MENU

अर्थ

Ncell Axiata
NIC Asia

जिविसको खातामा थन्कियो दुई अर्ब तर भूकम्पपीडितले दोस्रो किस्ता पाएनन्

किरण लोहनी/उज्यालो ।

गोरखा, फागुन २७ – गएको वर्ष वैैशाख १२ गतेको भूकम्पका कारण ब्यक्तिगत आवास भत्किएकाहरुले सरकारले दिने दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको २२ महिना बित्न लाग्दा समेत भूकम्पपीडितहरुले राहतको दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेका हुन् ।  

जिल्ला विकास समिति गोरखाको खातामा दोस्रो किस्ताका लागि झण्डै दुई अर्ब रुपैयाँ थन्किएपनि पीडितसम्म पु¥याउन नसकिएको हो । पहिलो किस्ताबाट बाँकी रहेको २२ करोड, गएको तिहार लगत्तै आएको ९९ करोड र सोमबार आएको ८५ करोड रुपैयाँ जिविसको खातामा जम्मा भएर बसेको छ ।  

भूकम्पपीडितले दोस्रो किस्ताको माग नै नगरेकाले पैसा निकासा हुन नसकेको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो । जिल्लाभरका झण्डै ६१ हजार लाभग्राहीमध्ये हालसम्म १ सय ५० घरधुरीले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । लाभग्राहीको सूचिमा भएका मध्ये झण्डै ५४ हजारले पहिलो किस्ताको अनुदान रकम बुझेका छन् । 

पहिलो किस्ताको रकम वितरणको काम गएको असारबाटै सुरु भएको थियो । अनुदान रकम लिएपनि त्यतिबेला वर्षायाम भएकाले रोकिएको पुनर्निर्माणको काम हिउँद लागेसँगै सुरु भएको थियो । तर विभिन्न झन्झटिला प्रक्रियाका कारण पनि पहिलो किस्ताको अनुदानले घर निर्माण सुरु गरेर दोस्रो किस्ताको लागि निवेदन दिनेको संख्या निकै कम रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले जनाएको छ । 

डिभिजन प्रमुख रोशन श्रेष्ठका अनुसार अहिलेसम्म झण्डै ४ हजार जनाले दोस्रो किस्ताको माग गर्दै निवेदन दिएका छन् । धेरैजसो भूकम्पपीडितले गाउँमा दक्ष कामदारको अभाव भएकाले ब्यक्तिगत आवास पुनर्निर्माणको काम एकसाथ सुरु हुन नसकेको बताउने गरेका छन् । तर गाउँमा खटिएका प्राविधिकहरुले भने विभिन्न झन्झटिला प्रावधानका कारण सजिलै दोस्रो किस्ता सिफारिस गर्न नसकिएको बताउँदै आएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि २०७३ लागू हुनु अघि बन्न थालेका घरलाई दोस्रो किस्ताका लागि सिफारिस गर्न सकिने अवस्था नरहेको इन्जिनियरहरुको भनाई छ । ‘कार्यविधि लागू हुनु अघि बनेका घरमध्ये ९५ प्रतिशत भन्दा बढीले तोकिएको मापदण्ड पूरा गरेका छैनन्’ डिभिजन प्रमुख श्रेष्ठले भन्नुभयो, ‘कार्यविधि अनुसार त्यस्ता घरलाई दोस्रो किस्ता सिफारिस गर्न सकिदैंन, नगरे गाउँले हामीसँग रिसाउँछन् ।’ यस्तै बन्दै गरेका घरको निरीक्षण गरेर दोस्रो किस्ताको लागि प्रमाणीकरण गर्ने फाराममा समावेश गर्नै पर्ने कतिपय प्रावधान पूरा गर्न कठिन रहेको डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । 

प्रमाणीकरण फाराममा बन्दै गरेको घरको कम्तिमा ६ वटा फोटो, घरको जिपिएस कोअर्डिनेट अर्थात अक्षांश, देशान्तर र समुन्द्री सतहदेखिको उचाई अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने प्रावधान छ । भूकम्पपीडित भने गाउँमा इञ्जिनियर नबस्दा दोस्रो किस्ताका लागि माग गर्नबाट बञ्चित हुनुपरेको बताउने गरेका छन् । गुम्दाका पीडित सन्तबहादुर गुरुङले भन्नुभयो, ‘हाम्रो गाउँमा ५/६ घर बनिरहेका छन्, तर अहिलेसम्म इन्जिनियर हेर्न आएको छैन ।’ जिल्लामा अहिले १ सय ३० जनाको हाराहारी इञ्जिनियर तथा प्राविधिकहरु रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले बताएको छ । तर गाउँ गाउँमा खटिएका इन्जिनियरले धमाधम राजीनामा दिन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया