MENU

समाज

Ncell Axiata
USAID

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु

रमेश गिरी/उज्यालो ।

भक्तपुर, फागुन ५ – सरकारले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीको पठन सीप बृद्धि गर्न ६ जिल्लाका सामुदायिक विद्यालयमा नमुनाका रुपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको छ ।

जिल्ला शिक्षा कायालय भक्तपुरमा शिक्षा विभागले आयोजना गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम मिडिया अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी दिँदै शिक्षा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले यसैवर्षदेखि कार्यक्रम लागु भएको बताउनुभयो ।

पहिलो चरणमा भक्तपुर जिल्ला लगायत कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरीमा यो कार्यक्रम सुरु भएको हो । विद्यार्थीको तल्लो कक्षामै पढाई कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न भक्तपुर जिल्लाका १ सय २९ सामुदायिक विद्यालयमा प्रारम्भिक पढाई कक्षा सञ्चालन गरिएको छ । 

चालु शैक्षिक सत्रदेखि सुरु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीको गुणस्तर सुधारमा जोड दिइएको उपनिर्देशक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अर्ली ग्रेड रिडिङ मुल्याङ्कनले कक्षा २ मा अध्ययनरत ६४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत ८१ प्रतिशत बालबालिकामा नेपाली पठन सीप अत्यन्तै न्युन रहेको तथ्य फेला परे थियो । 

मुल्याङ्कन अनुसार अधिकांश विद्यार्थीको पठन सीप अन्तर्राष्ट्रिय मापदण्ड भन्दा निकै कम रहेको पाइएपछि प्रारम्भिक पढाई कक्षाको पठन सीपअन्तर्गत सुनाई, पढाई, लेखाई र बुझाईका आधारमा विद्यार्थीको सिकाई सुधार गर्ने कार्यक्रमको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

नेपालका विद्यार्थीको पठन सीप दक्षिण एसियामै कमजोर रहेको अनुसन्धानले देखाएको बताउँदै उपनिर्देशक अधिकारीले १ देखि ३ कक्षाका विद्यार्थीको पठन सीप विकास गर्न नेपाल सरकार र अमेरिकी सरकारबिच सम्झौता भई राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (एनइजीआरपी) सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले भक्तपुरका प्राथमिक तहका सामुदायिक बिद्यालयमा विद्यार्थी संख्या न्यून रहेको र यो कार्यक्रमले विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको पञ्चवर्षिय कार्यक्रम अन्तर्गत नमुनाका रुपमा ६ जिल्लामा कार्यक्रम सुरु भए पनि यसलाई १५ जिल्लामा विस्तार गर्ने र पाँच वर्ष भित्र देशभर यो कार्यक्रमलाई लैजाने प्रारम्भीक पढाई कक्षा कार्यक्रमकी सहजकर्ता हितकुमारी गुरुङले बताउनुभयो । 

कार्यक्रमबाट ६ जिल्लाका ५ हजार समुदाय परिचालन भई ७ लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र ५ हजार प्रधानाध्यापक लाभान्वित हुने उहाँको भनाई थियो । कार्यक्रमका लागि नियोगको ५ करोड ३८ लाख डलर सहयोगमा सञ्चालित यो कार्यक्रम एक वर्षअघि नै सञ्चालनमा ल्याए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागु भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया