MENU

यो पनि समाचार

बंगुरको भालेलाई टायरको पोथी !

सुनसरी, माघ ११ – खोरभरी पोथी छन् । तर भालेले पोथी भेट्नै पाउँदैन । पोथी चाहिएको बेला खेलौना पोथीबाट सन्तुष्टी लिनुपर्ने उसको बाध्यता छ । तर उसको यही बाध्यताबाट नेपालका बंगुरपालक किसान र कृषि प्राविधिकलाई चाहिँ सन्तुष्टी मिलेको छ । 

कुरा हो, सुनसरी तरहरामा रहेको बंगुर अनुसन्धान एकाईको । जहाँ नेपालमै पहिलोपटक बंगुरमा कृत्रिम गर्भाधानको कार्यक्रम सुरु भएको छ । भाले बंगुरबाट वीर्य संकलन गरेर पोथीमा कृत्रिम गर्भाधान गराएर बच्चा उत्पादनको काम सुरु भएको हो । तीन वर्षअघि अमेरिकाबाट ल्याइएको बंगुरको वीर्यबाट नयाँ बंगुर उत्पादन गरी अहिले कृत्रिम गर्भाधान थालिएको एकाईका प्रमुख वरिष्ठ वैज्ञानिक रामदेव पण्डितले जानकारी दिनुभयो । बंगुरपालक किसानलाई भाले बंगुर पाल्न खर्चिलो र झण्झटिलो हुने भएकाले कृत्रिम गर्भाधान कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । तरहरामा रहेको फर्ममा झण्डै डेढसय वटा बंगुर छन् । भाले र पोथी बंगुरलाई छुट्टाछुट्टै राखिएको हुन्छ । भालेलाई पोथीसँग सम्पर्क गर्न दिंदा उसको वीर्य धेरै खेर जाने भएकाले पोथीसँग भेट गर्न दिईंदैन । वीर्य संकलन गर्ने बेला उसलाई छुट्टै कोठामा राखिन्छ । त्यहाँ पोथीकै आकारमा टायरको डमी राखिएको हुन्छ । डमी देख्ने बित्तिकै पोथी सम्झेर भाले बंगुर उक्लन्छ । अनि त्यहीबेला प्राविधिकले वीर्य संकलन गरेर एउटा भाँडामा राख्छन् ।

त्यसपछि त्यो वीर्यलाई प्रयोगशालामा निश्चित तापक्रममा मिलाएर कृत्रिम गर्भाधानको लागि तयार पारिन्छ । यसरी तयार पारिएको वीर्य किसानलाई वितरणसँगै फार्ममै रहेको पोथी बंगुरमा कृत्रिम गर्भाधान गरिन्छ । फार्ममा रहेका पोथीलाई कृत्रिम गर्भाधान गर्ने बेलामा पनि भालेलाई नजिक ल्याइन्छ । भाले देखेर पोथीले छिटो उत्तेजना देखाउने भएकाले यसो गरिएको प्राविधिकले बताए । प्राविधिकका अनुसार यहाँका भाले बंगुरले पोथीसँग भेट्न पाउँदैनन्, हेर्न र सुंघ्न भने पाउँछन् । 

कृत्रिम गर्भाधानबाट जन्मिने बच्चा स्वस्थ हुने र छिटो हुर्कने पनि प्राविधिक बताउँछन् । एकपटक वीर्य झिक्दा झण्डै १५ वटा पोथीमा कृत्रिम गर्भाधान गराउन सकिन्छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया