MENU

साहित्य/ कला

अघोषित प्रेमीलाई पत्र

मिति २०७३, फागुन ५

प्रिय अघोषित प्रेमी,
आजसम्म दिन नसकेको सबै माया !

आजसम्मका सबै प्रणय दिवसहरू प्रेमिका बिना नै बिताउनु परेकोमा दुःखी छौ होला । हरेक वर्ष झैँ यो वर्ष पनि निराश भयौ होला आफ्नो प्रेम नभेटेकोमा । साथीहरूले आफ्ना प्रेमलिला सुनाउँदा मनमा काउकुती लाग्दो हो, मनले एउटा परीको कल्पना गर्दो हो र उनीसँगको एउटा बेग्लै दुनियामा आफ्नै प्रेमलिला रच्न मनको उडान हुँदो हो ।

प्यारा, यस्तो तिमीलाई मात्र होइन, मलाई पनि हुन्छ । म पनि कल्पिन्छु आफ्नो भर्चुअल प्रेमको कथा र रमाउँछु आफैँ भित्र । मलाई मात्रै रहर नभएको कहाँ हो र ! रोज डेमा तिमीलाई रातो गुलाब उपहार दिने, मलाई मात्रै रहर नभएको कहाँ हो र ! प्रणय दिवसमा तिमीसँगै प्रेमका कुरा गरेर दिन बिताउने । युगल जोडी हात समाएर हिँडेको देख्ने बित्तिकै म तिमीलाई कल्पिन थाल्छु । जब हृदयभरीका गुनासा पोख्ने कोही भेट्दिन, तब तिमी साथ भइदिए कति जाती हुन्थ्यो भन्ने सोच्छु, तिमी अर्थात मेरो अघोषित, अपरिचित र स्वयम् मेरो लागि आजसम्म गुमनाम प्रेम । 

जसरी शान्ति भनेको युद्धको अनुपस्थिति मात्र होइन, त्यसरी नै प्रेम भनेको पनि घृणाको अनुपस्थिति मात्रै होइन । प्रेम स्वतन्त्रता हो, प्रेम सुविचार हो र सुशासन हो । प्रेम परिवर्तन मात्र होइन, विकाससहितको सकारात्मक परिवर्तन हो ।  प्रेम गर्नेहरू अरुलाई पीडा दिन त के, कसैको पीडा देख्नसम्म पनि सक्दैनन् । समाजलाई प्रेम गर्नेहरू विकासका भोका हुन्छन् । आफ्ना जनताको सहज जीवनशैली र गुणस्तरीय जीवनका लागि आफू दिनरात खटिन्छन् । हाम्रो देशका राजनीतिज्ञ, व्यापारी र समाजसेवीहरूले प्रेम गर्न जानेका भए अहिले सिँगो देश प्रेममय हुने थियो । हो प्यारा, पहिले त हामीले यी हुनेखाने भनौदाहरूलाई नै प्रेमको पाठ सिकाउन जरुरी छ, प्रेम गर्न सिकाउन जरुरी छ र जरुरी छ एउटा प्रेममय देशको निर्माण गर्नु ।

राजा, मलाई विश्वास छ, तिमी पनि म जस्तै समाजलाई प्रेम गर्नमै व्यस्त छौ होला । एकदिन बाबुआमाबिहीन टुहुराहरूको अभिभावक बनेर उनीहरूको मुहारमा मुस्कानको गुलाब फुलाउन तल्लिन तिमीले प्रेमीकाको सामिप्यतामै हराउन खोज्नू हुँदैन । आज आफ्नो मुनालाई गाउँघरमै छाडेर परदेश भाँसिएका लाखौँ मदनहरूलाई स्वदेशमै अवसर सृजना गर्छु भनेर लागि परेको तिमी, मात्रै आफ्नो सुन्दर घरबार बसाउनमा व्यस्त हुनु पनि हुँदैन । पिर पटक्कै नलिनु, यसरी समाजलाई प्रेम गर्दा गर्दै आफ्नो प्रेम चाहिँ देख्नै पाउँदिन की भनेर । यता तिम्रो प्रेम पनि समाजलाई प्रेम गर्न मै व्यस्त छे । तिमीलाई प्रेम गर्नु पहिले मैले प्रेम गर्नुछ यो समाजका असहायहरूलाई, बन्नुछ निमुखाहरूको प्रेम जसले उनीहरूको जिन्दगीमा प्रेमको इन्द्रेणी पोत्नेछ । हामीले यस्तो समाज बनाउनु पर्छ, जहाँ प्रेम बिहिन कोही नहुन् ।

तिमी सोचीरहेको होलाउ, आखिर दुबैको उद्देश्य समाजलाई नै प्रेम गर्नु हो भने किन सहकार्य नगर्ने भनेर ? तिमीसँगै सहयात्रा गरेर समाज र तिमी दुबैलाई उत्तिकै निश्चल प्रेम दिने सोच म मा पनि नभएको होइन । तर सोचेँ, कतै तिम्रो प्रेमको सागरमा डुबेर मेरो समाजप्रतिको प्रेम कम हुने पो हो की ? मलाई भेटेपछि तिमी पनि आम प्रेमीहरू जस्तै आफ्नै घरबार सिँगार्न मै व्यस्त हुन्छौ की ? मलाई डर लाग्छ, कतै हाम्रो प्रेम पनि एउटा घर, सानो परिवार र रोजीरोटीको लागि गुजारा चलाउनमै सिमित रहन्छ की ?

मलाई त्यो भन्दा केही फरक प्रेम गर्नुछ । मलाई यस्तो प्रेम गर्नुछ जसको दायरा आकाश जस्तै पराकिलो होस् । मलाई यस्तो प्रेम गर्नुछ जसबाट पछुतो होइन, बरु आत्मसन्तुष्टिको आभाष गर्न पाइयोस् । मलाई यस्तो प्रेम गर्नुछ जहाँ कुनै बालक, कुनै वृद्धा र कुनै असहाय र अशक्तहरू प्रेम बिहीन हुन नपरोस् । र मलाई थाहा छ, तिमीपनि यस्तै प्रेमका लागि संघर्ष गरिरहेका छौ यो भूगोलको कुनै माटोमाथि । 

जुनदिन यो समाजको मुहार प्रेममय बनाउन सकिन्छ, जुन दिन यहाँका हरेक व्यक्तिले प्रेम पाउँछन् र प्रेम गर्छन्, जुन दिन व्यथिति र छलकपटलाई प्रेमले धुलो चटाउँछ, जुनदिन देशका युवाहरु प्रेम र आकर्षणबीचको फरक चिन्न सक्षम हुनेछन्, जुन दिन गाउँबाट सहर पसेका युवापुस्ता आफूले प्रेम गरेको व्यक्तिलाई भन्दा आफ्नो अध्ययन र सुन्दर भविष्यनिर्माणलाई प्राथमिकतामा राखेर परिश्रम गर्नेछन् र जुन दिन प्रेमको वास्तविक परिभाषा यथार्थमा झल्किनेछ,  हो त्यसपछिका दिनहरूमा हामीलाई प्रणय दिवस मनाउन कुनै फेब्रुअरी १४ कुर्न पर्दैैन । हो प्यारा, त्यसपछिका हरेक दिन प्रेममय हुनेछन्, हाम्रो जीवन मात्र होइन, यो समाज, यो देश र यो विश्व नै प्रेममय हुनेछ ।

तिमी निसङ्कोच आफ्नो सामाजिक प्रेम कायम राख्नू र नभुल्नु स्वयम्लाई प्रेम गर्न । म पनि आफूलाई प्रेम गर्दै समाजप्रतिको प्रेममा लागि पर्दैछु । एकदिन हामी दुबैको प्रेमले सार्थकता पाउनेछ र तिमीले त्यही प्रेममय समाजभित्र मलाई भेट्नेछौ, म तिमीलाई भेट्नेछु । जीवनको त्यो वसन्त पार गर्दासम्म आफूले नपाएको प्रेमको क्षतिपूर्ति हामी दुबैले पाउनेछौँ, त्यो प्रेममय समाजले हामी दुबैलाई धेरै नै प्रेम गर्नेछ । 

उही तिम्री अघोषित प्रेमीका

- बिनिता कार्की

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया