MENU

समाज

Ncell Axiata
USAID

बाघले आँखा लगिदियो, बाघसँग नै प्रेम !

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, फागुन ५ - जंगलमा खरखडिया खुलेको थियो । गाउँलेहरु घर बार्ने र छाउने घर काटन् खाता सामुदायिक वनमा पुगेका थिए । सबै गाउँले एकैपटक वन छिरेपछि भदै थारुलाई लाग्यो, गाउँलेहरुले वन त सखाप पार्छन कि क्या हो । मनले नमानेपछि २०६० साल पुस २२ गते खाता सामुदायिक वनको निरीक्षण गर्न थारु वनमा छिर्नुभयो । दिउँसोको १ बजेतिर उहाँलाई बडेमानको पाटेबाघले आक्रमण गर्‍यो । बाघले आक्रमण गर्दा डरले उहाँको मुटुले ठाउँ छाडेको थियो । तर जोश उर्लेर आयो । झण्डै ३ मिनेटसम्म बाघसँग लडाइँ चल्यो । लडाइँकै क्रममा बाघले छाडेर हिँड्यो । सुरुमा त उहाँले जोशका भरमा होस पाउनुभएन । 

‘ज्यानै जानेभयो भनेपछि जोश आउँदो रहेछ, जोशकै भरमा निकै घम्साघम्सी भयो, केहीबेरपछि बायाँ हात टेकेर उसको छातीमा २÷३ मुक्का त मैले पनि हानेँ’ उहाँले भन्नुभयो ।

एकैछिनपछि आँखाबाट रगतको भल बगेको थाहा पाएर छाम्दा त देब्रे आँखा नै छैन । भदै थारुलाई सुरुमा नेपालगञ्ज लगियो । निको भएन, पछि डब्लुडब्लुएफको सहयोगमा काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराएपछि घाउ निको भयो । आँखा चाहिँ छैन, उहाँ अहिले कालो चस्मा लगाएर एक आँखाको भरमा हिँडडुल गर्नुहुन्छ । 

बाघले आँखा लगिदियो, बाघसँग नै प्रेम !

आक्रमणमा बाघले भदै थारुको आँखा लगिदिएपछि धेरैले अनुमान गरेका थिए, ‘भदै थारुले पासो थापेर बाघ मार्ने भयो’ । तर सबैको अनुमान विपरित बाघको आक्रमणमा आँखा गुमाएपनि उहाँले बाघको संरक्षण गर्नुपर्छ, हिँड्ने बाटोमा अबरोध गर्नुहुन्न, बाघको आहाराको लागि अन्य हरिण, बँदेल मृग लगायतका वन्यजन्तु पनि मार्न हुन्न भनेर अभियान नै चलाउनुभएको छ । १६ वर्षदेखि संरक्षणको क्षेत्रमा लागेका भदैलाई अहिले  एकदिन बाघ देखिएन भने न्यास्रो लाग्छ । 

‘दिनहुँ बाघका पाइला हेर्छु, एकदिन पाइला देखिँन भने, बाघ भारततिर पस्यो कि, कसैले मारिदियो कि भनेर खुबै चिन्ता लाग्छ,’ खाता सामुदायिक बनको बेरबार गर्दै गरेको बेला भेटिनुभएका भदै थारुले भन्नुभयो, ‘बाघले मलाई नियतबस आक्रमण गरेको होइन, उ हिँड्ने बाटोमा म हिँडेकोले आक्रमण गरेको हो, उसको ठाउँमा हामीले अतिक्रमण गर्नुहुन्न ।’

बाघ पनि एउटा प्राणी भएको र मानवसँग घनिष्ट सम्बन्ध भएकोले बाघलाई बचाउनुपर्छ भनेर उहाँले विभिन्न संघसंस्थाको नेतृत्व गरेरै संरक्षण अभियानमा लाग्नुभएको छ । ५ वर्ष उहाँले चोरीशिकार नियन्त्रण युवा परिचालन समूहमा रहेर काम गर्नुभयो । बाघ संरक्षण गर्न उसका आहरा मानिएका वन्यजन्तुको लागि घाँसे मैदानको संरक्षण गर्ने काममा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । 

पुरस्कारदेखि बेलायती नायिकासँग फिल्म खेल्ने अवसर

बाघसँग लडेर आँखा गुमाएपछि पनि बाघ संरक्षणमै लागेका भदै देश विदेशमा चर्चित हुनुभयो । उहाँले २०६१ सालको भदैमा अब्राहम संरक्षण पुरस्कार पाउनुभयो । वन्यजन्तु संरक्षणमा आधारित फिल्ममा बेलायती नायिकासँग नायकको भूमिकामा फिल्म पनि खेल्नुभयो । चर्चित हलिउड अभिनेता लियोनार्दो दि क्याप्रिओसँग संगत गर्ने अवसर पनि पाउनुभयो । 

लियोनार्दोसँग १ रात एक दिन निकुञ्जमै बिताउने अवसर पाएका भदै थारुले प्रशंसास्वरुप उहाँबाट चश्मा उपहार पाउनुभएको छ । चर्चित हलिउड अभिनेताले दिएको कालो चश्मा लगाएर हिँड्दा अहिले युवती पनि हुरुक्कै हुने भन्दै उहाँले ठट्टा गर्नुभयो । 

‘त्यही चश्मा  लगाएर एउटा कार्यक्रममा गएको २ वटा केटी झुन्डिहालेका थिए, मलाई लाग्यो हिरोले दिएको चश्माले कमालै गर्छ कि क्या हो’ मुसुमुसु हाँस्दै थारुले भन्नुभयो, ‘हिरोको चश्मा लगाउने तपाईं पनि हिरो नै हो भन्दै फोटा खिच्ने पनि उत्तिकै हुन्छन् ।’

बाघसँगको लडाईंमा भदै थारुको देब्रे आँखाको दृष्टि गुम्यो तर बाघ जोगाउनुपर्छ भन्ने विवेक भने झनै थपियो । बाघ संरक्षणमा भदैको आँट र विवेक देखेर सबै दंग पर्छन्, उहाँ अहिले गौरी महिला सामुदायिक वनको अध्यक्षको रुपमा रहेर काम गर्दै हुनुहुन्छ ।’

बाघसँगको लडाईंमा खुट्टा छियाछिया भएका कृष्णको पनि आँट उस्तै

बर्दिया ठाकुरद्धारा–८ का ३३ वर्षका कृष्ण साहले पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा घुमाउने काम गर्नुहुन्थ्यो । २०७२ सालको फागुन ४ गते नेदरल्याण्डसका पर्यटकलाई निकुञ्ज घुमाउने क्रममा बाघले आक्रमण गर्न खोज्यो । सबैजना भागे तर एकजना विदेशी पछाडी नै परे ।

आफूले लगेका पाहुनालाई बाघले आक्रमण गर्‍यो कि भनेर कृष्णले पाहुना खोज्न थाल्नुभयो, पाहुना रुख चढ्न सिपालु भएकाले रुख चढिसकेका रहेछन् । कृष्णलाई बाघले आक्रमण गर्‍यो । उहाँ पनि बाघसँग ३ मिनेटजति लड्नुभयो । सुरुमा त बाघले मार्छ नै भन्ने लागेको थियो । तर उहाँले आँट गर्नुभयो । 

‘तँ पनि केही गर्न सक्छस भनेर कसैले भनेजस्तो लाग्यो, बाघलाई पछारेँ, र १ मिनेटजति च्याँपे तर धेरैबेर च्याप्दा टोक्न सक्छ भनेर म उ भाग्न खोज्दा मेरा खुट्टा टोक्यो, चोक्टा लगिदियो’ कृष्ण साहले भन्नुभयो, ‘मेरो खुट्टा र हिपमा छियाछिया पारिदियो, अलिबेरमा परबाट साथीहरुले हल्ला गर्दै लठ्ठी फालेपछि बाघ भाग्यो ।’

बाघले फेरि आक्रमण गर्ने डरले कृष्ण फेरि सानो रुखमा चढ्नुभयो । निकुञ्जलाई खबर पुग्यो र हात्तीसहितको टोलीले उहाँलाइ उद्धार गर्‍यो । त्यहाँबाट उहाँलाई तत्कालै नेपागञ्ज अस्पताल पुर्‍याइयो । तर अस्पतालका सबै डाक्टरले बाघ आक्रमणको कहानी मात्रै सोधे उपचारमा ध्यान दिएनन् । उहाँले ठूलै सोर्स लगाएपछि मात्रै उपचार सुरु भयो ।

बाँचुञ्जेल बाघ देखाउने काम नै गर्छु, जोगाउन पहल गर्छु

एक समय त कृष्ण शाहलाई पाहुना जंगल घुमाउने पेशा छाड्नुपर्छ जस्तो लागेको थियो । परिवारले पेशा छाडन् खुबै दबाब दिए । तर उहाँले परिवारलाई यसरी सम्झाउनुहुन्थ्यो, ‘कुनै धनाढ्यले छोरोलाई महँगो मोटरसाइकल किनिदिन्छ, दुर्घटनामा छोरोको ज्यान जान्छ, उसलाई कस्ले चिन्छ ? मैले त शाहसी काम गर्दैछु मरे भनेपनि दुनियाले चिन्छ ।’

घरपरिवारको दवावकाबिच पनि फेरि पेशामै फर्कन र बाघ संरक्षण जुट्न कृष्ण कुमारले योजना बनाउनुभयो । खुट्टा ठीक छन् कि छैन् भने ग्रेट हिमालय ट्रेक रुटमा टे«किङ पनि गर्नुभयो । बाघ नै आफ्नो पेशा र जिन्दगी भएको उहाँको भनाई छ । 

‘म प्रकृतिलाई माया गर्छु, मान्छे घोडा चढ्छ, लड्छ तर फेरि चढ्छ म त आत्मैदेखि यो पेशामा लागेको छु, बाँचुञ्जेल र सकुञ्जेल बाघ देखाउने र संरक्षणको काममा लाग्ने योजना छ’ कृष्ण साहले भन्नुभयो ।

भदै थारु र कृष्ण साहबाट सिकेर गाउँलेहरु पनि बाघ जोगाउन लागि परेका छन् । उहाँँहरु जस्तै संरक्षणकर्मीको प्रयासले बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र वरपरका  सामुदायिक वनमा ५० वटा बयस्क, ६ वटा अर्धवयस्क र २९ वटा बच्चा बाघ छन् ।

बाघको आक्रमणमा लागेको चोट भुलेर उहाँहरुले चोरीसिकार नियन्त्रण युवा अभियान, निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर बाघ जोगाउन जनचेतना फैलाउने, बाघको चोरीसिकार रोक्न आयआर्जनका काम सिकाउने, जंगल जान निरुत्साहित गर्ने लगायतका काम गर्नुभएको छ ।

बाघसँगको लडाइँबाट नाफामा पाएको ज्यान पनि बाघ संरक्षणमा खटाएका भदै थारु र कृष्ण साहबाट तपाइँ हामीले पनि केही सिक्ने कि ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया