MENU

राजनीति

Ncell Axiata

मलाई विश्वास गर्नुहोस् स्वास्थ्य सेवाले काँचुली फेर्नेछ : स्वास्थ्य मन्त्री थापा

काठमाडौं, चैत ६ – गएको भदौमा गगनकुमार थापाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै नागरिकहरुमाझ अब स्वास्थ्य क्षेत्रमा केहि सुधार होला कि भन्ने आशा जागेको थियो । आम नागरिकको त्यो आशा र आकांक्षाबिच स्वास्थ्य मन्त्री गगनकुमार थापाले काम गरिरहनु भएको छ ।पुष्ककमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका औलामा गन्न सकिने आशालाग्दा मन्त्रीको सूचिमा गगनकुमार थापा पनि पर्नुहुन्छ । स्वास्थ्य क्षेत्रमा रहेका विकृती हटाउन र नागरिकलाई सस्तोमा सुलध स्वास्थ्य सेवा दिनका लागि थापाले पछिल्लो ८ महिनामा गरेका कामका आधारमा उहाँलाई आशा लाग्दा मन्त्रीको सूचिमा राखिएको हो । अहिलेसम्म बनाएका योजना, तीनको कार्यान्वयनको अवस्था र भावी योजनाका बारेमा उज्यालो अनलाइनका लागि लक्ष्मण कार्कीले गरेको कुराकानी ।

बेलुकाको ८ बज्न लाग्यो मन्त्रालयमै हुनुहुन्छ ? धपेडी त धेरै नै रहेछ है । 

पहिलो कुरा त स्वास्थ्य मन्त्रालय अलि ठूलो र धेरै नेटवर्क भएको मन्त्रालय हो । जनसम्पर्क बढी हुने र संरचना बढी भएकाले पनि कामको चाप धेरै नै हुन्छ । बेलुका चाहिँ नियमित काम सकेपछि दिनभरि छलफल गरेका कामलाई टुंगोमा पुुर्‍याउन बाँकी काम गर्नुपर्छ । दिनभरिका छलफलमा उठेका कुरालाई अघि बढाउनुपर्‍यो, थप छलफल गर्नुपर्‍यो यसका लागि हामी अवेरसम्मै छलफलमा हुन्छौं । 

साथीहरु कहिले काहिँ रिसाउनु पनि हुन्छ कति अबेरसम्म बस्ने भनेर । तर गर्दै जाँदा यस्तै हुन्छ । त्यसो गरिएन भने दिनभरि भएका कामले मुर्त रुप पाउँदैनन् । जस्तो स्वास्थ्य संस्थाको भवन निर्माणको अहिलेको गति हेरेर हिसाव गर्दा अहिलेकै गतिमा काम हुने हो भने २० बर्षमा पनि नसकिने रहेछ । भनेपछि यस्तो तालले काम गरेर त भएन त्यहि भएर ७ बर्षे योजना बनाएर काम थालिरहेका छौं । यो योजना पुरा गर्न पनि कार्यालय समयमा मात्र काम गरेर हुँदैन । 

कस्तो रहेछ मन्त्रालयको अवस्था ? पहिले कामै नभएको हो वा तपार्ईँँले धेरे काम गरिरहनुभएको हो ? लोकप्रिय बन्नका लागि मात्र धेरै काम गरेजस्तो देखाइरहनुभएको हो ? 

हुनुपर्ने जति नभए पनि स्वास्थ्य क्षेत्रमा नेपालमा धेरै  काम भएका छन्  । यो कुरा मैंले यहाँ आएपछि झनै बुझें । केही उदाहरणबाट म भन्छु–जस्तो हामी एम्बुलेन्स नीति । केही अघिसम्म मन्त्रालयले जसले माग्छ उसैलाई एम्बुलेन्समा कर छुट दिंदै आएको रहेछ । हामीले पनि शुरुशुरुमा त्यसै गर्‍यौं । तर बुझ्दै जाँदा अहिलेसम्म नेपालमा कतिवटा एम्बुलेन्स छन् ? कतिले कर छुट पाए ? किन छुट दिइएको हो ? कुनै रेकर्ड छैन । कहाँ कहाँ दुरुपयोग भएको भन्ने त थाहा हुने कुरै भएन । यसरी त भएन भन्ने लाग्यो अनि यसको नीति बनाउनेबारे काम थाल्यौं । हामीले नीति बनाइरहेका छौं । यो अहिले अन्तिम अवस्थामा छ । 

त्यस्तै औषधी । औषधीको कुरा गर्दै जाँदा यहाँभित्रका थुप्रो ब्यापारबारे थाहा भयो । औषधी भन्दा पनि सर्जिकल सामानमा ब्रम्हलुट नै रहेछ । टिचिङ्ग अस्पताल अगाडी आठ लाख, दश लाख, वीस लाखमा एउटा सटर भाडामा लाग्ने कारण औषधी भन्दा पनि सर्जिकल सामानका लागि रहेछ । हामीले त्यो पत्ता लगायौ र यसलाई नियमन गर्ने काम गरिरहेका छौ । यो नयाँ काम भन्दा पनि छुटेको काम खोजेको हो । 

त्यस्तै हामीले डाक्टरको पोष्टिङ्ग गर्न थाल्यौ । तर नेपालमा कति डाक्टर छन भन्ने नै रेकर्डसम्म मन्त्रालयमा थिएन । लाजमर्दो कुरा । केही त गलत अभ्यासले पनि होला तर ठुलो कुरा हामीले चिकित्सक राख्ने कुरा विकास समितिको कारण पनि माथिसम्म डेटा आइपुग्दैन । तर यथार्थ के हो भने देशभरि सरकारी सेवामा रहेका विशेषज्ञ चिकित्सक संख्या ५ सय नाघ्दैन । तर सरकारले ५० बेड, सय बेड दुई सय बेड पाँच सय बेडका जति पनि अस्पताल खोल्न अनुमति दियौँ । राजनीतिक घोषणा गर्यौं ।

तर डाक्टर नै नभएपछि कसरी काम गर्ने ? हामीले फर्केर हेर्‍यौ डाक्टर उपेद्र देवकोटा स्वास्थ्य मन्त्री भएको बेलामा थालिएको न्याम्स र स्तानक तहको पढाइले निकै राम्रो नतिजा ल्याइरहेको छ । यसलाई अझै प्रभावकारी बनाउन डाक्टर चोपलाल भुषालको अध्यक्षतामा बनाएको समितिले दिएको सल्लाहका आधारमा हामी यसैपटकदेखि केही अञ्चल अस्पतालमा स्नातकोत्तरको पढाइ थाल्दैछौ । अर्को सालदेखि धेरै अञ्चल अस्पतालमा यसलाई विस्तार गर्छौँ । स्नातकोत्तर सक्नलाई तीन बर्ष त लाग्छ तर त्यसपछि हामीसँग बर्षेनी तीन चारसय विषेशज्ञ चिकित्सक उत्पादन हुन्छन जसले गर्दा सरकारले चोहको ठाउँमा खटाउन सक्छ । किन कि उनीहरुलाई सरकारले आफ्नै खर्चमा पढाएर पाँच बर्षसम्म सरकारले खटाएको ठाउँमा काम गर्ने करार गराइएको हुन्छ । मेरो ठाउँमा त्यसबेला आउने स्वास्थ्यमन्त्री अहिले मैंले जस्तो दुई तीन सय विशेषज्ञ चिकित्सक लिएर बस्नु पर्दैन । 

यी सवै काम गर्दै गर्दा मलाई चाहिँ हौसला के मिलेको छ भने स्वास्थ्य मन्त्रालयमा धेरै काम भइरहेकै रहेछन ती सवैलाई मिलाएर कसरी प्रभावकारी ब्यवस्थापन र परिचालन गर्ने कुरा मात्र मुख्य रहेछ । कसरी सवैलाई जोड्ने भन्नेबारे अलि फरक रुपममा प्रणालीगत रुपमा काम थाल्न सक्दा पनि परिणाम प्रभावकारी निस्कने रहेछ । 

तर तपार्ईँँले यस्तो हौसला पाएको झन काम गर्ने उर्जा मिलेको बताइरहँदा तपार्ईँँलाई फिर्ता बोलाउने कुरा पनि चलिरहेको छ नि ? 

यसबारेमा मैंले पनि रेडियो टिभी र पत्रपत्रिकाबाट सुनेको हो । अब सरकारलाई संसदमा दर्ता भएको संविधान संशोधन पारित गराउनुपर्ने बाध्यता छ । त्यसका लागि संख्या चाहिन्छ । धेरै दललाई सरकारमा लैजानुपर्ने प्रधानमन्त्री र मेरो पार्टी सभापतिको समस्या मैंले राम्रोसँग बुझेको छु । सरकारमा आउने दलले स्वास्थ्य मन्त्रालय नै माग गरे भने मलाई फिर्ता बोलाउने कुरा हुन्छ होला यसलाई मैंले अनौठो रुपमा हेरेको छैन । 

तर यो हल्ला चल्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र मेरो पार्टी सभापति शेरवहादुर देउवाले पनि मलाई यी सवै विषय हल्लामात्र भएकाले आफ्ना कामलाई निरन्तरता दिन भन्नुभएको छ । म खुरुखुरु काम गरिरहेको पनि छु । सरकारबाट फिर्ता हुनुपर्ला नपर्ला भन्नेभन्दा पनि एक दिन भएपनि बढी काम कसरि गर्न सकिएला आफुले थालेका काम कसरि अघि बढाउने भन्नेमा दृढ भएर लागिरहेको छु । अलिकति समय हुने हो भने गर्न सकिने धेरे ठाउँ रहेछ भन्ने थाहा पाएपछि म खटिइरहेको छु । 

अब स्थानीय तहको नयाँ संरचनामा देश गएको छ स्वास्थ्य सेवा अव कस्तो हुन्छ त ? 

हामी यसबारेमा धेरै काम गरिरहेका छौं । स्वास्थ्य सस्था सुदृढिकरण परियोजना बनाएर  छलफल गरिरहेका छौ । सात बर्षे यो परियोजनाबारे म निकै नै उत्सुक छु । यसले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै नै काम हुन्छ भन्नेमा हामी एकदमै आशाबादी छौं । 

के छ त्यसमा मुख्य कुरा ? 

त्यो परियोजना अनुसार स्वास्थ्य संस्थाको अहिलको संरचना अब रहँदैन । हामी त्यसमा पुनर्गठन गर्दैछौ । पहिले गाउँगाउँमा स्वास्थ्य चौकी उपस्वास्थ्य चौकी बन्नु नै ठुलो कुरा थियो अब त्यसले मात्र पुग्दैन गुणस्तरीय सेवा चाहियो । तीनै संरचनामा डाक्टर चाहिए । उपकरण चाहिए औषधी चाहियो । हो त्यसै अनुसार अब अहिलेभन्दा धेरै सेवा स्वास्थ्य चौकीहरुले दिन्छन् । त्यो भन्दामाथि २ खालका प्राथमिक अस्पताल हुन्छन् ।

स्वास्थ्य चौकीमा उपचार नभए उनीहरु प्राथमिक अस्पतालमा रिफर हुन्छन, त्यहाँ पनि नभए दोश्रो लेभलको अस्पतालमा जान्छन्, त्यहाँ पनि सेवा उपलब्ध भएन वा भनौँ निको पार्न सकिएन भने उ टर्सरी लेभलको अस्पतालमा जान्छ । त्यहाँ सवै सेवा पाउँछ । अपवादमा मात्र उसले त्यो लेभलमा उपचार पाएन भने उ केन्द्रिय तहको उपचारमा जानुपर्छ । अर्कोतिर हामी क्वालिटी हेल्थ केयरको काम गर्नेछौ । 

अब, यी सवै अस्पतालमा उपचार गर्ने डाक्टर कहाँबाट आउँछन भन्ने लाग्न सक्ला त्यसको पनि उपाय छ । हामी विशेषज्ञ उत्पादन गर्छौ तिनलाई ५ बर्षसम्म हामी जहाँ पनि खटाउन सक्छौं । अञ्चल अस्पतालले पढाउने जनशक्ति निस्किन्छ बर्षेनी । श्रोतको ब्यवस्थापन संघ प्रदेश र स्थानीय तह तीनै तहले गर्छन् । सिम्पल छ । 

अर्कोतिर, हामी सवै नेपालीको स्वास्थ्य वीमा गर्ने योजना बनाउँदैछौं । सवै नेपालीले वीमा भएपछि उपचारमा धेरै सहज हुने भइहाल्यो । हामीले अहिले घोषणा गरेको धेरै रोगको निशुल्क उपचारबारे पनि हाम्रो धारणा स्पष्ट छ । जस्तो राज्यले सवै नागरिकलाई निशुल्क उपचार गराएर सक्दैन भन्नेमा मन्त्रालय स्पष्ट छ । सवै नागरिकको उपचार गर्ने कुरा अमेरिकाले सकेन क्यानडाले सकेन भनेपछि हामीले सक्ने कुरा त भएन । हामीले चाहेको त उपचार नपाएर कुनैपनि नागरिक नमरोस काल पर्खनु नपरोस भन्ने मात्र हो । हामीले त उपचारका लागि नागरिक कम मात्र जानुपरोस भन्नेमा पनि काम गर्नुपर्‍यो । हेल्थ भनेको विरामी भएपछि उपचारका लागि जाने कुरा मात्र होइन है । भन्ने बुझाउनुपर्‍यो । यसका लागि पनि काम गर्छौं । 

जस्तो शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र शुरु गरिदैछ, जनता क्लिनिकका रुपमा । चावहिलको मैजुवहालबाट शुरु हुने यो क्लिनिकमा विरामी कहिले आउँछन भनेर कुरेर मात्र बसिँदैन । यसले आफ्नो इलाकाका मानिसलाई घरघर गएर सेवा दिन्छ । जस्तो ४० बर्ष पुगेका मानिसलाई मुटुको परिक्षण गरेनगरेको बारे सोधिखोजी गर्छ, ४० बर्ष पुगेको महिलालाई पाठेघरको क्यान्सरको जाँच गर्न सल्लाह दिन्छ । त्यतिमात्र होइन त्यहिँ जाँच गर्ने सेवा पनि दिइन्छ । यसले गर्दा स्वास्थ्यबारेको सचेतता पनि बढ्छ । हामी प्रिभेन्सन, प्रमोसन र क्युरेटिभ अप्रोचबाट काम अघि बढाइरहेका छौं ।  

तपार्ईँँले यस्तो योजना पुरा आत्मविश्वासका साथ भनेको सुन्दा मज्जा त आयो तर आफूले खटाएका डाक्टरको रेकर्डसमेत नभएको स्वास्थ्य मन्त्रालयले यतिका धेरै काम गर्न सक्ला भन्ने कुरा पत्याउने चाहिँ कसरी ?

७ बर्षे स्वास्थ्य संस्था सुदृढीकरण परियोजनामा त्यसका लागि आवश्यक पर्ने भवन जनशक्ति कुन कुन तह र विज्ञता भन्ने कुरा सवैको लेखाजोखा गरि सक्यौं । डिजाइन र पैसाको पनि खाका लगभग तयार भइसक्यो । खुशीको कुरा के छ भने तयो सवै अहिलेकै बजेटभन्दा अलिकति बढि श्रोत बनाउनसाथ त्यो सम्भव रहेछ । म त अहिले २ सय जना विशेषज्ञ चिकित्सक भएको मन्त्रालय हाँकिरहेको छु । तर यसै पटकदेखि कोशी, लुम्बिनी, राप्ती, लगायत अञ्चल अस्पतालमा स्नातकोत्तर तहको अध्ययन शुरु नगरि हुँदैन । आउने सालमा त्यसलाई १०/१२ वटामा पुर्‍याउनैपर्छ ।

यसका लागि यदि अहिले अञ्चल अस्पताल नै नभएको भए पो गारो थियो त । तपार्ईँँलाई उदाहरण दिउँ जस्तो गंगालालको सेवा विस्तार गर्ने कुरा धेरै पहिले देखिकै हो । गर्ने भनिन्थ्यो काम हुँदैन थियो । मैंले कसरि गर्न सकिन्छ भनेर परामर्श लिएँ । सकिन्छ भन्ने लाग्यो । अर्थ मन्त्रीलाई भेट्यौं र कन्भिन्स गर्‍यौ । १० करोड रुपैया छुट्याएर काम थाल्यौंं । १० करोडकको चेक भेरी अञ्चल अस्पताललाई दिइयो । त्यहाँको डाक्टर सावले हामीलाई ४ बर्ष सरुवा नगरियोस भन्नुभयो । हामीले हुन्छ भन्यौँ । अहिले उपकरण खरिदको काम भइरहेको छ । अब जनकपुर अञ्चल अस्पतालमा गंगालालको सेवा विस्तार हुँदैछ । त्यो गंगालाल नै नभएको भए त विस्तार गर्न सकिने थिएन ।  हामीले हावादारी सपना मात्र देखाएको होइन भएकै श्रोतलाई ब्यवस्थतापन गर्ने नयाँ ढंगबाट काम गरौं भनेको हो । 

हामीसँग पुर्वाधार छ । महिला स्वास्थ्य स्वयमसेविकालाई उहाँहरुको डेडिकेशनलाई उपयोग गर्न सकिएला नि । कसरी उपयोग गर्ने केही इन्सेन्टिभ दिन सकिए त त्यो जनशक्तिले ठुलो सेवा दिन सक्छ । होइन र ? 

अहिलेसम्म ब्यवस्थापन मात्र नभएको रहेछ त उसो भए ? 

म त्यसरी पनि भन्दिन । आवश्यकता अनुसार काम भइरहेकै हो । मैंले अलि फरक ढंगले गर्न थालें अलि आक्रामक रुपमा गरेँ होला । जस्तो खगराज अधिकारीजी मन्त्री भएका बेला भूकम्पका बेला पालै टाँगेर पनि स्वास्थ्य उपचार सेवा पुर्‍याइयो त्यो कामलाई सम्मान गर्नुपर्छ । अमिक शेरचन जी स्वास्थ्य मन्त्री हुँदा निशुल्क उपचारको कुरा शुरु भएको हो । पहिले रामबरण यादव, अर्जुन नरसिंह केसीका पालामा गाउँगाउँमा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको भवन बनाइयो । डाक्टर उपेन्द्र देवकोटाका पालमा भएको कामको त सधैँ सम्मान गर्नुपर्छ । मैंले सस्तो लोकप्रियताका काम भन्दा पनि हरेक समस्याको जरासम्म पुगेर समस्याको समाधान गर्न सकिन्छ भन्नेतिर ध्यान दिएर काम गरिरहेको छु ।

जति काम भइरहेको छ त्यसमा सन्तोष छ त ? 

छैन नि । पटक्कै छैन । भदौ १२ गते यति अनुभव भएर मन्त्रालय सम्हाल्न पाएको भए के के गर्थें होला जस्तो लाग्छ । कति कुरा गर्ने थिइन होला । कुनै कुरा अलि आलोकाँचो तरिकाले पनि गरियो कि जस्तो लाग्छ । मेरा लागि मन्त्री नै नयाँ कुरा थियो । सिकारु नै हो सिक्दै छु । अब धेरै कुरा बुझियो । अर्थ मन्त्रालयलाई  कसरि कन्भिन्स गराउने ? कानून मन्त्रालयलाई कसरि कन्भिन्स गराउने भन्ने कुरा पनि बल्ल थाहा हुँदैछ यत्रो समय वितेपछि बल्ल । 

अर्को कुरा म बिचमा आए । गएको बर्षको नीति तथा कार्यक्रम बनाउने बेलामा आउन पाएको भए बजेट विनियोजन गर्ने बेलामा आउन पाएको भए नै धेरै काम गर्न सकिन्थ्यो । मैंले तीन चार महिना त श्रोत अभाव भएर काम गर्न सकिएन । फागुन लागेपछि मात्र खर्च नभएको पैसा दिन मिल्थ्यो अर्थ मन्त्रालयले त्यसका लागिपनि कुर्नुपर्यो । मलाई प्रधानमन्त्रीले अर्थ मन्त्रीले पनि धेरै सहयोग गर्नुभयो, गरिरहनुभएको छ । सवैको सहयोग छ  । मैंले थालेका नयाँ काममा सवैले सहयोग गरेका छन् कर्मचारीले पनि । मेरा सल्लाहकार साथीहरुको टीमको योगदान जति भने पनि कमै हुन्छ । 

अरु समस्या के के रहेछन् त मुख्य ?

हेर्नोस, म राजनीतिक ब्यक्ति हुँ मलाई लोभ छ, भोक छ । कस्तो लोभ कस्तो भोक भने मन्त्री भएपछि म भोली लुरुलुरु सडकमा हिँड्दा मान्छले भेट्छन्, देख्छन् । त्योबेला त्यो बेला मलाई जसले भेट्छ यसले केही काम चाहिँ गर्न खोजेको हो है भनोस । राम्रो काम थालेको हो भनोस् । यो मेरो स्पिरिट हो यहि हो मेरो भोक वा लोभ भन्नुस । 

अब मलाई लागेको चाहिँ त्यो लोभ कर्मचारीतन्त्रलाई कसरी जगाउने भन्ने हो । फेरि ब्यवहारिक रुपमा हेरौं । सरकारी सेवाबाट रिटायर्ड हुने सचिव सहसचिवहरु भनेका उमेरका हिसावले हाम्रो पार्टीमा हेर्न हो भने युवा नेता भन्ने बेलाका मात्र हुन्छन् । उहाँहरु त्यसपछि विभिन्न गैरसरकारी निकायमा गएर राम्रो परफरमेन्स गर्नुहुन्छ । त्यसैले उहाँहरुमा पनि मैंले यो काम गर्दा यो कुरा पाउँछु नगर्दा यो कुरा गुमाउँछु भन्ने कुराको लोभ जगाउन सक्नु पर्‍यो । त्यत्ति मात्र हुने हो भने अहिलेभन्दा कम्तिमा २०/२५ गुणा राम्रो काम गर्न सकिन्छ ।

राम्रो काम गर्दा तलव बढ्छ कि उच्च शिक्षाको अवसर पाउँछ कि विदेश भ्रमण पाउँछु कि भन्ने कुराको विश्वास दिलाउनुपर्‍यो । अर्कोतिर नगर्दा के हुने हो भन्ने डर पनि हुनपर्‍यो । हो यत्ति हुने हो भने परफरमेन्स २०/२५ गुणा बढाउन सकिन्छ भन्ने शिक्षा मैंले पाएको छु । यसका लागि म मन्त्रीबाट हटेपछि पनि जे गर्न सकिन्छ त्यो गर्छु । 

नेपालमा समग्र सरकारी काम र सेवाप्रति धेरै नै वितृष्णा छ सेवाग्राहीको । सरकारी स्वास्थ्य सेवा झनै दिक्कलाग्दो छ । नागरिकले सरकारी स्वास्थ्य सेवालाई विश्वास गर्ने दिन कहिले आउला ? 

फेरि एउटा उदाहरणबाटै हेरौं गएको बर्षको मंसिरमा वीर अस्पतालमा १० हजार विरामी आएका रहेछन् । यसबर्ष १८ हजार आउनुभयो । माघमा गएको बर्ष ११/१२ हजार आएकोमा यसबर्ष २८ हजार विरामी आउनुभयो । चैतको मैंले सोध्न पाएको छैन । हामीले त्यहाँका डाक्टर नर्स भिसीलगायतसँग कुराकानी गर्‍यौं । नयाँ हौसलाका साथ उहाँहरुले काम थाल्नुभयो । आर्थिक ब्यवस्थापन गरियो । अलिकति सुधार हुनासाथ यति परिवर्तन आयो । 

अहिले हामीले सवैजसो जिल्ला अस्पतालमा झण्डैझण्डै एकएक करोड रुपैयाँ जति पैसा पठाएका छौं । कसैलाई भवनको छानो टाल्नु छ, कसैलाई उपकरण किन्नुछ कसैलाई के गर्नुछ त्यसमै खर्च गर्न पाउनेगरि । हामीले के भनेका छौ भने नागरिक आफू खुशी कुनै पनि अस्पतालमा उपचार गराउन जान चाहन्छ भने जाओस तर कुनै पनि नागरिक सरकारी स्वास्थ्य संस्थामा उपचार पाइन भनेर अरु अस्पतालमा नजाओस् । जनशक्तिको समस्या तत्काल पुर्‍याउन गाह्रो छ । तै पनि हामी सेनासँग, नीजि अस्पतालसँग मिलेर विशेषज्ञ चिकित्सकको सेवा  पुर्‍याउनेबारे पनि काम गरिरहेका छौं । म स्वास्थ्य मन्त्री भएर भन्छु मलाई विश्वास गर्नुहोस् अहिले थालिएका नीतिगत सुधारका धेरै कामको सुधारको परिणाम विस्तारै आउँछ । हाम्रो स्वास्थ्य सेवाको अवस्था सुधार गर्नुपर्छ र त्यो सम्भव छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा दलहरु

    काठमाडौं, कात्तिक ३ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।

  • झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी

    काठमाडौं, कात्तिक ३ – नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उठ्ने निश्चित जस्तै भएकाले यो क्षेत्रमा युवा नेता शर्मालाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

  • वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

    भक्तपुर, कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ ।

  • निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

    ललितपुर, कात्तिक ३ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया