MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

कम्प्युटर इन्जिनियरिङ छाडेर कृषि पर्यटन, स्नातकोत्तर पास श्रीमान-श्रीमतीको उदाहरणीय काम

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, चैत २० – तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–५ का राजु गड्तौला तीन वर्ष अघिसम्म विराटनगरमा कम्प्युटर हार्डवेयर इन्जिनियरिङको जागिर खानुहुन्थ्यो ।

समाजशास्त्रमा स्नात्तकोत्तर सक्नुभएका गड्तौलाले झण्डै दुई दशक कम्प्युटर इन्जिनियरिङमा जागिर खानुभयो । कम्प्युटर इन्जिनियरिङमा उहाँले मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाउनु हुन्थ्यो । तर उहाँलाई मासिक एक लाख रुपैयाँले भन्दा पहाडको आफ्नो पुर्ख्यौली जमिन, सिंचाईका श्रोत र शान्त सुन्दर वातावरणले लोभ्यायो । 

फलस्वरुप उहाँ सूचना प्रविधि र कम्प्युटर क्षेत्रको १९ वर्षको अनुभव चटक्कै छाडेर कृषि पर्यटनको विकास गर्ने अठोटसहित पुर्ख्यौली थलो फर्किनुभयो । अहिले उहाँ गाउँमै कृषि पर्यटनका सम्भावनाहरु केलाउँदै हुनुहुन्छ । 

गड्तौलाले विषादीरहित तथा ताजा कृषि उत्पादनको स्वादमा पर्यटक तान्ने उदेश्यले डाउन हिल कृषि फार्म तथा डाउन हिल कटेज सञ्चालनमा ल्याउनुभएको छ । एक वर्षदेखि सञ्चालनमा रहेको गड्तौलाको कृषि फार्मबाट विभिन्न उत्पादनहरु तयारी हुने क्रम सुरु भइसकेको छ । त्यही उत्पादनलाई प्रयोग गरेर शान्त वातावरणमा खान, बस्न र आनन्द लिन सकिने डाउन हिल कटेज पनि एक वर्ष अघिदेखि सञ्चालनमा छ । 

बढ्दो शहरीकरण, जनसंख्या चाप, धुँवा धुलो र अशान्त वातावरणलाई राम्ररी बुझेका राजु भन्नुहुन्छ ‘मान्छे शान्त र सफा चाहन्छ, बजारको धुँवाधुलो भन्दा टाढा बसेर रमाउन चाहन्छ । अझ भन्दा ताजा र विषादीरहित कृषि उत्पादन खाएर आनन्द लिन खोज्छ, मैले त्यही सुविधा यहाँबाट दिन चाहेको छु ।’ 

गड्तौलाले एक साथ कृषि फार्म, खान र आवासको सुविधा तथा तालिम हलसहितको कटेज सञ्चालनमा ल्याउनुभएको छ । अहिलेसम्म आफ्नो व्यवसायमा ४० लाख रुपैयाँ लगानी गरिसकेको उहाँ बताउनुहुन्छ । गड्तौलाले कृषि फार्मतर्फ खसीबोका, लोकल र बोइलर कुखुरा, तरकारी खेती र माछा पालन गर्नुभएको छ । अहिले उहाँका कृषि फार्मका खसी, कुखुरा, तरकारी र गाईभैंसीको दुध बजार पु¥याइरहनु पर्दैन, घरैबाट बिक्री हुन्छ । घरै अगाडि सञ्चालित कटेजमा ती सबै उत्पादन खपत भइरहेका छन् । उहाँको फार्ममा यति बेला ७० वटा खसीबाख्रा, पाँच सयको हाराहारीमा लोकल कुखुरा, पाँच हजार टिलापिया जातका माछा छन् । कटेजमा आउने पर्यटककै राजाईमा माछा, कुखुरा तथा खसीका परिकार बनाउने गरिन्छ । 

त्यस्तै उहाँले फार्म भित्रको खाली जमिनमा कागती, सुन्तला, नासपाती, किबीलगायत फलफूलका एक हजार बिरुवा रोप्नुभएको छ । बाख्रापालनका लागि ३० रोपनीभन्दा बढी जग्गामा उन्नत जातको घाँस लगाउनुभएको छ । लोकल कुखुरालाई गिरीराज जातको कुखुरासँग ‘क्रस’ गराएर चल्ला उत्पादन थालेको उहाँले सुनाउनुभयो । उहाँले फार्म र कटेजमा गरी राजुले अन्य चार जना युवालाई रोजगारी दिनुभएको छ ।

उहाँको ‘डाउनहिल कटेज’ मा स्थानीय बाँसका भाटा प्रयोग गरेर बनाइएका बसौं बसौं लाग्ने स–साना कटेजहरु छन् । कटेजसँगै झण्डै ६० जना अट्ने तालिम हल छ । कटेज नजिकै बाल उद्यान पार्क र स्वीमिङ पुल बनाउने उहाँको तयारी छ । झण्डै एक सय रोपनी जमिनमा थालेको उहाँको यो कृषि पर्यटनको अभियान गाउँभर फैलाउने लक्ष्य छ । आफू मात्रै नभएर गाउँलाई नै एउटा विषादीरहित कृषि उत्पादनको क्षेत्र बनाउने उहाँको योजना छ । ‘मनमा जोस, हातमा जाँगर र इच्छाशक्ति भए कोही विदेशिनु पर्दैन’ उहाँ भन्नुहुन्छ, ‘मैले गाउँमै सुन फलाउने सपना देखेको छु ।’ 

यसको व्यवस्थापनमा राजुलाई श्रीमती अर्चनाले सघाउनुभएको छ । अर्चनाले पनि व्यवस्थापन संकायमा स्नात्तकोत्तर गर्नुभएको छ । पढाई पछि जागिर खानैपर्छ भन्ने सोचलाई त्यागेर गड्तौलाको जोडी कृषि र पर्यटन प्रवर्द्धनको अभियानमा राम्रैसँग जमेको छ । श्रीमती अर्चनाले पनि विराटनगरकै एक कलेजको ६० हजार रुपैयाँको जागिर छाडेर राजुलाई सघाइरहनुभएको छ । ‘कुनै पेसा ठूलो र सानो हुदैन, गाउँमा कृषि कर्म गरेर देशको अर्थतन्त्र बढाउने उहाँको सपना पूरा गर्न अध्यापन पेसा छाडेर यतै आएकी हुँ’ श्रीमती अर्चनाले भन्नुभयो ।

रसायनिक मल र विषादीको प्रयोग नगरी कृषि उत्पादनमा जोड दिएर शान्त वातावरणमा आएका पहुनालाई स्वागत सत्कार गरेर पठाउन सके गाउँ नै एउटा नमुना होम स्टेको रुपमा विकास गर्न सकिने अर्चना र राजुको योजना छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया