MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

पहिले मुख देखाउन लाज लाग्थ्यो, अब त चालक बन्ने रहर छ

संगिता श्रेष्ठ ।

मेरो घर काभ्रे हो । म सामान्य घरपरिवारको मान्छे हुँ । मैले विद्यालय स्तरको पढाईदेखि १२ कक्षाको पढाईपनि गाउँमा नै सकेकी हुँ । गाउँमा खुलेको सहकारीमा काम गर्ने गरेको थिएँ । गाउँकै सहकारी भएकोले तलब त्यति धेरै थिएन । तर पनि आफ्नै घरमा बसेर काम गर्न पाएकोले जति तलब थियो ठिकै थियो । त्यहाँको कमाईमा पनि मलाई कुनै चित्त दुखाई छैन । अहिले म काठमाडौंमा बस्छु । एक वर्षअघि म काठमाडौं आएकी हुँ । काठमाडौं आएको केही समयसम्म त म त्यत्तिकै बसें । कामको आवश्यकता भएपनि पाईएको थिएन । तर एकदिन महानगर यातायातमा काम गर्ने दाईले तिमी पनि कन्डक्टरको काम गर्छौ भनेर सोध्नुभयो । पहिला त मलाई कामको नाम सुनेर नै मन परेन । केटी मान्छे भएर नि के को खलाँसीको काम गर्ने हो र भन्ने सोंचे ।

तर एकदिन दाईसँगै महानगर यातायातको कार्यालय गएँ । त्यहाँ त म जस्ता दिदी बहिनी त कति धेरै रहेछन् । सबैजना कन्डक्टरको काम गर्ने । महानगर यातायातबाट घर फर्किएपछि मलाई पनि काम गरौं गरौं लागिरह्यो । अनि मलाई पनि काम गर्न सक्छु जस्तो लाग्यो । त्यसपछि मेरो कामले पनि अर्कै मोड लियो । 

पहिला गाडीको खलाँसीको काम गर्न जान लागेको भन्दा घरपरिवारले एक्लै खलाँसी काम गर्न जानुपर्दैन भन्नुभएको थियो । तर अहिले परिवारले पनि सहयोग गरिरहेका छन् । यसले गर्दा पनि मलाई काम गर्न सजिलो भएको छ ।

गाडीमा काम गर्ने पुरुषलाई त राम्रो नमान्ने हाम्रो समाजमा महिलाले खलाँसीको काम गरेको के मन पराउँथ्यो ? तर पनि मैले यही कामलाई निरन्तरता दिने विचार गरें । भन्नेले त जे पनि भन्छन् तर आफू ईमान्दार भएर काम गर्नुपर्छ जस्तो लागेर नै मैले यस क्षेत्रमा काम गर्न थालें । अहिले त मलाई यही काम गर्न रमाईलो लागिरहेको छ । 

मैले काम गर्दा जिपिएस प्रणाली बिग्रीएको रहेछ । ठाउँको नाम थाहा पाउन नै एक महिना लाग्यो । यात्रुले मलाई यहाँ रोकिदिनु है भन्यो भने पनि तपाईं आफू ओर्लने ठाउँ आएपछि भन्नुस म ओरालिदिन्छु भन्नुपथ्र्यो । ठाउँको नाम थाहा नपाउँदा निकै गाह्रो भएको थियो । पहिला पहिला त काम गर्दा निकै लाज लाग्थ्यो । चिनेको मान्छे गाडीमा चढ्दा आफूलाई नचिनोस् भन्नका लागि आँखा मात्र देखिने गरी मुख ढाकेर गाडीमा हिँड्थें । तर अहिले लाज लाग्दैन । मुख देखाएर नै हिँड्छु । मान्छेले देख्दा पढेको मान्छे कन्डक्टर भएको भन्ने लाग्दो हो तर मलाई त यो भाग्य कै खेल जस्तो लाग्छ ।

गाडीमा एकै किसिमको मान्छे चढ्दैनन् । कोही जाँड खाएर आउँछन् । कसैलाई गाडीमा चढेको भाडा तिर्न पनि गाह्रो हुन्छ । अनि झगडा गर्नै थाल्छन् । त्यतिबेला आफूलाई पनि खुब रिस उठ्छ । तर केही पनि भन्दिन, चुप लागेर बसेपछि उसैलाई अप्ठ्यारो हुँदो रहेछ क्यारे अनि भाडा तिरेर झर्छन् ।

कन्डक्टरकै काम नगरे पनि पहिला पनि काम गरिसकेकोले मलाई काम गर्न कुनै गाह्रो छैन । तर कन्डक्टरको काम गर्दा भने सुरुमा असहज भएको थियो । अहिले त गाडी चढ्नेले पनि तिमीहरुले राम्रो काम गरेछौ भन्छन् । त्यो सुन्दा चाहिँ खुसी लाग्छ । कोही चाहिँ अचम्म मानेर हेर्छन् ।

यहाँको तलब पनि चित्त बुझ्दो नै छ । पहिला सहकारीमा काम गर्दा पाँच हजार तलब थियो । यहाँ भत्ता बाहेक नै साढे नौ हजार रुपैयाँ तलब छ । भत्ता एक टिपको एकसय रुपैयाँ छ । यसले आफ्नो दैनिक खर्च चलेको छ । अहिले त चक्रपथमा जाम हुने हुँदा त्यति धेरै टिप गर्न सकिंदैन । जाम नहुने हो भने दिनको थोरैमा पाँच टिपसम्म गर्न सकिन्छ । त्यसैबाट खान, बस्न तथा अन्य खर्चलाई पुर्‍याउन सकिएको छ ।

तलब र भत्ता सहित हिसाब गर्ने हो भने खाना खाएर, कोठा भाडा तिरेर पनि अहिले महिनाको १३ हजार जति बचाउन सकिन्छ । बचाएको केही रकम घर पठाउने गरेकी छु केही बचत गर्छु ।  पैसा भन्दा पनि आत्मसन्तुष्टि ठूलो कुरा रहेछ । यहाँ अरु दिदी बहिनीहरु पनि हुनुहुन्छ । त्यसैले पनि काम गर्न रमाईलो भैरहेको छ । अब चाहिँ गाडी चलाउन सिकेर ड्राईभर बन्ने रहर छ । 

(मुना श्रेष्ठसँग कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया