MENU

समाज

ujyaalo forign call inside

दही, दूध र घिउले भरिने ठेका हराए

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, माघ ९ – कुनै जमाना यस्तो थियो कि गोठभरी गाईभैँसी । दूध, दही र घिउले ठेका भरिभराउ । गाई, भैँसी, गोरु र भेडाबाख्रा धेरै पालेका घरलाई गाउँभरिकै सबैभन्दा धनी भन्ने गरिन्थ्यो । धेरै पशुचौपया पाल्नेहरुले गाईभैँसी र भेडाबाख्रा हेर्नलाई गोठाला राख्ने गर्दथे । 

बिहान सबेरै उठेर गाईभैँसीको गोठमा पुगी घाँसपात र कुँडोफाँडो अनि ठेकामा दूध दुहुने काम हुन्थ्यो । त्यसपछि भकारो सोहोरेपछि घाँस काट्न खेतबारी र भिरमा जान्थे । कुँडेमा तात्तातो दूध, ठेकामा चिसो दही र मोही अनि सानासाना ठेकीमा घिउ राख्ने चलन थियो । ठेकाठेकी गाउँघरमै पाइने गिठ्ठादारको काठ काटेर बनाउने गरिन्थ्यो र त्यसमा पशुचौपायाको दूध, दही र घिउ (गोरस) राखिन्थ्यो । अहिले गाउँघरमा काठको ठेका पाउन मुश्किल छ । दूध दुहुन र दही राख्न बजारमा प्लाष्टिक एवं सिल्टेका भाँडा, ड्रम र बाल्टी आएपछि काठका ठेकाको प्रयोग ह्वात्तै घट्यो । ठेका कुँद्नेलाई गाउँले भाषामा चुँदारा भनिन्छ, चुँदाराले बनाउने ठेका लोप हुन थालेको छ ।

प्लाष्टिक र सिल्टेले बजार खाएपछि अहिले आफूहरुको पेशा सङ्कटमा पर्दै गएको बागलुङको अमलाचौर–७ का टीका चुँदाराले गुनासो गर्नुभयो । काठको ठेका र मदानी देखाउँदै उहाँले भन्नुभयो ‘बढ्दो आधुनिकतासँगै हाम्रो चुँदारा पेशा नै लोप हुन थाल्यो, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन ।’ बजारमा सस्तोमा कम टिकाउ हुने सामान पाइने भएपछि मान्छेले काठको पुरानो सामान प्रयोग गर्न छाडेको उहाँले बताउनुभयो । 

परम्परागत सिप र प्रविधिको प्रयोग गरेर बनाइएको ठेका निकै कलात्मक र आकर्षक देखिन्छ भने प्रयोग गर्न पनि सजिलो हुन्छ । आफ्नो बाउ बाजेले चुँदारा पेशा गर्दै आएको र आफूहरुको पैतृक पेशा चुँदारा (ठेका कुँद्ने) नै भएको टिका चुँदारा बताउनुहुन्छ । आफूले १२ वर्षको उमेरदेखि चुँदारा पेशा सुरु गरेको र अहिले ५१ वर्ष भइसकेको बताउँदै उहाँले ठेका कुँदेरै आफ्नो परिवार पालेको बताउनुभयो । गिठ्ठादारबाट ठेकाठेकीका साथै मदानीलगायतका सामग्री बनाउने गरिन्छ । 

पाँच मुठी अटाउनेदेखि बाइस, पच्चीस मानासम्म जाने ठेका बनाउने गरेको टीका चुँदाराले जानकारी दिनुभयो । एउटा २२ माने ठेका बनाउनका लागि काठ तासेर दुई दिनमा तयार गर्न सकिने उहाँले बताउनुभयो । साना माने ठेकी त एकै दिनमा चारपाँच वटासम्म पनि बनाउन सकिने उहाँले बताउनुभयो । मदानी र ठेकीलाई एकहजार तथा ठुला ठेकालाई मानाको पाँचसय रुपैयाँका दरले बिक्री गर्ने गरेको चुँदाराले बताउनुभयो ।

खासगरी ठेकाठेकीको चलन विवाहमा दही खुवाउँदा, जन्ती जाँदा र पूजाआजामा प्रयोग गर्ने गरिन्छ । पहिलेपहिले ठेकाको चलन धेरै हुँदा ‘एक मानेमा के छ के छ दुई मानेमा दही छ, मैले भोलि बिहे गर्ने भनेको केटी त आजै पोइल गइछ’ भन्दै व्यङ्ग्य हानेर गीत समेत गाउने गरेको बुढापाकाहरु बताउँछन् । 

चाडपर्वबाहेक अन्य समयमा बनाएको ठेका मेला महोत्सवको प्रदर्शनीमा राख्ने र त्यहीँबाट बिक्री गर्ने गरेको चुँदारा बताउनुहुन्छ । बालाचतुर्दशी र माघेसङ्क्रान्ति पर्वमा हरेक वर्ष म्याग्दीको बेनीबजार, गलेश्वर, तातोपानी र गुल्मी जिल्लाको रिडी क्षेत्रमा पुगेर ठेका बेचेको चुँदारको अनुभव छ ।

दुईवर्ष पहिले लिबर्ड संस्थाको सहयोगमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको व्यापार मेलामा ठेका लगेर प्रदर्शन गरेको र केही बिक्री गरे पनि त्यसपछि भने कुनै पनि संघसंस्थाले सहयोग नगरेको उहाँले बताउनुभयो ।

सरकारले आरन र सिलाईकटाईलगायत अरु बालीघरे पेशा सङ्कटमा परेको भन्दै संरक्षणका लागि अनुदान सहयोग गर्ने गरेको भए पनि चुँदारा पेशालाई बेवास्ता गरेको उहाँको भनाई छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया