MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

सम्झनाका तरेलीहरु

 

नरेश दत्त रावल (जुम्ला) -

इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं | गाविस स्तरको कार्यक्रम संचालनको जिम्मा भएको हुँदा ७, ८, ९ वडा रहेको मुर्मा गाउँका केही सदस्यहरुलाई मुगु कर्णाली को तिरैमा रहेको कच्चे गाउँमा जान अनुरोध गर्यौ, जहा गाविस भवन पनि अवस्थित थियो | 

हामीलाई औल (चिसो क्षेत्रका मानिस तातो क्षेत्रमा जादा देखा पर्ने समस्या) लाग्छ, जादा आउँदा पूरै दिन खर्च हुने हुँदा काममा बाधा पर्ने कुरा दर्शाय सँगै जोडे सरकारले मुर्मा गाउँलाई छुट्टै गाविस घोसणा गरिदिएको भए हामीलाई धेरै सहज हुनेथियो | त्यतिखेर मैले बुझ्न नसकेको कुरा अर्को दिन मात्र थाहा पाएँ | नमरी स्वोर्ग देखिँदैन भन्थे हो रहेछ | अघिल्लो दिन नै तालिम सकाएर बिहानै कच्चे झर्ने निधो गर्यौ | सुझाबमा अनेकथरीका बाटो पायौं, हामीले गार्हो तर छिटो पुगिने खाले रोज्यौं | आइपर्ने सम्भावित समस्याको समाधान छैन भने गार्हो भन्दा सजिलो उपाए नै उत्तम हुन्छ भन्ने ज्ञान हामीमा भएन |

बिना हतियार सिकार खेल्न निस्क्यौ | कार्यालय सहयोगीले केही प्रतिशत बाटो थाहा छ भनेकोले केही राहत अनुभब भएको थियो, आँट थपिएको थियो | बिहानी को पाच बजे नै सुरु भएको यात्रा मुर्मा गाउँ छोडेर उकालो चड्यौ | झिसमिसे उज्यालोसँगै रारा तालको पूर्ण आकार आखामा पर्दा मनै रोमान्चित भयो | स्वर्गकी अप्सरा आखै अगाढी नाच्न थालिन, मलाई भने अप्सराको हात समातेर पार्टी डान्स गरेझै अनुभब भइरहेको थियो, उनको सुन्दरतामा मन्त्रमुग्ध भए | म कहा छु, को सँग छु, सबै बिर्सिए, कतै दगुरे कतै नाचे अनि विभिन्न अवस्थामा थुप्रै फोटो क्यामरामा कैद गरे |

मेरो खुशी धेरैबेर टिकेन, केही समय पश्चात सहयोगीले बाटो बिर्सेको कुरा सँगै हामी घना जंगलमा रुमल्लियौ, गोलचक्कर मा पर्यौ | खुट्टा बढाउदै गयौं अन्तत डाँडाको अग्लो चुचुरो मा खुट्टा रोकिन पुग्यो | आरोही सगरमाथाको टुप्पोमा पुगे पश्चात अझ अगाढी बढ्ने ठाउँ पाउदैनन्, खुशीयाली मनाउँछन् फिर्ता हुन्छन् | हामि पनि फिर्ता भयौं तर निरास मुद्रामा | हामीलाई मात्र के थाहा थियो भने, ओरालो झर्नुछ, कर्णाली को तिरैमा पुग्नुछ तर कताबाट प्रश्न अन्योलमा थियो | सहकर्मी म्याडमले यसरी जागिर खान सक्दिन, म त जागिर छोड्छु जस्ता शब्द दोहोर्याउन थाल्नुभो, हुन पनि बाघ भालु फेला पर्छन कि भन्ने डर ले हामि कमजोर बन्दैथियौं | चारैतिर घेरिएको घना जंगल, हिउँका चट्टान माथिको हिडाई, जंगली जनावरको डर अनि नक्सा नपाएका यात्री | डर त मलाई पनि खुबै लागेको थियो तर आफू भन्दा बढी डराउने फेला परे भने आफ्नो डर कम हुँदो रहेछ | सहकर्मीलाई सम्झाउदै बाटो अगाढी बढाए | 

मपहाड बाट शुरुवात भएको पानि जता बग्छ हामि पनि तेतै बग्यौ, हामि पानि बन्यौ | लामो संघर्ष पश्चात च्याउ खोज्न निस्केका केही अपरिचित लाई फेला पार्यौ, उनकै सल्लाह बमोजिम करिब ३ बजेतिर कच्चे पुग्यौं | बिहानको ९ बजे पुगी कार्यक्रम संचालन गर्ने योजना बनाएका हामि, Everest Marathon को अन्तिम स्थान प्राप्त गर्ने धाबक भन्दा बढी थकित थियौ, अर्कोतिर मन को कुनामा सानो खुशी पनि बढ्दै थियो, ज्यान जोगाउन सफल भएकोमा |

दिन साझमा परिणत हुदै थियो, म छतमा अडेस लागि मोबाइलमा रहेका भिडियो हेर्दैथिए, नजिकिँदै आइन करिब २० औं बसन्त खाईसकेकी जस्ती देखिने युवती | उनका आँखा पनि मोबाइलमा दगुर्न थाले, मेरो सेन्टिमिटरको दुरीमा बसिन | अनौठो बासना आइरहेको थियो, मलाई लट्ठ पार्ने, म लठ्ठिए शिवरात्रिको गाजामा झुम भएझै | आँखाले भिडियो हेर्यो, नाकले उनलाई सुघ्यो, मन कता डुल्न थाल्यो थाहा नै भएन | 

समय अन्तरालपछि सहकर्मी साथीले बोलायो “सर, तल आउनुन”, म झसङ्ग भए | ठाउँ छोडे कोठाभित्र लागे | कारणबारे स्पस्ट पार्दै भन्न थाले, वरिपरिका धेरैले तपाईंलाई घुरेर हेर्दैथिए, भर्खर ६ महिना अगाडि मात्र उनको श्रीमान बितेको हो | साथीहरु आवतजावत गरिराख्ने खालका भएको हुदा जानकारी पनि राम्रै रहेछ | मैले सामान्य सोचेपनि परिस्थिति असामान्य भइसकेको रहेछ, युरोपमा भएको भए सँगै बस्नु, अँगालो मार्नु, किस गर्नु सम्म पनि सामान्य मानिन्थ्यो होला तर यहाँ परिस्थिति बेग्लै थियो | समय र बाताबरण सुहाउदो ब्यबहार नै दिगो हुने रहेछ |

*     *     *

२०७० को वैशाख महिनातिर सहकर्मी साथीसँगै तालिम संचालन गर्न मुगुको ह्याँग्लु गाविसको बिना गाउँमा पुगे | हुम्ला कर्णाली र मुगु कर्णाली को समागमन पश्चात बग्ने नदीले समात्ने मुगुपट्टिकोको पहिलो गाउँ को बिना, जुन बाजुरा जिल्लाको सिमानामा पर्दछ, हुम्ला पनि ३० मिनेट को पैदल यात्रामा भेट्टाउन सकिन्छ | बिरलै कर्मचारी पुग्ने ठाउँ मध्य एक हो बिना |

हप्तादिन अगाडिको समाचार मेरो दिमागमा ताजै थियो, थप जान्ने तिब्र इच्छा स्वरूप बेलुकी को खाना सँगै कुराकानी उठान गरे | होटेलको साहुजीले सन्क्षिप्तमा घटना सुनाए: परीलाल (नाम परिवर्तन) ले ससुराली का केहीसहित करिब २०० भेडा ऊ त्यो डाँडाको काखमा (पहाडतिर औला तेर्स्याऊदै) रहेको आँटी (घर देखि टाढा अस्थायी रुपमा बसोबास गर्न बनाएको घर, विशेषत घरेलु जनावर राखी पाल्ने गरिन्छ) मा राख्थे, खाना पकाउदा आगो सल्केछ, पूरै भेडा सखाप भए, सँगसँगै आफू पनि, करोडौंको सम्पत्ति नाश भयो | श्रीमती बिहे गरेको वर्षदिन पनि भएको थिएन, अचेत अवस्थामा थिइन्, सबैको निगरानीमा हुँदाहुँदै पनि श्रीमान मरेको बार्हौ दिनमा चर्पी जान्छु भनेर कर्णालीमा हामफालिन |

बियोगान्त, दुखद र विनाशकारी यथार्थ कथाले म भावबिहल भए, सब्द नै फुटेन, मनमा सन्नाटा छायो, उनको परिवार मा कस्तो पीडा भयो होला, अनुमान गर्न पनि सक्दिन |

यो ठाउँ माछा को लागि प्रसिद्द थियो | १२० रुपैया किलो त्यो पनि बग्दो पानीको शुद्द अत्याधिक मिठो असला जातको माछा | बिहानीको कार्यक्रममा त्यही माछा खुवाउने निधो गर्यौ राष्ट्रिय खाजा चाउचाउ सँगै | चेतनाका विभिन्न शिर्षकहरु मध्य लघुजलबिधुत बारे मेरा भनाई राख्नु भन्दा अगाडि सहभागीको क्षमता परिक्षण गर्नको लागि एउटा प्रस्न राखे |

विद्युत घरमा प्रवेश गर्नु भन्दा पहिलेको पानि र प्रवेश पश्चातको पानीमा के फरक छ ? सहभागी पिच्छे फरक फरक उत्तर प्राप्त रह्यो, तर अधिकांस को आसय एउटै थियो, विद्युत उत्पादन पश्चात पानि शक्तिहीन र गुणस्तरहीन बन्न पुग्छ, पिउन र सिचाईं गर्न उपयुक्त हुँदैन | यो थियो वास्तविक चेतनाको स्तर, समय आधुनिक युगमा प्रवेश गर्यो भनेर जति खोके पनि त्यो सबै शहरी समाज र राजधानी वरिपरी मात्रै सिमित छ, ग्रामिण समाजहरुले सरकारको प्रत्यक्ष उपस्थिति महसुस गर्न सकिरहेका छैनन् |

*     *     *

२०७२ को दसैँले चुलेनिम्तो दिन थाल्दैथ्यो | मैले भने हुम्ला सिमिकोट देखि मुगु हुँदै कालिकोट मान्म सम्म १४ दिने यात्रा तय गर्न काठमाण्डौ छोडे | काठमाडौंदेखि हुम्ला सम्मको एकल टिकट थियो, रातिको बसाई भने नेपालगंज हुने गरी | पहिलो प्लेन बाट काठमाण्डौ छोडे, दोश्रो प्लेन बाट नेपालगंज छोड्न कुरिरहेको थिए, हुम्लाका लामा दाजुसँग चिनजान बढ्यो |

कुरैकुरामा बहुमुल्य यार्सागुम्बा को विषय उठान भयो, लामा दाजु यार्सा टिप्न जाने  मध्य एक रहेछन्, पर्स निकाले अनि एउटा कोशा मलाई लिन आग्रह गरे, सधैको लागि | म पनि कहा छोड्दोहुर, समातिहाले | घर फर्किन थालेका उनिसंग तेल, चिनी जस्ता खुद्रा सामान धेरै थियो, प्लेन मा अनुमति भने १५ किलो मात्र | अहिले मेरो कोर्ट मा बल थियो, मैले केही सहयोग गरिदिए, आखिर मसँग एक जोर कपडा भन्दा के नै थियो र | उनी खुशी भए, घर भमण को निम्तो सँगै फोन नम्बर दिए, अन्तिम अवस्थासम्म हात हल्लाउँदै मन्द मुस्कानसहित  बिदा भए | दुखको कुरा उनको घर र मेरो बाटो फरक फरक परेछन फेरि भेट्ने सन्जोग जुरेन | हिउँले ढाकेको समतल भूमि झैँ सफा सरल चम्किलो मनका धनि लामा दाजु |

सिकिमोट कार्यालय मा जानकारी आदानप्रदान सँगै बिहानी पखबाट मेरो पैदल यात्रा सुरु भयो, सिमिकोट नजिकैको गाविस बरगाउँ मा लामा थरका कार्यालय सहयोगीको घर रहेछ त्यतै खाना खाने निधो भयो | घडीले ८ को लाइन समातेको मात्रै थियो, हाम्रो टेबलमा उमा (परिपक्क पाक्नु भन्दा पहिले को गहुँ) द्वारा निर्मित तरल पदार्थ को गिलास ले स्वागत गर्नुभो | हामि अक्क न् बक्क पर्यौ, चिया खाने बेलामा उमा को झोल, के गरौ कसो गरौ केही समय रुमल्लिए, अन्तत स्वागत, थकान र इच्छा लाई सम्मिश्रण गरी गिलास रित्याए त्यो पनि दुई पटक, सँगै को साथीले त चार पटक हो क्यारे | रोटि खायौं बाटो लाग्यौ |

कहिले खुट्टा खोच्याऊदै त कहिले पाछेको कापमा औषधि लगाउदै सिमिकोट छोडेको तेस्रो दिनमा दार्मा गाविस पुग्दैथियौं | RAP-3 ले सडक निर्माण कार्य तिब्र पारेको रहेछ, हुम्ला कर्णालीको छेवैमा अजिंगरको चट्टानमा परम्परागत औजारको सहयोगमा फुटाउदै थिए, मेरो मस्तिष्कमा असम्भबझैँ लाग्ने बाटो सम्भब तुल्याउदैथिए, दैनिक पारिश्रमिक ५०० रुपैयाँ मात्र लिएर |

दिनभरी ढुंगामाटोसँग कुस्ती अनि रात परेपछि चिसोसँग लड्न मुडाको अगुल्टोसँगै | कामदार भने सबैजसो कालिकोट सदरमुकाम मान्म बाट पश्चिमतिर देखिने लालु गाबिसका दलित समुदाय रहेछन | लालु त्यहि ठाउँ को जहाँ राष्ट्रिय व्यक्तित्व योगी नरहरिनाथ को जन्म भएको हो | राष्ट्रिय  स्तरबाट हेर्नेहो भने उच्च सम्मानले लिने नाम हो तर जब क्षेत्रीय आँखाले हेर्न थालिन्छ त्यो सम्मान खस्कँदो देख्छु |

म कालिकोट पुगेको हप्ता दिनमा पत्रपत्रिकामा खबर आयो, हुम्लाको सडक निर्माणमा खटिएका मध्य आगोमा पोलिएर दुईजनाको ज्यान गयो, दुईजनालाई उपचारार्थ नेपालगंज लगियो | औषत २५ वर्ष उमेर समूहका जमातको दैनिकी नै ढुंगामाटो, लोकल ठर्रा र कालो धुवाको मुस्लो रुपी आगो | अनि कर्णालीको औषत आयु चर्चित पुस्तक चादीको घेरा मा वर्णन गरिएझै ४६ वर्ष भन्दा कसरी अगाडि बढोस् |    

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया