MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

किन मारिन्छन् दुर्लभ रेड पाण्डा ? यस्तो छ कारण

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, चैत २५ – विभिन्न तथ्याङ्कलाई हेर्ने हो भने विगत चार/पाँच वर्षदेखि नेपालमा अन्य वन्यजन्तुको तुलनामा रेड पाण्डा बढी चोरी शिकार हुने वन्यजन्तुमा पर्छ । साइटिस महासन्धी १९७५ तथा राष्ट्रिय वन्यजन्तु तथा निकुञ्ज संरक्षण ऐन २०२९ ले रेडपाण्डालाई दुर्लभ वन्यजन्तुको सूचिमा राखेर संरक्षण थाले पनि नियन्त्रण हुन सकेको छैन  ।

प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीको तथ्याङ्कलाई मात्र हेर्ने हो भने २०६८ सालदेखि अहिलेसम्म ५८ वटा रेडपाण्डाको छालासहित ७० जना पक्राउ परेका छन् । सिआइबीले २०६८ सालमा दुईवटा रेड पाण्डाको छालासहित ६ जना पक्राउ गरेको थियो भने २०६९ मा चारवटा रेड पाण्डाको छालासहित तीन जना पक्राउ परेका थिए । त्यस्तै २०७० मा १४ वटा रेड पाण्डाको छालासहित २० जना पक्राउ परे । २०७१ सालमा भने तीनवटा रेड पाण्डाको छालासहित पाँच जना पक्राउ परेका थिए । त्यस्तै २०७२ मा आठ वटा रेड पाण्डाको छालासहित ११ जना र २०७३ सालको अहिलेसम्म १७ वटा रेड पाण्डाको छालासहित २५ जना पक्राउ परिसकेका छन् ।  

सिआइबीको तथ्याङ्क अनुसार रेडपाण्डाको शिकार बढ्दै गएको देखाए पनि शिकार हुनेको संख्या भने अझै बढी भएको रेड पाण्डा नेटवर्क संस्थाका अध्यक्ष डम्बर विष्ट बताउनुहुन्छ । उहाँका अनुसार सन् २००८ देखि २०१६ को नोभेम्बरसम्म ८५ वटा रेड पाण्डाका छाला समातिएका छन् । यो संख्या पनि अझै बढी हुने उहाँले बताउनुभयो । 

नेपालको पूर्वी हिमाली भेगदेखि पाँचवटा देश, नेपाल, भारत, चीन, म्यानमार र भुटानमा मात्रै पाइने रेड पाण्डाको संख्या नेपालमा मात्रै नभएर अन्य देशमा पनि घट्दै गएको छ । अन्तर्राष्ट्रिय वाइल्ड लाइफ अपराध अध्ययन गर्ने संस्था ट्र्याफिकका अनुसार केही समय पहिले विश्वभर १५ हजारको हाराहारीमा रहेको रेडपाण्डाको संख्या अहिले १० हजारमा झरेकाले पनि विश्वभर रेड पाण्डाको संख्या घट्दै गएको प्रष्ट छ । नेपालमा भने अहिले पाँच सयको हाराहारीमा रहेको विष्टले जनाकारी दिनुभयो । 

शिकार बढ्नुका मुख्य तीन कारण

रेड पाण्डा नेटवर्क संस्थाका अध्यक्ष विष्टका अनुसार सरकार पछिल्लो समय गैंडा, बाघ, हात्ती जस्ता ठूला जनावरको संरक्षणमा मात्र लागेपछि तस्करहरु रेड पाण्डातर्फ लागेका छन् । 

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्ना यो कुरामा सहमत हुनुहुन्न । ‘हामीले रेड पाण्डा संरक्षणमा ध्यान नदिएको भन्नै मिल्दैन, हामीले रेड पाण्डा संरक्षणमा ध्यान दिएकै कारण त यतिका धेरै तस्कर पक्राउ परेका छन् ।’

त्यस्तै दोस्रो कुरा नकारात्मक सचेतना हो । यो जनावरलाई संरक्षण गर्नुपर्छ है भन्दै विभिन्न अभियानहरु भएका छन् । जसमा यो लोपोन्मुख जनावर हो । यसको छाला यतिमा बिक्रि हुन्छ जस्ता कुरा भन्नाले पनि यसको तस्करी बढ्दै गएको विष्ट बताउनुहुन्छ । 

तेस्रो कुरा शिकारीको मान्यता । ‘शिकारीहरुको आफ्नो नियम हुँदो रहेछ शिकार खेल्न गएपछि रित्तो हात नर्फकने । शिकार खेल्न वनमा गएका बेला केही मार्न सकिएन भने जे देखिन्छ त्यो मारेर ल्याउने गरकाले पनि रेड पाण्डा मारेको देखिन्छ’ रेड पाण्डा नेटवर्कका अध्यक्ष विष्टले भन्नुभयो ।   

यसरी नेपालमा रेड पाण्डाको शिकार बढ्दै गएको देखिए पनि ति सबै रेड पाण्डा भने नेपालको नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्नाले दावी गर्नुभयो । ‘सिकारी भएका सबै रेड पाण्डा नेपालकै हुन् भन्न सक्ने अवस्था छैन । पक्राउ काठमाडौंमा परेको देखिए पनि अन्य देशबाट आएको पनि हुन सक्छन्’ ठगुन्नाले भन्नुभयो ।

त्यस्तै वन जङ्गलमा डढेलो लाग्नु तथा बासास्थान असुरक्षित बन्दै जानु र महंगो मूल्यमा यसको छाला बिक्री हुने हल्ला जस्ता कारणले रेड पाण्डा क्रमशः लोप हुँदै गएको छ ।

कहाँ हुन्छ खपत ?

जंगली जनावरको शिकारमा ठूलो अहोदाका मान्छेहरु हुने र तिनीहरुको नेटवर्क पनि ठूलो हुने गरेको देखिन्छ । त्यस्तै तस्करीका पनि विभिन्न रुट हुन्छन् । तर रेडपाण्डा समातिएका मान्छेको विवरणलाई हेर्दा उनीहरु गाउँले परिवेशका तथा गरिब परिवार र समुदायका छन् । रेडपाण्डा आफै शिकार गर्ने आफैं ओसारेर काठमाडौंसम्म ल्याउने गरेको देखिन्छ । 

रेडपाण्डा बाहिर पठाउन विभिन्न नाकाहरु प्रयोग गरेको पनि अहिलेसम्म नदेखिएको सिआएबीका डिएसपी प्रविण पोखरेलले बताउनुभयो । अहिलेसम्म समातिएका तस्कर र तिनस्हरुको बयानका आधारमा यसको खपत नेपालमै भएको पोखरेलले बताउनुभयो । 

त्यस्तै अन्तर्राष्ट्रिय वाइल्ड लाइफ अपराध अध्ययन गर्ने संस्था ट्र्याफिकका अनुसार पनि  आठ वर्षयता रेड पाण्डाको अन्तर्राष्ट्रिय व्यापार भएको देखिँदैन । 

रेड पाण्डाको प्रयोग

रेड पाण्डा नेटवर्कका अध्यक्ष विष्टका अनुसार रेड पाण्डाको प्रयोग चीनको युनान र सिचुवान प्रान्तका केही जातीले गर्छन् । यसको छाला र पुच्छरबाट बनेको टोपीहरु दुलाहा र दुलहीले लगाउने प्रचलन युनान र सिचुवान प्रान्तमा छ । रेड पाण्डाबाट बनाएको टोपी लगाएपछि बैवाहिक जीवन सफल हुने र दाम्पत्य जीवन सुखमय हुने भएकाले चीनमा यसको माग छ । तर ट्र्याफिकका अनुसार विगत आठ वर्षदेखि त्यस ठाउँमा पनि यसको माग छैन । 

त्यस्तै नेपाल भित्रकै मुस्ताङका केही जातिहरुमा रेड पाण्डाको छालाको प्रयोग गरेको पाइन्छ । मुस्ताङका मगर र अन्य समुदायले यसबाट बनेका विभिन्न कपडाहरु लगाउने गरेको र मासु पनि खाने गरेको विष्टले बताउनुभयो । मुस्ताङकै धामी क्राँक्रीहरुले बिरामीहरुलाई  निको पार्ने भन्दै यसको छाला प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । 

संरक्षण चुनौती बढ्दै

बासस्थानको विनाश र खण्डिकरणका कारण रेड पाण्डा संरक्षण गर्न चुनौती बढ्दै गएको छ । रेड पाण्डा बस्न ठूलो जंगल चाहिने भएपनि जंगल खण्डीकरणका कारण यो लोप हुँदै गएको हो । ‘रेड पाण्डा आनुवांशिक रुपमा बाँच्नुपर्ने हुन्छ । त्यसका लागि कम्तीमा एक सय वटा रेडपाण्डा एक क्षेत्रमा घुमफिर गरेर राति बास बस्न सक्ने अवस्था हुनुपर्छ । तर त्यो अवस्था देखिएन । जंगलको खण्डिकरण र विनाशले गर्दा त्यसलाई असर गर्‍यो’ विष्टले भन्नुभयो । 

त्यस्तै आहाराको कमीले गर्दा पनि यसको संरक्षणमा चुनौती बढ्दै गएको देखिन्छ । रेड पाण्डाको मुख्य आहारा बाँस हो । ‘प्रायः नेपालका जंगलका बाँस एकै प्रकार छन् । एक पटक फुलेपछि सबै बाँस मर्छ । बाँस मरेपछि यसको आहारा पनि नहुने भएकाले रेडपाण्डा पनि मासिने अवस्था आउँछ’ विष्टले भन्नुभयो, ‘नेशनल सर्भेले देखाएअनुसार मनाङमा सातवर्ष पहिले रेडपाण्डा देखिएको थियो । पछि त्यहाँका बाँस फुलेर मरेपछि रेडपाण्डा पनि हरायो ।’

कस्तो प्रजाति हो रेडपाण्डा ?

अचम्मको कुरा त वैज्ञानिकहरुले रेड पाण्डालाई मांसाहारी जीव अन्तर्गत राखेका छन् । यसको शारीरिक संचना हेर्दा मांसाहारी जस्तो देखिए पनि तर यो जनावर शाकाहारी हो । यसले खाने आहाराको झण्डै ९९ प्रतिशत बाँस तथा निगालो नै हो । 

दुई हजार दुई सय मिटरदेखि चार हजार मिटर उचाइ सम्मको १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिङ्गो, निगालोको जङ्गल र पानीको मुहान नजिक रेड पाण्डाको बासस्थान हुने गर्दछ । 

एक्लै बस्न रुचाउने रेड पाण्डा मानिस देख्दा झन् रोचक ढंगले हेरिरहने भएकाले यसको शिकार गर्न सजिलो हुने गरेको पाइन्छ । रेड पाण्डा समूहमा देखिने भनेको भाले लाग्ने बेला वा बच्चा जन्माएको बेला मात्रै हो । रेड पाण्डाले एक पटकमा दुई वटासम्म  बच्चा जन्माउँछ । यसको औषत आयु आठदेखि दस वर्ष हो ।  

नेपालको लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रका जंगलमा पाँच सयको हाराहारीमा रेड पाण्डा छन् । यसको अवैध चोरी शिकार गरेमा एक देखि १५ वर्षसम्म कैद र ४० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया