MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

विनोद भण्डारी ।

पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् । क्याम्पसहरुका नजिक रहेका  होटलआदिमा अब धेरैले निःशुल्क खाजा, मासुभात खान पाउनेछन् । विद्यार्थी संगठनको तर्फबाट बेहोरिनेगरी सबै व्यवस्था मिलाइनेछ । क्याम्पस छेउछाउका चियापसलहरु भरिन थालिसकेका छन् ।विद्यार्थीहरु कक्षाकोठाभित्र लेक्चर सुन्नभन्दा क्लास बाहिर विद्यार्थी नेताको कुरा सुन्नलाई लालायित देखिन्छन् । विस्तारै विद्यार्थीहरुको संख्या कक्षाकोठामा कम, क्याम्पसको चौरतिर बढिरहेको देख्न सकिन्छ । क्लास भइरहँदा एकैछिन है सर भन्दै कक्षाकोठामा छिरेर सरहरुलाई बाहिर निस्कन आग्रह गर्ने क्रम सुरु भइसकेको छ । क्याम्पसका सेमिनार हलहरुमा केन्द्रिय नेताहरुलाई बोलाएर भाषण राख्ने प्रतिस्पर्धा चलिरहेको थियो, तर चुनावी आचारसंहिता लागु गरिएपछि त्यो क्रम बन्द भएको छ ।

भर्ना गर्ने सन्दर्भमा फारम यसरी भर्ने भनेर डेस्क राख्ने र प्रथम वर्षका नयाँ विद्यार्थीहरुलाई स्वागत भनेर चिया विस्कुट खुवाउने जस्ता एकदमै सस्ता कुराहरु भन्दा अगाडी बढ्न सकिरहेका छैनन् विद्यार्थी संगठनहरु । 

यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको  चुनाव १८ गतेलाई सारिएको छ । यसै चुनावको निम्ति केही समयअघि २८ वर्षे उमेर हदवन्दी सम्वन्धि एक सकारात्मक निर्णय भएको छ । यसैगरी अब अरुपनि केही विषयमा सोच्नुर्पे बेला आएको छ ।

अहिलेको सम्मको स्थीतिमा हामी क्याम्पसभित्र राजनितिक परिषद नै बनाइराखेका छौं, विशुद्ध शैक्षिक विद्यार्थी परिषद होइन । हामी शैक्षिक मुद्दामा बहस गर्ने, विद्यार्थीको आवाज प्रशासनसँग राखिदिने बौद्धिक विद्यार्थीलाई चुनिरहेका छैनौं । हामी त राजनीतिक दलको झण्डा बोकेर भाषण गर्नेलाई जिताइरहेका छौं । “राजनितिक दलहरुको मिनी चुनाव” जस्तो गरि सम्पन्न हुने यो विद्यार्थीहरुको चुनावमा यति धेरै राजनीतिक हस्तक्षेप र प्रभावलाई केही गरी पनि ठीक मान्न सकिदैन । अबको हाम्रो ध्यान भनेको यही कुरालाई कसरी हटाउने भन्नेमा हुनुपर्दछ ।

त्यसका लागि क्याम्पस वा विश्वविद्यालयभित्र अब विद्यार्थीहरुले राजनीति गर्ने भन्दा पनि राजनीति सिक्ने संस्कार बसाल्न जरुरी छ । विश्वविद्यालय वा क्याम्पसहरु भनेको विशुद्ध शैक्षिक एवं बौद्धिक स्थल हुनुपर्दछ । विद्यार्थीहरुको राजनीतिक चेतना समेत क्याम्पसको शैक्षिक वातावारणले परिस्कृत गर्न सहयोग पुर्याउनुपर्ने हो ।

विश्वविद्यालयमा वा क्याम्पसभित्र विद्यार्थीले राजनीति गर्ने हुँदै होइन, त्यहाँ त शैक्षिक एवं वौद्धिक कुराको मन्थन हुनुपर्छ । बरु त्यही शैक्षिक स्थलबाट विद्यार्थीले राजनीतिक चेतना बढाउने हो । विद्यार्थीकाल अथवा तन्नेरी उमेर भनेको राजनीति गर्ने भन्दा पनि राजनीति सिक्ने समय हो ।

विशेषगरी जसले भावी दिनमा राजनीति गर्छु भन्ने सपना बोकेको छ, उनीहरुले राजनीति कहाँ खराब छ, नेताहरु कहाँनिर चुके, के हुनुपर्ने थियो आदि कुरा पहिल्याउन सक्ने गरी आफुलाई सक्षम बनाउदै लैजाने हो, यो उमेरमा । राजनीति गर्ने समय त पछि जतिपनि पाइन्छ । तर जुन सिर्जनशील र जस्तो कुरा पनि सहजै सिक्न सकिने मूल्यवान उमेर हो त्यो पछि पाइदैन ।

विद्यार्थीकालमा आफ्नो राजनीतिक ज्ञान बढाउन कुनै नेताको पछि लाग्नु जरुरी छैन, न त झण्डा बोकेर नारा लगाउन नै । न त त्यसका लागि ढुंगामुढा गर्न आवश्यक छ, न त क्याम्पसको सार्वजनिक सम्पत्ति फुटाउन । पत्रपत्रिका, समाचारहरु, महत्वपूर्ण विषयमा हुने वहसहरु आदि कुराहरुमा सधैं चासो राख्ने, सरिक हुने र सोही अनुसार आफ्ना तर्कहरु बनाउने, साथीभाइमाझ छलफल गर्ने गरियो भने कम राजनितक ज्ञान प्राप्त हुँदैन ।

विद्यार्र्थीका लागि देश बुझ्न, समाज बुझ्न, राजनीति बुझ्न अथवा भनौं कुनै पनि दर्शन बुझ्न पुस्तकीय ज्ञानबाहेकको यो एउटा सरल एवमं सभ्य तरिका हो । औपचारिकरुपमा विश्वविद्यालयबाट दीक्षित भइसकेपछि वा आफ्नो रुीको विषयमा दक्षता हासिल गरिसकेपछि अनि चाहना भए विशुद्ध राजनीतिमा लाग्न नसकिने कहाँ हो र ?

अघिको कुरालाई फेरि जोडौं विद्यार्थीले राजनीति गर्ने होइन, राजनीति सिक्ने हो । राजनीति गर्नु र राजनीति सिक्नु  फरक कुरा हुन् । हाम्रा विद्यार्थीहरुले राजनीति गर्न खोज्छन् तर राजनीति सिक्न खोज्दैनन्, त्यसैले कुरो बिग्रिएको हो ।

राजनीति गर्ने भनेको राजनीतिक दलमा आवद्ध हुने हो । आफ्नो राजनीतिक दलको लाइनअनुसार आफ्नो धारणा बनाउने हो, राजनीतिक दललाई सहयोग गर्ने हो । आफ्ना विचारहरु प्रवाहित गरेर धेरैलाई आफ्नो विचारमा डोर्याउने हो । सरकारले गरेका काम कारवाहीको मूल्यांकन गरेर गुणदोषका आधारमा रचनात्मक कदम उठाउन पार्टीलाई सहयोग गर्ने हो । क्याम्पसकालिन उमेर (सामान्यरुपमा १६ देखि २५ वर्ष )मा कुनै पनि व्यक्तिले धेरै कुराहरु सिकिसकेको हुँदैन, बरु सिकिरहेको हुन्छ ।

अनि त्यस्तो व्यक्तिले न ठूलो अधिकार भएको पद वा जिम्मेवारी पाएको हुन्छ न उसले भनेको कुराहरुले धेरै प्रभाव नै पार्दछ । युवा जोश भएको नाताले आवेशमा आएर गरिएको भाषण एवं उत्तेजनाले धेरै अर्थ राख्दैन । बरु त्यो जोश जाँगरलाई राजनीतिक दलले प्रयोग मात्र गरिराखेको हुन्छ । बदलामा विद्यार्थीले आफ्नो सिर्जनशील समय खेर फालिरहेको हुन्छ । त्यसैले विद्यार्थीले राजनीति गर्ने भनेर भन्ने कुरा अलि हतारको विषय हो ।

बरु विद्यार्थीले गर्ने भनेको राजनीति सिक्ने हो । एक किसिमले राजनीतिमा प्रत्यक्ष संलग्न हुन इच्छा नलागेको व्यक्तिमा समेत धेरथोर राजनीतिक चेतना हुनुपर्दछ नै । उता भविष्यमा राजनीति नै गर्छु भन्नेहरुले पनि विद्यार्थी कालमा राजनीति सिक्ने हो, हतार गरिहाल्नुपर्दैन । राजनीति सिक्ने भनेको निकै महत्वपूर्ण कुरा हो ।

देश दुनियाँको राजनीति कस्तो छ त्यसको अध्ययन, देश दुनियाँको इतिहास, कानुन, भुगोल, कला संस्कृतिआदिको राम्रो अध्ययन एउटा पाटो हो । विभिन्न दर्शनहरु, राजनीतिक व्यवस्थाहरु, अर्थ व्यवस्थाहरुबारे अध्ययन र अध्ययन गरिसकेपछिको आफ्नो त्यसमा धारणा बनाउनु अर्को पाटो हो ।

त्यस्तै केन्द्रिय नेताहरुको विगत, उनीहरुको राजनीतिक कदमहरुलाई राम्रोसँग बुझ्न सक्ने र यहाँनिर यो गर्नुपर्ने थियो भन्नेगरी आफूलाई योग्य बनाउदै लैजानु भनेको राजनीति सिक्ने हो । कम्तिमा उर्वर मगज भएको बेला अध्ययनलाई चटक्कै बिर्सेर नेताहरुको अन्धभक्त भइरहनु राजनीति सिक्ने कुरा भित्र पर्दैन ।

चिल्ला भाषण गर्ने, सपना मात्रै बाँड्न जान्ने नेताहरु देशले धेरै पाइसक्यो । अब अध्ययनशिल एवं बौद्धिक नेताहरु चाहिएको छ, हामीलाई । भ्रष्टाचर गर्ने, चाप्लुसीमा रमाउने नेताहरु धेरै पायो देशले  । अब सद्गुणी एवं सदाचारी नेताहरु चाहिएको छ हामीलाई । त्यसका लागि भोलि राजनीति गर्छु भन्ने आजका विद्यार्थीहरुले आफ्ना नेताहरु भन्दा पृथक भएर निस्कनुपर्छ । आफ्ना नेताहरु भन्दा फरक हुन अब कलेजमा नारा लगाएर, भाषण गरेर मात्रै भोलि नेता बन्छु भन्ने पुरानै नेताहरुको शैलीलाई अनुसरण गर्न छोड्नुपर्छ ।

हामी सक्षम व्यक्तिलाई जिताउन त चाहने, तर त्यस्तो व्यक्ति उम्मेदवार नै नबन्ने अवस्थालाई पनि अव फेर्नुपर्छ । जसरी राजनीतिक दलहरुको चुनावमा माथिको आदेशबाट उम्मेदवारको तय हुन्छ झण्डै, झण्डै त्यसैगरी विद्यार्थीहरुको यो चुनावमा पनि त्यसखालकै अस्वस्थ चुनावी शैली देखिन्छ ।

सक्षम र योग्य विद्यार्थी उम्मेदवार बन्ने र त्यस्तो विद्यार्थीलाई अरुले सहयोग गर्ने अवस्था कमै देखिन्छ । किनभने कुनै पनि कलेजमा जुन राजनीतिक दलको विद्यार्थी संगठनको पकड बलियो छ, त्यहाँ जतिसुकै असक्षम विद्यार्थी उम्मेदवार भएपनि जित्ने अवस्था रहन्छ । अहिलेसम्म हामीले राजनीतिक दलको झण्डा हेरेर न विद्यार्थी परिषद बनाइरहेका छौं ।

हामीले बिभिन्न क्याम्पसहरु वा विश्वविद्यालयभित्र शैक्षिक वातवारणलाई नधमिल्याउने अवस्था सिर्जना गर्ने हो भने अहिलेसम्म हुँदै आइरहेको यति धेरै राजनीतिक दलहरुको प्रभावलाई हटाउनै पर्छ । त्यसको प्रादुर्भाव विद्यार्थी परिषद बनाउने प्रकृया र यसको बनोटलाई परिवर्तन गरेर गर्नुपर्छ । किनभने क्याम्पसहरुभित्र राजनीति घुस्ने भनेकै एक किसिमले विद्यार्थी संगठनहरुबाट हो ।

विद्यार्थी परिषदकै लागि भनेर विद्यार्थी संगठनहरु खोलिएका हुन्, भन्दा विद्यार्थीहरुको आवाज उठाउने भनेपनि । अनि ती विद्यार्थी संगठनहरु कुनै न कुनै राजनीतिक दलहरुको झण्डा बोकिराखेका हुन्छन अथवा भनौ राजनीतिक दलहरुबाटै निर्देशित हुन्छन् । त्यसका लागि  शिक्षालायभित्र कम्तिमा आफ्नो पढाईका मुद्दा बोक्ने विद्यार्थीलाई चुनिनुपर्ने हो, राजनीतिक व्यक्ति होइन ।

विद्यार्थीहरुको झुकाव कुनै न कुनै दल विशेषसँग हुन्छ भन्ने कुरा अकाट्य हो  । तर यो राजनीतिक दलप्रतिको विद्यार्थीको झुकावलाई त राजनीतिक अधिकार प्रयोेग गर्ने बेलामा प्रयोग गर्ने हो, शिक्षालयमा होइन । जस्तै आफूलाई मन परेको राजनीतिक दलहरुको निर्वाचनमा मत हालेर, राजनीतिक दलहरुले गरेका कार्यक्रममा समर्थन जनाएर, सरिक भएर आदि ।

एउटा सत्य के हो भने क्याम्पस वा विश्व विद्यालयमा विद्यार्थीहरुको आवाज राख्ने एउटा विद्यार्थी समुह (नाम जे दिएपनि)  निश्चय पनि चाहिन्छ नै । तर यो समुह बनाउँदा जुन राजनीतिक गन्ध मिसाएर शैक्षिक वातावरणलाई धमिल्याइरहेका छौ, त्यसलाई हटाउनु पर्छ ।हामीलाई चाहिएको भनेको बौद्धिक एवं शैक्षिक विद्यार्थीको समूह हो्, कुनै राजनीतिक दलबाट निर्देशित भई क्याम्पसलाई प्रभावित गर्न खोज्ने राजनितिक व्यक्तिहरुको झुण्ड  होइन ।

हालको अवस्थाबाट चुनिएर बन्ने विद्यार्थी युनियनको ध्यान आफ्नो संगठन विस्तार र चुनावमा आफुलाई सहयोग गर्नेहरुलाई कुनै न कुनै किसिमबाट लाभ दिलाउने नै हुने गरेको देखिन्छ । अथवा भनौं बिद्यार्थीका कुरा वा शैक्षिक मुद्दा भन्दा अन्य कुराहरु सरोकारको विषय बन्ने अवस्था देखिन्छ विद्यार्थी युनियनको । यस अवस्थालाई कम गर्न एउटा नयाँ प्रयोग गर्न सके केही हदसम्म सकारात्मक अवस्था देखिनसक्दछ ।

 त्यो नयाँ प्रयोग भनेको, पढाइमा उत्कृष्ट हुने निश्चित व्यक्तिहरु स्वतः मनोनयन हुनेगरी नियम बनाउनु जरुरी भइसकेको छ । क्याम्पसमा पढाइ हुने विभिन्न संकायमा छुट्टाछुट्टै प्रथम हुनेहरुलाई वा प्रथम हुनेले इच्छा नदेखाएमा द्धितीय हुनेहरुबिच समझदारी गराई केही संख्या यूनियनको स्वतः सदस्य हुने व्यवस्था गर्दा सकारात्मक प्रभाव हुनेछ । समझदारी नभएको खण्डमा पढाइमा उत्कृष्ट गर्नेहरुलाई स्वतः उम्मेदवार बनाउने र तीमध्येबाट भोटको माध्यमबाट केही संख्या सदस्यको रुपमा चुन्ने अवस्था बनाउन सकिन्छ । यसले गर्दा विद्यार्थीको नेता बन्ने सपना बोक्नेहरुलाई पढाईमा राम्रो गरे यसैपनि विद्यार्थी नेता बन्ने बाटो खुल्ला हुनेछ ।

विद्यार्थी युनियन विशुद्ध राजनीतिक हुनबाट यसले केही हदसम्म बचाउँछ । पढाईमा उत्कृष्ट गर्ने विद्यार्थीले कम्तिमा शैक्षिक मुद्दालाई छोड्दैन भनेर अनुमान गर्न सकिन्छ । तपार्इं आफै कल्पना गर्नुस्, क्लासै नजाने र दर्जन बढी विषयमा पास नभएको कुनै विद्यार्थीले चुनाव लडेर जित्यो भनेपनि उसले विद्यार्थीहरुको वास्तविक शैक्षिक मुद्धा कति बुझेको हुन्छ होला ।

यसैपनि विद्यार्थी युनियनभित्र  नियमित कक्षा कोठामा उपस्थित भएर अध्ययन गर्ने लगनशील एवं जेहेन्दार केही  विद्यार्थीहरुलाई अनिवार्य सुनिश्चित गर्दा त्यसले घाटा कसैलाई हुँदैन । शैक्षिक स्थलमा बन्ने विद्यार्थी युनियन शैक्षिक कम राजनीतिक बढी भइरहेको हाम्रो हालसम्मको विकृत व्यवस्थालाई घटाउन यसले केही न केही सकारात्मक प्रभाव पार्छ ।

क्याम्पस छिर्ने बित्तिकै पढाइलाई चटक्कै छोडेर राजनीतिक गतिविधिमा लाग्नेहरु पनि यदाकदा देखिन्छन् । यसलाई पनि हटाउन जरुरी छ । किनभने शैक्षिक स्थलमा विद्यार्थीको पहिलो उद्देश्य पढाइ नै हुनुपर्दछ । त्यो सिर्जनशील उमेर सदाका लागि रहँदैन, राजनीति गर्ने समय त पछि पनि मिल्न सक्छ ।
 

[email protected]

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया