MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

खाँदबारीमा मावली नाताले जुराएको चिया

डा. नवराज खतिवडा -

खाँदबारीमा शनिबार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाईलो लागि सकेको थियो । म लगायत 'विद्युत उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जन जति साथीहरु शुक्रबार दिउँसोको बुद्ध एयरको उडानवाट तुम्लिङ्टार अवतरण गरेका थियौँ ।  औपचारिक कार्यक्रम शनिबार दिनभरि नै आयोजना गरिएको थियो ।

यसकारण मेरो "हाट भर्ने दाउ" तुहिने हो कि भन्ने चिन्ता थियो । तर हामी बसेको होटल र हाट लाग्ने टुँडिखेल मैदान केही मिनेटको पैदल दुरीमा रहेकाले म खुशी थिएँ । नेपालका पूर्वी पहाडी जिल्लाको शानको रुपमा परिचित हाट लाग्ने परम्पराका केही लोभलाग्दा विशेषताहरु छन । बिहान सबेरैदेखि नै बेलुकासम्म चहलपहल हुने त्यो 'मेला' जस्तो 'भेला' मा कुनबे गए ठीक होला भन्ने प्रश्न जन्मियो ।

"हाटमा कुन समयमा सबैभन्दा धेरै मान्छे भेला हुन्छन ?"

मेरो हाट भर्ने र धेरै मान्छे भेला हुने समय मिलाउन सक्दा 'सुनमा सुगन्ध' हुने ठानेर यो प्रश्न चिया पसलमा भेटिएका स्थानीयलाई सोधेको थिएँ ।

"धेरै भेला हुने भनेको त विहान आठ बजे तिर हो ।" 

हाम्रो कार्यक्रम साढे आठमा सुरु हुने योजना थियो । त्यतिन्जेलसम्मको समय मेरै नियन्त्रणमा थियो । म बिहान साढे पाँच बजे नै तयार भएर निस्किएँ । खाँदबारीको मूल सडकले जीवन पाईसकेको थियो । म हाट लाग्ने ठाँउ 'टुँडिखेल' को ठेगाना सोद्धै अघि बढेँ । केही कदम हिँडेपछि सडकको देब्रेतिरको एउटा चिया पसलमा उल्लेखनीय चहलपहल देखियो । म सरासर चिया पसलमा पसेँ । 'भुक भुक' गर्दै ठूलो भाँडोमा दूध उम्लिरहेको थियो । छेउमा माग अनुसारको चिया पाकिरहेको थियो ।

"ए ! भाइ यो दूध पाउडरको हो ?"

जीवनमा पहिलोपटक खाँदबारी टेकेको साँझमा मैले आम नेपालीकै लागि एक चिन्तित हुनुपर्ने विषय फेला पारेको थिएँ । हाम्रो भ्रमण कार्यक्रमको मूल आयोजक 'स्वतन्त्र उर्जा उत्पादक सँस्था' का पदाधिकारी बसेको र  हामी सबैको लागि भोजनको व्यवस्था गरिएको होटलमा यो नमिठो यथार्थ सतहमा आएको थियो । मैले चिनी नभएको दूधको चिया मगाएँ । तर चिया अलि अलि गुलियो थियो ।

"ए भाइ ! मैले त चिनी नराख्नु भनेको थिएँ नि त ?"

"सर ! यो चियामा चिनी राखेकै छैन । हामी पाउडरको दूध चलाउँछौ । यसैले सरलाई गुलियो लागेको होला ।" चिया ल्याउने भाईले उसको प्रत्युत्तरलाई जबर्जस्ती स्वभावजन्य बनाउँदै भनेको थियो ।

सँखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा पनि पाउडरको दूधको चिया खानु पर्ने । चियाले मलाई तताएन, चिस्यायो । केही महिनाअघि लमजुङ्को बेँसीशहरको होटेलमा कागती नपाईएको र बन्दिपुरमा सुन्तलाको ताजा जुस नपाएको अनुभूति आलो भएर आयो । थरीथरीका विचार आउन थाले । पाटन साउथ रोटरी क्लबको एक बैठकमा कृषी क्षेत्रका नामी उद्धमी एवँ क्लबका पूर्व अध्यक्ष सन्तोष कुँवरले एक रोचक तथ्य भन्नु भएको थियो ।

"नेपालमा हामी बाघ भालुको सँरक्षणमा बाक्लै लागेका छौ । तर यहाँ त अहिले अर्कै आठौँ आश्चर्य छ । दूध जस्तो अत्यावश्यक खाद्यवस्तु दिने गाईभैसी पो लोप भैरहेका छन ।" 

खाँदबारीको पाउडर दूधको चियाले मलाई सन्तोष कुँवरको अभिव्यक्ति चरितार्थ भएको लागेको थियो । त्यसकारण यो तथ्यलाई निर्क्यौल गर्ने ध्येयले मैले चिया पसलमा सिधै ठाडो पाराले सोधेको थिएँ ।

"कहाँ हुनु सर ! यो त एकछिन अघि गाँउबाट ल्याएको भैँसीकै दूध हो ।" चिया पकाईरहेको अधवैसेले भन्यो । चिया पसलका सँचालक र काम गर्ने सबै मधेसी मूलका थिए ।  

"पक्का हो त ।" मैले खेरेँ ।

"पक्का हो । शँका नमाने हुन्छ । खाँदबारीमा पनि पाउडर दूध हो ? भनेर सोध्नु पर्ने कस्ता दिन आए नि ।" अहिले भने ग्राहक बस्ने बेन्चमा बसेर चियाको चुस्की लिईरहेको महिला बोलिन ।

नेपालमा अहिलेसम्म जोगिएर रहेको सँस्कृतिमध्ये यो एउटा हो । आत्मकेन्द्रित पटक्कै नहुने । नचिनेका नजानेका मान्छेको हुलमा पनि भै-परिआएको परिवेशमा आफ्नो कुरा स्वभाविक भएर राख्न आँट गर्ने । मैले मेरो ध्यान महिला र उनी सँगै चियापान गरिरहेका पुरुषतर्फ मोडे । साहजीलाई एक कप चियाको अर्डर गरेँ ।

"कहाँ पर्यो त नि हजुरहरुको घर ?"

"ईलाम हो ।"

"लौ जा ! मावली पर्नु भयो । अब आज मैले चियाको पैसा तिर्नु नपर्ने भो ।"

मेरो बोलीले भुँई नछुँदै चिया पसलका केही ग्राहकको ध्यान चुम्बकले झै तान्यो । "पैसा नतिर्ने कुरो" सुन्ने जति सबै मजैले हाँसे ।

"झोलिका देउतालाई चिया त के घरै लगेर मेजमान गरौला नि ।" ईलामे मामाले पुर्वेली भाका टिपे ।

"हुन्छ नि । अनि ईलामको मान्छे खाँदबारी के कामले आउनु भयो त ?"

"मेरो माइती चैनपुर हो नि ।" अहिले भने माइतीघरको मोहले महिलालाई जगायो । कुरो स्पष्ट थियो । उनीहरु दम्पती थिए ।

"ए अचम्म, चैनपुरकी चेलीले त्यत्रो टाढाका हाम्रा मामालाई झुक्याउने आँट कसरी गरिछन त ?"

मेरो यो उद्गारले राम्रै बजार पायो । अब रेष्टुरेन्टमा हाम्रो बोलीले अन्य आवाजहरुलाई सर्ल्लक्कै निलेको थियो । 

"देखेको हैन लेखेको हुन्छ भनेको यहि हो नि त भान्जा बाबु ।"

साईनोको जुईनो कसिन माईजुले । उनी के कम, माईती गाँउमा पनि फूर्तिफार्ति नगर्ने को पो चेली होला र ? "माइतीको कुकुर पनि प्यारो" भन्ने त उखानै छ ।  

"हजुरको चै घर कहाँ हो ?"

"जन्म पाँचथरको स्याब्रुम्बा, हुर्केको मोरङ्को उर्लावारीमा अहिले काठमाण्डौको कोटेश्वरमा छोराछोरीको घरमा बस्छु ।"    

हिजोआज मलाई यस्तो 'तीन ठामे' ठेगाना  दिँदा रमाईलो लाग्छ । मेरो कामको बारेमा पनि उनीहरुले सोधे । हामी एक छिन गफमा डुब्यौँ । म भैँसीको दूधको चियाको मजा लिँदै थिएँ । कतै सुनेको सम्झिएँ ।

"मोमो खायो भने गोठ मासिने कृयाकलापमा सहयोग पुग्छ । खीर खायो वा दूध पियो भने गोठ सप्रिने ।"

हुन पनि अहिले भोज भतेरमा पनि मदिराजन्य पेय पदार्थ र माँशाहारी परिकारले अड्डा जमाउन थालेको छ । सेल रोटी, खीर, ढकने र सिकर्नी जस्ता हाम्रा मौलिक परिकार पनि सन्तोष कुँवरले घरपालुवा जनावर लोप हुन थाले भने जस्तै हराउन थालेका छन ।    

आखिर छुट्टिने बेला भयो ।

"वहाँ सरको चियाको पैसा म दिन्छु ।"

मामाले साहुजीलाई ईशारा गरे ।

"पर्दैन, पर्दैन । मैले त रमाईलो पो गरेको ।"

मेरा क्षणभरमा नै नाता लागेका मामा र माईजु बाहिरिए । मेरो चिया सकिए पछि मैले चियाको मोल तिर्ने जमर्को गरेँ । साहुजी अटेसमटेस गरेनन । आखिर उस्को पनि त व्यपार-धर्मको कुरो थियो ।  

मेरो शीर फेरि एक पटक नुहियो । नेपाली हुनु र आफ्नै भूगोलमा चर्नुको मजा यही छ । अहिले म अमेरिका वा अष्ट्रेलियमा भएको भए यसरी अपरिचितसँग तुरुन्त कुनै नाता जोडेर उनकै आतिथ्य सत्कार पाउनु भनेको शायद आकाश खस्नु बराबर हो । विदेशमा भएका मेरा समकक्षी मित्रहरु भन्दा मलाई केही दु:ख अवश्यै बढी होला । तर हरेक बस्ती बस्तीमा भेटिएका प्रत्येक नेपालीसँग भेटिने यो आत्मियताको खजाना अमूल्य छ । यो स्वर्गिय आनन्दको अघि वाँकी सुखहरु सबै तपसिलका भएका छन । मेरा अभिन्न मित्र सूर्यमान शाक्यले भनेको सँझिन्छु ।

"विदेशमा एक थोक मात्र राम्रो छ, अरु केही पनि राम्रो छैन । त्यो एक थोक हो,  पैसा । नेपालमा त्यो एक थोक चैँ राम्रो छैन तर अरु सबै थोक राम्रो छ ।"  

हाटमा पुग्दा बिक्रेता र सामान ओसार्नेको बाहुल्यता भेटियो । खरिद गर्ने खासै थिएनन । कोही माटो मिलाउँदै थिए । कोही घोचा गाड्दै थिए । केहि हिजो बेलुका परेको पानीले बनाएका स- साना दह पन्छाउँदै थिए । 

जापानको कानागावा प्रिफेक्चरको हायामा भन्ने ठाउँमा  भरेको हाटको प्रसँग ताजा भएर आयो । तीन चोटीसम्म खराब मौसमका कारण हाट सरेको थियो । चिसो मौसममा वर्षा भयो भने हाट लाग्न असम्भव प्राय: हुन्छ । हाट लाग्नको लागि खुला ठाउँ र राम्रो मौसम पूर्व शर्तहरु हुन । तेस्रो पक्ष भनेको सँस्कृति हो । हाटबजारको आवश्यकता बुझेर यो ठाँउमा यो बार या यो तिथिमा कसैले सुरु गर्नु पर्छ । अनि कसैले सुरु गरेको राम्रो ठानेर अरुले निरन्तरता दिनु पर्छ । मेरो स्याब्रुम्बाले यासोकमा भर्ने हाट औसी पूर्णिमामा लाग्थ्यो । 'हाट जाने' भने पछि उम्रेदखि खुम्रेसम्म आफ्नो दिनचर्यालाई थाती राखेर भए पनि हुरुक्क हुन्थे । नेपालमा हाट लाग्नको लागि बर्षको नौ महिना मौसम सफा हुनु एउटा कारण हो । जापानमा बर्षातको ठेगान हुँदैन । तर पश्चिम नेपालमा पनि पूर्वको जस्तै मौसम हुने भएता पनि यो 'हाट सँस्कृति' को विकास नभएको पाईन्छ ।  

हाटमा बेच्न राखिएका सुन्तला मेरा लागि प्रमुख आकर्षणका केन्द्र थिए । भाग लगाएर बेच्न राखिएका सुन्तलामा ध्यान गयो । चार दानाको जग बनाएर ती माथि तीन दाना खप्टेर पिरामिड आकारका भागहरु लोभलाग्दा थिए । सुन्तला बेच्ने एक युवा थिए ।   

"कति दाम हो भाइ सुन्तलाको ?"

"भागको सय रुपैयाँ हो ।"

"किलोको हिसाबले लिन मिल्दैन ।"

"मिल्दैन । यहाँ त भागको हिसाबले बिक्रि हुन्छ ।"

मेरो कुरा र सोधाईले शायद युवा व्यापारीले 'यो ग्राहक खाँदबारीको रैथाने होईन" भन्ने ठहराए होला । मैले केही मोलमोलाई गर्ने सुर झिकेँ ।

"भागको नब्बेमा देउ न भाइ ।"

"हुँदैन । भागको सय नै पर्छ ।"

"उसो भए भागमा एक दाना थपि देउन ।"

"त्यो पनि हुँदैन ।"

मैले तीन भाग लिएँ । कर गरेर एक दाना चै थप्न लगाएँ । मेरो 'दुब्लाएको माग' भने पुरा भयो । दिउँसो जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन विषयमा मेरो प्रस्तुति थियो । भारतको एक कम्पनीको लगानी मा अरुण नदीमा बाँध बाँधेर ९०० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढेको विषयलाई मेरो प्रस्तुतीमा मैले सुन्तलाको किनबेच सँग जोडेँ ।

"सुन्तलाको खरिदमा युवा व्यापारीको भाग विक्रि पद्धति मैले स्वीकार्नु पर्यो । 'किलोको हिसाब' ले मात्र किन्छु भन्ने अडान राखेको भए हाम्रो किनबेचको मिलन बिन्दु फेला पर्ने थिएन । उनको मन जितेर मैले एक दाना सुन्तला भए पनि थप पाएँ । त्यसैगरी प्रवर्तक कम्पनी र स्थानीयको बीचमा मन जित्ने समझदारी भएमा जलविद्युत आयोजना निर्माण कार्य समयमा सकिन्छ । एउटाले अर्कोको पद्धतिको आदर नगर्दा र आआफ्नै अडानमा बस्दा व्यवधान उत्पन्न हुन सक्छ ।"

मैले हाटमा बयरको धुलो, कैलो तिल, टिमुर र लहरामा फल्ने सानो टमाटर किने । सानो टमाटरको चटनी भने पछि म हुरुक्कै हुन्छु । पाकेका टमाटरको सिलौटामा काँचै पिँधेको चटनी छ भने मलाई अरु सितन नभए पनि हुन्छ । मेरो दिवगँत पिताश्रीलाई पनि यो परिकार औधी मन  पर्थ्यो ।

भोलिपल्ट खाँदबारीबाट हिँड्नु अघि म झोला किन्न गएँ । पसलमा एक अधवैसे महिला थिईन ।

"दिनको पचास हजार सम्मको बिक्रि त हुँदो हो ।" मैले उनको मनशाय बुझ्न शब्दको पासो फ्याँके ।

"कहाँ हुनु । पाँच हजारको भयो भने भाग्य ।"

उनले बिक्रि राम्रो नहुनुका दुई कारण दिईन-लामो दुरी तय गरेर आउने ग्राहक घटे र पोके ब्यपारीहरुले सस्तोमा हाटमा सामान बेच्न थाले । नेपालमा नाम मात्रको सरकार हुनुको पीडा यही छ । ती बिक्रेता जस्तै स-साना व्यपारीलाई सहयोग हुने गरी कुनै नीतिगत परिवर्तन ल्याउन सके कति राम्रो हुने थियो । 

फर्कने क्रममा विमानस्थलको द्वारमा सवा खोलाको एक पेरुङ्गो सुकुटी माछा, एक पोको कागती र एक मुठो साग किने । कागती किन्दा पनि रमाईलो भयो ।

"कति हो एक पोको कागतीको ?"

"दुई सय ।"

"एक सय पचासमा दिनुन ।"

"मेरो हैन । यो कागतीको मालिक्नीले मलाई बेच्न जिम्मा दिएर गएकी छिन । दुई सयमा एक रुपैया पनि कम नगरिदिनु भनेकी छन् ।"

"उसो भए दुई दाना थपि दिनु न त ?"

"पोका पोका पारेका छन । एक जनालाई थपेपछि अर्को पोकाको हिसाबै मिल्दैन नि ।"

उनले 'चट्टान' जस्तो नपग्लिने,  प्लास्टिक जस्तो नबाँङ्गिने ब्यपार पद्धति बनाएकी रहिछन । मलाई सकस भयो ।

"उसो भए यो पोकाका दुईवटा साना कागती अर्को पोकाको अलि ठूलासँग साट्छु ।"

साहुनी मौन बसिन । मेरो जित भयो । मैले कागती किने ।  

अहिले तुम्लिङ्टारको मनकामना मन्दिर पर्यटक र तिर्थालुलाई मुख्य आकर्षण केन्द्र बनेको रहेछ । हामीले विमानस्थल पुग्नु अघि मन्दिरको दर्शन गरेका थियौँ । दर्शन गर्न जाँदा पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, आयोजक सँस्थाका अध्यक्ष शैलेन्द्र गुरागाई र म एउटै गाडीमा थियौँ ।  खेम गुरुङले गाएको अत्यन्तै चर्चित गीत "वारी जमुना पारी जमुना" को प्रसँग चल्यो ।

"जमुना भनेर अरुण नदीलाई भनिएको होला ।"

मैले मनकामना मन्दिर परिसरमा भेटिएका स्थानीयलाई सोधेँ । उनीहरुको व्याख्या हाम्रो अनुमान भन्दा फरक थियो ।

"मनकामनाको अहिलेको यो मन्दिर पहिला अरुणको किनारमा थियो । त्यहाँ एउटा जमुनाको रुख थियो । नदी पारी पनि जमुनाको ठूलो रुख थियो । खेमले गीतमा यिनै दुई जमुनाका रुखलाई जोडेका हुन ।"

मलाई भने खेमको गीतका अन्य दुई हरफले ध्यानाकर्षण गरे ।

एकादशी बजारैमा फन्के रोटी थालमा

कसको छोरा कसको छोरी पर्यो माया जालमा  

एकादशीमा लाग्ने हाटमा पाईने फन्के रोटीको मजा लिँदै 'माया जाल' मा कति तन्नेरी र तरुनीहरु परे होला । मैले खाँदबारीमा भेटेका मामा र माईजुले पनि कुनै हाट बजारमा नै 'पिरतीको डोरी' बुनेका थिए होला । नभए चैनपुरले ईलामलाई कसरी सजिलै भेट्न सक्छ र ?

"फेरि भेट भए यही कुरा जोडेर अर्को एक कप चिया जुराउने थिएँ ।"

मैले मन मनमा कल्पना गरेँ । तर अफसोच ! त्यो दिन शायद यो जुनीमा फेरि आँउदैन होला ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

  • थरिथरीका समाचार चोर ! नियमन र कारबाही कसले गर्ने ?

    म पत्रकारिताको विद्यार्थी । पत्रकारिता पढ्न मैले सात वर्ष खर्चिसकेको छु । मैले सात वर्षमा सिकेका कुरालाई तिखार्ने थालेको रुपमा उज्यालो रेडियो नेटवर्क पाएको छु ।

  • मुसाले टोक्यो, के गर्ने ? के रेबिज रोग लाग्छ ?

    मुसाले टोके स्ट्रेप्तोब्यसिलरी र स्पाईरिलम गरी दुइ प्रकारका ब्याक्टेरियाको संक्रमणको उच्च जोखिम हुन सक्छ । यी ब्याक्टेरियाहरु संक्रमित मुसाले टोके वा चिथरे मात्र पनि मानिसमा सर्न सक्छ । यसलाई समग्रमा र्याट बाइट फिवर भनेर बुझ्ने गरिन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया