MENU

साहित्य/ कला

Ncell Axiata
USAID

दिनभरमा एउटा कथा पढ्ने फुर्सद कसलाई छ ?

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, फागुन १ – हजार दुई हजार शब्द भन्दा पनि लामा लामा कथा पढ्दा पाठकहरु वाक्क भइसकेका थिए । घन्टौं लागेर कथा पढ्यो निष्कर्ष चाहिँ केही न केही । दैत्य र देवताका लडाईं, घुमाउरा कुरा, अनावश्यक शब्दको बोझ भएको भन्दै एकथरी साहित्यकारले नेपालमा लघु कथाको प्रारम्भ गरे । 

लामा लामा कथाको विकल्पमा छोटो आयामको पूर्ण कथाको रुपमा लघुकथाको प्रारम्भ भएको पाइन्छ । लघुकथालाई धेरैजनाले कथाको आंशिक रुप भनेर बुझ्छन तर लघुकथा आफैमा पूर्ण हुने हुनाले साहित्यमा यसको भिन्दै महत्व छ । अन्तर्राष्ट्रिय साहित्यमा भन्दा भिन्दै अझ नेपाली लघुकथाको त आफ्नै २ सय ५० शब्दको आफ्नै मापदण्ड पनि भएकाले लघुकथा नेपाली आख्यानको एउटा भेदको रुपमा रहेको छ । 

‘१ सय ५० शब्दको वा ३ सय शब्दको भयो भने लघुकथा नै हुन्न भन्ने होइन, नेपाली लघुकथा लेखनको मानक भनेकै २ सय ५० शब्दको कथा हो’ लघुकथा समाजका अध्यक्ष तथा लघुकथाकार श्रीओम श्रेष्ठ रोदन भन्नुहुन्छ, ‘क्यामेराबाट हेदा विशाल दृष्य हेर्दा सानो तर जस्ताको त्यस्तै देखिएजस्तै लघुकथामा पनि ठूलो संसार अटाउन सक्छ ।’

हिन्दी साहित्यमा लघुकथाको निकै लामो इतिहास भएपनि नेपालमा भने संग्रहकै रुपमा २००७ सालमा पूर्णप्रसाद ब्राह्मणको लघुकथा झिल्को प्रकासनपछिको समय नै मुख्य मानिन्छ  । लघुकथा लेखन संस्कृति बढ्दै गएपछि लघुकथाबारेका गतिविधी बढ्दै गए । सर्जकको संख्या थपिँदै गयो, लघुकथा संग्रहको संख्या पनि बढ्न थाल्यो ।

लघुकथा लेख्नेहरुको उत्साह र पाठकको आकर्षणपछि २०५३ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पहिलोपटक झापामा लघुकथा सम्बन्धी गोष्ठी ग¥यो र पहिलोपटक नै कार्यपत्र प्रस्तुत गरियो । गोष्ठीका संयोजक रमेश विकलले लघुकथा वाचन गर्न आउने सबैजनालाई बढीमा ३ सय शब्दको मात्रै वाचन गर्न अनुमति दिनुभएको थियो । २०५४ सालमा रेयुकाइ नेपालसँग मिलेर लघुकथाकार श्रीओम श्रेष्ठ रोदनको पहलमा पहिलोपटक राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगिता भयो, जहाँ बढिमा २ सय शब्दका कथा वाचन गर्न पाउने नियम बनाइएको थियो ।

लघुकथा लेखन चम्कँदै गएपछि  २०६४ सालमा रोदनकै अग्रसरतामा नेपाल लघुकथा समाजको परिकल्पना भयो । २०६५ सालमा त आधिकारिक रुपमा सरकारमा दर्ता भएर विधागत उन्नयनको लागि नेपाल लघुकथा समाज नै गठन भयो । लघुकथा नेपाली होइन, हिन्दीबाट आएको हो भन्नेहरुलाई समाजले विभिन्न प्रकाशनमार्फत र कार्यक्रम मार्फत जवाफ  दिइरहेको छ ।

तर अहिले पनि लघुकथा नै किन चाहियो र भन्नेहरु छन् । उनीहरुलाई लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन भन्नुहुन्छ, ‘अहिले संसारका कुनै पनि मानिसलाई फुर्सद छैन्, दिनभरीमा एउटा कथा पढेर बस्ने समय छैन, छोटो समयमा धेरै कुरा समेटिएको लघुकथा नै अहिले चर्चामा छ ।’

लघुकथाको यतिधेरै महत्व भएपनि बेलाबेलामा विभिन्न गोष्ठी सेमिनार र सामान्य प्रतियोगिता बाहेक यसको बारेमा ठूलो अध्ययन अनुसन्धान भने भएको छैन । लामो इतिहास भएपनि कुनै साहित्यकार वा समालोचकले यसबारे अध्ययन अनुसन्धान गरेनन् । अरु त परैको कुरा खास परिभाषा स्थापित गर्न सकिएन भनेर निकै चिन्ता भएको बेला पुष्कर राज भट्टले भने लघुकथाकै बारेमा विद्यावारिधी गर्नुभएको छ ।  अब उहाँले लिखित रुपमा विद्यावारिधीको काम सक्नुभएको छ, अब अन्तवार्ता मात्रै बाँकी छ । 

अरु विधाभन्दा ओझेलमा परेको लघुकथा विधामा किन विद्यावारिधी गर्नुभयो त भन्ने प्रश्नका पुष्करराज भट्ट भन्नुहुन्छ, ‘विद्युतीय सञ्चारमाध्यम र पत्रपत्रिकामा यसले निकै महत्व पाउन थालको छ, अहिलेको अवस्थामा लघुकथाको स्थिती कमजोर छैन्, नेपाली लघुकथाको क्षेत्रमा मात्रै कलम चलाउनेहरु बढेका छन् अनि अन्य क्षेत्रका प्रख्यात साहित्यकार पनि यतातिर आकर्षित भएकोले मैले यसैमा पिएचडी गरेको हो ।’

लघुकथाको खास विशेषता भनेकै शब्दको मापदण्ड र यसमा भएको स्वच्छन्दात्मक आख्यनता हो । लघुकथाको अन्त्यमा प्रकट हुने ब्यंग्य वा विद्रोहललाई यसको मूल विशेषता र सन्देश मानिन्छ । अहिलेसम्म नेपाली लघुकथाले आफ्नो लय र मापदण्ड छाडेको छैन् । त्यसैले अन्य विधामा भन्दा लघुकथामा नयाँ पुस्ताको आकर्षण बढ्दो छ ।

‘नेपाल लघुकथाको भविष्य अत्यन्तै उज्वल देखेर नयाँ विधाका कथाकार पनि यो क्षेत्रमा उल्लेख्य रुपमा आएका छन् चेतनालाई बोकेर सशक्त रचनाहरु आइरहेका छन्’ लघुकथामा विद्यावारिधी गर्दै गरेका पुष्करराज भट्टले उज्यालोसँग भन्नुभयो, ‘लघुकथामा कलम चलाउने स्रष्टाले अब हिनताबोध गर्नुपर्ने अवस्था छैन्,यसको भविष्य सुनौलो छ ।’

 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया