MENU

समाज

ujyaalo forign call inside

​वैदेशिक रोजगारीले निम्त्याएको विपत्ति : जग्गा गयो, बुवाले आत्महत्या गरे

प्रेम क्षेत्री/ नवलपरासी ।

चैत २१ – आर्थिक अवस्था कमजोर भएपछि नवलपरासीको गैंडाकोट–७ शक्तिटोलका मनवीर दर्जीलाई खान लाउन धौ धौ थियो । गाउँका सबै विदेश गएर पैसा कमाएर फर्किएको देखेपछि मनवीरलाई पनि विदेश जाने रहर जाग्यो । गैंडाकोट–५ जनक कलेज नजिकै बस्ने दशरथ गिरीले युवाहरुलाई विदेश पठाइरहन्थे । मनवीर पनि दशरथको सम्पर्कमा पुग्नुभयो । दशरथले कतार पठाइदिन्छु, कमाइ पनि राम्रो हुन्छ भनेर मनवीरलाई फकाए । पैसा टन्न कमाउने सपना बुन्दै घर फर्किएका मनवीरलाई बुवा लक्ष्मण दर्जीलगायतका घरका अरु सदस्यले पनि स्वीकृति दिए ।

घर परिवारबाट स्वीकृति पाएर के गर्नु उहाँसँग विदेश जाने पैसा भएन । गाउँमा पैसा दिने कोही भएनन् । अहिले जस्तो बचत गर्ने सहकारी संस्थाहरु पनि थिएनन् त्यतिबेला । दशरथले कतार जान ८५ हजार रुपैयाँ बुझाउनु भनेकाले मनवीरलाई पैसा कसरी जुटाउने भन्ने चिन्ता नै धेरै थियो । तर दशरथले पैसा आफै उपलब्ध गराइदिने तर त्यस बापत दुई कठ्ठा जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने सर्तसहितको उपाय सुझाए ।

दुई कठ्ठा जग्गा आफ्नो नाममा पास

गैंडाकोट–७ मा रहेको २ कठ्ठा १७ धुर जग्गा मध्ये दुई कठ्ठा जग्गा दशरथको नाममा पास गर्ने प्रस्ताव आएपछि मनवीरको परिवार दोधारमा पर्‍यो । दुई कठ्ठा दिएर बाँकी १७ धुरमा के गरेर कसरी परिवार चल्छ भन्ने नै ठूलो चिन्ता थियो दर्जी परिवारको । त्यही कुरामा रुमल्लिरहेका बेला दशरथले फेरि अर्को पासा फाले । तीन महिनापछि ८५ हजार रुपैयाँ फिर्ता दिए जग्गा फिर्ता गरिदिने गरी कागज गर्न सकिने बताए । ८५ हजार रुपैयाँमा पास गरिदिएको सो जग्गाको मुल्य अहिले ६० लाख रुपैयाँ भन्दा धेरै छ । 

विदेशमा कमाएपछि तिर्ने सपना 

मनवीरलाई विदेश गएर कमाइहालिन्छ भन्ने लाग्यो । ८५ हजार रुपैयाँ फिर्ता गर्न त्यती गाह्रो नहोला भन्ने सोचेर बुवा लक्ष्मण दर्जीले आफ्नो नामको दुई कठ्ठा जग्गा दशरथका नाममा राजीनामा पास गरिदिने र छोरोलाई कतार पठाउने निधो गर्नुभयो । दशरथले आफ्नै साथी सन्देशलाई साक्षी राखेर श्रीमती शुभ लक्ष्मी गिरीको नाममा जग्गा पास गर्नुभयो । त्यतिबेला गरिएको कागजमा मनवीर, दशरथ आफै र बुवा मात्रै साक्षी बसे पुग्ने भन्दै कागज पनि गराए । 

जग्गा पास र कागज गरेपछि फरार 

दशरथले गैंडाकोटमा रहेको दर्जी परिवारको कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा श्रीमती शुभलक्ष्मी गिरीका नाममा पास गरिदिए पछि विदेश पठाउनु त कता हो कता सम्पर्कमै आउन छोडे । गिरीको घरमा जाँदा थाहा भयो, उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेका रहेछन् । वरपरकालाई सोध्दा कहाँ गएको हो, थाहा छैन भन्छन् । पछि थाहा भयो दशरथले गाउँका अरु व्यक्तिको पनि पैसा खाएर भागेका रहेछन् । नारायणगढ पुल्चोकमा नै पसल गर्दै आएका दशरथले बुवा कृष्ण गिरीलाई लिएर फरार भएका छन् । उनको गैंडाकोटमा कपास फ्याक्ट्री पनि थियो । अहिले न उनीहरुको फ्याक्ट्री छ न त उनीहरुको परिवारको कुनै अत्तोपत्तो नै । 

बुवाले गरे आत्महत्या 

विदेशको सपनाले मानवीरको परिवारलाई जग्गा बिहीन मात्रै बनाएको छैन परिवारमा पनि बिपत्ति भित्रिएको छ । छोरालाई विदेश पठाउने सोचमा जग्गा गएपछि तनावमा रहेका मनवीरका बुवाले एक वर्षपछि आत्महत्या गर्नुभयो । ‘गाउँमा कतै निस्किने बित्तिकै सबैले कुरा काट्दा उहाँ तनावमा हुनुहुन्थ्यो’ मनवीरका दाजु भक्तबहादुरले भन्नुभयो ‘त्यसैको कारण परिवारमा कलह हुन थालेपछि बुवाले घरभित्रै आत्महत्या गर्नुभयो ।’

भारत पलायन 

एक त परिवार ठूलो त्यसमाथि अभिभावक नै नरहेपछि १७ जनाको परिवारलाई खान लाउन धौ धौ हुनथाल्यो । त्यसैले मनवीर भारततिर लाग्नुभयो । अहिले उहाँ भारतमै काम गर्नुुहुन्छ । गैंडाकोटमै रहेका दाजु भक्तबहादुर भने न्यायको माग्दै हिँडिरहनु भएको छ । 

११ वर्षपछि बल्ल प्रहरीमा उजुरी, न्याय खोज्दै १७ जनाको परिवार

झण्डै ११ वर्षपछि गएको जेठमा मात्रै दर्जी परिवार प्रहरीकोमा पुगेको छ । वैदेशिक रोजगारीमा अप्ठ्यारो परे निःशुल्क सहायता गर्ने संस्था कावासोतीमा छ भन्ने थाहा पाएका भक्तबहादुर सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा पुगेपछि केन्द्रको सल्लाह अनुसार नै प्रहरीमा गएको भक्तबहादुरले बताउनुभयो । भक्तबहादुरको समस्या अलि फरक रहेकाले पनि उनलाई प्रहरीमा जान सुझाव दिएको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो ‘वैदेशिक रोजगार ऐन २०६४ भन्दा अघिको छ त्यसैले पनि प्रहरीमा जान सुझाव दिएका छौं । तर उनलाई हाम्रो तर्फबाट हुने सबै सहयोग गर्छौं ।’प्रहरीले पनि वास्ता गरेनन्

तर कावासोती प्रहरीले पनि चासो नदिएको भक्तबहादुरको गुनासो छ । ‘कावासोती प्रहरीमा निवेदन दिएका छौं तर आफै खोजेर हामीलाई खबर गर्नुस् भन्छन् म कहाँ जाउँ’ उहाँले प्रश्न गर्नुभयो ‘हामी जस्ता निमुखालाई कसले हेर्ला र ?’ मालपोतमा दशरथले जग्गा पास गरेकी उनकी श्रीमतीको फोटो भए पनि प्रहरीले खोज्नु भन्दा आफै खोज्न सुझाव दिएको भन्दै असन्तुष्टी जनाउनुभयो । अहिले दर्जी परिवार शुभ लक्ष्मीको नाममा पास गरिदिएको घरमै छ । जग्गा दाबी गर्न कोही पनि आएका छैनन् । अहिले साथमा प्रमाणका नाममा जग्गा पास लिए दिएको कागज मात्र छ । ‘हामीलाई ठगेर जग्गा खानेको फोटो पनि छैन, कहाँ गयो भन्ने थाहा पनि छैन । फोन नम्बर पनि छैन,’ भक्तबहादुरले भन्नुभयो, ‘कुन दिन आएर हामीलाई उठिबास लाउने हो, थाहा छैन ।’ त्यसैले दर्जी परिवार दशरथ गिरीको परिवार मिलापत्र गर्न आइदिए हुन्थ्यो भन्ने प्रतिक्षामा छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया