MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

रेडियो– संगत र अनुभव

लक्ष्मण कार्की -

हिउँद यामको घमाइलो दिन । स्कुल छुट्टी थिएछ क्यार । आमाले आँगनमा तातोपानीले खल्याङमल्याङ नुहाइदिँदै हुनुहुन्थ्यो । नुवाइधुवाई निख्रिनै लाग्दा पर बाँसघारीतिरको बाटोबाट गीत घन्केको सुनियो । गीतको आवाज विस्तारै ठुलो हुँदै आयो । एकैछिनमा आगनको पल्लोछेउको तगारो खोलेर बुवा टुप्लुक्क देखिनुभयो ।

उहाँ मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । हातमा थियो टिलिक्कै टल्किने क्यासेटप्लेयर । जसमा घन्किरहेको थियो कुनै लोकगीत । पछि थाहा भयो त्यसको ब्राण्ड जापानीज नेशनल पानासोनिक रहेछ । अनि घन्किरहेको गीत राम थापाको श्वरको थिएछ । 

घरमा त्योभन्दा पहिले रेडियो थियो थिएन सम्झना छैन । ६ वटा ब्याट्रि चाहिने त्यो क्यासेटप्लेयर धेरै समय चाहीँ टिकेन । ब्याट्रि पटक्कै नटिक्ने भएपछि खान्की पुर्‍याउन हम्मे भएपछि बुवाले त्यसलाई बेचिपठाउनुभयो । त्यसलगत्तै घरमा कुन रेडियो आयो सम्झना छैन । तर रेडियो भने टुटेको थिएन । ब्राण्ड भने जापानीजबाट इण्डियनमा घटुवा भएको थियो । फिलिप्स र डेल्टोन ब्राण्डका तीनवटा ब्याट्री लाग्ने रेडियो फेरिइफेरिइ आइरहे । सवैजसोको आङमा कपडाको खोल सिलाइएको हुन्थ्यो । दायाँबाँया मिटर घुमाउन मिल्ने गोलागोला गाँठा अनि खोल्ने मार्ने अलि साना गाँठा हुने ती रेडिया प्राय रातोमाटो पोतिएको भित्तामा गाडिएका बाँसका चोकेमा झुण्डिबसेका हुन्थे । तर कहिलेकाहीँ बाहिरपट्टि दाउराको हारमा, कहिले ढोकामा माला टाँस्न गाडिएका काँटीमा झुण्डिन्थे । 

रेडियो सुन्ने लत यस्तो थियो जाँचका बेला, कामका बेला जतिबेला पनि रेडियोसँगको उठबस हुनैपर्ने । मनपर्ने कार्यक्रम आउने दिन घाँस काट्दा, बारी जोत्दा स्कुल जाँदापनि रेडियो बोकेरै गइयो । 

पढ्नलाई किताब हेर्‍यो कि उङ लाग्ने भएपछि विकल्प रेडियो नै हुन्थ्यो । तर बुवाआमाले थाहा पाए गाली गर्ने हुनाले बच्न गाह्रो थियो । रेडियो नेपालमा राति आउने दिन प्रतिदिन र गीत संगीतका अरु कार्यक्रम सुन्न धेरैपटक आवाज सानो पारेर रेडियोको स्पिकरमै कान टाँसेर सुतियो । कहिलेकाही राति कुनैबेला वा बिहान ब्युझँदा कानमा स्यायायाया आइरहेको हुन्थ्यो । मुण्टो दुखिरहेको हुन्थ्यो, आमाले त्यो थाहा पाउनुहोला भन्ने चिन्ता उस्तै । 

दिन प्रतिदिन, फोनइन, चौतारी, घटना र विचार, परिक्रमा, विज्ञान प्रविधि, साथीसँग मनका कुरा, प्रहरी, शाही नेपाली सैनिक कार्यक्रम, शनिबारको नाटक, फुटबलका प्रत्यक्ष प्रसारण आदि अनि पाण्डव सुनुवार, बासुदेव मुनाल, गोपाल गुरागाई, गोपाल बस्नेत, कृष्णा ताम्राकार, प्रविण गिरी, हरिशरण लामिछाने, नवराज लम्साल, पुरुषोत्तम दाहाल, बबिता बस्नेत, भरत भुर्तेल लगायतका आवाज अहिले पनि मस्तिष्कका कुनै न कुनै कुनामा स्टोरेज छन् । आवाजभन्दा बढी स्याँ स्याँ र सुँ सुँ मात्र गरिबस्ने विविसीको सर्टवेभमा अलिअलि बुझिने मणी राणा, खगेन्द्र नेपाली लगायतको आवाजको जादु अहिले सम्झिँदा पनि मन त्यसैत्यसै पुलकित हुन्छ । वाउ, कस्ता थिए ति आवाज र प्रस्तुति । 

एकपटक नेपाल र श्रीलंका हो कि बंगलादेशको फुटवलको लाइभ आइरहेको थियो । पाण्डव सुनुवारको लाइभ प्रसारणले आँखै अगाडि खेल भइरहेको हो कि जस्तो लाग्थ्यो । नेपाल १ गोलले पछि परेको थियो । एकछिनमा नेपालले गोल गर्ला जस्तो भयो, देवनारायण चौधरीले गरेको लामो थ्रोइङ लिएर मणी शाह अघि बढ्दै थिए पाण्डव दाइको कमेन्ट्रिले उत्साहित बनाएको थियो । गोल गरेर कम्तिमा खेल बराबरी हुन्छ भन्ने चाहना उधुम भइरहेको थियो । अचानक रेडियो बझ्न छोड्यो । यस्तरि पारो तातेछकि जमाएर रेडियोको स्पिकरमा एक बक्सिङ बजाइछु । स्पिकर कुच्चिएर भित्र पुग्यो । रेडियो बज्ने कुरै भएन, लाइभ कहाँबाट आउनु ? बेलुका समाचार सुन्ने बेलामा बुबाले धुइपताल रेडियो खोज्नुभयो । मैले धेरैबेरमा दिउँसो रेडियो कौसीबाट तल खसेको र खस्दा बारको घोचोमा ठोकिएको बहाना बनाएर कुरुप रेडियो दाखिल गरें । 

पछि उज्यालोबाट नेपालको फुटबल लाइभ गर्दापनि मैले पाण्डव दाइहरुको त्यो जिवन्त लाइभ कमेण्ट्री र स्पिकर कुच्चिने गरी मुक्का भेटेको शंखे रेडियोको याद झल्झली भयो । 

अलिपछि १० ब्याण्डको सानो रेडियो आएपछि निकै सुविस्ता भयो । धनकुटाको पाखिंबासमा तालिममा पाएको १८ सय रुपैयामध्ये ४ सय ९० रुपैया हालेर हिलेमा किटिक्क थिच्दा बज्ने सानो चाइनिज रेडियो किनें । फोकाफोका भएको प्लाष्टिकभित्र राखिएको रेडियो गोजीमा हालेर जहाँ जान पनि र जे गर्न पनि ख्याल सजिलो भएन । 

रेडियो धेरै सुनेपनि कुनैदिन रेडियोमै काम गरिएला भन्ने दश मनमा एक मनपनि थिएन । पत्रकार बन्ने भूतले लखेटिरहेपछि रेडियो सगरमाथामा शुल्क बुझाएरै इन्टर्नमा काम शुरु गरियो । २ महिनामा जम्मा एकपटक आफ्नो आवाजमा रिपोर्ट बज्यो । त्यहाँ काम गर्दागर्र्दै कान्तिपुर एफएममा काम थालियो । एकै दिन काम थालेका सातजनाको हाम्रो टोलीमा रुविना, श्रीकृष्ण, दिनेश, किरण जो पहिले नै अरु रेडियोमा समाचार वाचन गरिसकेका साथीहरुले कान्तिपुर डायरी घन्काइसकेका थिए । आफ्नो अत्तोपत्तो थिएन ।

एकदिन अचानक पवन दाइले ल ब्रो र म न्युज पढ्न जाने भन्नुभयो । मलाई अहिले पनि सम्झना छ त्यो सुन्दा मेरो सातोपुत्लो नै उडेको थियो । मैले नजान निकै प्रयास गरें । तर दाइले जानैपर्ने अडानका मुखिन्जी मेरो केही चलेन । म कसरि स्टुडियो पुगें र १२ बजेको डायरी पढें पत्तै भएन । त्यो डेब्यु बुलेटिनमा मैले समाचारको कति ठाउँमा हुर्मत लिएँ होला भन्ने सम्झिँदा चाहीँ अहिले नि रमाइलो लाग्छ । त्यो बुलेटिनको रेकर्ड राख्ने होस भने खै यो हुस्सु दिमागमा किन आएन कुन्नि ? 

गएको वर्षको भूकम्पका बेला हो खासमा मैले रेडियोको भ्याल्लु राम्रोसँग बुझेको । थानकोटको त्रिभुवन पार्कमा भूकम्पले दिमागै रन्थनाएका बेला कसैले मोवाइलमा रेडियो खोल्यो । जसमा साथी मिलन तिमिल्सिना भूकम्प गएकाले नआत्तिन आग्रह गर्दै हुनुहुन्थ्यो । के भएछ ? हँ रेडियोले के के भन्दैछ भन्दै सबैजना झुरुप्प रेडियोमा झुम्मिए । त्यसपछि म पनि अफिस आएँ र कर्ममा खटिएँ । जतिपटक भूकम्प आए मानिस भाग्थे हामी स्टुडियोभित्र छिर्थ्यौ र भन्थ्यौ – नभाग्नुहोस नआत्तिनुहोस । हामी रेडियो मै सुतेर गाडीभित्र बसेर अनि भाग्न अनि भुइतल्लामै स्ुटडियो सारेर पनि हामीले लगातार विपतका बेला नागरिकको सुचनाको भोक सकेसम्म मेट्ने प्रयासमा जुट्यौं । 

झण्डै १० वर्ष पुग्न लागेछ रेडियोमा पत्रकारका रुपमा काम थालेको । के पाइयो वा गुमाइयो यसको लेखाजोखा गर्दै गरौंला तर, जब कुनै रेडियोकर्मी दसैँ जस्ता चाडबाडका बेला आफ्नो निधार खाली नै राखेरपनि धुमधामका साथ दसैँ मनाइएको खबर प्रस्तुत गर्छ, महिनौ तलब नपाएपनि अन्यायमा परेकाहरुका दुख्ख उधिनिरहेको हुन्छ, सावाँ अक्षर छिचोल्न नसकेकाका कानमा देश विदेशमा के भइरहेको छ भन्ने खबर पुर्‍याइरहेको हुन्छ, प्रेममा धोका पाएकालाई नआत्तिन अनि भर्खर प्रेम गरिरहेकालाई नमात्तिन आग्रह गर्दै शाब्दिक रुपमा काँध थप्थपराइरहेको अनि मेरै लागि बनेका हुन कि क्याहो भन्ने खालका गीत बजाइरहेको हुन्छ, दुख्ख गरेर सफलता हासिल गरेकाका अनुभव सुनाएर कर्ममा लागिरहन अभिप्रेरित गरिरहेको हुन्छ, खेलेर पनि जीवनमा प्रगति गर्न सकिन्छ भनेर खेलाडीका अन्तरबार्ता सुनाइरहेको हुन्छ, चुल्होमा कराइ बसाएर तरकारी काटिरहेकी गृहिणीलाई तरकारीको विषादी कम गर्ने उपाय सुझाइरहेको हुन्छ, गाइलाई लागेको खोरेत निको पार्न अनि सागमा लागेको लाही हटाउने घरेलु तरिका सुनाइरहेको हुन्छ लाग्छ रेडियो कर्ममा लागेर रेडियोकर्मी भन्न पाउनु चानचुने कुरो होइन । र धेरैले यस्तो अवसर कहाँ पाएका छन् र ? 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • म्युचुअल फण्डको लगानी : दुवै हातमा लड्डु

    यो हप्ता (माघ २ गते) सिआइबिएल क्यापिटलले एक अरब रुपैयाँ संकलन गर्न अघि सारेको सिटिजन म्युचुअल फण्ड माघ ७ गते बन्द हुने सम्भावना छ । माघ २ गतेकै दिन एनआईसी एसिया क्यापिटलले पनि एनआइसी एसिया ग्रोथ फण्डको १ अर्ब रुपैयाँका १० करोड कित्ता युनिट (शेयर) बजारमा ल्याएको छ ।

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया