MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

बाथ रोगका रुप अनेक

 

डा. बिनय रेग्मी -

साधारणतया सबैजसो जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालीको भाषामा बाथ रोग भन्ने गर्दछौं । के बाथ रोग जोर्नी दुख्नेलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के के हुन सक्छन् र कसले यसको उपचार गर्दछ भन्ने जिज्ञासा हाम्रो मनमा उब्जिरहेको हुन्छ ।

जसले जे भन्यो त्यही मान्ने अवस्था समेत आइरहेको हुन्छ । जथाभावी औषधि, धुलो, झारपात, धामीझाँक्री अनि झारफुकको पछाडी दौडदा दौडदै कुन समयमा रोगले जटिल रुप लिइसकेको हुन्छ थाहै हुँदैन ।

जसरीपनि दुखेको निको होस यहि नै मुख्य लक्ष हुन्छ तर औषधि के हो ? यसको बेफाइदाहरु के के हुन ? सोध्ने फुर्सद नत बिरामीलाई हुन्छ न त बिरामीको आफन्त र परिवारजनलाई । बिरामीको ध्यान त मात्र के के बार्ने भन्नेमा मात्र सीमित हुन्छ ।  

बिरामीलाई औषधिको बारेमा राम्रोसँग जानकारी गराउने फुर्सद हामीमध्ये कमै डाक्टरलाई मात्र हुन्छ । त्यसैले आजको यस लेखमा मैले पछिल्लो समयमा भारतको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीमा बाथरोगको विशेषज्ञता हाँसिल गर्ने क्रममा पाएको ज्ञान यहाँहरुसमक्ष सरल भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छु । साथमा बाथ रोगको लक्षण, उपचार र औषधिहरु बारे पनि चर्चा गर्नेछौं ।

बाथ रोग जोर्नी दुख्नेमात्र नभई अन्य लक्षणको रुपमा पनि देखा पर्दछ । कहिलेकाँही एक्लै रोगको रुपमा पनि बाथरोग देखापर्न सक्छ भने कहिलेकाँही अन्य रोगसँग मिसिएरपनि देखापर्न सक्छ ।

के के हुन् त बाथ रोग ?

साधारणतया बाथरोगहरु रोग प्रतिरोधात्कम प्रणाली (इम्युन सिस्टम) का कारण हुन्छन् । यिनीहरुले धेरैजसो ‘आउटो एन्टिबडी’ बनेर शरीरको जोर्नी लगायतका अन्य अङ्गहरु जस्तैः छाला, आँखा, दिमाग, मुटु, फोक्सो, मृगौला लगायतमा असर पुर्याउँने गर्दछन् । अउटो इम्युन रोगहरु धेरै प्रकारका हुन्छन् । हरेक रोगका आफ्ना आफ्ना प्रकार र लक्षणहरु हुन्छन् । के के हुन त यि रोग र के के हुन यिनका लक्षण ? हामीले अब यिनको चित्रण गर्नेछौं ।

के के नामले चिनिन्छन् त यि बाथ रोगहरु ?

  • रिउमाटोइड आरथ्राइटिस (आर ए)
  • जुभेनाइल इडियो प्याथिक अरथ्राइटिस (जे आई ए)
  • जोग्रेन सिन्ड्रोम (एस एस)
  • स्पोन्डिलो आर्थ्राइटिस (एस पि ए)
  • कनेक्टिभ टिस्यु डिस्अर्डर (एस एल ई)
  •  
  • इन्फ्लामेटरी मायोप्याथि (डर्माटोमायोसाइटिस डाइमोसाइटिस)
  • भास्कुलाइटिस (स्मल भेसल / लार्ज भेसल / मिडियम भेसल)
  • क्रिस्टल आर्थ्रोप्लाष्टि (युरिक एसिड र अन्य)
  • अस्टियो आर्थ्राइटिस (ओ ए)
  • अस्टियो पोरोसिस, अस्टियो नेक्रोसिस

माथि उल्लेख गरिएका रोगहरुका भिन्न भिन्न लक्षणहरु हुन्छन् । साधारणतया बाथ रोगमा यस्ता लक्षणहरु देखिन्छन् ।

  • हात खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने, बिहान उठ्ने बेलामा जोर्नीहरु करकर गर्ने, केहिबेरपछि जोर्नी खुल्दै जाने ।
  • चिसो पानीमा हात डुबाउँदा वा पानी चलाउँदा या जाडो मौसममा हातका औंलाहरु निलो र सेतो हुने ।
  • बिस्तारै आफ्ना जोर्नी र औंलाहरु बाङ्गिएको महशुस हुने ।
  • अनुहारका, हातका र शरिरका अन्य मांसपेसीहरु कसिएर आउने,छाला चाउरी नपर्ने नखुम्चने र औंलाका टुप्पोमा घाउ आउने ।
  • विभिन्न बाथ रोगको असर फोक्सोमा परेर समस्या हुने ।
  • खोकी लाग्ने र लामो समयसम्म खोकी निको नहुने र खोक्दा रगत आउने ।
  • मुख एकदम सुख्खा हुने र पटकपटक खाना निल्दा पानी पिउनुपर्ने ।
  • मुख सुख्खा भएर गिँजामा पनि घाउहरु हुने ।
  • आँखा सुख्खा हुने र आँखामा बालुवा पसेजस्तो भएर बिझाउने ।
  • थुक निकाल्ने ग्रन्थीहरु सुन्निने र गाला फुलेको र सुन्निएको जस्तो देखिने ।
  • हात  गोडाका औंलाहरु निलो वा कालो भएर झर्ने।
  • मुखमा र गुप्ताङ्गमा बारम्बार घाउ खटिरा आउने ।
  • लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने ।
  • आँखा रातो हुने ।
  • हात गोडाका एउटामात्र औंला सुन्निएर आउने ।

माथि उल्लेखित लक्षणहरु हुँदैमा सबैलाई बाथरोग हुँदैन तर, बारम्बार यस्ता लक्षणहरु देखिएमा बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ ।

साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ । बुढापाका मानिसहरुमा उमेरको कारण, कामका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ तर बाथरोगका कारण हुने ढाड दुखाई अलि भिन्न किसिमको हुन्छ ।

ढाड दुखाई राति बढी हुन्छ र दुखेर निन्द्राबाट उठ्नुपर्ने र ओल्टे कोल्टे फेर्न समेत नसकिने हुन्छ । बिहान उठ्ने बित्तिकै ककरक्क परेर हलचल गर्न समेत गाह्रो हुन्छ । केहिबेर तन्क्याएपछि र काम र कसरत गर्न थालेपछि भने दुखाइ कम भएर जान्छ ।

यस किसिमका दुखाईमा काम कसरत र दुखाई कमगर्ने औषधिहरु सेवनगरेपछि बिरामीले निकै राहत महशुस गर्दछन् । यस रोगको समयमा निरुपण निदान र उपचार नभएमा  रोग जटिल अबस्थामा पुग्दछ र बिरामी चलमल सम्म गर्न नसक्ने भएर थला पर्छन् ।

कतिपय यस्ता बाथरोगका बिरामीमा अन्य रोग जस्तै छालाका रोग (सोरियासिस), पातलो दिसा हुने रोग (आइ बि डि) हरु पनि हुन सक्दछ । आँखा रातो हुने, कुर्कुच्चा धेरै जोडसँग दुख्ने, एउटा औंलामात्र सुन्निने पनि हुनसक्छ ।

अन्य बाथरोगहरुमा शरिरका मांशपेसी दुख्ने, कुर्सिमा बसेको मान्छे अचानक उठ्न नसक्ने हुने । कपाल कोर्दा हात फतक्क गलेर तल झर्ने लगायतका लक्षणहरु देखिन्छन् । त्यसैगरी छालामा डाबर आउने, मांशपेसी गल्ने र दुख्ने लक्षणहरु डर्माटोमायोसाइटिस वा पोलीमायोसाइटिस रोगमा हुने गर्दछ ।

धेरै मात्रामा कपाल झर्ने, बिशेषगरी महिलाहरुको कपाल धेरै झर्ने हुनसक्छ । मुखभित्र घाउ आउने, मुखको छाला जाने, घाममा जाँदा अनुहार रातो हुने र पोतो आएको जस्तो हुने, जोर्नीहरु र मांशपेसीहरु दुख्ने र लामो समयसम्म ज्वरो आउने अनि ज्वरोको कारण पत्ता नलाग्ने किसिमका लक्षणहरु एस एल ई बाथ रोगमा देखा पर्न सक्दछन् । यो एस  एल ई बाथरोग तुलनात्मक रुपमा महिलाहरुलाई बढी लाग्दछ ।

बाथ रोगमा टाउको अचानक दुख्ने, आँखा धमिलो हुने र आँखाको ज्योति गुम्ने अबस्थापनि बाथरोगका कारण आउन सक्छ ।

त्यसैगरी बाथ रोगकै कारण गर्भाशयमा बच्चा नआउने वा नबस्ने र बसेको गर्भपनि बारम्बार तुहुने समेत हुन्छ । पेट दुख्नु दिसामा रगत आउनु चाँही (मेजेन्टेरिक भाष्कुलाइटिस) का लक्षणहरु हुन् ।

त्यसैगरी छारेरोगका जस्ता लक्षणहरु, अचानक अन्धोपना, मुख बाङ्गोहुने लगायतका लक्षणहरु समेत बाथ रोगमा देखापर्दछन् ।

बाथ रोग सामान्यतया बाथ रोग विशेषज्ञ फिजिसियनले उपचार गर्ने गर्दछन् जसलाई (रिउमाटोलोजिष्ट) भनिन्छ ।

नेपालमा बाथ रोगको अवस्थाः

हाम्रो देशमा बिगतमा बाथ रोग विशेषज्ञ रिउमाटोलोजिष्टको अभाव रहेका कारण बाथ रोगको राम्रोसँग पहिचान र उपचार हुन नसकेको अवस्था थियो । धेरैजसो बिरामीहरु उपचारका लागि मित्रराष्ट्र भारत लगायतका मुलुकहरुमा जाने बाध्यता रहेको थियो । तर केहीबर्षयता यसरोगको विशेषज्ञता हाँसिल गरी आउनु भएका चिकित्सकहरुको उपलब्धताले बाथ रोगको उपचार स्वदेशमै संभव भएको छ । 

विशेषज्ञ चिकित्सकहरुको संख्या कम र बिरामीहरुको संख्या अत्यन्त धेरै भएका कारण बिरामीहरुले उपचारका लागि धेरै समय कुर्नुपर्ने बाध्यता समेत रहेको छ । उपलब्ध केही विशेषज्ञ चिकित्सकहरु पनि काठमाडौंमा मात्र केन्द्रित भएर सेवा दिइरहेको हुनाले मोफसलका जिल्लाहरुमा अर्थात राजधानी बाहिर बाथ रोगको उपचार अझै सम्भव हुन नसकेको अवस्था छ ।

बाथ रोगको बिषयमा सरकारको दुरदृष्टि नरहेको कारण र सरकारी लाचारीका कारण आम नेपाली बाथका बिरामीहरु समस्या ब्योहोर्न बाध्य छन् । हालसम्म यस बिषयको विशेषज्ञ चिकित्सकहरुको संख्या बढाउनकालागि सरकारी तबरबाट कुनै पहल भएकै छैन । जे जति विशेषज्ञहरु छन् उनीहरुले आफ्नै खर्चमा र आफ्नै बलबुतामा शिक्षा र तालिम लिएर आएका हुन् ।

बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो । यो रोगको औषधि लामो समयसम्म बाँचुन्जेल सेवन गर्नुपर्नेपनि हुन्छ । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो देखिने र मथ्थर भएर बस्ने तर औषधि सेवन गर्न छाडेपछि फेरी बल्झने हुन्छन् । बाथ रोग कतिपय अबस्थामा समयमा उपचार नपाउँदा मृत्युको कारण पनि बन्न सक्छ ।

बाथ रोगको परिक्षणमा गरिने आउटो एन्टिबडी जाँचहरु अझपनि राम्रोसँग हुन सकीरहेको छैन । जाँच भएपनि यसको पहुँच सरकारी अस्पतालमा हुँदैन । यि आउटो एन्टिबडी जाँचहरु निकै महँगा हुन्छन् । यदि सरकारी स्तरमा कोही बाथरोग समबन्धि दक्षता हाँसिल गरेका र तालिमप्राप्त चिकित्सक नेपालका ठूला सरकारी अस्पतालमा कामगर्ने वातावरण  मिलाइदिने हो भने नेपालका बिपन्न नागरिकहरुले पनि यसरोगको उपचार सहज र सरल ढंगबाट पाउन सक्ने अबस्था सृजना गर्न सकिन्थ्यो ।

बाथरोगको उपचारमा चिकित्सकको भूमिकाः

बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन ।  रोगको बारेमा राम्रोसँग जानकारि गराउनु, बिरामीले सेवन गर्ने औषधिको असरहरुबारे जानकारी गराउने जिम्मेवारी पनि चिकित्सककै हो ।  त्यसैगरी आवश्यक अन्य विभागका चिकित्सकहरुको परामर्श तथा उपचार सेवाकालागि अन्य चिकित्सककहाँ रेफर गर्नुपनि उपचार नै हो ।

हाम्रो देहमा अरुकहाँ रिफर नगर्ने, रिफर गर्दा आफ्नो आत्म सम्मान घटेको अनुभव गर्ने र रेफर गर्दा आफू सानो होइन्छ भन्ने पुरातनबादी सोचका कारण पनि धेरै बिरामीहरु पिडित हुनु परिरहेको अबस्था छ ।

समयमा नै सम्बन्धित विशेषज्ञकहाँ रिफर गर्दा बिरामीले उचित उपचार समयमा नै पाउने र रोगले जटिल रुप लिनबाट जोगाउन सकिन्छ । वाथ रोगिहरु को हकमा यि कुराहरु अझ धेरै सान्दर्भिक देखिन्छ ।

बाथ रोगको उपचारमा हाड जोर्नी र छालाका समस्याहरु मात्र निको पारेर हुँदैन त्यसका अलावा बाथ रोगले निम्त्याउने अन्य रोगहरु र असरहरु समेतको उपचार केवल बाथरोग विशेषज्ञ बाट मात्र संभब छ ।

यसै लेख मार्फत मेरो यहाँहरुलाई आग्रह छ , आफ्नो चिकित्सकलाई सोध्नुहोस, मेरो रोग के हो ?  यसको उपचार कहाँ र को सँग गर्नुपर्छ ?

बाथरोगका औषधिहरुः

बाथरोगका औषधिहरु धेरै थरिका हुन्छन् जुलाई डिमार्डस् भनिन्छ । यि औषधिहरु लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने , कहिले कम गर्ने र कहिले बन्दगर्ने यि सबै कुराहरु अनिवार्य रुपमा बाथ रोगका चिकित्सकको निगरानीमा गर्नुपर्ने हुन्छ । बाथ रोगमा औषधिहरु ‘इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता कम गर्ने किसिमका औषधि) भएका कारणले समय समयमा यि औषधिहरुले गरेका असरहरुबारे जान्नकालागि रगतको जाँच, पिसाबको जाँच, एक्स रे लगायतका जाँच गर्नुपर्ने हुन्छ ।

यि औषधिहरुले रगतमा कमी ल्याउने कलेजोमा असर पुर्याउने पनि हुन्छ  त्यसैले चिकित्सककले बोलाएको समयमा रगत जाँच गराई अनुगमनका लागि अनिबार्य रुपमा आउनुपर्ने हुन्छ ।

खाने औषधि बाहेक नासामा या छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन् जसलाई बायोलोजिक्स भनिन्छ । यि सुईहरु कोही सातामा एकपटक र केही दुईहप्तामा एकपटक वा दुई महिनामा एकपटक दिनुपर्ने किसिमका पनि छन् ।

मुखबाट सेवन गरेको औषधिहरुले ठिक नभएको खण्डमा यि सुइहरु प्रयोग गर्न सकिन्छ । यि सुइहरु अत्यन्त महँगा भएपनि अत्यन्त प्रभावकारी हुन्छन् । बाथरोग नयाँ रोग भने अबश्यपनि होइन ।

यि रोगहरु त बर्षौ पहिलेदेखि रहेका भएपनि सायद अध्ययन अनुसन्धानको अभावमा पहिचान मात्र हुन नसकेको अबस्थामा थिए । पछिल्लो समयमा यस रोगमा विशेषज्ञतम हाँसिल गरेका चिकित्सकहरु बढ्दै गएका कारण आगामी दिनमा बाथ रोगको राम्रो निदान निरुपण र उपचार हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पर्वतले कसेको गाँठो

    तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ ।

  • नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ ।

  • म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

    मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

  • राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

    अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो ।

  • सरकारको अपरिपक्व कार्यशैली

    राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया