MENU

विचार/अनुभूति

Ncell Axiata

दुवै मिर्गौला फेल भएपछि

श्यामकृष्ण दाहाल -

२०७१ सालको असोज मध्यतिर अचानक ब्लड प्रेसर बढ्यो । कन्ट्रोल नभएपछि विराटनगर नर्सिङ्ग होममा जाँच गर्दा मिर्गौला समस्या भएको थाहा पाएँ । हट्टाकट्टा नै थिएँ, पहिले पेट दुखेको पनि थिएन, त्यसैले धेरै समस्या होला भन्ने त दश मनमा एक मन पनि थिएन । काठमाडौं आएर जचाएँ । मिर्गौलामा समस्या धेरै देखिएको रिपोर्ट आउँदा पनि होइन होला भन्ने नै लाग्यो । थप परीक्षणका लागि दिल्लीको एम्स अस्पतालसम्म पुगें । आखिर प्रत्यारोपणको विकल्प नभएको खुल्यो । दुवै मिर्गौला फेल भएका रहेछन् । 

गरिखाने उमेरमा किड्नी फेल भएको कुरा थाहा पाउनासाथ भाउन्न भयो । के गर्ने कसो गर्ने दिमागले सोच्नै सकेन । बाउआमा, श्रीमती अनि छोराको अनुहार झल्झली सम्झिएँ । औषधि उपचार अनि प्रत्यारोपणको कुरा कसरी सल्टाउने भन्ने कुराले बढी नै पिरोल्यो । रोग थाहा पाउनुअघि किड्नी फेलको समस्या महँगो र जटिल हो भन्ने थाहा थियो । तर विस्तृतमा थाहा थिएन । आफैलाई नपरी के थाहा होस पनि ? कतिजनाको उपचार हुन नसकेर ज्यान गएको पनि सुनेको थिएँ । 

दिन बित्दै जाँदा साथीभाइ, आफन्तजनले खबर थाहा पाए । त्यसपछि उनीहरुको ढाडस र सान्त्वना अनि सहयोगका लागि तयार रहेको अभिव्यक्तिले आत्मबल बढ्दै गयो । परिवारको साथ सबैभन्दा ठूलो आधार थियो । बुवाआमा अनि श्रीमती एञ्जिलाले उपचार अवधीभर पूरै उत्साहका साथ मलाई साथ दिइन, त्यो मेरा लागि महत्वपूर्ण बन्यो । स्वास्थ्यकर्मी पनि भएकाले उपचारमा उनले हौसलामार्फत पनि मेरो मनोविज्ञानलाई उपचार गरिरहिन् । 

२०७१ असोजको २४÷२५ गतेतिर विराटनगर हुँदै शुरुमा सुमेरु अस्पतालमा आएँ । अस्पताल प्रशासन र स्वयं डाक्टरले पनि पैसामुखी व्यवहार बढी देखाए । कतिसम्म भने भारत नमुना परीक्षणका लागि पठाउनुपर्छ ५ दिनमा रिपोर्ट आउँछ भनेर लिएको रगतको रिपोर्ट भोलिपल्टै डिस्चार्ज फायलमा लगाईदिएका थिए । निकै नमज्जा लाग्यो ।

कात्तिकको दोश्रो सातातिर निदान अस्पताल पुल्चोकमो डाक्टर अनिल बरालसँगको पहिलो भेटबाट भने मेरो उपचार सफल हुन्छ भन्ने कुरामा आत्मविश्वास बढेर गयो । उहाँको काउन्सिलिङ्ग शैली र उपचार पद्धतीबाट प्रभावित भएँ । मलाई पुनर्जीवन दिन शल्यक्रियाको लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वको डाक्टरहरुको मेहनत र ५ दिन अस्पतालमा रहँदा नर्सिङ्ग स्टाफको हेरचाहले नेपालमै मिर्गौला प्रत्यारोपणको अन्तर्राष्ट्रिय स्तरकै उपचार हुने कुरामा विश्वास बढ्यो । 

प्रत्यारोपणका लागि मिर्गाैला खोज्ने कुरा निकै गाह्रो कुरा थियो । खर्चको हिसाबले पनि नेपालमै प्रत्यारोपण गर्नुपर्ने थियो । फेरि परिवार त्यसमा पनि बुबा, आमा, दाजुभाइ, दिदीबहिनीबाट भयो भने प्रत्यारोपण सफल हुने सम्भावना धेरै भएको कुरा डाक्टरले भनेका थिए । किड्नी दिन त बुबा, श्रीमती पनि तयार हुनुहुन्थ्यो । आमासँग ब्लड ग्रुप लगायत कुराको क्रस म्यास सफल भएकाले आमाको मिर्गौला लिने तय भयो ।

अप्रेशन सफल हुन्छ भन्ने कुरामा विश्वस्त त थिएँ, तरपनि अपरेशन कक्षमा छिर्दैगर्दा मनमा के हुने हो कसो हुने हो भन्ने डर त भइहाल्दो रहेछ । आखिर ८ घण्टा लाएर आमाको शरीरबाट एउटा किड्नी मेरोमा सार्ने अपरेशन सफल भयो । हामी सबै खुशी भयौं । आमाबाट म दोश्रोपटक जन्मिदै छु जस्तो लाग्यो । 

अहिले स्वास्थ्य अवस्था सामान्य छ । त्यस्तो खासै त परिवर्तन आएको छैन । खानपान र दैनिकी भने केही फेरिएको छ । आफूलाई बढि केयर गर्ने र संक्रमणबाट जोगिने कुरामा धेरै ध्यान दिनुपर्ने भएको छ । प्रत्यारोपण पश्चात शारीरिक रुपमा पहिलाकै अवस्थामा आउने भएपनि मानसिक रुपमा भने चाहिँ बेलाबेलामा केही झस्का भइरहने हुँदोरहेछ । संक्रमणबाट जोगिन खानपान, हिँडडुल असहज हुनाले साथीभाइसँग र घरवाहिर त्यति समय दिन नसकिने । 

नियमित औषधि सेवन र डाक्टरको फलोअपमा छु । बिहान उठेर आधा घण्टाजति मर्निङ्ग वाक गर्छु, अरु दैनिकी त नियमित उस्तै छु । महिनामा झण्डै २ साता त जाँच, औषधि, डाक्टर भेटमा बित्छ । 

यो रोगको उपचारमा आर्थिक भार बढी हुने भएको साथै प्रत्यारोपण पछिपनि जिन्दगीभर फलोअप र औषधि गरी मासिक १५ देखि २० हजार खर्च हुने भएकाले त्यो रकम जुटाउन निकै नै समस्या पर्ने हुन्छ । कहिँ कतै मिर्गौला बिरामीको क्षमतामा प्रश्न उठाउँदा दुःख लाग्छ । तर मेरो आफ्नो आत्मबलमा भने कुनै कमी छैन । 

मेरो उपचारदेखिको सहयोगका लागि पत्रकारसँग आवद्ध संघ संगठनदेखि लिएर साथीभाइ, आफन्त सबैले पहल गर्नुभएको छ । मेरो १४ वर्षको पत्रकारिताको अनुभवले पैसा नकमाए पनि शुभचिन्तक निकै कमाएको महशुस भएको छ । आगामी दिनमा पनि मेरा सुखदुःखमा यस्तै साथ पाउने अपेक्षा गरेको छु । 

आफ्नो जिन्दगीको गुनासो गर्नु भनेको जीवनदेखि नै हरेस खानु हो । यसरी झन जिन्दगी चलाउनै सकिन्न । रोग सबैलाई लाग्छ । अलि गरिखाने उमेरमा एक्कासी ठूलो रोग लागेकाले गुनासो हो । आगामी दिनको दैनिकीलाई सहज र सरल बनाउँदै जीवन यापन गर्दै जाने हो । अजम्बर कोही छैन । जति सकिन्छ आफूले अर्कालाई राम्रो गर्न नसके पनि नराम्रो भने नगर्ने । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जापानको कृषिबाट नेपालले सिक्न सक्ने कुरा

    बर्षेनी हजारौ नेपाली युवा रोजगारका निम्ति विदेश राष्ट्रमा जाने गरेका छन् । धेरै नेपाली युवाको गन्तब्य बन्ने अर्को राष्ट्र हो जापान मिैले एसिया–प्रशान्त क्षेत्रको कृषि पढ्ने विधार्थीबीच भएको सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर जापान जाने मौका पाएको थिएँ ।

  • पोखरामा साक्षात देवी

    कोटको शिरान तिरका खुलै छोडिएकाले टाँकले छातीमा 'भि' आकारको डिजाइन बनाएका । वाह्य आवरणको त्यो आकर्षक डिजाइनले उघारेको भु-भाग छोप्न सेतो रंगको भित्री । कोटको माथिको गोजी रहने स्थानमा एयरलाइन्सको लोगो र नामथर स्पष्ट लेखिएको ट्याग । दबेका जस्ता देखिने सम्याइएका शालीन वक्षस्थल ।

  • ‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ?

    हरेक सिनेमा यो काल्पनिक कथामा आधारित छ भनेर सुरु हुन्छ । त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र सेन्सर बोर्डले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ ।

  • बाम एकताले कांग्रेसमा ८ रेक्टरको भूकम्प

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अप्रत्यासित हो । कांग्रेस र माओवादी केन्द्रको जुन गठबन्धन थियो र दुवै सरकारमा थिए । जसका कारण कांग्रेसको लागि यो ठूलै अचम्म भयो होला ।

  • जुत्ता सिलाउने सियो, कैँची, हम्मर नै मेरा साथी

    इच्छा यही छ, जुत्तामा सियो गाड्दा गाड्दै, सोलमा हम्मर ठोक्दाठोक्दै एक मुठ्ठी सास जाओस् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया