MENU

समाज

Ncell Axiata

पारामेडिकल क्याम्पसबाट ठगिएका विद्यार्थीलाई दुई विकल्प, क्याम्पस निलम्बित

गणेश ठगुन्ना/उज्यालो ।

डडेल्धुरा, फागुन ६ – प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)ले अन्ततः डडेल्धुरा पारामेडिक क्याम्पसबाट ठगिएका विद्यार्थीहरुको लागि निर्णय सार्वजनिक गरेको छ । क्याम्पसले अनुमति विपरित तथा नियम विपरित लिएको भर्नामा ठगिएका बिद्यार्थीहरुको पक्षमा निर्णय गर्दै सीटीईभीटीले विद्यार्थीलाई दुई विकल्प दिएको छ।

पैसासहित घर बस्ने वा तोकेको शिक्षालयमा पढ्ने ?

सीटीईभीटीले दिएका दुई विकल्पमा विद्यार्थीले पैसा फिर्तासहित घरमै बस्ने वा सीटीईभीटीले नै भनेको क्याम्पसमा भर्ना हुनु पर्ने रहेका छन् ।

त्यसभन्दा अगाडि घरमै बस्ने वा पढ्ने जुनसुकै विकल्प रोजे पनि विद्यार्थीले पैसा फिर्ता पाउने भएका छन् । सीटीईभीटीको बिहीबार बसेको बैठकपछि शुक्रबार निर्णयबारे जानकारी दिँदै सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले क्याम्पसले विद्यार्थीबाट लिएको सबै पैसा फिर्ता गर्नु पर्ने निर्णय भएको जानकारी दिनुभयो।

एक टोली जिल्ला आउँदै

त्यसका लागि बिहीबारको बैठकबाट गठित चार सदस्यीय एक टोलीलाई क्याम्पसबाट विद्यार्थीको पैसा फिर्ता गराउन पत्र दिइसकिएको उहाँले जानकारी दिनुभयो । टोली सोमबारसम्म जिल्लामा पुग्ने जनाइएको छ । सीटीईभीटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका प्रमुख तथा क्षेत्रीय निर्देशक यादव सुवेदीको नेतृत्वमा परीक्षा नियन्त्रण महाशाखा, प्राविधिक महाशाखा र स्तर निर्धारण महाशाखाका एक–एक जना गरी चार जना सम्मेलित टोली जिल्लामा आउन लागेको हो ।

पढ्नको लागि डोटी वा दाङ एक ठाउँ जानु पर्ने

एक हप्तासम्म जिल्लामा बसेर काम टुङ्ग्याउने गरी जिल्लामा आउन लागेको टोलीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा क्याम्पसबाट ठगिएका सबै १ सय ४८ जना विद्यार्थीको पैसा फिर्ता गराउनेछ । सोही अवधिमा विद्यार्थी तथा उनका अभिभावकले पैसा थमाएर घर फर्किने वा पैसा लगेर सीटीईभीटीले तोकेको क्याम्पसमा पढ्न जाने मध्ये एउटा विकल्प रोज्ने बिषयमा सो टोलीसँग समन्वय गरिसक्नु पर्नेछ ।

पढ्न चाहने विद्यार्थीलाई सीटीईभीटीले दुई वटा शिक्षालय मध्ये एउटा रोज्नु पर्ने विकल्प पनि दिएको छ । विद्यार्थीले आफू अनुकुल सेती प्राविधिक शिक्षालय डोटी र राप्ती प्राविधिक शिक्षालय दाङ मध्ये एउटा छान्न पाउनेछन् । विद्यार्थीले क्याम्पसबाट फिर्ता पाएको रकम सहित ती दुई मध्ये एउटा शिक्षालयमा पढ्न जान सक्नेछन् ।

ठगिएका विद्यार्थीहरुको भर्ना समेत अब शिक्षालयमै हुनेछ । शिक्षालयमा भर्नापछि सकभर शिक्षालयमा पढिरहेकाहरुको सँगै एउटै समयमा परीक्षा हुने र केही जटिलता आएमा भर्ना हुन जाने विद्यार्थीहरुको परीक्षा एक–डेढ महिनापछि हुने समेत सम्भावना रहेकाले त्यसमा पनि नआत्तिन परिषदका निर्देशक धामीले सचेत गराएका छन् ।

क्याम्पस तीन वर्षका लागि निलम्बित

यता चारवटा कार्यक्रममा १ सय ४८ जना विद्यार्थीहरुलाई ठगी गर्ने क्याम्पस भने निलम्बनमा परेको छ । नियम विपरित विद्यार्थी भर्ना गरेर विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको तथा अन्यौलता सिर्जना गरेको भन्दै क्याम्पस तीन वर्षका लागि निलम्बनमा परेको हो । छानविनका क्रममा क्याम्पसले नियम विपरित अनमि तर्फ ३८ जना, सीएमए तर्फ ३८ जना, कृषि जेटिए तर्फ ३८ जना र ल्याब तर्फ ३४ जना विद्यार्थी भर्ना गरेको देखिएको थियो ।

अन्य विद्यार्थीलाई केही असर पर्छ ?

यसो भनिरहँदा नियम अनुसार भर्ना भएका विभिन्न सात वटा कार्यक्रमका विद्यार्थीहरुमा पनि आफ्नो भविष्य के हुने भन्ने बारेमा चिन्ता उब्जेको देखिएको छ । तर अहिले क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुले पारामेडिकल क्याम्पसबाटै परीक्षा दिन पाउने र नयाँ शैक्षिक सत्रबाट मात्रै क्याम्पसले तीन वर्षसम्म उसले अनुमति पाएका कुनै पनि कार्यक्रममा भर्ना नपाउने गरी निलम्बन गरिएकाले विद्यार्थीले आत्तिनु पर्ने अवस्था नरहेको सीटीईभीटीले जनाएको छ । 

सीटीईभीटीमा विद्यार्थी नेताको जात्रा

गएको मंसिर १३ गते विद्यार्थीले क्याम्पसमा तालबन्दी गरेपछि क्याम्पसले नियम विपरित विद्यार्थी भर्ना लिएको र उनीहरुको भविष्य अन्यौलमा परेको बिषय सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि बिभिन्न पार्टीका विद्यार्थी संगठनका उच्च तहका नेताहरुले सीटीईभीटीमा जात्रा देखाएको बिषय समेत बाहिरीएको छ । 

उनीहरुले विद्यार्थीहरुको व्यवस्थापन तथा क्याम्पसलाई कारबाही गर्ने या नगर्ने भन्ने बिषयमा जात्रा देखाएका हुन् । विद्यार्थी संगठनको केन्द्र तहको उपाध्यक्ष, महासचिव सम्मका पदमा रहेका नेताहरुबीच यो बिषयमा एकअर्काबिच हात हालहाल समेत भएको जानकारी प्राप्त भएको छ ।

विद्यार्थीको पक्षमा सबैले एउटै आवाज ‘विद्यार्थीहरुको व्यवस्थापन जसरी पनि गरिनु पर्छ’ भन्ने बोले पनि बदमासी गर्ने क्याम्पसलाई कसैले हदैसम्मको कारबाही र कसैले आँखामा छारो हाल्ने खालको कारबाही मात्र गर्नु पर्छ भन्न थालेपछि सीटीईभीटीको कार्यालय अगाडि नै सामान्य झगडा नै भएको हो । 

क्याम्पस खारेजको प्रयास गर्दा जागिर धरापमा

यस्तै सीटीईभीटीले बदमासी गर्ने क्याम्पसलाई खारेज नै गर्नेसम्मको तयारी गरिरहेका बेला राजनीतिक दलका उच्च नेताबाट जागिर नै जानेसम्मको दबाब आएपछि तीन वर्षको लागि मात्रै क्याम्पसलाई निलम्बनमा राख्ने निर्णय गरिएको स्रोतले बताएको छ । तर स्रोतले यो दावी गरेपनि सीटीईभीटीले भने घटना अध्ययन प्रतिवेदन अनुसार नै आवश्यक कारबाही गरिएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया