MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

रद्द गरिएका भिसा फेरि जारी, ट्रम्पद्वारा न्यायाधीशको आलोचना

माघ २३ – संघीय अदालतका न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश तत्कालका लागि निलम्बित गरेपछि रोकिएका यात्रु अमेरिका प्रवेश गर्न थालेका छन् । अमेरिकी अधिकारीले विभिन्न ठाउँमा रोकिएका यात्रुलाई अमेरिका प्रवेश गर्न दिन थालेका छन् । अघिल्लो हप्ताको शुक्रबार राष्ट्रपति ट्रम्पको आदेशपछि विदेश मन्त्रालयले ६० हजार भन्दा धेरै भिसा रद्द गरेको थियो । तर अहिले अदालतले ट्रम्पको आदेश तत्कालका लागि निलम्बित गरेपछि रद्द गरिएका सबै भिसा फेरि जारी गरिरहेको विदेश मन्त्रालयले जनाएको छ । सिएटलमा रहेको संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले शुक्रबार अबेर राष्ट्रपति ट्रम्पको आदेश तत्कालका लागि देशभर लागु हुने गरी निलम्बित गर्नुभएको थियो । सरकारी वकिलले कुनै पनि राज्यसँग राष्ट्रपतिको कार्यकारी आदेश रोक्ने अधिकार हुँदैन भनि गरेको अपिलमा सुनवाई गर्दै न्यायाधीश रोबर्टले संविधानमा त्यो अधिकार रहेको फैसला गर्नु भएको हो । प्रतिबन्धका कारण प्रभावित भएका यात्रु अमेरिका प्रवेश गर्न थालेका छन् । अमेरिकी विदेश मन्त्रालयले सबै विमान कम्पनीलाई रोकिएका यात्रुलाई बोर्डिङ पास दिन आग्रह गरेका छन् । न्यायाधीश रोर्बटको फैसला लगतै विदेश मन्त्रालयले रद्द गरेका भिसा फेरि जारी गर्ने प्रक्रिया सुरु गरेको तथा होमल्याण्ड सेक्युरेटी मन्त्रालयलाई फैसला कार्यान्वयनका लागि सहकार्य गर्न निर्देशन पनि दिइएको छ ।

यसैबिच राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकारी आदेश तत्कालका लागि निलम्बित गर्ने न्यायाधीशको आलोचना गर्नुएको छ । उहाँले ट्वीट गरेर न्यायाधीश रोबर्टको आलोचना गर्नुभएको हो । उहाँले लेख्नुभएको छ ‘मेरो कार्यकारी आदेश कार्यान्वयनमा रोक्ने यो सोकल्ड न्यायाधीशको फैसला हाँस्यापद छ र यो उल्टिनेछ ।’ अर्को ट्वीटमा उहाँले लेख्नुभएको छ ‘एक न्यायाधीशले होमल्याण्ड सेक्युरेटी मन्त्रालयले गरेको निर्णय रोक्न सक्ने भएपछि हाम्रो देश कहाँ जान्छ होला, अब जोकोही वा नराम्रो मनसाय भएका व्यक्ति पनि अमेरिका आउन सक्छन् ?’

राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै विभिन्न निर्देशन दिनुभएका ट्रम्प निकै विवादमा तानिनु भएको छ । इरान, इराक, सिरियासहितका सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि रोक्ने आदेशको विरोधमा भने अमेरिकासहित विश्वभर प्रदर्शन हुँदै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया