MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

परदेशमा चोइटिएका सपना

दिपक महत –

एसएलसी सिद्धिएपछि मनमा बेग्लै उर्जा छ । उच्च शिक्षाको लागि शहर भासिन मनले मान्दैन । कमजोर आर्थिक अवस्थामा च्यापिएर शहरका अनेक चुनौतीसँग भिड्न हिम्मत छैन । सबल पारिवारिक हैसियतमा हुर्केको भए अवश्य हजार चुनौती सीमामा बाँधिन पुग्थे । तर यहाँ त एक पछि अर्को ताँती लागेसरी चुनौतीका पोका हिमाल जस्तै अटल बनि बसेका छन् । शहरमा पसेर सफल असफलताको परीक्षणमा उत्रने मन नभएको पनि हैन तर यो लम्बेतान बाटोमा जोखिमता लिने घरको वर्तमान परिवेशले दिदैन । पारिवारिक रुपमा कम सदस्य हुँदैमा सुखी परिवारको दर्जमा राखिने मेरो परिवार भने यसमा पर्दैन ।  

घरमा बा, आमा र म छाैं । भौगलिक विकटताको यो चोटिलो मर्म बेहोरिरहेको सुदूरको हुम्ला आफैंमा एक सम्भावना हुदाँहुँदै पिछडिएको र विकट छ । सायद यही विकटताले आजसम्म पनि हामी पछि नै छौं । परिवर्तनले विश्वमा सबैतिरको आयाममा ब्यापकता ल्याएपनि त्यसले यो विकटको हाम्रो समाजलाई छुन कति समय लाग्ने हो । सञ्चार माध्यममा देखिने र सुनिने पीडाले त कति धेरै छुन्छ तपाई हामीलाई । तर वास्तविक यहाँको माटोमा वर्षौंदेखि भोगिरहेका अनुभूतिले हामीलाई एक छुट्टै र विशेष जीवनको पाटोमा भोगी बनाएको छ । 

यहाँको यो भौगलिकता र घरको चरम आर्थिक अभावले गाउँका युवाले अँगालेको परदेशको बाटोमा लाग्ने सुरसार गर्छु । स्कुलमा वादविवाद प्रतियोगितामा बोलिएको धनभन्दा बिधा ठूलो पक्षका आफ्ना तार्किक वाक्यहरु यहाँ आउदा फिक्का लाग्छन् । अहिले लाग्छ, खै बेसुरमा के बोलिएछ ! पैसा बिना शिक्षाको दर्शन कमजोर हुन्छ जस्तो लाग्छ । संसारको फन्को लगाएर पनि सबै कुरा थाहा पाउन सकिंदैन ।

तर प्रविधिले भने थाहा पाउने र अनुभूत गर्नसक्ने बनाएको छ । तर यो सबैले उपभोग गर्न सक्ने भने बनेको छैन । सबै कुराको सम्बन्ध पैसासँग जोडिन पुग्दा पैसा बिनाको संसार कल्पना बाहिर हुन थालेको छ । जसले पैसा मात्र मानिसको केन्द्रमा परेको छ । हो यही मानसिकताले मेरो मस्तिष्क पनि नराम्ररी पिटेको छ । सीमित पैसामा रहेर जिन्दगीका मोडहरु पार गर्न कति गाह्रो हुन्छ र कति सपनाहरुको मलामी बन्नुपर्छ पीडा बोक्ने हिस्सेदारको मुहार पढे मात्र हुन्छ । 

भर्खरै भित्रिएको बिजुलीले गाउँ उज्यालो हुन पुगेको छ । जसले शहरको झझल्को मेटिएको छ । पल्लाघरे काकीको घरमा भएको रंगिन टिभिले घर गाउँका सबैलाई तानेको छ । चलिरहेको फिल्ममा परदेशिका अनेक पीडालाई चलदृश्यमा रोचक ढंगले प्रस्तुत गरिएको छ । मेरी आमा जस्ता कलिला मन भएका गाउँका सबै आमाहरु पछ्यौरीले अनायासै बगेका आशुँका बर्बर भेल पुछ्दै बाहिरिन्छन् । 

विदेश जाने भए घरमा बुहारी भित्र्याएर मात्र जान भनेर घरबाट कर गर्नुहुन्छ । मन नहुँदा नहुँदै पनि घरको खुसीको लागि छिमेकी गाउँकी वर्षा रावतसँग लगनगाँठो कस्छु । युवा गाउँमा कोही छैनन्, छन् त केटाकेटी र बुढापाका मात्र । पैसा हुनेहरु शहरमा छन् भने नहुनेहरु भारत र विश्वका खाडीमा पैसासँग पसिना साटिरहेका छन् । त्यसैले गाउँ गरीबको मात्रै भएको भान हुन्छ । बिहेको १५ दिनपछि परदेशीको सूचीमा म पनि थपिन्छु । 

२ वर्षे परदेशको यात्रामा निस्किँदा पल्लाघरे काकीको घरमा हेरेको फिल्मले मेरो आमाको आँखा रसाउन थाल्छन । म आत्मविश्वाशी बन्दै सुनौला र रंगिन कल्पनारुपी आशाको त्यान्द्रोमा उनिदै हुम्लाबाट काठमाडौंतिर लाग्छु । 

व्यस्त काठमाण्डौ कसैको पर्वाह गर्दैन । मान्छे आ–आफ्नै पारामा छन् । म एयरपोर्ट पुग्छु । ठाउँ ठ्याक्कै याद भएन तर ट्याक्सीले उकालो भएतिरबाट जहाज चढ्ने ठाउँतिर पु¥याउन्छ । साँझको फ्लाइट छ । सिमिकोटमा काले साहुको घर जत्तिकै लामो र त्यस्तै रङ्गको जहाज छ । नेपालमा संगालिएका सपनाहरुलाई विपनामा उतार्न त्यही काले साहुको घरजस्तै लाग्ने जहाजको बिचतिरको सिटमा बस्छु । केहीबेरमा आफ्नै रफ्तारमा चराजस्तै जहाज उड्न थाल्छ ।

कतारको हमाद विमानस्थलमा उत्रिएपछि केहीबेरमै कम्पनीको गाडी मलाई लिन आउँछ । एयरपोर्टमा काला, गोरासँगै नेपाली पनि मिलेर काम गरेको देख्दा अचम्म लाग्छ । सबै कामकै लागि ब्यस्त छन् । मरुभूमीको देश भएनि सबैतिर हेर्न लायक बनिसकेको छ । कतार विकसित राष्ट्रतिर लम्केको पनि यही कारणले होला म मनमनै सोच्छु ।

प्लम्बर भनेर मलाई लगिएपनि काम भने इलेक्ट्रिसियनको हुन्छ । बिजलुीसँग निकै डर र कौतुहलको सम्बन्ध छ मेरो । गगनचुम्बी भवनमा बिजुलीका तारसँग दिनहुँ चर्को रापमा जोडिनु मेरो नियमित कर्म बन्छ । पैसासँग यो चर्को मेहनत साटिँदा मनले नेपालका बाँझा जमिन जोतेर हराभरा पारौं कि जस्तो लाग्छ । 

कतार आएको पनि २१ महिना भैसक्छ । यो बेला मनले शान्तिको सास फेर्छ । पैसासँग साटिएका धेरै सपनाहरु विपनातिर लम्केका छन् । घर जाने दिन नजिकिँदै जाँदा मन खुशीले फुरेको छ । संसार जितेको भान पर्न थालेको छ । 
बिडम्बना ओभर डुयुटीको चक्करमा उज्यालिएको संसारमा एकाएक बादल लाग्छ । इन्द्रेणीको रंग उडेर संसार बिरक्तिए जस्तो । खाडीमा उठ्नै नसक्नेगरी जीवन भासिएको छ । घरमा कसरी भनौं फोन समात्न सक्दैनन् यि हातहरु भनेर । हो इलेक्ट्रिक कटर चलाउँदा दुवैै हात छिनिएका छन् । संसारमा हात बिनाको मेरो अस्तित्व नगन्य छ । संसारको अनुहार हेर्ने मन छैन । पैसाप्रतिको मोह शून्यतामा झर्छ । मैले मेरा हात मात्र गुमाएको छैन बाँकी सपना र आनन्दरुपी कल्पनाहरुलाई सदाका लागि क्षणभरमै उडाएको छु । तर यी सबै कुराहरु मैले रहस्यमै छोड्छु घरमा कहिल्यै भन्दिन । घरको स्थितिलाई जीवन्तता दिन यो मैले लुकाउनै पर्छ ।   

म घर फर्कने दिन बुबा मलाई लिन भनि घरबाट काठमाडौं हिँड्नुहुन्छ । तर मैले एयरपोर्टमा बुबालाई देख्दिन । छिमेकी गाउँका दाजुभाइ मलाई लिन आएका छन् । मलाई देख्दा उनीहरुको भावमा एक्कासी परिवर्तन आउन्छ कारण मेरो शारीरिक अवस्थामा भएको उथलपुथल । हाम्रो बिचमा धेरै कुरा हुन्न । त्यहाँबाट हामी सिधै ट्याक्सिमा बि.एण्ड.बि अस्पतालमा पुग्छौं । किन अस्पताल मलाई ल्याइयो यसबारे म पुरै बेखबर छु । 

अस्पतालको ४०१ नम्बरमा पुगेर हामी अडिन्छौं । बुबालाई अस्पतालको बेडमा देख्दा भूकम्पले पुरै अस्पताल हल्लिए जस्तो लाग्छ । संयोग मिलाई मिलाई चिथोर्ने नियतीले गर्दा संसार उदास बाहेक केही लाग्दैन । कैलालीको चिसापानी नजिकै भएको सडक दुर्घटनामा परि बुबाको यो अवस्था छ । अस्पतालमा १५ दिनको बसाईपछि हामी घर हुम्लातिरको यात्रामा निस्कन्छौं । यति दिन बिताउँदा घरकाले केही सुईंको पाउँदैनन् । गाडीमा चढेर यात्रा गरिरहँदा जीवनको अर्थहीन यात्रा गरेजस्तो लाग्छ । बुबाको खुट्टा र मेरो हात बिहीनताले घरमा कस्तो संकट निम्तिने हो सोच्न मस्तिष्कमा कुनै स्पेस बाँकी छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया