MENU

विचार/अनुभूति

Ncell Axiata

सियाम रिपको मसाज र नोम पेन्हको फसाद

डा. नवराज खतिवडा -

सियाम रिप । कम्बोडियाको नामी पर्यटकिय शहर । सियाम रिपमा अवस्थित विश्व सम्पदा सूचिको एक प्रख्यात दर्शनीय स्थल हो-एङ्करवात । यो विश्वविख्यात पुरातात्विक मन्दिरमा पुगेका जो कोहीले पनि बयान गरेर नथाक्ने । यसकारण पनि म उत्साह र उमँगको चरमोत्कर्षमा थिएँ । प्रतिक्षाको घडी अन्तिम पलमा टिक टिक गर्दै थियो । त्यो हिन्दु सँस्कृतिको पहिचान बोकेको मन्दिर हो भन्ने जानकारी पाउँदा भन्दा पनि कुनै कालखण्डमा कम्बोडिया एक हिन्दु राष्ट्र थियो भन्ने सुन्दा भने मलाई झन आश्चर्य लाग्यो । ढुँगै ढुँगाले निर्माण गरिएको त्यो अद्वित्तिय सँरचना आँखाले भ्याउने दुरी सम्म फैलिएको पाईयो ।

मिर्मिरेमा हजारौको सँख्यामा भेला भएका दर्शनार्थी सँगै मैले पनि एङ्करवातका चुचुराको पल्लो पट्टि उदाएका सूर्यनारायणको दर्शन गरेँ। कोरियन मित्रहरुको जम्बो टोली सँगै फेरी दिउँसो पनि म एङ्करवातको आभा चुम्न पुगेको थिएँ । प्राचिन कलाको अलौकिक नमूनाको दृष्यपानका अलावा अर्को एक रोचक विषय पनि हाता लागेको थियो-सियाम रिपमा । केही सँस्कृतका शब्दहरुले समेत बडो राम्रो पहिचान बनाएका रहेछन । ती मध्ये एउटा जौडे थियो-अप्सरा । बेलुकी एक रेष्टुरेन्टमा सुरापानको आनन्दमा 'अप्सराहरुको' नृत्य थपियो । नृत्यमा ईन्द्रकै दरवारमा देखाईए जस्तो अप्सराहरुले मनमोहक नृत्य देखाए ।

उच्च शिक्षा आर्जनको सिलसिलामा आधा दर्जन बर्षहरु थाईल्याण्डमा विताएको भएता पनि त्यसवेला मैले कम्बोडिया टेक्ने अवसर पाएको थिईन । दुई वर्ष अघि कोरियन मित्र डा. दोक्कोकै निमन्त्रणामा म नोम पेन्ह आएको थिएँ । तर यस पटक भने राजधानीका साथै नेपालको पर्यटकिय शहर पोखराको झल्को दिने सियाम रिपमा दुई दिन विताउने अपूर्व अवसर जुरेको थियो । डा. दोक्को सँग मेरो जापानमा बस्दा देखिको आत्मियता छ । आँखामा राख्दा पनि नबिझाउने साथी । कोरियन नागरिक भए पनि सार्है रमाईलो । एङ्करवातमा म समूहवाट छुट्टिएर एङ्कर रोटरी क्लबको कार्यक्रममा जानु पर्ने थियो । छुट्टिनु अघि डा. दोक्कोले मलाई सतर्क गराउँदै भनेको थियो ।

"तेरो कम्बोडिया घुमाईको रेकर्ड राम्रो छैन । यस पटक पनि तँ पक्कै हराउने छस । यसकारण यो गाईडलाई वेलैमा एउटी राम्री अप्सरा खोज्न लगा र यहीँ घरजम गरेर बस।"  

हुन पनि म नोम पेन्हमा तीन पटक हराईसकेको थिएँ । पहिलो २०१५ को भ्रमणताका दुई पटक र यसै पाली एक पटक ।

"डा. दोक्को ! मेरो लागि यो अन्तिम अवसर हुनेछ । यसपटक पनि म हराएँ भने तिम्रो सल्लाहा अपनाएर अप्सरा खोज्न लगाएर यतै बस्ने छु ।" 

मुस्कुराउँदै जवाफ दिएर म डा. दोक्को सँग विदा भएको थिएँ ।    

सियाम रिप पुगेको दिन हामी दिनभरी खानेपानी र शौचालय पूर्वाधारका सँरचनाहरुको अवलोकनमा व्यस्त भयौँ । अप्सरा नृत्यको रसराग र स्वादिष्ट भोजनको आनन्द लिएर होटल फर्कने क्रममा हाम्रा पथप्रदर्शकले एक स्थानमा बस रोकेर उदघोषण गरे-

"लौ! मसाज सेन्टरमा जाने जति गाडिबाट ओर्लनु होला ।"

मैले निधो गरिसकेको थिएँ । यस पटक म क्याम्बोडियाको मसाजको पूरा अनुभव लिएरै छाड्छु । लगभग एक दर्जनको समूह बसबाट ओर्लियो। समुहमा आधा जति युवतीहरु थिए ।

हातको ईशाराले हामीलाई मसाज परिसरको एक छेउ तिर लगियो । अघि अघि मसाज सेन्टरमा काम गर्ने युवती थिईन् । हामी पछि लाग्यौँ । केही दुरी हिँडेपछि एउटा दुई तले भवनमा पुगियो । कसैले उदघोष गर्यो ।

"हियर लेडिज वन्ली । जेन्ट्स प्लिज फलो मि ।"

पुरुष र महिलाको लागि अलग कक्षहरु रहेछन ।  समुहका चेलीहरुलाई त्यहाँ छोडेर हामी फेरी  वाटो देखाउने युवतीका पछि लाग्यौँ । हाम्रो छ जनाको पुरुष समूहलाई भने तीन तला माथी लगियो । त्यहाँ एक कोठामा छ जना लाई मसाज गर्न मिल्ने व्यवस्था रहेछ । भुँईमा बाक्ला डसनाहरु लहरै ओछ्याईएका थिए । हामीलाई लुगा खोल्न भनियो । एउटा छोटो पाईजामा जस्तो लुगा लगाउन दिईयो । कोरियन साथीहरु भकाभक पाईन्ट खोलेर पाईजामा लगाउन थाले । मेरो भने बुच्चे कट्टु भएकाले अलि लाज लाग्यो । तर 'तिन हात जितेर बित्तामा हार्नु हुँदैन' भन्ने उखान सम्झिदै अराको काम खुरुक्क गरेँ । रातो रँगको युनिफर्ममा सजिएका युवतीहरु भित्र वाहिर गर्दै थिए । उनीहरुले टि सर्ट र पाईन्ट लगाएका थिए । "अन योर मार्क" भै सकेको थियो । "गेट सेट गो !" को पनि ईशारा आयो ।  हामी उत्ताने परेर पल्टियौँ ।

मलाई मसाज गर्न खटिएकी युवती सर-सामान लिएर आई । म भने घरि सिलिङ् तिर हेर्दै घरि आँखा चिम्लिदैँ गर्दै थिएँ । किन किन उसँग आँखा जुधाउने साहास बटुल्न सकिरहेको थिईन ।

बारम्बार एउटै प्रश्नको ज्वारभाटा उठिरहेको थियो । 

"के यस्तो सेवा लिनु नैतिक हो त ?"

मनमा अर्को पनि चिन्ता पलायो ।  मेरो केही अमेरिकी डलर भएको वालेट पाईन्टको खल्तिमा थियो । त्यो चोरिन सक्ने जोखिम बढेको थियो । तर अप्सराको गतिविधिका अघि अरु सबै विषयहरु गौण भए । "अब यसले के के गर्ने हो ?" भन्ने पिर पनि पलायो । हुन ता कपाल काट्दा पनि टाउको जस्तो शरीरको महत्वपूर्ण भाग केही बेरको लागि हजामलाई सुम्पनु पर्छ । तर हजामको हकमा उसले के गर्दैछ भन्ने लगभग थाहा हुन्छ । तर यहाँ परिस्थिति फरक थियो । एक त आफ्नो पुरै शरीर अप्सराको नियन्त्रणमा थियो । किन भने हामीले 'फूल बडि मसाज' को विकल्प रोजेका थियौँ । दोस्रो कुरा "फुल मसाज" का हाँगा विँगा के के हुन्छन मलाई खासै जानकारी थिएन ।    

अप्सराले मेरो देब्रे गोडाबाट आक्रमण शुरु गरी । औलाहरुलाई मर्याक मुरुक पार्ने, पड्काउने र उस्का हातका औलाहरु मेरा खुटटाका औलाका कापमा छिराउने आदि गर्न थाली । मेरा गोडाका औलाहरु अहिले सम्म यस्तो अनौठो हरकतको चपेटामा बिरलै परेका थिए । अप्सराहरु एक आपसमा केही कुराकानी गर्थे । मेरो भाषा चेतनाको कित्तामा उनका कुराकानी थिएनन । घरिघरि खितित्त हाँस्थे ।

मेरी अप्सराको गियर परिवर्तन भयो । उसले मेरो देब्रे खुट्टो उस्को दाहिने काँधमा राखी । अनी दुवै हातले घुँडा र कुर्कुच्चाको बीच भागलाई मुसार्न थाली । विस्तारै सिरानतिर बढ्न थाली । मेरो मुटुको धुक धुकी बढ्न थाल्यो । धन्य ! उस्को गतिविधि तिघ्रा सम्म पुगेर रोकियो । देब्रे गोडा पछि दाहिने लाई पनि त्यस्तै गरि ।

दुवै गोडाको मालिस पश्चात उसले दाहिने गोडालाई पसारेर सिधा राखि । देब्रेलाई दोब्र्याएर दाहिने को आड माथी राखी । अनि उस्का दुबै हातले देब्रे खुट्टालाई न्वारान देखिको बल लगाएर थिची ।

"कटट……………."

रुख ढल्नलाग्दा वा लौरो भाँच्दा  जस्तो आवाज निस्कन्छ त्यस्तै भयो ।

"अय्या……. ! मोरीले ! भाँच्ने भै कि क्याहो ? "

मैले मन मनमा मात्र यसो भन्न सकेँ । सकेसम्म सहनुको विकल्प थिएन । मेरा छिमेकीहरु चुपचाप मसाजको मजा लिँदै थिए । म पनि सकेसम्म स्वभाविक हुने प्रयासमा थिएँ ।

अप्सराले ईशारा गरी । त्यो अर्को चरणमा प्रवेश गर्ने सँकेत थियो । अब भने घोप्टे परेर सुत्न लगाई ।

एकाएक ढाडमा गर्हौ बस्तुले थिचे जस्तो भयो । त्यो दबाब दाँया बाँया गर्दै सिरानतिर सर्दै गयो । मलाई अनुमान गर्न बेर लागेन ।

"अप्सरा मेरो ढाडमाथी हिँड्दै छे ।"

भगवान शिवको ताण्डव नृत्यको याद आयो । राक्षसलाई मान्द्रो बनाएर नाचेको कतै सुनेको थिएँ । हजुरबाहरु नातीलाई यसरी नै ढाडमा हिँड्न लगाउँथे । म भने 'मेरुदण्ड पडक्कै भाँचिने हो कि?' भन्ने चिन्ताले एकाएक ग्रस्त भएँ । तर जे होस भेल कुनै विनाश विना नै थामियो ।  

ढाडको काम सके पछि अप्सराले फेरी उत्ताने पर्न ईशारा गरी । उ मेरो पछिल्तिर आई । आफ्ना गोडालाई मेरा टाउकाका दुबैतिर पारे बसी ।

"हे भगवान ! अब यस्ले के आँटि ?"

मैले केही अनुमान गर्न नपाउँदै उसले मेरो टाउको जुरुक्क उचाली । काखमा राखी । उसका गोडा घस्रँदै अघि सरे । उ मिल्ने सम्म मेरो जिउमा टाँसिएकी थिई । अनि टाउकाको मसाज गर्न थाली । टाउकाको मर्मत सकेपछि उसले मेरो ढाडलाई विस्तारै आकाश तिर ठेली । मैले कुरो बुझेँ । विस्तारै ढाड र टाउको सिधा माथी  उठाएँ । उ अब ढाडको मसाज गर्न थाली । टाउको पछि दुवै हातलाई मर्याक मुरुक पार्ने, औला पडकाउने आदि सकेर पाखुरा र नाडीको पनि मसाज गरी । उसका हातका पाँच औलालाई मेरा हातका औलाका कापमा छिराएर दोबारी । यसरी मसाज अध्याय समाप्त भयो । हामीले एकमुष्ट टिप्स दियौँ। मैले मेरो शरीरमा स्फूर्ति भर्ने मेरी अप्सरालाई उनीहरुको भाषामा धन्यवाद दिएँ-ओ कुन ।      

दुई बर्ष अघि पनि नोम पेन्हमा म गोडाको मसाज गराउन डा. दोक्कोको टोली सँग गएको थिएँ । त्यसवेला पनि अप्सराले नै मसाज गरेका थिए । तर त्यसवेला उनीहरुको कार्यक्षेत्र तिघ्रा सम्म मात्र सिमित थियो । त्यस भ्रमणको अन्तिम दिन दिन हामी नोम पेन्हको राजदरबारको अवलोकलन गर्न गएका थियौँ । भ्रमण दलका बहुसँख्यक सहभागी कोरियन नै भएकाले राजदरबार पछि कोरियन रेष्टुरेन्टमा दिवा भोज गर्ने योजना थियो । अवलोकन भ्रमणको अन्त्य तिर म सबैभन्दा पछि थिएँ । दुर्भाग्यवश मैले दरबार परिसर छोड्नु अघि शौचालय प्रयोग गर्ने निर्णय लिएँ । शौच पश्चात परिसरको पार्किङ्मा आएर हेर्छु त हाम्रो बस हिँडिसकेको थियो ।

एकाएक चट्याङ् परे जस्तो भयो । एक छिन सम्म मष्तिष्कले काम गरेन । मेरो राहदानी र टिकट पनि झोलामा थियो । झोला बसमा थियो । मेरा साथीहरुको गन्तव्य अर्थात कोरियन रेष्टुरेन्टको जानकारी मलाई थाहा हुने कुरो भएन । मेरो अघि भीमकाय आयतन भएको सँकट दारा ङिच्याएर उपस्थित भएको थियो । अर्थात अर्को पक्षवाट विश्लेषण गर्दा म हराएको थिएँ ।

"युर फ्रेन्ड कोरियन, जस्ट लेफ्ट ।"

मेरो अवस्था नियाली रहेको एक टेम्पो चालकले म तिर हेरेर जानकारी दियो । उसको भनाई शत प्रतिशत सत्य थियो । म बथानले छोडेको मृग जस्तो एक्लो भएको थिएँ । नौ नारी गलेका थिए । 'अब के गर्ने ?" अध्यारो सुरुङ्मा उज्यालोको कुनै त्यान्द्रो पनि सतहमा नदेखिएको स्थिति थियो ।

केही बेरको यथास्थिति पछि केही विचारहरु पलाए । मेरा साथीहरुले म छोडिएको भन्ने थाहा पाउलान र फर्केर आउलान । दोस्रो, हामी बसेको होटलको नाम मलाई जानकारी थियो । टेम्पोको सहाराले त्यहाँ जाने र समस्या समाधानका लागि होटलका कर्मचारी गुहार्ने । पछिल्लो विकल्पको सँभावना बढेर गयो । मैले त्यही अपनाए । होटलमा गाईडको मोवाईल नम्बर भेटियो । गाईड सँग सम्पर्क भयो । मेरो अवस्थामा परिवर्तन आयो । अर्थात अब म भेटिईसकेको थिएँ ।

कम्बोडियामा हराएको दोस्रो घटना पनि आफ्नै कमजोरीले गर्दा सिर्जना भएको थियो । हाम्रो सम्मेलन नोम पेन्हमा अवस्थित नेशनल पोलिटेक्निकल ईन्स्टिच्युट अफ क्याम्बोडियामा हुने तय भएको थियो । विमानस्थलमा लिन कोही आउला भन्ने आशा पालेको थिएँ । कम्बोडियामा नेपाली नागरिकलाई पनि विमानस्थलमा नै भिसा दिईन्छ । भिसाको काम सकेर बाहिर निस्केर 'नवराज खतिवडा' लेखेको कागज बोकेको मान्छे खोज्न थालेँ । तर अफसोच यस्तो भएन । त्यहाँ मेरो खोजी गर्ने कोहि पनि थिएन ।

"अब मेरो गन्तव्य कहाँ हो ?"

 प्रश्नको उत्तर एउटै थियो-सम्मेलन आयोजना गरिएको ईन्स्टिच्युट । त्यो गन्तव्य विमानस्थलवाट धेरै टाढा नहोला भन्ने लागेको थियो । नेपालको त्रिभुवन विमानस्थलवाट काठमाण्डौको केन्द्र दरवारमार्ग या पाटनको पुल्चोक पुग्नु जस्तै ठानेको थिएँ । निमन्त्रणा पत्र झोलावाट निकालेर पोलिटेक्निकल ईन्स्टिच्युटको नाम ठेगाना हातमा बोकेर एक हुल ट्याक्सि चालक भए तिर गएँ । किनभने मलाई विश्वास थियो-'विजडम अफ दि क्राउड' वा 'भीडको बुद्धी" ले समस्याको निकास निकाल्न सक्छ ।

"आई गो दिस प्लेस । क्यान यु हेल्प ?"

उनीहरुले एक छिन छलफल गरे । बहुसँख्यकले जानकारी नभएको हाउभाउ देखाए । अन्तिममा एउटाले पन्ध्र डलर लाग्छ, म लगिदिन्छु भन्यो । मलाई उसको शरणमा नजाने कुनै कारण थिएन ।

उसले ठूलो परिसर भएको  काठमाण्डौ विश्वविद्यालयको धुलिखेल क्याम्पस जस्तो स्थानमा पुर्यायो ।  मैले उसलाई पार्किङ् मा नै एकछिन पर्खन भने । चहल पहल देखिएको एउटा भवन ताकेर म सरासर गएँ । माथिल्लो तलामा केही शिक्षक जस्ता देखिने व्यक्तिहरु भएको एउटा ठूलो कार्यकक्ष भेटियो । मैले मेरो निमन्त्रणा पत्र देखाएँ । एकजनाले मलाई मदत गर्यो । कुरा सुनेर मलाई फेरी भाउन्न भयो । म विपरित दिशा तिर आएको थिएँ । अर्थात मलाई जानु थियो धुलिखेल म पुगेको थिएँ थानकोट । मलाई सहयोग गर्ने कम्बोडियन मित्रलाई उनीहरुकै भाषामा मेरो गन्तव्य लेख्न लगाएँ । अनि ट्याक्सीवाला कहाँ आएँ । उसले गमेर टुटे फुटेको अँग्रेजी लवजमा भन्यो । 

"लाग्न त २० डलर लाग्ने हो तर म १५ मा पुर्याई दिन्छु ।"  

लगभग ४० किमीको दुरी तय गरेपछि पोलिटेक्निक ईन्स्टिच्युट पुगियो । सम्मेलनको तुल देखिए  पछि धेरै सान्त्वना मिल्यो । तर सम्मेलन स्थलमा नै पुग्दा पनि सम्बन्धित व्यक्ति कोही भेटिएन । फेरी मन चिसियो । निकै मिहिनेत गरेपछि एक  जना कोरियन प्राध्यापक भेट भए । उनले आयोजकलाई चिन्दा रहेछन । मोवाईलवाट सम्पर्क  स्थापित गरे । एक छिन सोधपुछ गरे । मलाई हेर्दै मुसुमुसु हाँसे । लाग्यो-केही गोलमाल पक्कै भएको छ ।

"तपाईको लागि शहरकै होटलमा बस्ने ब्यवस्था मिलाईएको रहेछ । यहाँ सम्म आएर दु:ख पाउनु भयो ।"

"दिनभरिको शिकार कान्छा बाउको अनुहार ।" धन्न आयोजक मध्येकी एक युवती सम्मेलन परिसरमा रहिछन । उनीसँग पनि सम्पर्क भयो । म उनकै कारमा होटल आएँ । आयोजकले पठाएको अन्तिम ईमेल नहेरेको कारणले मैले एक किसिमले हराउनु परेको र यो दु:ख पाउनु परेको ठहरियो ।

तेस्रो घटना भने यस पटक घटेको थियो । हाम्रो एकदिने कार्यशाला सकेर बेलुका क्रुज बोटमा रात्री भोजको आयोजना गरिएको थियो । थाईल्याण्ड र क्याम्बोडियामा यस्ता पानी माथी चल्ने जहाजमा बसेर सुरापान गर्ने, साँस्कृतिक झलकहरु हेर्ने र भोजन ग्रहण गर्ने सुविधाहरु हुन्छन । हाम्रो डिनरको लागि होटेलबाट छ बजे निस्कने योजना थियो । कार्यशाला पश्चात सबै सहभागीहरु वास बसेको होटेलमा आएका थियौँ । केही समय बाँकी भएकोले म आफ्नो कोठामा गएर भाईबरमा घरमा सम्पर्क गरी धर्मपत्नी सँग कुरा गर्न थालेँ । एक जटिल व्यवहारिक विषयमा कुरा हुन थाल्यो । मैले घडि हेर्न विर्सेछु । झसँग भएर लबीमा आउँछु त क्रुजमा जाने बसले प्रस्थान गरिसकेको अवस्था थियो । म फेरी एक पटक समूहवाट अलग भएको थिएँ । रिसेप्सनमा ड्युटिमा रहेकी युवतीलाई मेरो स्थिति अवगत गराएँ । धन्य उनीसँग गाईडको नम्बर रहेछ । त्यस पछि म एउटा तीन पाङ्ग्रे सवारी साधनमा क्रुज बोट चढ्ने घाटमा पुगेँ । धन्य! सबैजना बोट पर्खिरहेका रहेछन्। डा. दोक्को भने मूल सडक तिर अलि पर एक्लै उभिरहेको पाएँ ।

" डा. दोक्को ! तिमी किन एक्लै छौ ?"

"म तिम्री राजकुमारीलाई पर्खिरहेको छु ।"

"को स्पेनकी अप्सरा ?"

"हो ।"

"के उनले पनि ढिला गरिन ।"

"नेपालको राजकुमारले ढिला गरेपछि स्पेनकी राजकुमारीले बाँकी राख्छिन त ?"

मारिया आईपुगी । दिउँसो प्राविधिक भ्रमणमा भन्दा उसको रुप र पहिरन बदलिएको थियो । उ राजकुमारी जस्तै राम्री देखिएकी थिई । स्पेनिस नागरिक मारिया कम्बोडियाको युनेस्को कार्यलयमा काम गर्दिरहिछ । कोरियनहरुको बथानमा उस्को र मेरो भने हल मिलेको थियो । हामी एक अर्कालाई स्पष्ट बुझ्ने गरि अँग्रेजीमा मनका कुरा गर्न सक्थ्यौ । मेरो र मारियाको फेरी दोहोरी चल्यो । मैले विना लयको भाका हालेँ ।      

"त्यो मनको कुरो यो मनले जान्दछ ।"  

"मलाई पनि त्यो तरिका सिकाईदेउ ।"

"यस्को लागि एउटा विशेप पुस्तक पढ्नु पर्छ ।"

"उसो भए पुस्तकको विवरण ईमेलमा पठाईदेउ ।"

"अवश्य ।"

विदेशी मन सँग कुरा गर्नुको रमाईलो यही छ । उनीहरु भै परि आउनेलाई सहजै लिन्छन र त्यसैमा भर्याङ् लगाउँछन । रमाईलोमा रमाईलो थप्छन । मैलै घर फर्किसकेपछि स्पेनकी अप्सरालाई पुस्तकको नाम पठाईदिएँ ।

"धन्यवाद नव ! म तिम्रो सिफारिशको पुस्तक अवश्य नै पढ्ने छु । आशा छ पुस्तक पढेपछि मैले पनि अर्काको मनको कुरा पढ्न जान्ने छु । अनि तिम्रो मनको कुरा मेरो मनले पनि जान्नेछ ।"

उसले ईमेलमा लेखी ।

कम्बोडियाका घटनाक्रम र अप्सराहरु अतितको गर्भमा लुकिसके । तर स्पेनकी अप्सराको ईमेल भने मेरो ईनबक्समा अझै सुरक्षित छ  । विदेशीहरु बचनका पक्का हुन्छन । आशा छ, उसले पुस्तक पक्कै पढ्नेछे र अर्को पनि ईमेल लेख्नेछे।

फागुन २६, २०७३

कोटेश्वर-धुलिखेल बस यात्रा

  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जसको पसिना गन्हाउँछ, उसलाई थाहा हुँदैन

    गर्मी याममा शरीरमा पसिना आउनु नराम्रो कुरा होइन । यसले शरीरलाई शान्त राख्न तथा शरीरको तापक्रम घटाउन मद्दत गर्छ । एक हिसाबले शरीर संरक्षणको लागि सुरक्षात्मक संयन्त्र पनि हो । पसिना आयो भने शरीरलाई शितल हुन्छ, तर धेरै पसिना आयो भने रोग लाग्छ ।

  • बाढी पहिरोबाट कसरी बच्ने ?

    बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् ।

  • ​विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

    साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, बर्दिया लगायत जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

  • गाई छोडेका पशुपतिलाई कति मिल्ला पापा, थाहा पत्तो नपाउनेको थर मात्रै थापा !

    नामै पशुपति । पशुपतिलाई मन पर्ने आफ्नै साँढे । साँढेलाई सुहाउने हलो । पशुपतिको भलो गर्ने पनि त्यही हलो । हलो मात्रै रोजेर हेलो हेलो भन्दै अघि लाग्नुपर्छ भनेर बेलैमा थाहा पाएको भए नामै कमल भएका मान्छेसित पशुपति यति बिघ्न कठोर किन हुनुपर्थ्यो ।

  • सडकका खाल्डामा परेर कति मान्छे मरेपछि शहर स्मार्ट हुन्छ ?

    स्मार्ट सिटी र रेलका कुरा छोड्नुस्, पहिले खाल्डाका कुरा गर्नुस् । सडकलाई सडक भन्न मिल्ने बनाउनुहोस् । हिँड्दा हिँड्दै खाल्डोमा हामी नपर्ने सडक बनाउनुहोस् । अनि गरौँला स्मार्ट सिटीका कुरा, स्काई रेलका कुरा, अनि मेट्रो रेलका कुरा ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया