यर्होनु पर्छ । नजिकमा स्वास्थ्य चौकी र विद्यालय हुँदैनन् । उनीहरुले घण्टौं हिडेर यस्ता सेवा लिनु पर्छ । ‘अझ सचेत र शिक्षित मात्र स्वास्थ्य चौकी जान्छन् अरु त अझै धामी झाँक्रीमै भर परेर बाँचेका छन्’ लेकाली जीवनका दुःख बताउँदै पात्ले गाविस–२ का युवा आङबाबु शेर्पाले थप्नु भयो ।  

ओखलढुंगाको लेकाली भेग पात्ले, जन्तरखानी, रावादोलु, भुसिंगा, खिजीकाती, फलाटे, खिजी चण्डेश्वरी लगायतका गाविसमा तन्नेरी पुरुष विरलै भेटिन्छन् । घर धान्ने महिला र केटाकेटी मात्रै हुन्छन् । ६ महिना मात्रै बारीको उब्जनीले खान पुग्ने, त्यो पनि ९ महिनामा पाक्ने एक बाली लाग्ने भएकाले खान लाउन किसानीले धान्दैन । रोजगारीका लागि त्यहाँका लोग्ने मान्छे कि त ज्यामिका रुपमा खुम्बु क्षेत्र, लाङटाङ, लगयतका क्षेत्रमा जान्छन्, कि त पर्यटक गाइडको रुपमा हिमाल पुग्छन् । ज्यालादारीबाट आएको कमाइले उनीहरुले परिवार धान्ने गरेका छन् । 

कसैको कहर, कसैलाई रहर

हिउँमा खेल्न आएका सदरमुकामका बासिन्दा देखेर उनीहरु छक्क पर्छन् । सडकको पहुँच भएका केही ठाउँमा सवारी साधनसहित हिउँ पर्दा पुग्ने उनीहरु रमाइलो मानेर हिउँ खेल्दै फर्किन्छन् । विदेशीहरु त हिमाल हेर्न र हिउँ खेल्न पैसा तिरेर आउँछन् । तर, लेकका बासिन्दालाई हिउँले रमाइलोभन्दा हजारौं गुणा कष्ट दिन्छ ।

हिउँले हप्तौ घर बाहिर निष्कन नसक्ने, घर पालुवा जनावर भोकै हुने र बारीको काम चिसोले गर्न नसकिने भएपछि पेट पाल्ने समस्याले हिउँदभरी सताउँछ । ‘हिउँ र तुसारोको चिसोले बालबच्चा र बुढाबुढी साह्रै गाह्रो हुन्छ, तपाइँहरुलाई हेर्दा रमाइलो हुन्छ होला’ ७५ वर्षका रिञ्जी शेर्पाले हाँस्दै भन्नुभयो ।  

हिमपातले तीन हजार मिटर उचाइभन्दा माथि बाली हुँदैन । धेरै जग्गा ३ हजार मिटरमाथि माथि रहेकाले लेकका बासिन्दाको अर्को विकल्प पशु पालन हो । चौरी पाल्ने र बेचेर आम्दानी गर्ने भएकाले उनीहरुको जीवनमा हरेक १२ महिनाका आधा दिनहरु हिउँसँगै लुकामारी खेल्दै बित्ने गर्छन् । हिउँको चिसोमा हात खुट्टा मात्रै होइन अनुहारै चरचरी फुटेकोको पीडा परैबाट अनुभूति गर्न सकिन्छ । 

‘बाँच्नकै लागि यत्तिको संघर्ष हो यो’ शेर्पा पत्रकार संघका संस्थापक अध्यक्ष लाक्पा गेल्जे शेर्पाले उनीहरुको दुःखबारे टिप्पणाी गर्नुभयो । हिउँमा एकछिन हिँड्न र रमाइलो गर्न त मजा नैे आउँछ तर, हरेक दिन हिउँमा हिडेर श्रम गर्दा कति दुःख हुन्छ भोग्नेलाई मात्र थाहा होला । 

भूकम्प पीडित काम्दै रात कटाउँछन्

साधारण अवस्थामासमेत कष्टकर जीवन भोग्नु पर्ने बाध्यता लेकाली जीवनमा छ । तर ०७२ वैशाख १२ गतेको भूकम्पले ओखलढुंगाका लेकाली भेगमै बढी क्षति गर्यो । भूकम्पले ८० प्रतिशत घरहरु भत्किए । अहिले धेरैको बास टहरामै छ । हिउँको चिसो त छँदैछ, जस्ताको टहरामा चुहिने शीतका कारण बसोबास निकै कष्टप्रद रहेको पात्ले–३ का छप्ते शेर्पाले बताउनुभयो । 

‘समस्या के भन्नु ? हिउँ पर्दा झनै समस्या छ, तुसारो र शित चुहिएर रात कटाउनै मुस्किल पर्छ’ शेर्पाले भन्नुभयो । सरकारले पठाएका प्राविधिक गाउँ गए पनि दुर्गमका वस्तीमा नपुगेपछि स्थानीय बासिन्दा आफैले सुने र जान्नेसँग सोधेर घर निर्माण गरिरहेका छन् । कतिले आफू खुसी बनाएका छन् भने कतिले भूकम्प प्रतिरोधि प्रविधि पनि अपनाएका छन् । 

‘सरकारी मापदण्ड अपनाउँदा तला छाप्न नपाइने भन्ने सुनेर आफूले त तीन तले बनाएँ, अनुदान नदिने भन्छन्’ पात्ले गाविस–२ ताल्कोटका सोनाम शेर्पाले भन्नुभयो । अनुदान लिनु अगाडी नै घर निर्माण थालेका स्थानीय बासिन्दाले पहिलो किस्ता भरखरै लिएका छन् । लेकाली क्षेत्रमा संयुक्त परिवार बस्ने, मुख्य उत्पादन आलु भण्डारण आदिका कारणले घर ठूला र अग्ला बनाउनु पर्ने हुन्छ । तर सरकारी मापदण्डमा तला थप्ने कच्ची घर नरहेकाले उनीहरुलाई समस्या छ । 

सधैँ खाद्य संकटको चिन्ता

वर्षमा एक बाली मात्र उत्पादन हुने लेकाली क्षेत्रमा प्रयाप्त खाद्यन्न सधैँ अभाव हुने गर्छ । सडक सुविधा नपुगेकाले एक वर्षको खाद्यन्न अगाडी जोहो गर्नुपर्ने बाध्यता हुन्छ । उत्पादन कम हुने परिवारले खरिद गरेरै जोहो नगरे आउने दिन भोकै बस्नु पर्ने चिन्ताले उनीहरु समयमै खाद्यन्न जोहो गर्छन् । 

मुख्यबाली आलु र त्यहाँको मुख्य खाना रेल्दुक (आलुको ढिडो) हो । पाहुना सत्कार गर्न लेकमा आजभोलि यो खाना प्रचलित छ । रेल्दुक खानकै लागि लेकाली क्षेत्रका होटलहरुमा समेत आन्तरिक पर्यटकहरु आउने गरेको जन्तरखानीका इद्ध मगरले बताउनुभयो । 

सरकार पुग्दैन लेकमा

पात्ले गाविसका स्थानीय बासिन्दाले चौकी मागेको धेरै भयो । धेर पटकको प्रयास पछि चौकी राख्न उपयुक्त स्थान हेर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी मिलन केसी पुगे । उनलाई गलाभरी खादा लगाएर पात्लेबासीे स्वागत गरे ।

पहिलो पटक जिल्ला प्रहरी प्रमुख गाउँमा आएको स्थानीय सोनाम शेर्पाले बताउनुभयो । दिनहुँ हुने झगडा र अशान्ति हटाउन उनीहरुले चौकी मागेको दुई वर्ष भइ सक्यो । द्वन्द्वकालमा २०५८ मा विस्थापित भएपछि प्रहरी चौकी छैन । सदरमुकामबाट दुई दिन लाग्ने ठाउँमा चौकी राख्न घर निःशुल्क दिने स्थानीय युवा आङबाबु शेपाले घोषणा गर्नुभयो । तीन रोपनी जग्गासमेत स्थानीय बासिन्दाले दिने भए । 

सरकारका प्रतिनिधिका प्रतिक्षामा जनता रहे पनि लेकमा सरकार पुगेको भान हुँदैन । सडक पुगेको छैन । सरकारी निकायका रुपमा विद्यालय मात्रै संचालनमा छन् । भूकम्पले भत्काएपछि स्वास्थ्य चौकी व्यक्तिको घरबाट चलेको छ । कतिपय विद्यालयका सरकारी शिक्षक दुई तीन वर्षदेखि सम्पर्कमा छैनन् । पात्लेस्थित कात्तिकेमा रहेको जन कल्याण आधारभूत विद्यालयमा दुई वर्षदेखि प्रधानाध्यापक रुद्रसिं थापा पुगेका छैनन् । अहिले एक जना सहयोगीको भरमा विद्यालय चलेको छ । तीन कक्षा रहेको विद्यालय भूकम्पले भत्किएर अस्थायी शिक्षण केन्द्रमा संचालित छ । जाडोले विद्यार्थी आउन छाडि सके । विद्यालयकी सहयोगी कर्मचारी सुनिता तामाङ मासिक चार हजार पाँच सयमा ३ कक्षा धानीरहनु भएको छ । ‘हेडसर कहाँ जानु भएको छ थाहा छैन’ तामाङले भन्नुभयो । जिल्ला शिक्षा कार्यालयलाई आफ्ना शिक्षक कहाँ छन् जानकारीसम्म छैन । 

यी सबै व्यथाले झट्ट हेर्दा रमाइलो लाग्ने, हिउँ र हिमाल नजिकै देखिने, ठूला डाँडाहरुमा फूलेका राता लागि गुँरास जस्तै जीवन छैन लेकको । छ त केवल भोग्नलाई कहर देख्नलाई रहर मात्रै । 

हेर्नेलाई मात्रै रमाइलो : कसैको कहर कसैलाई रहर

हेर्नेलाई मात्रै रमाइलो : कसैको कहर कसैलाई रहर

हेर्नेलाई मात्रै रमाइलो : कसैको कहर कसैलाई रहर

हेर्नेलाई मात्रै रमाइलो : कसैको कहर कसैलाई रहर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया