MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

जंगली हात्तीले बुवालाई मार्‍यो, वन्यजन्तु बचाउँदै हिँड्छन् हेमन्त

भावुक योगी/उज्यालो ।

बर्दिया, चैत ६ – साढे ७ वर्षअघि २०६६ साल असोज २६ गते निकुञ्ज अन्तर्गत मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ओमप्रसाद जैसी आचार्यको जंगली हात्तीको आक्रमणबाट ज्यान गयो ।

जुन दिन बुवालाई जंगली हात्तीले आक्रमण गर्‍यो त्यसै दिन बाघ संरक्षणका विभिन्न काममा प्रत्यक्ष सहभागिता सुरु भएको दिन हो हेमन्त आचार्यको । त्यो दिन सम्झँदै उनी भन्छन् ‘म बाघ सरंक्षणको शिलशिलामा नेपाल भारतका वन्यजन्तु ओहोर दोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग तर्फ गएको थिएँ, ठीक त्यही दिन मेरो बुवा जंगली हात्तीको आक्रमणमा पर्नुभयो । 

गहभरि आँसु पार्दै हेमन्त भन्छन् ‘खेतमा धान पाकेर भित्राउने समय भएको थियो, जगंली हात्ती धानवाली खान निकुञ्जबाट हात्ती खेतमा प्रवेस गर्दा बुवाले हरेक पटक बहादुरीका साथ हात्तीबाट धानवालीको बचावट गर्न सफल हुनुहुन्थ्यो तर त्यस दिन उहाँ असफल हुनुभयो । घरभित्र सुतिरहेका बेला जंगली हात्ती खेतमा आयो, सधैँ झैँ हात्ती भगाउन घर बाहिर निस्किएका बेला घर नजिकै धानखेतमा हात्तीले आक्रमण गर्‍यो र मैले मेरो बुवालाई गुमाउन पुगेँ, म वन्यजन्तु पीडित हुन पुगेँ ।’ 

उमेरले २८ वर्ष मात्र पुगेका हेमन्त भन्छन् ‘मेरोे बुवाले बिना स्वार्थ बर्दिया राष्ट्रिय निकुञ्जको वरिपरी बसोबास गर्ने मानिस र वन्यजन्तुको दीगो सह¬अस्तित्वका लागि आफ्नो अर्थपूर्ण प्रयासको सुरुवात गर्नु भएको थियो ।’ पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा मध्यबर्ती क्षेत्र स्थापनाका लागि महत्वपूर्ण ईकाइको रुपमा उहाँ रहनु भएको थियो । जुन अवधारणा  विश्वव्यापी रुपमा नै स्थापित भएको छ । बुवाले संरक्षणमा गरेको निश्वार्थ योगदानका कारण उहाँ एक सच्चा संरक्षणकर्मीको रुपमा परिचित रहेको छोरा हेमन्तले बताउनुभयो । उहाँले भन्नुभयो ‘वन्यजन्तुबाट त्यत्रो पीडा हँुदाहुँदै पनि म बाघ संरक्षणका लागि निरन्तर लागिरहेको छु, यो मेरो सौखको विषय पनि हो ।’  

हात्तीको आक्रमणमा परि बुवाको ज्यान गएपछि काठमाडौंबाट पढाई छाडेर बर्दिया आउनुभएका हेमन्तले बुवाको संरक्षणको बाँकी कामलाई निरन्तरता दिनुभएको छ । उहाँ भन्नुहुन्छ ‘२१ वर्षको उमेरदेखि संरक्षण अभियानमा लागेँ, मेरो नेतृत्वमा सम्पूर्ण मध्यबर्ती क्षेत्रका युवाहरुलाई जंगली हात्ती तथा मानवबिचको द्वन्द्व घटाउनका लागि विभिन्न संघसंस्थासँग समन्वय गरी युवाको आयाआर्जन तथा क्षमता अभिवृद्धी लागि विभिन्न तालिम, वन्यजन्तु अनुगमन तथा विभिन्न अनुसन्धानमा सबै युवालाई मिलाएर सहभागी गराउँछु ।’ 

हेमन्तका बुवा ओमप्रसाद जैसी आचार्य निकुञ्ज अन्तर्गत मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष हुनुन्थ्यो । मानव र वन्यजन्तुबिच कसरी सह¬अस्तित्व कायम रहन सक्दछ भन्ने बुझाईको स्पष्ट अवधारणा बोक्नुभएका कारण विभिन्न क्षेत्रबाट उहाँ सम्मानित पनि हुुनुभएको थियो । हेमन्तका बुवाको २०६६ साल असोज २६ गते जंगली हात्तीको आक्रमणमा परी निधन भएपछि पनि विभिन्न कार्य तथा योजनाहरु आजसम्म पनि सञ्चालनमा रहिरहेको पाईन्छ । सुरुमा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान ठाकुरद्धारा उपसमिति अध्यक्ष रहेका हेमन्त भन्नुहुन्छ ‘म मेरो बुवाकोे प्रयासलाई सार्थक बनाउने प्रणका साथ अगाडि बढेको छु, आमालाई एक्लो महशुस हुन नदिईकन सहयोग गरिरहेको छु । बिचमा निरास भएर विदेश जाउँ कि पनि भनेँ तर अब जान्न, बरु वाईल्ड टाइगरमा सहभागी भए पश्चात मेरो पढाईलाई काठमाडौंबाट बर्दियामा स्थानान्तरण गरेको थिएँ ।’ 

निकुञ्ज आसपासका क्षेत्रलाई मध्यबर्ती क्षेत्र घोषणा गरेपछि समुदाय पनि संरक्षण अभियानमा जुटे । बाहिरबाट चोरी शिकार गर्न आएकाहरुले प्रलोभनमा पारेर आफ्नै गाउँठाउँका व्यक्ति चोरी शिकारमासंलग्नता हुन थाल्यो । अनि वन्यजन्तुको शिकार बढ्दै गएपछि वन्यजन्तु विनास हुने खतरा देखेर निकुञ्ज आसपासका युवाहरु पनि २०६६ सालदेखि स्वस्फूर्त रुपमा चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानमा जुटे । 

जैविक विविधता संरक्षणमा युवा समुदाय परिचालन गर्न आचार्यले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हमेन्तकै नेत्वृत्वमा ७८ वटा समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूह गठन भएका छन् । जसमा २५०० भन्दा बढी युवाहरु वन्यजन्तु र यसको वासस्थान संरक्षणका लागि लागिपरेका छन् । 

गैँडाले बच्चा जन्माउँदा, गैँडा समस्यामा पर्दा, बाघ लगायतका वन्यजन्तु दुर्घटनामा पर्दा, आहारा प्रजातिका वन्यजन्तु समस्यामा पर्दा अथवा जंगली हात्तीबाट समुदायमा कुनै दुर्घटना हुँदा हरेक स्थानमा उपस्थित भई संरक्षणमा टेवा पुर्‍याउने गर्छन् हेमन्त र उहाँका केही साथी । 

बाघ संरक्षण गर्न बाघका आहरा मानिएका वन्यजन्तुको लागि घाँसे मैदानको संरक्षण गर्ने काममा पनि उहाँ सक्रिय हुनुहुन्छ । बाघ पनि एउटा प्राणी भएको र मानवसँग घनिष्ट सम्बन्ध भएकाले बाघ बचाउनु पर्छ भन्दै हेमन्त विभिन्न संघसंस्थाको नेतृत्व गरेरै संरक्षण अभियानमा लाग्नुभएको छ । मिलनसार सामाजिक व्यवहार र उच्च नैतिक स्वभावले गर्दा सहकर्मी साथीभाइ तथा समयुदायमा हेमन्त परिचित हुनुहुन्छ । तर आचार्य भन्नुहुन्छ ‘संरक्षण कार्यमा केही चुनौती देखिएका छन्, मानिस र हात्तीबिचको द्वन्द्व र सहअस्तित्व, समुदायको आत्मनिर्भरता र विकास, संरक्षणमा युवाहरुको दीर्घकालिन उपस्थिति मुख्य चुनौती हुन् ।’ 

चोरी शिकार नियन्त्रणमा बर्दिया निकुञ्ज आसपासमा पर्ने मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने गोला, मनाउ, पाताभार, सूर्यपटुवा, ठाकुरद्धारा, नेउलापुर र निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेत क्षेत्रका हरिहरपुर, तरङ्गा, लेकपराजुल, छिन्चु लगायतका ठाउँका युवाहरु यस अभियानमा जुटिरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका पाटे बाघ, हात्ती, गैँडा, चित्तल, जरायो लगाएतका दुर्लभ वन्यजन्तुको चोरी शिकार बढेपछि जोगाउनै पर्ने अवस्थाका वन्यजन्तुको चोरी शिकारमा आफ्नै छरछिमेकी नै लागेको देखेपछि निकुञ्ज वरिपरीका बस्तीका युवाहरु संरक्षणको अभियानमा जुटेका हुन् । युवाहरुको सक्रियता बढेपछि पाँच वर्ष यता चोरी शिकारमा कमि आएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाको भनाई छ ।

तर वन, वन्यजन्तु, वातावरण र जैविक विविधता जोगाउन संरक्षण अभियानमा लागेका समुदाय र निकुञ्ज आसपासका युवाहरु संरक्षणमा लागिरहेका बेला दिनहुँ वन्यजन्तु र मानव बिचको द्वन्द्वका कारण केही वर्षमा संरक्षण अभियानमा ठुलो असर पुग्न सक्ने खतरा रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजालका अध्यक्ष हेमन्त आचार्यको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया