MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

बुच्चेकोट लगाएर दरबारमा

पुस्तक अंश

राधाकृष्ण मैनाली -

त्यस बेला (०४६ सालको जनआन्दोलन भइरहेको बेला) राजदरबारमा जान अनिवार्य दौरा–सुरूवाल लगाउनपर्ने रहेछ । वार्तामा म सहभागी हुने निश्चित भएपछि कृष्णप्रसाद भट्टराईले आरकेजी दौरा–सुरूवाल लगाउनुपर्छ है भनेका थिए । दौरा–सुरूवाल लगाउनुपर्ने भएपछि सेनाकै गाडीले मलाई पाटनको मेरो कोठामा पुर्‍यायो ।

मसँग वीरगन्ज जेलभित्र सिलाएको एकजोर पुरानो दौरा–सुरूवाल र वीरगन्ज जेलमै छँदा द्रोणाचार्य क्षत्रीले किनिदिएको छोटो बुचेकोट थियो । त्यही पहिरिएँ । यसपछि पुनः वीर अस्पतालमै फर्किएँ । अस्पतालबाट हामी चारैजना गणेशमान सिंहसँग बिदा मागेर दरबारतिर लाग्यौं । यति बेला रातको ९ बजिसकेको थियो । सडक सुनसान थियो, रात परेकाले मात्र होइन कफ्र्यू लागेकाले । 

तर, हामी चढेको सैन्य गाडी राजदरबारतिर होइन बालुवाटारतर्फ बत्तासियो । बालुवाटारमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीत्रय पशुपतिशमशेर जबरा, नैनबहादुर स्वाँर र अच्युतराज रेग्मी बसिरहेका रहेछन् । बिहान वाममोर्चा बैठक र वीर अस्पतालको कांग्रेस–वाममोर्चाको वार्तामा झुल्किएका व्यक्ति त मन्त्री अच्युतराज रहेछन् भन्ने मैले बालुवाटार पुगेपछि मात्र थाहा पाएँ । दरबारले वामपन्थीहरूसँग कुरा गर्न पशुपतिशमशेर र कांग्रेससँग कुरा गर्न अच्युतराजलाई खटाएको रहेछ । त्यसैले उनी वामपन्थीको चियो गर्न लैनचौर र राजदरबारको चिठी लिएर अस्पतालमा गणेशमानलाई भेट्न पुगेका रहेछन् । 

हामीलाई प्रधानमन्त्री निवास बालुवाटारको क्याबिनेट रुममा राखियो । रूमकै एक छेउमा प्रधानमन्त्री चन्द र कृष्णप्रसाद भट्टराईबीच केही क्षण ऐकान्तिक कुराकानी भयो । प्रधानमन्त्रीले कृष्णप्रसादसमक्ष पञ्चायत विघटन गर्ने कुरा राजामा जाहेर नगर्न आग्रह गरे । जवाफमा कृष्णप्रसादले औपचारिकताका लागि मात्र पञ्चायत विघटनको विषय उठाउने बताए । भर्खरै जेलबाट छुटेको युवा, पञ्चायतप्रतिको वितृष्णा, वीर अस्पतालमा गणेशमान सिंहसँग भएको निष्कर्ष र बुर्जुवा शिष्टताको कम प्रभावजस्ता कारणले म उनीहरूको कुरा कान थापेर सुनिरहेको थिएँ । संवाद चलिरहेको स्थानमा चाहिँ गइनँ । उनीहरू दुईबीचको खुसामत बुझेपछि मैले सहानालाई भनें, “लौ अब बित्यो । राजदरबारमा भट्टराईले अडान राख्दैनन् । तपाईं र मैले नै सशक्त रुपमा कुरा राख्नुपर्छ ।” सहानाले सहमति जनाइन् । यसपछि हामीलाई अलग–अलग गाडीमा राखेर राजदरबार लगियो । 

राजदरबार पुगेपछि मंगल सदनको बरन्डामा एक छिन बसाएपछि मात्र राजा बसेको भित्री हलमा पुर्‍याइयो । सरकारका तर्फबाट प्रधानमन्त्री चन्द र तीनजना मन्त्री पशुपतिशमशेर, अच्युतराज र नैनबहादुर स्वाँर थिए । हामीभन्दा पहिले नै उनीहरूलाई भित्र लगिएको थियो । हामीलाई मंगल सदनभित्र बोलाउँदा राजा वीरेन्द्र सोफामा बसिरहेका थिए । प्रधानमन्त्री चन्दसहित मन्त्रीहरू भने राजाको देब्रेपट्टि लहरै उभिएका थिए । आन्दोलनकारीका तर्फबाट गएका हामी चारजनालाई दाहिनेपट्टि एक लाइनको कुर्सीमा बसाइयो । 

हामीले राजा वीरेन्द्रसँग चैत २६ गते राति १० देखि ११ बजेसम्म छलफल गर्‍यौं । आन्दोलनकारीका तर्फबाट पहिला कृष्णप्रसाद बोले, “सरकार निर्दलीय पञ्चायती व्यवस्थाको शासन लामो भइसक्यो । यसले जनताका इच्छा, आकांक्षाहरूलाई धेरै दमन गर्‍यो । पञ्चायत विघटन गरी बहुदलीय व्यवस्था घोषणा गरिबक्सनुपर्‍यो ।” गणेशमानको कडा निर्देशनका कारण कृष्णप्रसादले यी कुराहरू राखे । त्यसपछि सहानाले कुरा राखिन्, 

“सरकार, पञ्चायतको पूर्ण विघटन जनताको माग बनेको छ । यो माग पूर्ण रुपमा सम्बोधन हुनुपर्छ ।’ यसपछि मेरो पालो आयो । मैले पनि सहानाकै कुरा दोहोर्‍याएर थपें, 

“सरकार, पञ्चायती व्यवस्था सम्पूर्ण विघटन नहुने हो भने हामीले आन्दोलन रोक्न आह्वान गरे पनि रोकिँदैन । स्थिति झन् भयावह हुन सक्छ । यसर्थ हाम्रो एकसूत्रीय माग पूर्ण रुपमा पञ्चायतको विघटन हो ।” 

राजाले प्रस्ताव गरे, “संविधान सुधार कमिटी बनाऊँ, पञ्च, कांग्रेस र वामपन्थीलाई मिलाएर मन्त्रिपरिषद् बनाऊँ ।” हामीले सुधार कमिटी होइन संविधान आयोग बनाउनुपर्ने र बहुदल पक्षधरको मात्र मन्त्रिपरिषद् बनाउनुपर्ने अडान राख्यौं । त्यस बेला राजासँग बोल्दा उठेर बोल्नुपर्ने रहेछ । सहानाले दुईपटक उठेर आफ्ना कुरा राखिन् । मैले तीनपटक राखें । वार्ता प्रक्रियाभर गिरिजाप्रसाद एक शब्द पनि बोलेनन् । कृष्णप्रसादले सुरूमा कुरा राखेपछि आफ्ना मागप्रति अडान दोहो¥याएनन् । त्यसपछि राजाले गोजीबाट एउटा सानो कागज निकालेर पढे, “पञ्चायती संविधानबाट निर्दलीयता हटाएर पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिबक्सेका छौं ।” त्यो सानो चिर्कटोमा राष्ट्रिय पञ्चायत, जिल्ला÷नगर पञ्चायत र जनवर्गीय संगठनहरूबारे केही उल्लेख थिएन । “मलाई आएको बिफ्रिङअनुसार यसैमा हाम्रो सहमति भएको छ,” राजाले वार्ताको बिट मारे ।

राजा वीरेन्द्रको यो घोषणा सहाना प्रधानले बिहान पद्मरत्न निवासको वाममोर्चा बैठकमा कृष्णप्रसाद भट्टराईले दिएको भनेर सुनाएको चिटसँग हुबहु मिल्यो । त्यस दिन बिहान कृष्णप्रसाद, गिरिजाप्रसाद र दरबारका प्रतिनिधि अच्युतराजबीच राजाले भनेअनुसारकै सहमति भएको रहेछ । 

सम्पूर्ण पञ्चायती संयन्त्र पूर्ण विघटनको विषय हामी वाम प्रतिनिधिले गम्भीरतापूर्वक प्रस्तुत गरे पनि कांग्रेस–दरबारबीच पहिल्यै भइसकेको भित्री सहमतिभन्दा राजाको घोषणा अगाडि बढेन । वीर अस्पतालमा वामपन्थी र गणेशमानबीच वार्ता भएपछि स्थिति केही बदलिएको थियो । त्यस कुराको जानकारीसमेत राजाले पाइसकेका रहेछन् । वामपन्थी र गणेशमानको जोडबलमा राजासमक्ष पञ्चायत विघटनको माग उठाउन सकिए पनि पूरा हुने÷नहुनेमा पुनः संयुक्त आन्दोलनमा भर गर्नुपर्ने भयो । त्यही आशयको वक्तब्य दिँदै हामी राति ११ः१५ बजे राजदरबारबाट बाहिरियौं।

मैले मंगलसदनकै बरन्डामा राजनीतिक पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्कालै फुकुवा गर्ने वार्ताको निष्कर्ष सञ्चार माध्यमलाई सुनाएँ । राष्ट्रिय जनआन्दोलनले दलीय प्रतिबन्ध हटाएको र निर्दलीयताको सम्पूर्ण संरचना अन्त्यका लागि अर्को तहको आन्दोलन जारी राख्नुपर्ने कुरा राखें । बैठकमा राजा वीरेन्द्रले दलहरूले जुनसुकै ठाउँमा राजनीतिक गतिविधि गर्न पाउने व्याख्या गरेका थिए । राजाबाट दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा भए पनि डेरा फर्कंदा सहरमा कफ्र्यु लागिरहेकै थियो । सेनाले स्कर्टिङ गरेर हामीलाई आ–आफ्नो निवासमा पु¥यायो । दलमाथिको प्रतिबन्ध हटाउने शाही घोषणा भएपछि मध्यरातमा मात्रै कफ्र्यु हटाइयो ।

एकाबिहानै सडक ढाकेको त्यो दिन चैत २७ बिहान ४ बजेदेखि नै हजारौं मानिसहरू कम्युनिस्ट, कांग्रेसका झन्डा लिएर स्वतस्फूर्त रुपमा सडकमा उर्लिए । झन्डा पनि एकै ठाउँमा बनाएर बन्न सक्ने अवस्था थिएन । कसैको हातमा सियोले आफैं सिलाएर बनाएका झन्डा थिए भने कसैले कागज काटेर झन्डाकार दिएका थिए । हाते सीपबाट बनाइएका चार तारा र हँसिया–हथौडा कुँदिएका राताम्य झन्डा कम्ती राम्रा देखिएका थिएनन् । आन्दोलनकारी र जनताले रातभरि आ–आफ्नै सीपअनुसार झन्डा खिपेछन् । कांग्रेसका झन्डा कम्युनिस्टको तुलनामा थोरै थिए तर ठूल्ठूला । जसले गर्दा कांग्रेसका झन्डा धेरै भएको भ्रमसमेत प¥यो । अझै परिरहेको छ । कम्युनिस्टहरूले कपडा बचाउन साना आकारका तर थुप्रै झन्डा बनाएका थिए । 

बिहानैदेखि सडकमा जनताको ओइरो देखेर म आफू पनि अचम्मित भएँ । किनभने मध्यरातमा भएको दलीय प्रतिबन्ध फुकुवाको घोषणा धेरैलाई जानकारी छैन भन्ने मेरो बुझाइ थियो । पार्टीहरूले अघिल्लो दिउँसै केही संकेत गर्नुबाहेक रातिको सहमति औपचारिक रुपमा सार्वजनिक गर्ने समय पाएकै थिएनन् । तर एकाबिहानैदेखि काठमाडौं उपत्यकाका सबै सडकहरू विजय मुद्रामा रमाउन थालेका थिए । जुलुसले छपक्कै ढाकेको थियो, उपत्यकाभरिका सडक, चोक र गल्लीहरू । 

सडकभर स्वतन्त्रताका खुसीहरू पोखिरहँदा उक्त बिहान हामी संयुक्त वाममोर्चा घटकका प्रतिनिधिहरू सानेपास्थित सहाना प्रधानको घरमा उपस्थित भयौं । त्यति बेलासम्म लोकेन्द्रबहादुर चन्द नै प्रधानमन्त्री थिए । हामीबीच उनको नेतृत्वमा मन्त्रिपरिषद्मा सहभागी नहुने सहमति भयो । नयाँ मन्त्रिपरिषद् गठन हुने भए मात्र सहभागी हुने सहमति बन्यो । सहानाले मलाई सुटुक्क “अब बन्ने नयाँ मन्त्रिमण्डलमा तिमी पनि जानुपर्छ है” भनिन् । म बोलिनँ । किनभने पार्टीले गर्ने निर्णय मेरा लागि शिरोधार्य थियो । सहानाको घरमा छलफल सकिएपछि ८ बजेतिर पाटनस्थित डेरातिर लागें । पाटन पुग्ने सडक पूरै जुलुसले भरिएको थियो । रेडियोले अघिल्लो दिन भएको दलमाथिको प्रतिबन्धको खारेजी र वार्तामा गएका आन्दोलनकारीहरूको टिप्पणी भोलिपल्ट पनि फुकेको फुक्यै थियो । रेडियोमा मेरो अन्तर्वार्ता पनि बजेको थियो । तर, मेरो परिचय खुलाइएको थिएन । राजनीतिज्ञ मात्रै भनिएको थियो । झापामा रहेकी मेरी श्रीमतीले रेडियोमा बजेको मेरो स्वर खुट्याइछिन् र गाउँभरि खबर फैलिएछ ।  

(पत्रकारद्धय माधव बस्नेत र मनबहादुर बस्नेतद्धारा सम्पादित राधाकृष्ण मैनाली लिखित संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासबाट । यो पुस्तक अल्केमी पब्लिकेसन्सले प्रकाशित गरेको हो र भोलि २९ गते शनिबार २ बजे प्रज्ञा भवन कमलादीमा विमोचन हुनेछ ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • किन हार्यो कांग्रेसले ?

    तर यसपटकको चुनावको जुन नतिजा आएको छ त्यो नेपाली कांग्रेसको दुर्भाग्य हो । नेतृत्व तहमा बस्नेले अरुको कुरा सुन्नुपर्छ भनेर कानमा कपास कोचेपछि हामी जस्ता प्रजातन्त्रको शुभेच्छक सामान्य व्यक्ति (जसलाई भुसुनाको रुपमा हेर्ने चलन छ ) राम राम भन्नु बाहेक अरु के पो गर्न सकिदो रहेछ र ?

  • चुनावका लागि दिइने चन्दाले देशलाई पार्ने दीर्घकालीन असर

    अहिले राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी चन्दा उठाइरहेका छन् र त्यस्तो चन्दाको स्रोत उद्योगी व्यवसायीलाई बनाइरहेका छन् । चन्दा दिनेले पनि आफ्नो घर घरनाबाट दिने त होइन, आफ्नो बाउ बाजेको सम्पत्ति बेचेर त कसैले पनि दिँदैनन् ।

  • स्थानीय तहभन्दा किन १० प्रतिशत कम भोट खस्यो ?

    आइतबार पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा स्थानीय तहमा खसेको भन्दा कम मत खसेको छ । स्थानीय तहको चुनावमा झण्डै ७५ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा ६५ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया