MENU

साहित्य/ कला

Ncell Axiata
sagun

मान्छेको बिस्कुन

पुस्तक अंश

गीता रेग्मी -

बिहान सात बजे फुकेटबाट बस चढेका हामी भोलिपल्ट बिहान पाँच बजे मलेसियाको राजधानी क्वालालाम्पुरको बसपार्कमा पुग्यांै । माघको महिना आकाश कुहिरोले ढाकिएर डम्म परेको थियो । चौडा सडकको चोकैमा रहेको बसपार्क अगाडि बसले छोडिदियो । निन्द्रा कचमचिएका आँखाले झिसमिसे उज्यालोमा के नै ठम्याउन सक्थ्यो र ? तरपनि आफ्ना झोलातुम्बा समाउँदै हामी झर्‍यौं । कहाँ जाने अत्तोपत्तो छैन ? छन् त केही साहित्यकारका नम्बर, केही अपरिचित आफन्तका नम्बर अनि नेपाली दूतावासका चक्रजीको नम्बर बस यति ।

बाटोभरि ट्याक्सी मात्रै देखिन्छन् । कपाल चिन्डो भएका मोटा र अग्ला ट्याक्सी चालकहरूका रूपरङ्गले मनमा एक किसिमको आतङ्क मच्चाएको छ । तिनीहरूलाई देखेर त्रस्त भएका छाैं । कहाँ जाने र के हेर्ने ? कसलाई भेट्ने केही पत्तो थिएन । अब कता लाग्ने थाहै छैन । घरबाट हिंडेको बाईसौ दिनमा आफ्नो ज्यानको जिम्मा आफैले लिनुपरेको थियो । 

चौबिस घन्टाको यात्राबाट थकित शरीरलाई आराम र चियानास्ताको आवश्यकता थियो । तर हामीसँग रेस्टरुम गएर फ्रेस हुनसमेत त्यहाँको पैसा थिएन । पढेलेखेकी र युरोप घुमेका कारण कलावती दिदी र सम्झनाले मेरो विश्वास गर्नु भएको थियो । यसैले ममाथि मेरो मात्र होइन् सम्झना र कलावती दिदीको पनि दायित्व थियो । म यसै रनभुल्ल परेर उभिरहेको थिएँ, मेरा आँखा दुईजना मानिसहरूमा गएर ठोक्किए । सानागाँठीका पातला केटाहरूको नजिकै गएर कुरा गरें । ती त हाम्रै देशका दाजुभाइ पो रहेछन् ! जोगीमाथि सन्यासी पाहुना भने जस्तै भएछ । उनीहरू आफ्नो समस्याको गाँठो फुकाउन दूतावास जाँदै रहेछन् । मोही माग्ने जाने ढुङ्ग्रो लुकाएर भएन, मैले उनीहरूलाई डलर साटिदिनका लागि अनुरोध गरें । मलेसियन पैसा पाएपछि आफूसँग भएका फोन नम्बर डायल गरिदिन अनुरोध गरें । औला दिंदा डुँडुल्नो निल्ने नेपालीको बानीको उपयोग भयो । गरिएका फोन मध्ये कुनै उठ्दै उठेनन् । कुनैले सहयोग गर्न असमर्थता जनाए । अब हाम्रो विकल्प बाँकी थियो दूतावासका चक्रजी ।

ती भाइहरू पनि दूतावास नै जाने भएकाले हाम्रो र उनीहरूको गन्तव्य एउटै बन्यो । हामी केही ढुक्क भयौं । बिहान सात बज्नै लाग्यो । सूर्यदेव झुल्कने नामै लिंदैनन् । मलाई डर लाग्यो सिङ्गापुरको रमझमले न उतै भुलेर मलेसियामा उदाउनै बिर्सने पो हुन की सूर्यदेव जस्तो पनि लाग्यो ? पापी मन । समय त्यसै कटिरहेको छ ।

हिंडौ न कतै भनेको उज्यालोे राम्रोसँग नभई हिड्न हँुदैन् भन्दै आफ्ना साथी लुटिएका र चोरिएका घटना सुनाउँछन् ती भाइहरू । ती भाईहरूको नाम एउटाको जितेन्द्र रहेछ अर्कोको विमल । उनीहरु पूर्व झापा र सर्लाहीका । बस्दा बस्दै दुइघन्टा बितिसक्यो । बल्ल बसपार्कमा टाँगिएको सिक्री खुल्यो । सेक्युरिटी गार्ड आउँछन्, आफ्नै नेपाली दाजुभाइ ! तिनीहरूसँग केही बोलौं भनेको साहुले गाली गर्छ भनेर बोल्नै मान्दैनन् ! पहिला-पहिला मलायाका लाहुरेको कत्रो मान र शान तर अहिलेका लाहुरे त आफ्नै देशका दिदी बहिनीसंग बोल्न सम्म हिचकिचाइ रहेका छन देख्दा पनि दिक्क लागेर आयो । सडक पुरै अग्ला न अग्ला, कपाल खौरिएका मानिसहरूले कब्जा गरे जस्तो छ, हेर्दै डरलाग्दा । 

बर्मामा निडर र हठी कहलिएका हामी तीनवटीको सेखी मलेसियाले मजैले झार्‍यो । आकाश अझै खुल्दैन । ठूलो चौबाटोको अगाडि बसेर ती अग्ला गगनचुम्बी भवन हेर्ने र टाउकोमाथि गुडेका पहेँला पुराना रेलको कर्कश आवाज सुनेर हामीले समय खेर फालिरह्यौं । पारिपट्टि होटल थियो । असाध्यै भीडभाड, हामी चिया खाजाका लागि त्यतै लाग्यांै । बर्मामा हजार रूपैया घटिका केही भेटिन्थेनन् । यहाँ त एकदुई रूपैयामा मनग्गे खान पुग्ने रहेछ । कामदार सबै छिमेकी देशका नै थिए । खान आउने पनि सबै कामदार जस्ता देखिन्थे । सबैले भात र उसिनेको डल्लो अन्डा खाइरहेका थिए । घरमा पकाएको खानामा खोट लगाउँदै डकार्ने दाजुभाइको हविगत देख्दा टिठ लागेर आयो । ‘भोजनभन्दा भोकै ठूलो महाराज’ भएर त होला नि । यिनीहरू सुख्खा भात उसिनेको अन्डा, थालको छेउमा राखेर खाइरहेका छन् । यी भाइहरू नेपाल फर्कने दिन पहिल्याउन दूतावास जाँदै रहेछन् । कस्तो विरक्त लाग्दो कुरा !

सरकारले आफ्नै देशमा रोजगारी सृजना गरिदिएको भए मान्छे कीन अर्काको देशमा यसरी भौतारिंदा हुन जस्तो लग्यो । सात आठ हुँदै घडीले नौ बजायो । हामी त्यहाँबाट उठेर हिंडदै गएर सगरमाथा लज नाम गरेको होटलमा पस्यौं । बाग्लुङतिरका नवीन भन्ने मान्छेको होटल रहेछ । काम गर्ने सबै नेपाली थिए । तरपनि साहु र कामदारकाबीच अपनत्व शून्यजस्तो देखिन्थ्यो । कामदारले हामीसँग कुरा गर्दा हाम्रै अगाडि झपराइ भेटेका थिए । अमिलोमन लिएर तिनै भाइहरूसँग दूतावासतर्फ लाग्यौं ।

सफा थियो बस । पीरैपीरले पिल्सिएर हो की यात्रुहरू हल्लाखल्ला नगरी शान्त भएर बसेका थिए ? बसका झ्यालबाट बाहिर हेर्दा देखिन्थे हरिया बोटबिरुवा र रङ्गीविरङ्गी सिसैसिसाका अग्ला घरहरू, हेर्दै अघि बढ्यौं । आधा गुडेपछि चोकमा पुगेर बस रोकियो । यो चोकको नाम आम्पाङ रहेछ । दुई अग्ला न अग्ला टावर थिए अगाडितिर । ती त मलेसियाका जुम्ल्याहा भवन टुविन टावर रहेछन । सँगै आएका भाइहरूले झर्ने भनेपछि हामी स्कुले बच्चाजस्तै पिठ्युमा व्याग बोकेर झर्‍यौ । टुविन टावरकै नजिकै रहेछ नेपाली दूतावासको अफिस । बार्‍हतले यो भवन चाइनिज पोल्टिकल पार्टीको हेडक्वाटर रहेछ । विभिन्न थरीका कार्यालयहरू भएको यो भवनको छ तलामाथि रहेछ नेपाली राजदूतावासको कार्यालय । आफ्नै माईतीघरझंै सम्झेर जान लागेको त लिफ्टमा बसेका गार्डले १०ः३० पछि मात्र भनेर जान दिएन । त्यहींं भित्र घुम्यौं केहीबेर । जे पनि नयाँ र सुन्दर थिए हामीलाई । 

बाहिर आँगनमा निस्किएको पेटीभरि मान्छे नै मान्छे । हाम्रो आश्चर्य मिश्रित हेराइलाई सहयात्री भाइहरूले नै साम्य पारे –दिदी यिनीहरू सबैजना नेपाल जाने दिन किटान गर्न आएका नत्र भने कुनैपनि बेला मलेसियन प्रहरीले जेलहाल्न सक्छ । मन चिसो भएर दुख्यो । 

मलेसियाको सरकारले गैरकानूनी रूपमा बसेका कामदारलाई समाउँदै जेलमा हाल्दै गरेको कुरा समाचारमा पढेको र सुनेको थिए । त्यसैको परिणाम हुन सक्छ ? जेलपर्ने डरले कानूनी दायरामा पर्नका लागि आएका भनांै वा आफ्नासँग हारगुहार माग्न आएका । निन्याउरा अनुहार, टिठलाग्दा केटाहरू । ‘जो होचो उसैको मुखमा घोचो’ भनेझंै रहेछ कामदारहरूको स्थिति । आफ्नो देशमा केही गर्ने अवसर पाएको भए किन हानिन्थे होला र परदेश ? तातो मरुभूमिमा हाम्फाल्दा पनि कतिखेर प्रहरीको फन्दामा परिने हो भन्ने अनिश्चित त्रासले लखेटिएका बिचराहरूको लागि एकभुल्को माया हुलुक्क भएर आयो ।

राजधानीको मुुटुमा टुविन टावरसँगै फहराई रहेको नेपालको झण्डाले देशको शान मान राखेजस्तो लागेपनि त्यो भन्दा कतिगुणा बढि यी युवाहरूले पाएको पीडाले छट्पटिएको छ । तर यिनका कुरा कसले सुन्ने र देख्ने ? देश हाँक्छु भन्नेहरू सबैका दुरदृष्टि हराएको छ । उनीहरू नजिक एकदम नजिकमात्र देख्छन् । आपूm र आफ्ना मात्रै । राम्रा मान्छे बनाउने प्रयास पटक्कै छैन हाम्रा मान्छे बनाउने होड छ । विवाह, व्रतवन्ध, भोज र भतेर मै मोज मानेर हिंडिरहेछन् सरकारमा बस्नेहरू । यी दुखियाका पनि कोही ठूलो पदमा आफ्ना भएका भए त समस्या यति धेरै झाँगिदैनथ्यो होला नि ? दोष क–कसलाई दिनु र मेनपावरवाला पनि कम दोषी छैनन्  । मलेसिया पठाउने मात्र झण्डै छ सय एजेन्सी छन् भन्ने सुन्दा अचम्म लाग्छ । गरिबीले पिल्सिएकालाई लोभलालचमा पारेर फसाउने ? हैन ! आफू मात्र खाँउ भन्ने कस्तो सोच हो यिनीहरूको । कमसेकम जनशक्ति पठाउदा त सीप सिकाएर तालीम दिएर पठाउनु पर्छ नि !

हाम्रो समय हातबाट फुत्किरहेको थियो । एकदुई हुँदै पाँचघन्टा बितिसकेको थियो मलेसियामा ओर्लिएको, बल्ल १०ः३० भयो । झिनो आशा र सम्भावना बोकेर हामी चक्रजीलाई भेट्न गएका थियौं । सुरक्षित वास र घुम्ने व्यवस्था केही होला की भनेर !

बार्हौ तले अग्लो भवनको छ तलामा रहेको दूतावास पुग्दा त हामी अत्तालियौं । बर्मा र थाइल्याण्डको जस्तो शान्त थिएन दूतावास । तलभन्दा कति हो कति धेरै मान्छे । कसरी पुगे हुन् यति छिटै माथिसम्म जस्तो लाग्यो ? यी सबै गैरकानूनी हिसाबले बस्दै आएका । अब कतिखेर पक्रेर थुन्छ ? थाहा छैन ! बलि पर्न ठिक्क पारेका दशंैका खसीबोकाजस्ता । उफ ! सुस्केरा छुटेछ मुखबाट । नेपालमै सुनिएको थियो नेपाली कामदारले मलेसियामा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् भनेर । पत्यारै लागेको थिएन् यस्तो होला भन्ने ? मेनपावर एजेन्सीका तछाडमछाडले गर्दा सोझासाझा युवालाई आफ्नो चंगुलमा पार्न अनेक प्रलोभन देखाउँदै फकाएका घटना पनि बाहिर नआएका कहाँ हुन र ? ती सूचना थाहा पाउने र विश्लेषण गर्नसक्ने मान्छे आइपुग्दैनन् होला यहाँ । विदेश गएर राम्रो कमाउने मिठो खाने लोभमा घरखेत बन्धकी राखेर आएका दलालकै चर्तिकलाले अलपत्र पारिएका रहेछन् । दलालबाट साहुका हातमा पुगेकाहरूको पासपोर्ट, तलब थोरै दिनका लागि साहु स्वयम्ले नै लुकाइदिंदा रहेछन् । भनेजस्तो सोचेजस्तो कमाई हुनेहरू काम छुट्ने पीरले पासपोर्ट आफैं फाल्दा रहेछन् । अनेक थरी समस्यै समस्याले भरिएका मान्छेहरू । 

हामी अलमलमा पर्‍यौं । तिनका जस्ता टड्कारो समस्या हाम्रो केही थिएन । हामीले त रहरले बोकेको समस्या थियो या भनौ हाम्रो पागलपनको उपज । त्यसैले हाम्रो भन्दा भेट्ने पालो तिनकै आउन जाती लाग्यो र हामी चक्रजीले देखाएको सिटिङरुमको सोफामा थपक्क बस्यौं । 

अगि भेटेका होटलका साहु नवीनले भनेका थिए –तपाँइहरू छिटो जानुस् नत्र चक्रजीलाई भेट्नै सक्नुहुँदैन, मान्छेनै मान्छेले पुिरन्छन् उनी त  ! नभन्दै त्यस्तै रहेछ यहाँ । चक्रजीले त सुनेर जवाफ दिन पनि नभ्याउने । सबै मानिसका आ–आफ्नै पीडा । सबैलाई आफ्नै दुखेसो सुनाउन हतारो थियो । हामी रमिते बनेका छौ र उनीहरूका पीडाले भित्रभित्रै जल्दै पनि छौं । चक्रजी बेलाबेलामा हामीतिर हेर्दै एकछिन है भन्नुहुन्छ । सम्झना जाउँ, यहाँबाट केही हँुदैन जाऊँ, भनेर केटाकेटीजस्तै गनगन गर्न थाल्नुभएको छ । मलाई त्यो दुखको भुमरीबाट पटक्कै निस्कने जाँगर चल्दैन । सम्झनाको गनगन र मेरो मौनताले लामै दोहोरी खेल्यो । 

म नियालिरहेको छु मान्छेका दुखेसा, विवशता र वाध्यतालाई । अनि पखाल्दै छु आपूmभित्रको उल्झनलाई । यत्तिकैमा एकजना युवा चक्रजीको अगाडि आयो र भन्यो – सर उसको घरमा समस्या परेको छ ! एकजना अधवैंसेलाई देखाउँदै भन्दै थियो, चक्रजी अचानक जङ्गिनुभयो । उसलाई नेपाली बोल्न आउदैन ?” भन्दै । आउँछ सर, युवक नरम भएर बोल्यो  । “त्यसो भए उसैलाई बोल्न दिनुस् ”

चक्रजीको आदेशपछि अधवैंसे मानिस अगाडि सरे, थुकले जिब्रो भिजाए । केही निलेजस्तो गरी घाँटीबाट घुटुक्क थुक निले सायद, उनलाई बोल्न शक्ति चाहिएको थियो । भोकै र प्यासै हुँदा हुन । पीडा सहन नसकेर आँत सबै सुकेको हुँदो हो । “बल गरेर उसले भन्यो सर मेरो  त जहाजै डुब्यो ! मेरो परिवार सबै सखाप..........” त्यति के भनेको थियो उसको बोली बन्द भयो । आँखा रसायो र बग्न थाल्यो ।

त्यसपछि चक्रजीले भन्नुभयो त्यो पत्रिकामा निस्किएको घटना हो ? त्यो मान्छेले हो भनेर धार्नीको टाउको हल्लाएपछिका कुरातर्फ मैले ध्यानदिनै सकिन् । मान्छेमाथि कति खस्छन् दुखका पहाडहरू, उफ ! कति धेरै व्यथा र वेदना बोकेर बसेका हुन्छन् मानिसहरू । यस्ता समस्या बोकेर दिनहुँ आउँदा रहेछन्, चेलीहरू माईतीघर आएजस्तै । नेपालसँग दौत्य सम्वन्ध सुरु भएको पनि आधादशक उकालो लागिसकेको अवस्थामा पनि नेपाली कामदारहरूले सुरक्षाको महसुस गर्न नसक्नु भनेको देशको शिर निचा देखाउनु होइन र ? भनेर पनि खै कसलाई सोधुँ म ? कसैको बोल्ने फुर्सद भए पो । यो कस्तो अवस्था हो मैले खुट्याउनै सकिन । माउ दुब्लो भएर बाच्छाले दुध खान छोड्न मिल्नु न आफू अशक्त भए भनेर माउले बच्चालाई लात्ती हान्न मिल्नु । अनि त केही नगरे पनि पीडित कामदार रुँदै आउने थलो त्यही त रहेछ । देश रेमिट्न्यान्सले धानिरहेको छ । रेमिट्न्यान्सको चालिस प्रतिशत हिस्सा बोकेका कामदारको अवस्था भने यति बिजोग हुनु साह्रै दुखलाग्दो कुरा हो । 

मान्छे नै मान्छेको भीड छ । कसका कुरा सुन्ने र कसको काम गर्ने ? अझ भनांै भने सबैभन्दा धेरै कामदारको मृत्यु हुने देश पनि यही रहेछ । प्रत्येकदिन एकजनाका दरले श्रमिकको मृत्यु हुँदोरहेछ यहाँ । तिनीहरुकोमा पनि पुग्नुपर्ने दायित्व दूतावासकै हो । तर दूतावासमा भएका कर्मचारीलाई पनि भैरहेको जनशक्तिले धान्न धौधौ भैरहेको अवस्था रहेछ । चक्रजी भन्दै हुनुहुन्थ्यो अफिसमा यति धेरै व्यस्त हुनुपर्छ की घरमा समय दिन नभ्याएर डिभोर्स हुनेबेला भैसक्यो । कामको बोझ नहुनु पनि कसरी सातलाख भन्दा बढि नेपाली श्रमिकहरू रहेछन मलेसियामा । यो समस्याबाट नेपालीले कहिले मुक्ति पाउने होलान्, हामी एकैछिन रनभुल्ल पर्‍यौ मान्छेको विस्कुन देखेर । 

यस्ता आपतविपत परेका मान्छेलाई सहयोग गर्न छोडेर हामी जस्ता सौखले घुम्नआएका मान्छेले सहयोग लिन खोज्नु त गलत भयो हैन ? अझ सहयोगको अपेक्षामात्र पनि गर्‍यो भने त सिधै यमराजको उम्लिरहेको तेलको कराईमा परिन्छ होला जस्तो लाग्यो । मनले यस्तै सोच्यो । निस्कन खोज्यौं । चक्रजी एकैछिन भन्नुहुन्छ । तर हामी अब नेपाली दाइभाइका विलौना सुन्न नसक्ने भैसक्यौं । कुरा सुन्दासुन्दै उनीहरूको व्यथासँगै अँगालो मारेर बस्कन रुँ जस्तो भैरहेछ । मान्छे पनि कति मुर्ख भाका ? विना कागजात पनि बस्छन् पैसाका खाँतिर ? जस्तो लाग्यो । काम बिग्रिसकेपछि सुझाव दिनु भनेको घाउमा नुनचुक छर्कनु जस्तै हो । ज्यान रहे त आफ्नै देशमा पनि काम गरेर पैसा कमाउन सकिन्थ्यो त ?

हामी यसै अलमलियौ । समय घर्किसक्यो । हेर्न देख्न बाँकी केही छैन । हेर्ने रहर पनि मरिसक्यो मान्छेको विस्कुन देखेर । कति लाजमर्दो थियो हाम्रो देशको स्थिति, मलेसियाको राजधानीमा रहेको नेपाली दूतावासबाट हेर्दा । हाम्रा दाजुभाइको बिल्लिबाठ पार्ने यस्तो देशलाई किन हेर्नु, किन घुम्नु र किन चुम्नु ? ती भव्य सिसाका महलभित्र हाम्रा देशका युवा कसरी पिल्सिएर, चर्किएका छन् । हामी हेर्दै छौं दूतावासको झ्यालबाट बाहिर ती अग्लाभवन पनि त हाम्रै दाजुभाइका चित्कार छेक्न बनाएका होलान् जस्तो लाग्छ ? मलायाको लाहुरे भनेपछि उसको शान र मान बयान गरी साध्य हुँदैनथ्यो पहिला त ? तर मलाया मलेसिया वनेपछि के भयो होला कुन्नी ? प्रश्नैप्रश्नहरूको हुन्डरी चल्छ मनभित्र । 

चक्रजी मान्छेलाई पन्छाएर हाम्रो नजिक आउनुभयो । कृष्ण धरावासी दाइको गेष्टापो र कागजको मान्छे पढिसकेपछि चक्रजी आफ्नै नजिकको चिनारु जस्तै मान्छ मनले । आफ्ना कुरा पो फटाफट ओकल्छु । मलेसिया घुम्ने चाहना, सिङ्गापुर जाने कुरा, कृसुजीसँग नेपालमा भएका कुरा आदि इत्यादि र भन्छु यी मान्छेहरूका विस्कुन देखेपछि मलेसिया हेर्ने चाहना मर्‍यो । प्रतिउत्तरमा चक्रजी भन्दै हुनुहुन्थ्यो झोला यहि नै राखेर घुम्नुहोस् दिनभर अनि बेलुका यहीं भेटेर भोलिको वारेमा सल्लाह गर्ने भनेर । तर अब हाम्रो थकित शरीरलाई मनैदेखि थकाउन त्यहाँको अवस्था पर्याप्त थियो । यसैले भन्यौ अब हामी सिङ्गापुर जाने र उहिं घुम्ने मलेसिया त नघुम्ने । 

चक्रजीले शंका उठाइदिनु भयो, सिङ्गापुर जाँदा इमिग्रेसनमा रोक्न पनि सक्छ ? झोला यहीं छोडेर दिनभरि घुम्नु अनि बेलुका भेट्ने । यो कुरा पटक पटक गर्नुभयो । तर न मेरो मन मान्यो न त सम्झनाको नै । त्यहाँको माहौल देखेर नै हाम्रो मन अघायो । हामी चक्रजीको आग्रहलाई अस्वीकार गर्दै झोला बोकेर त्यहाँबाट निस्कियौं । चारबजेसम्म भाईहरू हामीसँगै हुन्थे । अरूका समस्याका अगाडि यी भाइहरूका समस्या धिमा भएका थिए । उनीहरूको काम सकिएपछि हामी पनि उनीहरूसगै टुइन टावरतिर लाग्यौ । अग्ला न अग्ला ती जुम्ल्याहा भवनलाई भित्रबाहिर सबैतिर नियाल्यौं । ठूल्ठूला पसलमा राखिएका सामानले हाम्रो मन न पगालेको कहाँ हो र ? जब तिनले भिरेका मूल्यको ट्यागमा हाम्रा आँखा ठोकिन्थे मन त्यसै चिसिएर जम्थ्यो ।

लुगा, ब्याग, केटाकेटीका चिजविज मात्र होइन केक, नुडल्स, चिकेन र पाउरोटीको मूल्य देख्दैमा भोक मर्‍यो । भोकाएको पेटले अनायासै थुक निल्न खोज्थ्यो । थुकपनि त पानी नभइ कहाँ आउँदोरहेछ र ? तर पानीको मूल्य सुनेपछि मुख यसै रसायो । हामी केटाकेटीजस्तै भएर तलमाथि भित्रबाहिर खुबै घुम्यौं । पानीको पोखरी, त्यस माथिका रङ्गीन धाराहरू छुन र खेल्न मिल्ने गरी बनाईएका रहेछन् । तिनले हामीलाई केटाकेटीलाई जस्तै गरी जिस्क्याइरहे । हुन सक्छ हामी ठुस्सिएको थाहा पाएर फकाउँदै पो हुन की ? हामीले त्यो पानीको धारासँग एकछिन खेल्यौं र दुखेको मनलाई धोईपखाली गर्‍यौ ।

बाहिरी आवरण त टेलिभिजनमा देखिएजस्तै थियो मलेसियाको । सिसैसिसाका अग्लाअग्ला आकाशै छेड्लान जस्ता चुचुरा घरहरू तर कतिखेर चर्किएर भुइँभरि छरपस्ट हुने हुन जस्तो लाग्ने । हामी त्यहाँबाट निस्कियौं र बसपार्कतिर लाग्यौं । बिहान पसेकै होटलमा पसेर खाना खायौं । सम्झना एकदम थकीत भएकीले आराम गर्न लगाएर हामी घुम्न निस्कौंला भन्ने लाग्यो । घुम्न हिंड्दा थकाई नामको शब्द मेरो नजिक आउनै पाउदैनथ्यो । तर सबैमा उही नियम कहाँ लागू हुदोरहेछ र ? त्यहीं होटलमा रहेको कोठा हेर्न गयौं । तर त्यो कोठा यति फोहोर रहेछ की त्यहाँ बसेर सम्झनाको शरीरले आराम पाउने छाँटकाँट देखिएन् ? मनदेखि नै थाकेर आयो मेरो पनि शरीर । यो त विवश र लाचार नेपालीको शोषण गर्ने ठाउँ पो रहेछ त ! सुकाएको विस्कुन पानीबाट जोगाउन पोको पारेर ओततिर फालिन्छ नि त्यसरी नै नेपाली दाजुभाइका विस्कुन फालिने र थन्क्याइने ठाउँ पो रहेछ यो ।

उफ, शरीरभरि काँडा उम्रिए, अचानक ! ती भाइहरूसँगै फुदुराया बसपार्कतर्फ लाग्यौं । अब यहाँ एकछिन पनि नबस्ने भन्दै । सुन्दर देश सिङ्गापुर जाने र सफा सेता चिटिक्क परेका विस्तारामा आराम फर्माउने कल्पना बुनेर बसपार्कतर्फ लाग्यौं । बसपार्कको बाहिरै लाईन लागेर उभिएका थिए हामीलाई सिङ्गापुर पुर्‍याउने सुन्दर बसहरू । बसका दलालहरू हामीलाई आफ्नो बसमा चढाउनका लागि तानातान गरिरहेका थिए । मन उत्साहित थियो । सुरक्षित भएर सुन्दर देश घुम्ने लालसा लिएर बस चढ्न के लागेका थियाैं, सम्झना त नजाने कि नजाने भन्न थाल्नुभयो । जति फकायो पनि नफक्किने । हामीले फकाउँनै सकेनाैं । चक्रजीले इमिग्रेसनमा रोक्न पनि सक्छ भनेका कुराले हो वा आउदाखेरि थाइ प्रहरीका कुरा सम्झेर हो ? सम्झना मरे काटे सिङ्गापुर नजाने अड्डी लिएपछि हामी लाचार भएर थाइल्यान्ड फर्कनका लागि बसपार्कभित्र छिर्‍यौं ।

जितेन्द्र र विमलभाइले फर्कनका लागि चार बजेको ट्रेनको टिकट लिएका रहेछन् । अचानक बसपार्कमा भेटिएका ती भाइहरू दिनभरि हाम्रा आफ्नैभाइ जसरी हाम्रा झोला बोक्दै हामीलाई साथ दिएका थिए । अब ती पनि हामीसँग छुट्दै थिए । त्यो भन्दा बढि उनीहरूले भोगिरहेको परिस्थितिप्रति दुख लागेको थियो । मन अमिलो भयो । बल्लबल्ल भेटिएको त्यान्द्रो छुट्न लागेको थियो । उनीहरूसँगै गएर बसको टिकट काट्यौं । असाध्यै राम्रा थिए टिकट बिक्री गर्ने केटीहरू । आफ्नो बसको टिकट कटाउनका लागि हामीलाई स्विट हार्ट भनेर सम्बोधन गरे । जे सुकै भएपनि हामीलाई थाइल्याण्ड फर्कनु थियो । टिकट लियौं रातको दश बजेको र भाईहरूलाई चक्रजीले भनेको होपेनहोप बसमा पुर्‍याइदिन भनेर । धेरै समय बसपार्क रुङ्नुको पनि त केही काम थिएन् । त्यो बसले सिटी निशुल्क घुमाउँदो रहेछ ।

भाइहरूले हामीलाई अर्को बसपार्कसम्म पुर्‍याइदिए । बाटोमा जाँदा मनभित्र मच्चिएको हुन्डरी शान्त पार्नु थियो । कसरी हाम्रा दाजुभाइ यो हविगतमा परेका हुन् भन्ने कुराले । कसरी मर्छन कलिलै उमेरका केटाकेटी ? उनीहरूले बिस्तारै कुरोको पोयो खोल्दै लगे । छ सय मेनपावर एजेन्सीका दलालहरू गाउँगाउँ पुगेर छ सात कक्षा पढेका केटाहरूलाई ललाईफकाई विदेश जाने, धेरै पैसा कमाउने र मोजमस्ती गर्ने प्रलोभन देखाउँछन । सबै नक्कली कागजपत्र बनाएर दिन्छन, राम्रोसँग पढ्न पनि नजान्ने मान्छेलाई होटलको सेफको प्रमाणपत्र भिराउँछन ।

भिसा लाग्छ, हुरुरु उडेर काममा पनि पुग्छन् तर साहुले अह्राएको काम गर्न आउँदैन् भनौं वा उनीहरूले देखेकै केही हुँदैन् । फ्रिज र र्‍याकको फरक छुटट्याउन नसकेर जुत्ता लगेर प्र्रिmजमा राखिदिएपछि साहुको पारो छुट्छ फालिदिन्छ पाँचतला माथीबाट । उसले दलाललाई मनग्गै पैसा तिरेको हुन्छ । भर्खरका केटाहरू आउने हुँदा उनीहरू जस्तोसुकै काम गर्न पनि अघि सर्छन । कमाई थोरै हुँदा खाना र पानी प्रशस्त खान सक्दैनन् । एसी भएको ठाउँमा काम गर्ने र एसी नभएको ठाउँमा सुत्ने गर्दा पनि जान्छन् कोही । धेरैजना एउटै कोठामा सुत्दा हल्लाखल्ला, जुवातास खेल्दै रक्सी पनि पिउँछन र सुतेको सुतेकै हुन्छन । सबै कागजपत्र नक्कली हुने हुँदा उनीहरूलाई पत्तै हुँदैन आफ्नो अधिकार के हो ? कति तलब पाउनु पर्दथ्यो ? कति समय काम गर्नुपर्ने हो ? साहुका ज्यादती कति सहने कति नसहने भन्ने कुरा बेलिविस्तार लगाए भाईहरूले । मन भरङ्ग भयो । आफ्नै देशका सोझासाझा दाजुभाइलाई फसाएर दलाल अनि म्यानपावरवालाले आफ्नो घर कसरी सजाई रहेका हुँदा हुन जस्तो लाग्यो । कमसेकम केही समय तालीम दिएर पठाएको भएपनि यो हविगत हँुदैनथ्यो होला जस्तो भयो । 

अनुत्तरित प्रश्न निस्कियो मुखबाट अनि यहाँको सरकारले के गर्छ त ? भनेर सोधे । यहाँको सरकार अतिभ्रष्ट छ दिदी । प्रहरीमा उजुरी गर्न गयो भने पीडितभन्दा अगाडि नै पीडक त्यहाँ गएर बसिरहेको हुन्छ । नेपाल सरकारको हविगत दूतावासमा देखि हाल्नुभयो । बस घुम्दै बसपार्क अगाडिबाटै हिंड्दो रहेछ । ती भाइहरू ट्रेन स्टेशन अगाडि झरे । नराम्रो लाग्दालाग्दै पनि नेपालमा भेट्ने है भन्दै भाइहरूलाई बाई बाई गर्‍यौ । सम्झना बसमा बच्चा जसरी निदाइरहनु भएको थियो । भाइहरू झरेपछि पनि हामी बसमा नै बसिरह्यौं । बसमा थरीथरी मान्छे चढ्दै झर्दै गरिरहेका थिए । रङ्गीन सिसैसिसाका अग्ला घरहरू देखिएथे सहरभरि तर तिनले हामीलाई आकर्षण गर्नै सकेन् । मेरो मन एकोहोरो आफ्नै देशका दाजुभाइका कथा र व्यथाहरूले तानिरह्यो । 

बसपार्क अगाडि झर्‍यौ र त्यसकै अगाडि रहेको मेयडी सुपरमार्केटमा पसेर फलफूल, पानी र खानेकुरा किन्यौं, आएर थपक्क बसपार्क भित्र बस्यौं मान्छेका चहल पहल हेर्दै । माथिदेखि तलसम्म कालो गाउन लगाएका महिलाहरू गएको गएकै गर्छन् कता गएका हुन् ? क्रस गर्न मिल्ने बाटो भएजस्तो लाग्दैनथ्यो किनकी बसपार्क कम्पाउन्डले घेरिएको थियो । के यिनीहरू पनि सबै यहाँको वातावरणसँग निसासिएर भागिरहेका हुन की जस्तो लाग्यो । 

कसलाई सोध्नु र ? बसको बाटो हेरेर बसिरहँदा एकजोडी बस चढ्न आए, लोग्नेमान्छे परदेश जाँदै रहेछ सायद ? केटीले घप्लक्क केटालाई अंगालो हाली र रुदैं बेपत्तासँग भागी । केटा चाँहि केटी गएको बाटो हेर्दै रुन थाल्यो । केटामान्छे रोएको कसोकसो असजिलो मान्यो मनले । देश भाषा र ठाउँ फरक भएपनि रुने र हाँस्ने भाषा चाहिँ संसारभरिको एकै हँुदोरहेछ । ऊ रुदै गर्दा के सोचेर रोएको हुँदो हो भनेर अनुमान लगाउन हामीलाई गार्‍हो भएन । हामीले उसलाई हेरेको थाहा पाएपछि छेल परेर रुन थाल्यो । केटामान्छे भएर रुनुहुँदैन या कमजोर हुनुहुँदैन भन्ने मान्यता यहाँ पनि रहेछ क्यारे । बस चढेर त्यो मान्छे गएपछि हाम्रो बस पनि आयो हामी पनि चढ्यौं र नेपालीको पसिनामात्र होइन रगतै पनि चुस्ने देशबाट बिदा भयौं ।  

(साहित्यकार रेग्मीको प्रकाशोन्मुख नियात्रा ‘पत्थरै पत्थर’बाट) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया